धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताउनुभएको छ । पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज (मङ्गलबार) आयोजित श्रद्धाञ्जली कार्यक्रममा उहाँले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताउनभयो । प्रधानमन्त्री प्रचण्डले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गर्नुभयो । उहाँले राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले न्नुभयो, “सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् ।” उहाँले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताउनुभयो । सीताको निधनमा प्रकट भएका जनअभिव्यक्ति र जनउभारले आफू र आफ्नो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक र सांस्कृतिक असमानताको अन्त्य गर्न आफूलाई बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको बताउनुभयो । “शोकको यो घडीमा मित्रराष्ट्र र संसारभरका सबै राष्ट्रप्रमुख र सरकार प्रमुखबाट हामीले अत्यन्त आत्मीय सहानुभूति र ऐक्यबद्धता पायौँ”, उहाँले भन्नुभयो, “कूटनीतिकजगत्, राजनीतिक दल र नेतृत्व वर्ग, सञ्चारजगत्, कर्मचारीतन्त्र, सुरक्षा निकाय, बुद्धिजीवी, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, व्यवसायी र समाजका सबै तप्काको समवेदना र सहानुभूतिले हाम्रो पीडामा ठूलो मलहम लगाउने काम गरेको छ ।” उहाँले सबै पक्षको सहानुभूतिका लागि आफू, सरकार, पार्टी र परिवारका तर्फबाट धन्यवादज्ञापन गर्नुभयो । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति थियो । सो अवसरमा प्रधानमन्त्री पत्नी सीताको व्यक्तिगत तथा राजनीतिक योगदान समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रमपछि प्रधानमन्त्री निवासमा जलपान कार्यक्रमको आयोजनासमेत गरिएको थियो । प्रधानमन्त्री पत्नी सीताको गत असार २७ गते ६९ वर्षीय उमेरमा निधन भएको थियो । 

काठमाडौं:    बाढी-पहिरोका कारण ३ वटा राजमार्ग बन्द छन् । १५ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका सडक विभागले जनाएको छ । सडक विभागका अनुसार मेची राजमार्गको केचना-चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ-ओलाङचुङ्गगोला सडक खण्ड  अवरूद्ध छ । यो राजमार्ग असारको पहिलो हप्तादेखि नै बन्द छ । त्यस्तै तमोर करिडोरअन्तर्गतको चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक र तानसेन-रिडी-कोरला सडक बन्द छ । विभागले अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको पनि जानकारी दिएको छ । काठमाण्डौसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन नारागणगढ सडकमा केही दिनयता सामान्य रुपमा गाडी चलिरहेका छन् । पहिरोको जोखिम रहेकाले मुग्लिन नारागणगढ सडकको यात्रा गर्नु अघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गर्दै आएको छ।

काठमाडौं:   नयाँ आर्थिक वर्ष शुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘पालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार २० दशमलव ४५ प्रतिशत पालिका बजेटविहीन रहेको देखिएको हो । यस अवधिसम्ममा बजेट पेस भइसकेका पालिकाको सङ्ख्या पाँच सय ९९ छ । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ६३ वटा पालिकाले बजेट ल्याएका छैनन् । सबैभन्दा कम कर्णाली प्रदेशका चार पालिकाले मात्रै बजेट ल्याउन बाँकी रहेको देखिएको हो । कोशी प्रदेशका २९, बाग्मतीका २४, गण्डकीका सात, लुम्बिनीका १४ र सुदूरपश्चिमका १३ पालिकाले आफ्नो वार्षिक बजेट पारित भएको विवरण पेस गरेको देखिँदैन । सङ्घीय मामिला मन्त्रालयका सहायक प्रवक्ता अश्विनकुमार पोखरेलका अनुसार बजेट पारित गरिसकेका पालिकाले पनि मन्त्रालयको प्रणालीमा प्रविष्टि (इन्ट्री) नगर्दा यस्तो सङ्ख्या धेरै देखिएको हो । ‘धेरै पालिकाले बजेट पारित गरिसकेका भए पनि पोर्टलमा हालिसकेका छैनन् । अहिलेसम्म बजेट पेस नै नगरेका २० वटाभन्दा बढी पालिका छैनन् भन्ने हाम्रो अनुमान छ’, उहाँले भन्नुभयो । मन्त्रालयको प्रणालीमा बजेट प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण चाँडो बुझाउन परिपत्र गरिएको उहाँले बताउनुभयो । सङ्घीय मामिला मन्त्रालयले आइतवार अस्ति सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०र८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने व्यवस्था छ । गाउँसभा तथा नगरसभामा पेस भइ पारित भएको विवरण सङ्घीय मामिला मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ । बजेट पेस गरेका तर गाउँसभा तथा नगरसभाबाट पारित हुन बाँकी रहेका पालिकालाई पनि बजेट पेस भएको विवरण जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ । जिल्ला समन्वय समितिलाई पठाएको पत्रअनुसार सम्बन्धित पालिकाले बजेट पेस गरेरनगरेको विवरण मन्त्रालयलाई जानकारी गराउन भनिएको छ । असार १० गतेभित्र बजेट पेस गर्ने पालिकाको सङ्ख्या, तोकिएको समयपछि बजेट पेस गर्ने पालिकाको नाम र सङ्ख्या, असार मसान्तसम्म पनि बजेट पेस नगर्ने पालिकाको नाम, असार मसान्तभित्र बजेट पारित गर्ने पालिकाको सङ्ख्या र त्यस अवधिमा बजेट पारित गर्ने पालिकाको नाम माग गरिएको छ ।

