चितवन: चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज र आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२९ दासढुङ्गामा बिहान सवा ५ बजेतिर बस दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बाग्मती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकबाट तल खसेर रुखमा अड्किएको अवस्थामा छ । बस रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं: सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई २५ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो रु निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि पेशीको सूचना महान्यायात्रिवक्ताको कार्यालयलाई दिई सुनुवाइका लागि नियमानुसार पेस गर्नुहोला ।’ ललिता निवास जग्गा प्रकरणको सरकारी कागजात कीर्ते मुद्दाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले असार २४ गते सचिव राउतलाई नियन्त्रणमा लिएको थियो । सचिव राउतको तर्फबाट उषा कार्कीले असार २७ गते गृह मन्त्रालय समेतलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउनुभएको थियो । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं: मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ । यस अनुसार अब मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न पाउने छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान, सिलिङ उडान र पुष्पवृष्टि गर्न रोक लगाएको छ । प्राधिकरणले हेलिकप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्ने समेत नियम ल्याएको छ । हेलिकप्टरको उडानसम्बन्धी हाल विमानस्थलमा भइरहेको अनुमति दिने काम मनसुन (सेप्टेम्बर २०२३) भर साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय समेत भएको छ । प्राधिकरणले हेलिकप्टर तथा स्टल विमानस्थल (सानो धावनमार्ग भएका हिमाल र पहाडका विमानस्थल)मा हुने दैनिक उडानलाई नियमित सुपरिवेक्षण समेत प्राधिकरणले गर्ने भएको छ । यसका लागि अब एक कमिटिले काम गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सेयर सदस्य (लगानीकर्ता)का रुपमा हेलिकप्टर कम्पनीमा संलग्न भएर पाइलटको काम समेत गरिरहेकाहरुलाई व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार सोलुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको थियो । यो हेलिकप्टर माउन्टेन फ्लाइटका लागि सो क्षेत्रमा पुगेको थियो । त्यसअगाडी संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हाइड्रोपावरको सामान ओसार्ने क्रममा भएको थियो ।
हुम्ला: हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको हो । यसअघि गएको असार २५ गते सिन्धुपाल्चोकको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली, पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प तथा परकम्प गइरहेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
मनाङ: हिमाली जिल्ला मनाङमा पनि लम्पी स्किन अर्थात् गाईबस्तुको (छालामा हुने गिर्खे रोग) भेटिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको भेटिएको जानकारी दिनुभयो । किसानले गोरु बिरामी भएको खबर गरेपछि अस्ति मङ्गलवार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताउनुभयो । मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो । मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको पनि पशु चिकित्सक नारायण कुसुमले जानकारी दिनुभयो । अस्तिदेखि चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन शुरु गरिएको हो । केही दिनपछि नासो गाउँपालिकामा पनि खोप लगाउन शुरु गर्ने उहाँले बताउनुभयो । मनाङमा गाईगोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताउनुभयो । मनाङमा पनि लम्पी स्किन देखिएपछि देशका ७७ वटै जिल्ला यो रोग फैलिएको पुष्टि भएको छ । लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ । ज्वरो आएको पशुलाई बथानबाट अलग्गै राख्न, आराम गराउन र पानी तथा पोषणयुक्त खानेकुरा दिन कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव डा।रामनन्दन तिवारीको आग्रह छ । पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजारभन्दा धेरै पशु चौपायामा यो रोग देखिएको छ । सङ्क्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् । अहिले २ लाख ४४ हजारभन्दा धेरै पशुमा रोगको सङ्क्रमण छ । समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसके झण्डै २५ लाख पशुचौपायामा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने नेपाल पशु चिकित्सा परिषद्को अनुमान छ । लम्पी स्किन रोग नियन्त्रणमा सरकार गम्भीर नभएको र राहतको मागसहित किसानले आन्दोलन थालेका छन् । गाईबस्तु मरेर अर्बौँ रुपैयाँको नोक्सानी हुँदा समेत राहतका कुनै कार्यक्रम नआउँदा किसान मर्कामा परेका छन् ।
ढोरपाटन: जिल्ला सदरमुकाम बागलुङदेखि पश्चिमा रहेका नागरिकलाई सहजरुपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा २०५४ सालमा इलाका प्रशासन, मालपात र नापी कार्यालय स्थापना भए । कार्यालय स्थापनापछि उक्त क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसअघि सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो । तर २०५८ सालपछि सशस्त्र द्वन्द्वका कारण तीनवटै कार्यालय विस्थापित भए । कार्यालय विस्थापित भएर बागलुङ बजारमा आएपछि पश्चिम बागलुङवासीले निकै सास्ती पाए । इलाका प्रशासन कार्यालय २०६३ सालमा पुन:स्थापना भयो । र सेवा प्रवाह गर्न थाल्यो । सुरुमा सरकारले प्रशासन कार्यालयलाई एकीकृत सेवा केन्द्रको नाम दियो । एकीकृत सेवा केन्द्र २०६९ सालदेखि २०७५ सम्म कायम रहेको थियो भने पुनः २०७५ सालमा इलाका प्रशासन कार्यालयमै रुपान्तरित भयो । इलाका प्रशासन २०६३ सालमै पुन:स्थापना भए पनि मालपोत र नापी कार्यालय २०७१ चैतमा मात्र पुनःस्थापना भए । तर अहिलेसम्म तीनवटै कार्यालयको आफ्नो भवन भने छैन । भाडाकै घरबाट सेवा सञ्चालनमा छ । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले बताउनुभयो । “साँघुरा कोठामा बसेर काम गर्दा गाह्रो भएको छ”, उहाँले भन्नुभयो । यसअघि बुर्तिबाङको उपल्लो बजार र फाँट बजारमा कार्यालय संचालनमा थियो । मासिक रु ३३ हजार भाडा तिर्दै कुँवरले बताउनुभयो । यस्तै मालपोत कार्यालय बुर्तिबाङका प्रमुख सूर्यप्रसाद शर्माले मासिक रु ५० हजार तिरेर कार्यालयले सेवा प्रवाह गर्दै आएको बताउनुभयो । “सेवाग्राहीमैत्री भवन नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो । यस्तै नापी कार्यालय बुर्तिबाङकी प्रमुख पायल श्रेष्ठले भाडाको घरबाट चाहेअनुसारको सेवा प्रवाह गर्न नसकेको बताउनुभयो । उक्त कार्यालयले पनि मासिक रु ३० हजार भाडा तिर्दैआएको छ । छब्बीस वर्ष अगाडि स्थापना भएर विभिन्न समयमा विस्थापित भए पनि अहिले भने तीनवटै कार्यालय निरन्तर सञ्चालनमा छन् । यी कार्यालयबाट पश्चिम बागलुङको निसीखाला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ३२ वडाका नागरिकले सेवा लिएका छन् ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । उहाँको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओडाएर सम्मान प्रकट गर्नुभयो । त्यस लगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ । आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उहाँका छोरीहरु रेणु र गंगा दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो । पत्नी शोकमा रहनुभएका आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको बुधबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति पु¥याइएको छ । आर्यघाटमा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि ठूलो जनसमूह ओइरिएको छ । केहीबेरमा उहाँको अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय यसअघि नै गरिसकेको छ । आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगले मस्तिष्कमा असर गरेका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।