बागलुङ: बागलुङको बडिगाड गाउँपालिका पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बडिगाड गाउँपालिका १० र ९ मा गरेको छुट्टछुट्टै पहिरोमा पुरिएर ८ जनाको मृत्यु सहकाय प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बरालका अनुसार बडिगाड १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पहिरोमा परी चार जना गम्भिर घाइते भएको उनको भनाई छ । मृत्यु हुनेमा बडिगाड १० निवासी सात वर्षीया मालती बुढा, सात वर्षीय मधु बुढा, सन्जु बिकको छ महिनाकी छोरी, १२ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा र ५९ वर्षका मैतीदेवि बिकको मृत्यु भएको छ । पहिरोमा परी वर्ष ४६ का संगिता बुढा, वर्ष ५९ का सुमित्रा बिक, वर्ष ३२ का सिता थापा र वर्ष ४२ का मंगलसिंह बुढा गम्भिर घाइते भएका छन् । पहिरोमा अझै दुईजना पुरिएको हुनसक्ने आशंका गरिएको छ । अहिले उद्दार चलिरेको छ । यस्तै बडिगाड–९ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेत रहेका छन् । परियारलाई घर माथिबाट आएको पहिरोले पुरेको थियो भने बस्नेत बाटेमा हिड्दै गर्दा पहिरोले पुरेको थियो । गम्भिर घाइतेलाई हेलिकप्टर मार्फत उद्दार गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिए ।
बागलुङ: बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । पहिरोमा पुरिएका ४ जनाको जीवितै उद्धार गरिएको छ । आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छजनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । यो पनि पढ्नुहोस पहिरोले घर पुरिँदा चारजनाको मृत्यु, दुई घाइते पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
लमजुङ: लमजुङस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् । यहाँ आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरुबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको मिलेमतोमा बजारमूल्यभन्दा बढी रकम लिने, खाना पकाएको पैसा असुल्ने, तरकारीजन्य सामान खरिद, औषधि उपचारमा अनियमितता र मनोमानी हुने गुनासो बढेको हो । कारागारमा तरकारी पकाउँदा रु ८० देखि एक सय तिर्नुपर्ने, मासु पकाउँदा रु एक सय दिनुपर्ने र पैसाबाहेक प्याज, टमाटर छुट्टै किन्नुपर्ने, कैदीबन्दीले पाउने सिदा रकम दैनिक रु ८० र सात सय ग्राम चामलमा समेत अनियमिता हुने गरेको गुनासो कैदीबन्दीको छ । हाल कारागारमा एक सय १३ कैदीबन्दी छन् । उक्त सङ्ख्या अनुसार दैनिक रु नौ हजार ४० सिदा रकम र करिब ८० केजी चामल उपलव्ध हुने गरेको छ । मासिक रु दुईलाख ७१ हजार दुईसय सिदा रकम र २४ क्विन्टल चामल उपलब्ध हुने गरेको छ । सो कारोबारबाट दैनिक रु चार हजार र २० केजी चामल बचत हुने भए पनि त्यसको पारदर्शिता नदेखिएको कैदीबन्दी बताउँछन् । प्यारोल र लगत पठाउँदा चौकीदारले रु एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म माग्ने गरेको उनीहरु बताउँछन् । अस्पतालमा उपचार गर्दा ५० प्रतिशत खर्च आफैँले तिनुपर्ने र नाइके तथा चौकीदारबाट हातपात हुने गरेको उनीहरुको भनाइ छ । पहिलो पटक आउने कैदीबन्दीबाट रु पाँच सय आन्तरिक कोषका लागि भन्दै असुल्ने गरेको र सो रकम दिन नसके वा नदिएमा दुई हप्तासम्म भाँडा माझ्न, शौचालय सरसफाइ गर्न लगाउने गरेको कैदीबन्दीले बताए । सो विषयमा कैदी विष्णु गिरी थापा र अशोक दवाडीलगायत सँग बुझ्न खोज्दा भन्न चाहेनन् तर केही सयमअघि कारागारबाट कैद भुक्तान गरेर निस्किएका कैदीबन्दीले उक्त गुनासो सत्य भएको