काठमाडौं: गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताउनुभयो । “बन्दी र कैदीका रुपमा कारागारमा रहेकाहरुको मानव अधिकारको पूर्ण रुपमा संरक्षण गरिनेछ”, मन्त्री लेखकले भन्नुभयो, “त्यहाँको स्थिति सुधार गर्ने तथा सुविधा बढाउने प्रयत्न गरिरहेका छौँ ।” शान्ति सुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी सांसदहरुले उठाएको विषयमा बोल्दै उहाँले भौतिक संरचना निर्माणलगायत समग्र विषयमा आर्थिक स्रोत जोडिएको बताउनुभयो । “सीमित स्रोतसाधन र सीमित आर्थिक व्यवस्थामा अली बढी काम गर्नुपरिरहेको छ”, मन्त्री लेखकले भन्नुभयो, “कारागार र बाल सुधारगृहको भौतिक अवस्था अपर्याप्त, जीर्ण र दयनीय छ ।” मन्त्री लेखकले बाल सुधारगृहमा बसेका बालबालिकाको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकार संरक्षण एवं सुरक्षामा प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी देशमा शान्ति सुरक्षा, अमनचयन स्थापित गर्न तथा सुशासनको प्रत्याभूति एवं सुनिश्चितताका लागि केही कानुन संशोधन परिर्माजन र नयाँ निर्माणमा आफू लागि परेको बताउनुभयो । “प्रहरी सङ्गठन सुदृढ गर्न प्रहरी ऐन संशोधन गर्नुपर्ने छ”, उहाँले भननुभयो, “समसामयिक रुपमा सुदृढ र समयसापेक्ष बनाउन संशोधन आवश्यक छ ।” कर्मचारीको सरुवालाई सरुवाकै रुपमा बुझिदिन उहाँले आग्रह गर्नुभयो । मनसुनजन्य विपद्बाट ७७ वटै जिल्ला प्रभावित रहेको जानकारी दिँदै मन्त्री लेखकले प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकास, घटनापछि उद्धार र राहतका लागि सरकार लागिपरेको बताउनुभयो । चितवनको सिमलताल बस दुर्घटनाका विषयमा खोजी कार्यमा सक्दो प्रयास जारी रहेको उल्लेख गर्दै मन्त्री लेखकले सो कार्यमा सबै सुरक्षा निकाय खटिएको बताउनुभयो । “सिमलताल घटनामा जति परिणाम प्राप्त गर्नुपर्ने हो त्यो गर्न सकेनाँै”, उहाँले भन्नुभयो, “भारतबाट पनि प्राविधिकसहितको टोली आएर खोजी कार्यमा जुट्दा पनि बस र सबै शव फेला पार्न सकिएन् ।” बैठकमा गृहसचिव एकनारायण अर्यालले मुलुकको समग्र शान्ति सुरक्षा, कारागार र बाल सुधारगृहको अवस्था, मनसुनजन्य विपद्का घटनामा भएको जनधनको क्षति लगायतको विषयमा जानकारी गराउनुभएको थियो ।
काठमाडौं: काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिनुभयो । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनुभएको छ । राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको हो ।” नेपाली कांग्रेस र नेकपा (एमाले) यो देशमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेका तथा दुवै दलका नेताहरुले धेरै कुरा बुझेर र देशको आवश्यकता हेरेर नै सहकार्य गरेकाले यो सरकारको स्थायित्वका बारेमा प्रश्न नगर्न मन्त्री डा राणाको आग्रह थियो । उहाँले भन्नुभयो “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले धेरै कुरा बिचार गरेर मुलुकलाई निकास दिने उद्देश्यका साथ यो सरकार निर्माणका लागि लाग्नुभएको हो, त्यसैले यो सरकारले देशका लागि केही गरेर देखाउनेछ ।” एक प्रश्नको जवाफमा मन्त्री डा. राणाले नयाँ बनेको सत्तासमीकरण कुनै एक व्यक्तिका कारणले नभएर मुलुकका दुई ठूला दलले आवश्यकताको बोध गरेर निर्माण भएको स्पष्ट गर्नुभयो । हिजो मात्र प्रधानमन्त्री केपी ओलीले यस विषयमा स्पष्ट गरेको स्मरण गर्दै उहाँले सरकार ढल्छ भन्ने या अरु कुनै पनि कारणले काममा ढिलासुस्ती गर्ने तथा नागरिकलाई डेलिभरी दिने काममा ढिला गर्ने छुट सरकार र कर्मचारी कसैलाई नभएको स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले कहीँ कतै प्रमाण या उजुरी नहुँदा नहुँदै पनि आफ्नो नाममा विभिन्न काण्ड खडा गरेर जोड्ने गरिएकामा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “कतै