नवलपरासी: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का सोही स्थानका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल ९बर्दघाट सुस्तापश्चिम०मा उपचार जानकारी दिनुभयो ।
कास्की: कास्कीमा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । नयाँ उद्योगमा रु एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ सेवामूलक उद्योग दुई सय ४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग एक सय ६२, पर्यटन उद्योग एक सय ६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् । सो वर्षमा ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगमा महिला नौ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ । यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् । “नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ । आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यतालगायत कारणले उद्योग खारेजीका लागि आउने गरेका छन्”, कार्यालय प्रमुख ढकालले भन्नुभयो । कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् । यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आवमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए । पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ, चार सय ७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।
बागलुङ: अपाङ्गता, असहाय र विपन्नका छोराछोरीलाई पठनपाठन गराउँदै आएको यहाँको रामरेखा आधारभूत विद्यालयले यातायात सेवा सुरू गरेपछि विद्यार्थीलाई सहज भएको छ । बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयले एक सय ३९ विद्यार्थीमध्ये १२ जना अपाङ्गता विद्यार्थीले आवासीय सुविधासहित अध्ययन गर्दै आएका छन् तर अन्य विद्यार्थीले टाढाबाट आउनुपर्दा निकै समस्या भोग्नुपरेको थियो । यस्ता विद्यार्थीलाई निःशुल्क यातयात सेवा दिन थालिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीले बागलुङ र पर्वतको विभिन्न स्थानबाट विद्यार्थी ल्याउन भ्यान सेवा सुरू गरिएको जानकारी दिनुभयो । केसीले धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)को पहलमा विद्यालयको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि भ्यान सेवा दिन थालिएको बताउनुभयो । भ्यान सुविधापछि बालबालिकालाई विद्यालय आउजाउ गर्न धेरै सहज भएको उहाँले बताउनुभयो । “मालढुङ्गा, खनियाघाट र दमुवाखोलाका विद्यार्थीहरू भाडा तिरेर बसमा समेत आउ–जाउ गर्दै आएका थिए, विद्यार्थीलाई सहजताका लागि भ्यानको व्यवस्था मिलाएका छौँ, भ्यान सञ्चालनका लागि अभिभावक र स्थानीय तहबीच सहकार्य गर्न बाँकी नै छ,” केसीले भन्नुभयो, “गत वर्ष एक सय १० जना विद्यार्थी भएको विद्यालयमा अहिले एक सय ३९ जना पु¥याउन सफल भएका छौँ, विद्यालयको शैक्षिक गतिविधि बढाउन थालेपछि विद्यार्थी बढेका छन्, खासगरी मजदुर र विपन्नका छोराछोरीलाई भ्यान सुविधाले राहत दिनेछ ।” सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि काम गर्दै आएको डिआइआरडिसीले विद्यालयलाई भ्यान प्रदान गरेको अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो । करिब रु ५० लाख पर्ने भ्यानलाई राजस्व छुट गरेर रु २० लाख भित्र्याइएको उहाँले बताउनुभयो । बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले अपाङ्गता भएका विद्यार्थी र अधिकांश मजदुरका छोराछोरी पढ्ने विद्यालयले यातयातको सेवा दिन थालेपछि बालमैत्री नगर घोषणामा थप सहयोग पुगेको बताउनुभयो ।
चितवन: नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि आइतबार साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । निकुञ्जका तीनवटा हात्तीको सहयोगमा बाघलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो । आज दिउँसो दुईवटा हात्ती त्रसियर भागेपछि थप हात्ती ल्याएर बाघ नियन्त्रणमा लिइएको हो । डार्ट गरिएको बाघलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको खोरमा लगेर राखिने उहाँले जानकारी दिनुभयो । नारायणी नदी किनारमा नदीमा मिसिनु अघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क रहेको क्षेत्रको नर्कटको झाडीबाट निकुञ्जका कर्मचारी, प्रहरी प्रशासनको सक्रियतामा बाघलाई नियन्त्रणमा लिईएको हो । उक्त बाघले हिजो बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षिय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।