बताएका छन् । कारागारमा केही वर्षअघि चौकीदार र हाल नाइके रहनुभएका शम्भुलाल श्रेष्ठले तरकारी र खानाको जिम्मा लिँदै आउनुभएको छ । उहाँले अनियमितता नगरेको बताउनुभयो । तरकारी किलोकै रु दुई सयसम्म पर्ने र कहिले अण्डा, कहिले मासु खुवाउने गरेको श्रेष्ठले बताउनुभयो । दैनिक १५–१६ किलो तरकारी चितवन र विभिन्न स्थानबाट ल्याएर गुणस्तरीय खाना खुवाएको उहाँको भनाइ छ । उहाँले केही रकम बच्ने गरेको स्वीकार गर्दै सो रकम आन्तरिक कोषमा जम्मा गर्ने गरेको बताउनुभयो । उहाँले पहिलो चोटि आएका कैदीबन्दीबाट आन्तरिक कोषका लागि रु पाँच सय रकम उठाउने गरेको र सो रकम दिन नसक्ने वा नदिनेलाई दुई हप्तासम्म जुठो भाँडा माझ्न, शौचालय सफा गर्न लगाएको स्वीकार्नुभयो । “भनेर नमान्ने कैदीबन्दीलाई तर्साउन हातपात गर्छौं, के गर्नु भनेर नमान्नेलाई यसरी गर्नुपर्छ”, उहाँले भन्नुभयो । केही वर्षपहिले त लात्तीले मुर्छा पर्ने गरेर हिर्काउने गरिएकामा अहिले त्यसो नगरिने उहाँले सुनाउनुभयो । उहाँले आफैँ कारागार आउँदा आन्तरिक कोषका लागि भनी रु १० हजार मागेको र पछि रु पाँच हजार फिर्ता पाए पनि पाँच हजार बुझाउनु परेको बताउनुभयो । नाइके श्रेष्ठले भन्नुभयो, “यहाँ यसरी रकम माग्ने र सजाय दिने तथा हातपात गर्ने चलन पहिलाबाटै हो ।” आन्तरिक कोषमा जम्मा गरिएको रकमबाट बिरामी कैदीबन्दीका लागि आकस्मिक काममा खर्च गर्ने गरिएको उहाँको भनाइ छ । चौकीदार खुसीराम मगरातीले आफू साउनबाट मात्र चौकीदार रहेकाले केही अनियमितता नगरेको बताउनुभयो । आफू चौकीदार भएपछि मूल्यवृद्धि नगरी सरकारले तोकेको मूल्यमा सामान उपलब्ध गराउन, कुनै कैदीबन्दीलाई हातपात नगर्न नाइके लगायतलाई भन्ने गरेको बताउनुभयो । अस्पतालमा कैदीबन्दी बिरामी भएर उपचार गर्दा ५० प्रतिशत रकम आफैँले तिर्नुपरेको गुनासो उहाँको छ । “म चौकीदार हुनुअघि चैतमा ज्वरो आएर लमजुङ अस्पताल उपचार गर्न पुगेको थिएँ । त्यहाँ उपचार गर्दा रु दुई हजार छ सय खर्च भयो, मैले सबै बिल बराबरकै रकम बुझाएँ तर एक हजार आठ सय मात्र पाएँ”, चौकीदार मगरातीले भन्नुभयो । कारागार प्रशासनले यस विषयमा गम्भीर अनुसन्धान गरी कैदीबन्दीहरु माथि हुने शोषण, दमन नियन्त्रण गर्नुपर्ने कारागारबाट कैद भुक्तान गरी निस्किएका कैदीबन्दीहरुको भनाइ छ । कारागारभित्र कैदीबन्दीले खुलेर समस्या राख्न नसक्ने भएकाले सो समस्याबारे कसैलाई भन्न नसक्दा सो कारागारमा अनियमितता हुँदै आएको केही महिनाअघि कारागारबाट छुट्नुभएका रोशन तामाङले जानकारी दिनुभयो । कारागारका निमित्त जेलर सुमिता मरासिनीले भन्नुभयो, “कारागारका यो विषयमा बल्ल जानकारी पायौँ, हामीलाई थाहा थिएन, हामी यस विषयमा छानबिन गर्छौं ।” हातपात हुने गरेको, आन्तरिक कोषका लागि रकम उठाउने र नदिनेलाई सजाय दिने गरेको समेत भर्खरै थाहा पाएको उहाँले बताउनुभयो । “हामीले कैदीबन्दीको खर्च सबै मेडिकल नाइकेलाई नियमअनुसार पठाएका छौँ तर सबै रकम कैदीबन्दीले नपाएको बल्ल थाहा भयो । यी विषयमा हामी कदम उठाउँछौँ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले यस विषयमा हालसम्म केही जानकारी नभएको बताउनुभयो । “त्यहाँ शङ्का गर्न सकिन्छ, प्रमाण त छैन । साँच्चिकै नियम हुनुपर्छ, सिस्टमभन्दा बाहिर जान मिल्दैन तर जेलभित्र उनीहरुको पनि छुट्टै शासन हुन्छ”, प्रजिअ गुरुङ्ले भन्नुभयो, “ठूला कारागारमा पनि यस्तो शासन हुन्छ तर त्यहाँ केही अनियमिततालगायत समस्या भएको छभने हेर्छु, यसमा मेरो ध्यान गएको छ ।”