तथ्य छैन, कुनै गल्ती गरेको अवस्था छैन । तर पनि कतिले सोसियल मिडिया त कतिले मिडियाबाट नै मेरो नाम मुछ्ने गरेका छन् ।” उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा जसले आफ्ना विरुद्ध बयान दियो भनेर दुष्प्रचार गरियो उसैले पछि मलाई चिन्दिन भनेको प्रसंग उल्लेख गर्दै अनावश्यक रुपले आफ्नो नाम जोड्न लगाइएको र एक किसीमले भन्दा मिडिया ट्रायल नै गरिएको आफ्नो अनुभव रहेको बताउनुभयो । टीकापुर जग्गा प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा मन्त्री डा राणाले भन्नुभयो “म यहाँहरुलाई अनुरोध गर्छु कि यो सूचनाको हक भएको देश हो, यहाँहरु फिल्डमै जानुस् र के हो भन्ने तथ्य आफैँ थाहा पाउनुहोस्, कहीँ कतै मेरो गल्ती देख्नुभएछ भने म यहाँहरुसँग त्यतिबेलै कुरा गरौँला ।” उहाँले भन्नुभयो “कस्तो दुष्प्रचार होला हेर्नु त रु प्रहरीको बयानमा मेरो नाम लियो रे भनेर पहिला प्रचार गरियो, तर पछि सोही व्यक्तिले उहाँलाई मैले चिन्दिन, नाम नै सुनेको छैन भन्यो । यसलाई कहाँसम्मको दुष्प्रचार भन्ने ?” मन्त्री डा राणाले राहदानी र कन्सुलर सेवा प्रवाहको अध्ययन गरी यी दुवै सेवा नेपाली नागरिकका लागि अति आवश्यक र परराष्ट्रले दिनुपर्ने सबैभन्दा महत्वपूर्ण र संवेदनशील सेवा रहेकाले नेपाली नागरिकलाई केन्द्रमा राखेर काम गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।
पर्वत: गएराति आएको भीषण वर्षापछिको बाढीका कारण सदरमुकाम कुश्माका ४५ घर जोखिममा परेका छन । कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढीले पुरिएपछि सिङ्गो बस्ती नै जोखिममा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठसहित गङ्गाराज परियार, वीरबहादुर परियार लगायतका १२ घरमा बाढी पसेर क्षति पु¥याएको हो भने अन्य घर जोखिममा परेका हुन् । समयमै घरका बासिन्दा सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिनुभयो । स्थानीय शिवलाल सार्कीका अनुसार जिरोकिमी, नारायणस्थान र दलित बस्तीका गरी ४५ भन्दा बढी घर जोखिममा परेका छन् । बाढीले हरेक घरका आँगन, पिँढी र कोठा ढुङ्गामाटोले पुरिएका छन् । तत्काल ढुङ्गामाटो नहटाउने हो भने फेरि पर्ने वर्षाले घर जुनसुकै बेला पनि भत्किने जोखिम बढेको सार्कीले बताउनुभयो । बाढीका कारण भू–तथा जलाधार व्यवस्थापन कार्यालय पनि उच्च जोखिममा परेको छ । लेदोसहितको बाढीले कार्यालयको प्राङ्गण पूरै पुरिएको छ भने घेराबार र सडकमा समेत क्षति पुगेको छ । कार्यालयमा जाने सडकसमेत गएरातिदेखि अवरुद्ध बनेको कार्यालयका लेखापाल गौरबदास बैरागीले जानकारी दिनुभयो । त्यसले गर्दा सेवाग्राही कार्यालयमा जान समस्या भएको छ । यसैगरी सोही खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग समेत पुरिएको छ । गएराति ९ बजेदेखि अवरुद्ध बनेको सडक १२ बजे एकतर्फि खुलाइएको थियो । ठूलो मात्रामा थुप्रिएको ढुङ्गामाटो नपन्छाएसम्म दुईतर्फी सञ्चालन गर्न कठिनाइ भइरहको र अहिले एकतर्फी रुपमा सवारी साधन आवतजावत गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले जानकारी दिनुभयो । कुश्मा–३ दुर्लुङ जाने सडक खनेपछि यो ठाउँ बाढीको जोखिममा पर्दै आएको हो । बर्सेनि बर्खायाममा बाढीले सताउने भए पनि दीर्घकालीन नियन्त्रणको योजना नबनाउँदा सिङ्गो बस्ती नै त्रसित बनेको छ । कुश्मा–४ का वडाध्यक्ष दिनेश श्रेष्ठले बाढीका कारण आफूसहित उक्त बस्तीका अधिकांस परिवार समस्यामा परेको बताउनुभयो । बाढीले जोखिम निम्तिएपछि रातभर बस्तीका बासिन्दा जाग्राम बसेका थिए । यो समस्या समाधानका लागि करोडौँ बजेट आवश्यक पर्ने श्रेष्ठले बताउनुभयो । नगरप्रमुख रामचन्द्र जोशीले बस्ती संरक्षणका लागि तत्काल योजना बनाएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले नगरपालिकाको बजेटले मात्र दिर्घकालीन समाधानको योजना बनाउन नसकिने भन्दै प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँका अनुसार जिरो किमिदेखि दलित बस्तीसम्मको खोला किनारलाई व्यवस्थित गर्दै बाढीको सहज निकासका लागि वैकिल्पक ठाउँ खोज्नुपर्ने बताउनुभयो ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो । जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको उहाँको भनाइ थियो । “सबै कर्मचारीले मन्त्रालयको छवि स्वच्छ राख्दै जिम्मेवारी पूरा गर्नुहुनेछ भन्नेमा विश्वस्त छु”, सचिव अर्यालले भन्नुभयो । सो अवसरमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयका विविध गतिविधिबारे सचिव अर्याललाई जानकारी गराउनुभएको थियो ।
चितवन: नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३/७४ मा पाँचवटा, २०७४/७५ मा चारवटा, २०७५/७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । आव २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/७४ मा १४, २०७८/७९ मा चार र २०८०/८१ मा ३७ जना बेपत्ता भएका हुन् । उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/७४ देखि आव २०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।
भोजपुर: बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिनुभयो । इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तिम्सिनाले बताउनुभयो । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए । बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको अस्थाइ बेश क्याम्प चौकीडाँडाको टोली खटिएको छ । यो पनि पढ्नुहोस भोजपुरमा बाढी: जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता यसैबीच मङ्गलवार राति आएको बाढीले षडानन्द नगरपालिका–२ मा दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठका अनुसार स्थानीय चित्रबहादुर दर्जी र निर्मला राईको घर बाढीले बगाएको हो । बाढीले बगाएका चित्रकी श्रीमती ६५ वर्षीया चन्दकुमारी दर्जीलाई स्थानीयवासीले उद्धार गरेका थिए । बाढीले एक तले घर र गोठ बगाउँदा रु ६ लाख बरावरको क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । बाढीले गोरु, बाख्रा र कुखुरा पनि बगाएको छ । घर बगाएपछि ६ जनाको परिवार बिचल्लीमा परेको छ । उनीहरुलाई स्थानीय महेन्द्र राईको घरमा बस्दैआएका छन् । बाढीले निर्मलाको घर, रु ५० हजार, चार तोला सुन, ६ तोला चाँदी र घर भित्र रहेको सम्पुर्ण सामान बगाएको प्रहरीले जनाएको छ । उनको करिब रु १० लाख बरावरको क्षति भएको छ । निर्मलाको परिवार स्थानीय राम राईको घरमा बस्दैआएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी समझदारी भएको छ । हस्पिटलका तर्फबाट एमडी कपिल पोखरेल र बैंकका तर्फबाट पोखरा ब्राञ्च म्यानेजर अनुप अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सम्झौता अनुसार होल बडी चेकअपमा २० प्रतिशत, बेडमा १० प्रतिशत, ल्याब, रेडियोलोजी र अप्रेशनहरुमा १० प्रतिशत तथा फार्मेसीमा औषधि किन्दा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । पछिल्लो समय सामाजिक योगदानलाई प्राथमिकता दिँदै आएको चरक हस्पिटलले गण्डकी प्रदेशका लगभग सबैजसो जिल्लामा स्थानीय संघसंस्थासँग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । आवश्यकता अनुरुप ग्रामीण ठाउँहरुमा लक्षित गरी हस्पिटलले निःशुल्क शिविरलाई निरन्तरता दिने एमडी पोखरेलले जानकारी दिए । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ । बैेंंकले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
काठमाडौं: भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ । ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।