काठमाडौं:   अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनुभएको  छ ।  भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्नुहुँदै मन्त्री डा. महतले अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौति थपेको बताउनुभयो । उहाँले स्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको जिकिर गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन बैठकमा उहाँले आह्वान गर्नुभयो । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक जस्ता संस्थाहरूको सहभागिता रहेको छ । बैठकमा मुख्य गरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ । सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवम् सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन भोलि (मङ्गलबार) सम्म चल्ने छ ।

बुटवल:      प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरलाई सम्पादन गरी भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवलका एक युवकलाई पक्राउ गरेको छ । बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो । उनले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका बेला समेत लिएर असंवेदनशील पोस्ट गरेका थिए ।   ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाइ इलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । आइतबार साँझ पक्राउ परेका रानालाई सोमबार टोलीले काठमाडौं लगेको छ । उनलाई काठमाडौंमै साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

सुनसरी:     सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   सप्तकोसी किनारमा युवतीहरुको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।       जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवत्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईकाअनुसार उक्त घटनामा संलग्न अरु चार जनाको खोजी भइरहेको छ । उनीहरु फरार छन् । गत शुक्रबार सप्तकोसी नदीस्थित बराहक्षेत्रको राजाबासमा पाँच युवतीको समूहले तीन युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कुटपिटमा संलग्नहरुले आफ्नो पोल अरु कसैलाई खोलिदिएको भन्दै मुक्का र लात्ती वर्षाएको देखिन्छ । 

काठमाडौं:    सरकारले सार्वजनिक गाडीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा घटाएको हो ।   स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक गाडीमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ । यसैगरी मालवाहक गाडीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ । घटेको भाडा आज सोमवारदेखि नै लागू हुने छ । घटेको यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने गाडीमा लागू हुनेछ । छोटो दुरीको गाडी भाडा भने प्रदेश सरकारले समायोजन गर्नेछ ।   हेर्नुहोस कहाँ कति भाडा  

काठमाडौं:      मिटरब्याजसम्बन्धी विधेयक पारित भएको छ । विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकालाई न्याय दिने कानुन कार्यान्वयनको बाटो खुलेको छ । प्रतिनिधि सभाको हिजो बसेको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । यो विधेयकमा मिटरब्याजसँग सम्बन्धित कानुनी व्यवस्था गरिएको छ । यो विधेयकले अनुचित लेनदेनसँग सम्बन्धित कार्यलाई कसुर मानेको छ । मिटरब्याजपीडितको पक्षमा ल्याइएको यो विधेयकमा कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढीको लिखत तयार गर्ने, ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेको रकमको भर्पाइ नदिने वा लिखत नबनाउने कार्यलाई कसुर ठहर गरेको छ । त्यस्तै, साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की दिने, शोषण गर्ने, ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने जस्ता काम गर्न, गराउन वा अनुचित लेनदेनको रकम असुलउपर गर्न ऋणीलाई हैरानी पुर्याएमा पनि कसुर गरेको ठहरिने व्यवस्था छ । सरकारले मिटरब्याज पीडतसँगको सहमतिअनुसार गएको वैशाख २० मा अध्यादेश ल्याएको थियो । यो अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि असार ५ मा विधेयक दर्ता गरिएको थियो । राष्ट्रिय सभाबाट असार १० मा विधेयक पारित भएको थियो । असार १७ मा विधेयक प्रतिनिधि सभामा पेस भएको थियो । असार २० मा संसद् अवरुद्ध हुँदा पारित हुन सकेको थिएन । हिजो विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकाहरुले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ ।

रोल्पा:    रोल्पामा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरू ११ वर्षीय सुशील र छ वर्षीय प्रेम रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।