पर्वत: दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पैयूँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो । विसं २०७८ साउन १० गतेदेखि निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भइ सञ्चालनको तयारी गरिएको छ । प्रशासकीय भवन साढे तीन तलाको छ । ३८ कोठा र लिफ्टसहितको अत्याधुनिक भवन रु पाँच करोड ४८ लाख ४८ हजार नौ सय ९० लागतमा निर्माण भएको हो । १२ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासकीय भवन निर्माण स्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गा धनीहरुले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । प्रशासकीय भवन निर्माणको ठेक्का विवेक एन्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले पाएको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि विभिन्न कारणले केही ढिलाइ भएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएको उक्त भवन यही साउन २५ गते शुक्रबारदेखि सञ्चालनमा ल्याइने भएको छ । पैयूँ गाउँपालिकाले साउन २५ गते भवनको उद्घाटन कार्यक्रम राखेको छ । गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिनुभयो । स्थापनाकालदेखि हालसम्म पैयूँ गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । मासिक रु एक लाख भाडा खर्च हुँदै आएकामा अबदेखि उक्त रकम बचत हुने र पालिकाको अन्य विकासमा खर्च गर्न सकिने रिमालले बताउनुभयो । पालिकाको मुख्य प्रशासनिक भवनसँगै वडा कार्यालयहरु धमाधम निर्माण भइरहेको छ । सातवटा वडा कार्यालय रहेको पैयूँमा अधिकांशका सुविधासम्पन्न कार्यालय भवन बनिसकेको र बाँकी वडामा पनि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको पालिका अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।
कञ्चनपुर: चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)ले बेलौरी, पुनर्वास नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा चरा संरक्षणका लागि युवा सञ्जाल, विद्यालय शिक्षा, स्थानीय समुदाय, जनप्रतिनिधिसँग छलफल, गोष्ठी र तालिमसँगै सचेतना कार्यक्रम सञ्चालन गरेको हो । लोपोन्मुख चरा संरक्षण गर्न अभियान थालिएको सङ्घका कार्यक्रम सञ्चालक हिरुलाल डगौराले बताउनुभयो । “जैविक विविधता संरक्षणमा जोड दिँदै चरा र वातावरणको सम्बन्धका बारेमा जानकारी दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “युवा, स्थानीय समुदायलाई चराको महत्वका बारेमा बुझाउँदै हिँडेका छौँ ।” जैविक विविधता जोगाउन नसक्दा पारिस्थितिक प्रणालीमा असर परी चराहरु सङ्कटमा परेको उहाँले बताउनुभयो । जलवायुमा हुँदै आएको परिवर्तन, प्राकृतिक सम्पदाको अधिक दोहन, कृषिमा अत्यधिक मात्रामा प्रयोग हँुदै आएको रासायनिक मल र विषादीले चराहरु सङ्कटमा पर्दै गएको उहाँको बुझाइ छ । “चरा संरक्षण गर्न जैविक विवधता जोगाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “जैविक विविधता जोगिए मात्रै चराको अस्तित्व रहन्छ ।” अति दुर्लभ खरमजुरको संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिरको क्षेत्र उल्टनपुर, नन्दगाउँ, किसान मध्यवर्ती क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । प्रजननको समयमा खरमजुर निकुञ्जको भित्री भागमा रहेको घाँसेमैदानमा आउने भए पनि त्यसपछिको समय निकुञ्ज बाहिरका घाँसेमैदानमा बिताउने गर्दछन् । बासस्थान पुनः स्थापना र सुधार गर्न बाह्य क्षेत्रको घाँसेमैदान व्यवस्थापन गरिएको डगौराले बताउनुभयो । सन् २०२३ को गणनाअनुसार यहाँ खरमजुरको सङ्ख्या पाँच मात्रै रहेको थियो । उहाँका अनुसार कञ्चनपुरमा पाइने कालो गरुड, राजधनेश, सारस, सेतो गरुडलगायत लोपोन्मुख अवस्थाका चरा संरक्षण गर्न समुदायलाई सचेत गरिँदै आएको छ । पछिल्ला केही वर्षयता जलवायु प्रदूषणका कारण जलपन्छीको बासस्थान र आहारामा कमी आएको उहाँको भनाइ छ । “बेलौरी क्षेत्रकै पुरैना ताल जलपन्छीका लागि प्रख्यात छ”, चरा संरक्षणकर्मी रहनुभएका डगौराले भन्नुभयो, “अतिक्रमणको चपेटामा पर्दै गएको र पुरिँदै जान थालेको ताललाई जोगाई चरा पर्यटन क्षेत्रका रुपमा यसलाई विकसित गर्न सकिन्छ, यसका लागि स्थानीय तहले चासो दिनुपर्छ ।” चरा तथा जैविक विविधता संरक्षणको अभियानमा ऐक्यबद्धता जनाउनुभएका कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेशकुमार यादवले चराका आठ सय ९१ प्रजाति नेपालमा पाइने गरेकामा जसमध्ये एक सय ६८ प्रजाति सङ्कटमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरमा मात्रै चराका चार सय बढी प्रजाति पाइन्छन् । “चराको बासस्थान जोगाउन निकै चुनौती छ,” उहाँले भन्नुभयो, “पछिल्ला केही वर्षदेखि वन क्षेत्रमा लाग्ने डढेलोले चराको बासस्थानमा असर पुगेको छ, चराको बासस्थान जोगाउन डढेलो लाग्न दिन हुन्न ।” तालतलैया, सिमसार क्षेत्र जोगाउनु उत्तिकै महत्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पन्छी सिकार गरी मारेमा वा घाइते बनाएमा रु १५ हजारदेखि रु ३० हजारसम्म जरिवाना वा तीन महिनादेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । सोही ऐनअनुसार राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिई संरक्षित पन्छीबाहेक अन्य पन्छी सिकार गरेमा वा घाइते बनाएमा रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । जनचेतनाका कारण हाल चरा सिकारमा निकै कमी आएको बेलौरीस्थित अमर स्मृति सामुदायिक वनका अध्यक्ष खडकबहादुर चौधरी बताउनुहुन्छ । “चरा र जैविक विविधता संरक्षण अभियान घर र टोलसम्म पुग्न थालेपछि स्थानीय बासिन्दा चराको महत्व बुझ्दै गएका छन्,” उहाँले भन्नुभयो, “चराले पु¥याउने फाइदाबारे बुझ्ने अवसर पाएका छन् ।” यस कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ । चरा तथा जैविक विविधता संरक्षणका लागि विसिएनलाई अमेरिकी सहयोग नियोग (युएसआइडी)को जल जङ्गल परियोजनाअन्तर्गत आर्थिक सहयोग रहेको छ ।
बागलुङ: बडिगाड गाउँपालिका–१० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पुरिँदा तीनजना बेपत्ता भएका छन् । जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । घटनास्थल पुग्ने सडक अवरुद्ध भएको तथा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले बताउनुभयो । केही क्षण्मा प्रहरी घटनास्थलतर्फ पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताउनुभयो ।
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो । स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो । घाइते भएका दुईजनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।
