काठमाडौँ: सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले राससलाई भन्नुभयो, “मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।” च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उहाँले बताउनुभयो । १ साउन २०८० देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकारपछि हट्ने सङ्केत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए । सुरुआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन् । उनीहरूले प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै विरोधमा छन् । मन्त्रालयकानुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब रु एक अर्ब विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।
नवलपरासी: नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । “धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ”, उहाँले भन्नुभयो । घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
सङ्खुवासभा: नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिनुभयो । उहाँका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो । कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिनुभयो । “निजहरु विरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरी लगत्तै उहाँहरु फरार भएकाले खोजी कार्य भइरहेको छ”, उहाँले भन्नुभयो । विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गाली गलौज, हातपात तथा कुटपिट भएको थियो । स्थानीय लिङ्थेपको क्रशर उद्योगले रु छ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताउनुभयो । कर्मचारीमाथि कुटपिट भएपछि मादीस्थित शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ । उक्त कार्यालयमा छजना कर्मचारी कार्यरत छन् । शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारी त्रासमा रहेकाले कार्यालय बन्द गरेर सदरमुकाम आएका छन् ।
काठमाडौं: ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पु¥याउनु भएको विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको छ । सभामुख देवराज घिमिरेले आज यहाँ आयोजित समारोहमा उहाँलाई अभिनन्दन गर्नुभयो । ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उहाँ सफल हुनुभएको छ । न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा रुइत चिनिनुभएको अभिनन्नद पत्रमा उल्लेख छ । डा रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसक्नुभएको छ । सो अवसरमा सभामुख घिमिरेले हिमाली र पहाडी जिल्लाका रुपमा ताप्लेजुङ सौन्दर्य, मनमोहक र आकर्षणसहित विविधतायुक्त रहेको र अहिलेसम्म आइपुग्दा गरिबी र अभावका कारण पछि परेतापनि यसको भविश्य भने सुन्दर रहेको बताउनुभयो । “यो सुन्दर भविष्य निर्माण गर्ने ताप्लेजुङका जनताका प्रतिनिधित्व गर्ने संस्था र विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्व र राजनीतिक नेतृत्वबाट जिल्लालाई कसरी विकास र समृद्धिमा अघि डोहो¥याउने सफल हुनेछन्”, उहाँले भन्नुभयो । कार्यक्रममा सभामुख घिमिरेले केन्द्रले जिल्ला र त्यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विविधतासम्बन्धी विषय समेटी प्रकाशित गरेको पुस्तक लोकार्पण गर्नुभएको थियो । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले देशका प्रमुख दुई राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र समृद्धिका क्षेत्रमा योगदान दिन सकियोस् भन्ने हेतुले काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “देशलाई धेरै प्रयोगशाला नबनाऔँ, यी दुई दल इतिहासका निर्मातासँगै एकआपसका प्रतिस्पर्धी पनि हुन्, लोकतन्त्र प्राप्ति, शान्ति प्रक्रिया, संविधान निर्माणलगायत इतिहासका कठिन मोडमा मुलुकलाई अग्रगमनमा लैजान योगदान दिएका दल हुन् ।” अस्थिर राजनीतिका कारण इतिहासको महत्वपूर्ण क्षणमा एक ठाउँमा आउनुपरेको उल्लेख गर्दै एमाले सांसद भट्टराईले वर्तमान सरकार गठन भएसँगै सकारात्मक सन्देश आमजनतामा गएकाले राष्ट्रिय आत्मविश्वास बढाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । ताप्लेजुङवासीका रुपमा डा रुइतले खेल्नुभएको भूमिकाका आधारमा उहाँ सम्मानित हुनुभएको प्रसङ्ग उल्लेख गर्दै सभामुख घिमिरेले डा रुइतको योगदान र व्यक्तित्व स्वदेशमा भन्दा विदेशमा उच्च रहेको बताउनुभयो । सम्मानित व्यक्तित्व डा रुइतले कञ्जनजङ्गा हिमाल क्षेत्रको सदुपयोग गरी राष्ट्रले लाभ लिने र तमोर करिडोर सडक निर्माणलाई छिटो सम्पन्न गर्ने कार्यमा ध्यान पु¥याउन सरकार, संसद् र राजनीतिक दललाई सुझाव दिनुभयो । प्राडा सुरेन्द्र केसीले लोकतन्त्र जीवनपद्धति भएकाले समाजलाई सही दिशानिर्देश गर्न र राष्ट्रको गौरव बढाउन यसको मर्म र भावनाअनुसार राजनीतिक दल र सरकारले कार्य सम्पादन गर्नुपर्छ भन्नुभयो । सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले ताप्लेजुङको भाषा, संस्कृति, वेशभूषा, राजनीतिक, आर्थिक, सामाजिक पक्षलाई समेटेर प्रकाशित गरिएको पुस्तकको अध्ययनबाट सो क्षेत्रको इतिहासबारे बुझ्न र बुझाउन सहज हुने बताउनुभयो ।
पोखरा: पत्रकार सुरज थापामगर र बिनु थापामगरमाथि सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पत्रकार माथि सांघातिक आक्रमण गरेको आरोपमा पोखरा महानगरपालिका–१७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । घटनापश्चात फरार भएका १७ वर्षीय किशोरलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । यो पनि पढ्नुहोस फलोअप: पत्रकार सुरज र विनुमाथि सांघातिक आक्रमण गर्ने ४ जना पक्राउ गत आइतबार गण्डकी प्रदेशमा भएको यातायात व्यवसायीको आन्दोलनको रिपोर्टिङ गर्न पोखराको लखन चोक (पृथ्वीचोक) पुगेका पत्रकार बिनु थापामर र सुरज थापामाथि सांघातिक आक्रमण भएको थियो । घटनामा संग्लन पाँच जना गत आइतबार नै पक्राउ परेका थिए । ग २० प ३९७३ नम्बरको स्कूटरको पछाडी सवार बिनाकुमारीले क्यामेराबाट भिडियो खिच्दै गर्दा आन्दोलनरत समूहले पत्रकारमाथि सांघातिक आक्रमण गरेका थिए ।
बर्दिया: कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ । घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ । नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो । बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताउनुभयो । घटनास्थल क्षेत्र सीमावर्ती भारतीय जङ्गल नजिक रहेकाले बिरामी बाघ उतैबाट आएको हुनसक्ने अनुमान गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा छ वटा समस्याग्रस्त पाटेबाघ राख्नसक्ने क्षमता छ । यहाँ तीनवटा बाघ बिरामी छन् । आर्थिक अभावका कारण पर्याप्त मासु खुवाउन नसकिएको गुनासो उहाँको छ । बाघको सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनमा पनि समस्या छ ।
गोरखा: उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताउनुभयो । ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको पहिरोमा परेर बेपत्ता हुनुभएको थियो । गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका ७० बर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जीतबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो । पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए । घाइतेहरुको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सुनसरी: सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका थिए । ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाङ: दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलाले आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । चालकको उद्धार यसैबीच दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ । बाढीले बगाएका तुलसीपुर–७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो ।