काठमाडौं: बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँछन् । शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरी आज महाअष्टमी पर्व मनाइन लागिएको हो । यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविदहरुको भनाइ छ । राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिने गरिएको हो । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजा आजा गर्नेहरूको बिहानैदेखि भीड लाग्ने गर्दछ । यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने जनाइएको छ । आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा आजा गरिएको छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्र अस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मुला र नरिवलआदि बलि चढाई पूजा आजा गरेका छन् । राति बलिसहित कालरात्रि पूजा गरिँदै आजैका दिन राति कालरात्रिका रूपमा पशुबलिको विधि र पूजा आराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । महाअष्टमीका दिन आज राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने तयारी भएको छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।
काठमाडौं: धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
काठमाडौं: बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । बडादसैँको साताँै दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ । फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । सो कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । आजै गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइँदै छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसँैघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।
हिले: धनकुटाको व्यापारिक तथा पर्यटकीय नगरी हिले बजारमा सडक बत्ती जडान गरिएको छ । धनकुटा नगरपालिका–१ को सक्रियतामा धनकुटा नगरपालिका, वडा नम्बर १ को कार्यालय, हिले बजार व्यवस्थापन समिति, हिले ब्याडमिन्टन क्लबलगायत विभिन्न संघसस्थाको सहयोगमा सडक बत्ती जडान गरिएको हो । हिले बजारको दुई किलो मिटरको क्षेत्रमा करिब सात लाख ५० हजार रुपियाँको लागतमा एक सय बढी सडक बत्ती जडान गरिएको धनकुटा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष ओङ्दा तामाङले जानकारी दिनुभयो । धनकुटाको हिलेमा पाँच वर्ष यता सडक बत्ती जडान हुन सकेको थिएन । यो भन्दा पहिले जडान गरिएको सडक बत्ती पाँच वर्ष पहिले सडक विस्तार ढल निर्माणको क्रममा भत्काइएपछि हिले बजार रातको समयमा अन्धकार हुँदै आएको थियो ।
खोटाङ: दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । हालै सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्लिङले बताउनुभयो । दसैँ अगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन् । बिना जानकारी कार्यालय छाडेर हिँड्नुभएका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “कर्मचारीले दसैँ अगाडि पाउनुपर्ने तलब पाएका छैनन् । काम सम्पन्न गरेका निर्माण व्यवसायीको भक्तानी दसैँ अगाडि नै भुक्तानी गर्नुपर्ने छ । यति धेरै काम अलपत्र छाडेर बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी हिँड्नुभएछ”, उहाँले भन्नुभयो, “उहाँलाई सम्पर्क गरी २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु । यो कुरा मन्त्रालयमा पनि जानकारी गराएको छु । हाजिर नभएको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ ।” प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताउनुभएको छ । “आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु । बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “दसैँ अगाडि फर्किने सम्भावना छैन । यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु ।” दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अहिलेसम्म भुक्तानीसम्बन्धी सम्पूर्ण काम चेकमार्फत गरिने भएकाले सबै कागजात प्रमुख प्रशासकीय अधिकृतको घर पु¥याउन नसकिने गाउँपालिकाले जनाएको छ । भुक्तानी तथा कुनै पनि कामजात बोकेर प्रमुख प्रशासकीय अधिकृत खोज्दै गाउँपालिकाको कार्यालय बाहिर नजान लेखापाल तथा अन्य कर्मचारीलाई भनिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत रेग्मीबिना जानकारी कार्यालय छाडेर हिँडेको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । केहीले गाउँपालिका प्रमुख राईले फर्जी बिलको आधारमा चेक काट्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत फरार भएको ‘स्टाटस’ लेखेका छन् । सामाजिक सञ्जालमा गाउँपालिका बारेमा टीकाटिप्पणी हुन थालेपछि गाउँपालिका प्रमुख राईले सोमबार राति नै विज्ञप्ति जारी गरी बिना प्रमाण भ्रमको खेती नगर्न र नगराउन अनुरोध गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी असोज–२९ गते बिहानबाट बेपत्ता भएकाले उहाँको ज्यान सुरक्षाकोसमेत संयमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ । “सामाजिक सञ्जालमा बिना प्रमाण सिङ्गो गाउँपालिकाको मानमर्दन हुनेगरी दुष्प्रचार भइरहेको छ । केही व्यक्तिद्वारा गलत तथा कपोकल्पित, मनोमानी, स्वच्छाचारी र भ्रमपूर्ण ढङ्गबाट भएको दुष्प्रचारप्रति गाउँपालिकाको गम्भीर ध्यानाकार्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुँदाहुँदै भ्रमपूर्ण सूचना प्रवाह नगर्न नगराउन अनुरोध छ ।”