दाङ: दाङमा अटोरिक्सा बगाउँदा बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । शुक्रबार राति तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता भएकी सुर्खेत घर भई तुलसीपुर–४ खाद्रै बस्दै आएकी १६ वर्षीया मञ्जु खड्काको शव आज फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । बबई गाउँपालिका–५ खयरभट्टीस्थित बबई नदीको किनार पानीमा तैरिएको अवस्थामा शव भेटिएको हो । शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नंको अटोरिक्सालाई बगाउँदा उनीसहित दुईजना बेपत्ता भएका थिए । बेपत्तामध्ये तुलसीपुर–४ निवासी ५५ वर्षीया सीता आलेको शनिबार ग्वारखोलामा शव भेटिएको थियो । मञ्जु सीताकी नातिनी हुन् । अटोमा पाँचजना सवार थिए । चालक तुलसीपुर–४ खाद्रे निवासी ४५ वर्षीय हरिकिसन विक, ३३ वर्षीया सुनिता थापा र सात वर्षीया सुशान्त आले भने सकुशल छन् ।
पोखरा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरुसँगको भेट तथा अन्तरक्रियामा मन्त्री भट्टराईले जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुुपर्ने बताउनुभयो । जनगुनासो एवम् समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवम् सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गर्दै उहाँले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सरकारी काम कारवाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राख्नुुभयो । सरकारी जागिरलाई केबल व्यक्तिगत सुविधाको रुपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उहाँको भनाइ थियो । शिक्षा क्षेत्र समाजको हरेक क्षेत्रसँग जोडिने र यसलाई समयानुकूल र व्यवस्थित बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री भट्टराईले बताउनुुभयो । विद्यमान ऐन नियमलाई समय सापेक्ष बनाउँदै अघि बढ्नु आवश्यक रहेको उहाँको भनाइ थियो । विद्यार्थीको ज्ञानलाई हाम्रो प्रणालीसँग जोड्नु आवश्यक भएको उल्लेख गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रको समग्र विकासका लागि योजनावद्धरुपमा अघि बढ्ने बताउनुभयो । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लाको समग्र अवस्थाबारे मन्त्री भट्टराईलाई जानकारी गराउनुुभएको थियो । कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुखहरुले भइरहेको सेवाप्रवाह एवम् आइपरेका समस्यालगायत विषयमा मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुभएको थियो ।
सर्लाही: बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते भएका छन् । मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा आज ज२त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइते हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षकी छोरी सुस्मिता, ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी ११ वर्षकी छोरी अंशुकुमारी रहेका छन् । तीब्र गतिमा रहेको टयाक्टर अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगतै टयाक्टर चालक चक्रघट्ट गाउँपालिका–८, औरहीका ३० वर्षीय राम बालक राय फरार रहेका छन् । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।
गण्डकी: पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ । सिर्जनशील सोच भएका यहाँका केही युवाहरुले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन् । कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक, इन्स्ट्राग्रामबाट उक्त सेवा सुरु गरिएको जानकारी दिनुभयो । “छिट्टै कम्पनीको एप र वेभसाइट सञ्चालनमा ल्याउँदैछौँ”, उहाँले भन्नुभयो, “अनलाइनमार्फत प्रेम जोडी र जीवनसाथी खोज्न सघाउने उद्देश्ययले यो व्यवसाय सुरु गरेका हौँ ।” उहाँका अनुसार फेसबुकमा रहेको ‘लमी–म्यारी फर रिजन’ र इन्स्ट्रागाममा ‘लमी–नेपाल’ पेजमार्फत उक्त व्यवसाय प्रवद्र्धनको काम भइरहेको छ । “इच्छुक युवा वा युवतीले हाम्रो पेजमा सन्देश पठाउँदासाथ उहाँकोमा फारामसहितको गुगल लिङ्क पुग्छ”, सापकोटाले भन्नुभयो, “फाराममा व्यक्तिगत विवरण भरेर पठाएपछि दुई पक्षबीचमा समन्वयको काम हामीले गर्छौँ ।” उहाँले पूर्ण रुपमा व्यक्तिगत गोपनियता कायम गरिने बताउनुभयो । सम्बन्धित व्यक्तिले इच्छाएको खण्डमा मात्र व्यक्तिगत विवरण अनलाइन माध्यममा सार्वजनिक गर्ने गरिएको उहाँले बताउनुभयो । तत्काल केही समयलाई निःशुल्क सेवा दिइरहेको कम्पनीले पछि उक्त सेवाबापत न्यूनतम शुल्क कायम गरिने जनाएको छ । हालसम्म ५० जना भन्दाबढी सम्पर्कमा आई व्यक्तिगत विवरण पठाएको सापकोटाले जानकारी दिनुभयो । व्यक्तिगत विवरण सार्वजनिक गर्न नचाहने व्यक्तिलाई गोप्य माध्यमबाट सम्पर्क र समन्वय गराइदिने काम कम्पनीका प्रतिनिधिले गर्ने गरेका छन् । व्यक्तिगत इमेल ठेगाना र टेलिफोन अनिवार्य चाहिने भएकाले अनावश्यक व्यक्तिले विवरण पठाउने सम्भावना नरहने सापकोटाले बताउनुभयो । योसँगै काठमाडौँमा विवाहका लागि फोटो, भिडियो र इभेन्ट म्यानेजमेन्ट सेवा सुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । कम्पनीमा बागलुङका सापकोटासहित छ जना युवा आबद्ध छन् । जीवनसाथी खोज्न सघाउने ‘बिहे नेपाल’लगायतका एप सञ्चालनमा छन् ।
मनाङ: जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिन्छ । विश्वकै १०औँ स्थानको जोखिममा पर्ने अन्नपूर्ण पदमार्गमा यात्राका क्रममा पर्यटकले ज्यान गुमाउने गर्दछन् । आर्थिक वर्ष २०८०÷८१ मा पाँच पर्यटकले ज्यान गुमाएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश पर्यटकले लेक लागेर (हाइअल्टिट्युट) का कारण ज्यान गुमाउने गर्दछन् । विसं २०८० असोज १७ मा डुम्रे–बेसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविसले ज्यान गुमाएका छन् । विसं २०८० असोज २४ मा मनाङ–खाङ्सार–तिलिचो पैदल मार्गअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–९ टोडाँडामा लेक लागेर ३५ वर्षीय चेत्तीय क्यान्डी भन्ने मोहमद रिजीम भारतीय नागरिकले ज्यान गुमाएका छन् । त्यस्तै नार्पाभूमि गाउँपालिका–२ मेतास्थित जम्बाला गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी मृत भेटिएको एक्यापको तथ्याङ्कमा उल्लेख छ । मनाङ ङिस्याङ–६ चुलुबेस क्याम्प नजिकै बाटोमा लेक लागेर पोर्टर धादिङ गङ्गा जमुना गाउँपालिका–५ फूलखर्कका ३५ वर्षीय हरि अधिकारी र मनाङ ङिस्याङ–९ टोगुफा स्थित पहिरो जोखिम क्षेत्र तिलिचो बेसक्याम्प जाने क्रममा दाङ घोराही उपमहानगरपालिका–९ स्थायी घर भई काठमाडौँ काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ४९ वर्षीय दधिराम डाँगीले ज्यान गुमाएका छन् । भारतीय नागरिक र नेपाली पर्यटक डाँगीको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो । मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका उहाँले बताउनुभयो । प्रमुख भुजेलले भन्नुभयो, “एउटा पथप्रदर्शकबिना नै जोखिमयुक्त यस पदमार्गको यात्रामा पर्यटक आउँछन्, मौसमको अनुकूलताको ध्यान नदिएकाले पर्यटकले ज्यान गुमाउने गर्दछन्, लेक लाग्ने क्षेत्र भएकाले एकैचोटी हाइअल्टिट्युटका कारण ज्यान गुमाउने गरेका छन् ।” मनाङअन्तर्गतका पर्यटकीय क्षेत्र तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्न आउने पर्यटकले यहाँको मौसमको अनभिज्ञताले ज्यान गुमाउनु परेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “आन्ततरिक पर्यटकले अझ बढी मौसमको अनुकूलतालाई ध्यान नदिँदा यस्ता समस्या आउने गरेका छन्, न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने समस्यालाई ध्यान दिएमा स्वदेशी पर्यटकले ज्यान गुमाउने अवस्था होइन ।” मनाङको मौसमलाई ध्यान दिएर यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा भने यस्ता समस्याबाट बच्न सकिन्छ । थोरै समय लिएर यहाँ घुम्न आउने स्वदेशी पर्यटक उच्च जोखिममा पर्ने गरेका स्थानीयको भनाइ छ ।