नवलपुरासी: बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आउनुभएका उहाँलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ । “गाउँको शिरमा भिर छ । त्यही भिर कतिबेला खस्ने हो भन्ने सधैँभरिको पिर छ । पानी पर्यो कि त बस्ती बगाउने हो कि भन्ने चिन्ताले रातमा निद्रा नै पर्दैन”, उहाँले भन्नुभयो । हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँको सिरानमा राम्चेभिर छ । केरुङ्गेखोलाको मुहानमा रहेको राम्चेको पहिरोले जयबहादुर चितौरे मात्र होइन राम्चेगाउँका ३५ घरपरिवार बर्खा लागेसँगै पहिरोका डरमा बस्न बाध्य भएका छन् । हुप्सेकोट गाउँपालिका वडा नं ५ को राम्चेगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँ नजिकै बर्सेनि सानाठूला पहिरो जान थालेपछि डाँडो नै खस्ने खतरा बढ्दै गएको स्थानीयहरू बताउँछन् । राष्ट्रिय पहिरो भनेर चिनिने राम्चे पहिरो विसं २०३८ मा काउले बस्ती नै विस्थापित हुनेगरी गएका कारण अहिले पनि सो क्षेत्रका अन्य बस्ती पहिरोको जोखिममा पर्दै आएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानाले बताउनुभयो । “पहिरोका कारण कच्ची सडक पनि भत्किराख्ने र जमिनमा धाँजा फाट्ने गरेको छ । बर्खामा मात्र होइन, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ”, उहाँले भन्नुभयो, “राम्चेवासी बर्खामा मात्र होइन, अन्य समयमा पनि रातदिन त्रासमा बाँच्नुपरेको छ ।” पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन् । तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन् । बाजेबराजुको पालादेखि सोही ठाउँमा बसोबास गर्दै आएका स्थानीयवासीले सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशा भने मारेका छैनन् । स्थानीय आसबहादुर चितौरेमगरका अनुसार, “सुक्खा पहिरोसमेत गएर गाउँको नजिकै धेरै धाँजा फाटेको छ । ठूलो पहिरोले कतिबेला गाउँ नै सोहोरेर लैजान्छ भन्ने डर र त्रासमा स्थानीय बासिन्दाले दैनिकी कटाइरहेका छन् ।” पहिरोकै कारण एकपछि अर्को संरचनासँगै गाउँ नै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयको भनाइ छ । पहिरो रोक्न केही बजेटसहित तारजालीको काम हुने गरे पनि त्यो प्रभावकारी बन्न नसकेको स्थानीय हरि मगरले बताउनुभयो । “पहिरो रोक्नै नसक्ने खालको छ, बजेटमात्र सकिने भएकाले पनि हामीलाई अन्तै सारिदिनुपर्यो”, उहाँले भन्नुभयो, “पहिरो रोक्नका लागि सरोकारवालालाई भनेको वर्षौँ भयो तर कतैबाट पनि सुनुवाइ भएन ।” हुप्सेकोट गाउँपालिकाले पहिरोको जोखिम रहेको राम्चेगाउँलाई रुद्रपुरगढी धौवादीमा स्थानान्तरण गर्ने योजना बनाएको थियो । विसं २०७६ भदौमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ल्याएर गाउँपालिले बस्ती सार्न धौवादी एकीकृत नमूना बस्ती योजनाको शिलान्याससमेत गरिएको थियो । तर त्यो योजना शिलान्यास भएको पाँच वर्ष हुँदा पनि सुरु हुनसकेको छैन । राम्चेगाउँका पहिरो जोखिम घरपरिवारलाई स्थानान्तरणको योजना बनाएको भए पनि बस्ती स्थानान्तरण गर्न स्थानीयले नमानेका कारण योजना अलपत्र परेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । सोही वडाको अर्को गाउँमा राम्चे क्षेत्रका घरपरिवारलाई स्थानान्तरण गर्ने प्रयास गरिए पनि अहिले अलपत्र परेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
काठमाडौं: गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् । आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ । निर्धारित उडान केही समय पछि सारिएको विमानस्थलले जनाएको छ । वर्षा रोकिएसँगै भिजिबिलिटीमा सुधार आएपछि अहिले विमानस्थलबाट हुने उडान नियमित सञ्चालन भइरहेको महाप्रबन्धक निरौलाले बताउनुभयो । आन्तरिक उडानमा केही ढिलाइ भए पनि नियमित विमान गन्तव्यमा उडिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।