इजरायलमा विद्रोही समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय जहाजमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार जहाजमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने। परराष्ट्र मन्त्रालयले स्थानीय समयअनुसार तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए। नयाँ दिल्लीस्थित नेपाली दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याउने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। उनीहरू मंगलबार बेलुकी ६-७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ।
पोखरा: नेपाल निगमले आजदेखि लागु हुने गरी पेट्रोल तथा डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र ५ रुपैयाँ घटाएको थियो । पेट्रोल र डिजेलको मूल्य घटेको दिन नै पोखराको केही पेट्रोल पम्पहरुले पेट्रोल नभएको सूचना टाँस गरेर आधा सटर लगाएका छन् । पेट्रोल तथा डिजेलको मूल्य घटेको समयमा पम्प बन्द गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ । नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराका सूचना अधिकारी श्रीधर लामिछानेले भने दुईदिनको छुट्टीले डिपोबाट पेट्रोल पठाउन नपाउँदा पम्पहरुमा भएको मौञ्जाद सकिँदा बन्द भएको हुन सक्ने प्रतिक्रिया दिए । ‘दुईदिनको लगातार बिदाले डिपोबाट पेट्रोल तथा डिजेल बजार तथा पम्पमा पठाउन सकिएको थिएन, अस्ती शनिबार, हिजो घटस्थापनाको छुट्टी थियो’, सूचना अधिकारी लामिछानेले भने, ‘पेट्रोल तथा डिजेल डिपोबाट पास हुँदै छन्, अबको एक, दुई घण्टाको सहज हुन्छ ।’ उनले पोखराका लागि १ लाख ८० हजार पेट्रोल बजारमा पठाउन लागेको बताए । ‘अबको आधा–एक घण्टामा पम्पमा पेट्रोल पुग्छ, पोखराका लागि १ लाख ८० हजार लिटर पेट्रोल पठाउँदै छौं’, उनले भने, ‘तनहुँ, बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा ३ लाख लिटर पेट्रोल आजै पठाउँदै छौं, मूल्य घटेर होइन, पम्पमा मौञ्जाद सकिएकाले पम्प बन्द भएको हुन सक्छ ।’
काठमाडौं: दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।
पोखरा: पोखराकै ठुलो शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा शोभायासहित नवदुर्गा महोत्सव–२०८० शुरु भएको छ । वडा दशैँको स्वागतार्थ शोभायात्रासहित आज (आइतबार) घटस्थापना पुजा गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव शुरु भएको हो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले नवकन्या आरुढ नौ रथ सहितको शोभायात्रा सहित पुजा गरि वडा दशैँको स्वागत गरेको बताए । नवदुर्गा महोत्सवको अवसरमा विन्ध्यवासिनी मन्दिरबाट शोभायात्रामा नवकन्या, आरुढ नौ रथसहित विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलश सहित मातृशक्ति, बिभिन्न आमा समुहहरु, सामाजिक धार्मिक तथा जातिय साँस्कृतिक शैक्षिक संस्थाहरु, भजन समुहहरु शोभायात्रामा सहभागी भएका थिए । आजबाट सुरु भएको नवदुर्गा महोत्सव नवमीसम्म सञ्चालन हुने समितिका सचिव श्रेष्ठले बताए । ‘हामीले विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०६४ सालदेखि संस्थागत ढङ्गले सञ्चालन गर्दै आएका छौं, केही वर्ष कोभिडका कारण गर्न सकेनौं’, सचिव श्रेष्ठले भने, ‘घटस्थापनासँगै आज विन्ध्यवासिनी मन्दिरबाट नवदुर्गा शोभायात्रासहित महोत्सव सञ्चालन गरेका छौ, शोभायात्रा सम्पन्न भइसकेको छ, महोत्सव नवमीसम्म सञ्चालन हुन्छ ।’ उनले धर्म संस्कृतिको संरक्षण र सामाजिक सद्भाव कायम राख्न महोत्सव आयोजना गरेको बताए । ‘महोत्सवको पहिलो उद्धेश्य धर्म संस्कृतिको संरक्षण हो, हाम्रो धर्म संस्कृति बारे सन्तन्तीलाई जानकारी र पुस्तान्तरण गर्ने दोस्रो उद्धेश्य हो’, उनले भने, ‘ सामाजिक सद्भाव कायम गर्न सकिन्छ भनेर महोत्सव आयोजना गरेका हौ ।’ उनले महोत्सवबाट अर्थ संकलन नै प्रमुख उद्धेश्य नभएपनि मन्दिर, महोत्सवमा आएका भक्तजनले आफ्नो खुशीले भेटी चढाउन पाउने बताए । श्रेष्ठले महोत्सव अवधिभर रात्रिकालिन आरती श्रीमद्देवी भागवतको कथा ,महायज्ञ प्रस्तुत हुने बताएका छन् । श्रेष्ठका अनुसार प्रत्येक दिन बिहान ९ देखी १२ बजे सम्म र मध्यान्नदेखी अपरान्ह ४ बजे सम्म महायज्ञ हुनेछ । उनले बिजयादशमीको दिन बिहान ४ बजेदेखी नित्य पूजा आरम्भ भई ५ बजेबाट भक्तजनहरुका लागि खुला गरिने बताए । त्यसपश्चात वाल गोपाल भजन मण्डल तथा बिन्ध्यबासिनी महिला भजन समुहबाट भजन कीर्तन हुने समितिले जनाएको छ ।