सुनसरी: सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्।  आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ...

कालीकोट:   कालीकोटको पलाँता गाउँपालिका ६ मा स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरीसहित दुई जना घाइते भएका छन् । बलात्कार मुद्दामा अदालतबाट कुसर सजाय सुनाइएका फरार अभियुक्त घर आएको जानकारी पाएपछि प्रहरी प्रकाउ गर्न गएको थियो । पलाँता-४ को कयरदेवबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुन्द्र रावलको नेतृत्वमा गएको टोलीमाथि स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरी सहायक निरीक्षक रावल र प्रहरीलाई सहयोग गर्ने वडा-५ का धनमान विक घाइते भएका जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बमले जानकारी दिनुभयो । लुकीछिपी रहेको अवस्थामा प्रहरीले हतकडी लगाउन खोज्दा भेला भएका स्थानीयले ढुङ्गामुढा गर्दा रावलको टाउकोमा र विकको टाउको र खुट्टामा चोट लागेको छ । अभियुक्त हतकडीसहित फरार रहेका प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक बमले बताउनुभयो ।

काठमाडौं:    पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाले बताउनु भयो ।  पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. थापाका अनुसार पशुपतिमा शवहरूको दाहसंस्कारका लागि अहिले दुई वटा विद्युतीय शव दाह गृह रहेका मध्य एउटा मात्र सञ्चालनमा रहेका छन् । बिग्रिएकालाई मर्मत गर्ने र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण गरी निःशुल्क बनाइने जनाएको हो ।  अहिले सञ्चालनमा रहेको एक विद्युतीय शव दाह गृह र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण पछि जम्मा ५ वटा विद्युतीय शव दाह गृह हुने छ । यी विद्युतीय शव दाह गृह निर्माणको काम सकिएसँगै पशुपति क्षेत्र विकास कोषले सबै शवहरूको निःशुल्क शवहरूको दाहसंस्कार गर्ने तयारी गरेको बताइएको छ । अहिले पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाह गृहमा ४ हजार रुपियाँ शुल्क लिने गरेको छ ।

मुगु:    च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।  हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना  रहेका जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । यही वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ । हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्थीले बताउनुभयो ।  स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टर सहित उद्धारकर्मी पठाएको हो । मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आगामी जेठ ४ गते सङ्कलकलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्ला जिल्ला पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५  स्थानीय अवैध बाटो भएर  पाटनतर्फ प्रस्थान गरेका जनाइएको छ  । पाटनमा जाँदै गर्दा च्याखु लेकमा यही वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो आउँदा तारासिंह सार्की (४०), पुन्न सार्की (३५) र वीर बोहरा (३५) बेपत्ता भएको जनाइएको छ । 

  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ।   वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो।   एमाले प्रचारप्रसार विभागका उपप्रमुख विष्णु रिजालले बजेट अधिवेशन र संसदीय गतिविधिलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिएका छन् ।    एमालेले मिसन ग्रास रूट अभियानु र चुनावीबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक राखेको हो। यद्यपी बैठकका एजेन्डा कार्यालय र सचिवालय बैठकले तय गर्नेछ।

पोखरा:    नेपाल नेत्रज्योति संघ कास्कीको अध्यक्षमा सुरेन्द्र थापामगर निर्विरोध चयन भएका छन् ।     शनिबार सम्पन्न भएको संघको अधिवेशनले वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित चयन गरेको हो । अन्य पदाधिकारी अध्यक्षले नियुक्त गर्ने संघको सदस्यहरुमा डा. नन्द श्रेष्ठ, जनकराज पराजुली, रमाकान्त बराल, नारायण बराल, मेघनाथ काफ्ले, शंकर गुरुङ, प्रा।डा। ज्ञानबहादुर कार्की, सुशीला केसी अधिकारी। गणेशबहादुर ढकाल र तुम्ला श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महिला सदस्यहरुमा राधिकाकुमारी शाही र पुष्पलक्ष्मी महर्जन चयन भएका छन् । यी सदस्यहरुमध्येबाट पदाधिकारीको छनोट गरिने नवनिर्वाचित अध्यक्ष थापामगरले जानकारी दिए ।

काठमाडौं:    प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया लामो समयदेखि  अघि बढ्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले तत्काल प्रक्रिया अघि बढाउन निरन्तर दबाब दिँदै आएको छ ।       यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएकाले प्रधान न्यायाधीश  नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास बढेको छ ।            न्यायालयको इतिहासमा २०७९ साल कायम कामुकै नेतृत्वमा सर्वोच्च अदालतको सयम बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठतम न्यायाधीशले कार्यभार सम्हाल्दै आएकामा अहिले  वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश रहनुभएको  छ ।            बारले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाअघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेसँग आग्रह गरे पनि ठोसरुपमा काम अघि बढ्न सकेको छैन ।            बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया यथाशीघ्र अघि बढाउन माग गरिरहेकामा  सोमबार संवैधानिक परिषद्को बैठक बोलाइएकाले प्रक्रियाअघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । बारले प्रधानन्यायाधीशको तत्काल नियुक्तिलगायत विषयमा एकहप्ताअघिदेखि दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।             “ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनाका साथै न्यायालयको शुद्धीकरणका लागि निरन्तर आन्दोलन भइरहेको छ”, उहाँले भन्नुभयो, “संवैधानिक परिषद्को बैठक सोमबार बोलाइएको हुनाले प्रधानन्यायाधीश नियुक्तिको काम अघि बढ्ने विश्वास छ ।”      न्यायपालिका भित्रको भ्रष्टाचार, विकृति विसङ्गति अन्त्य गर्न तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नसमेत बारले माग गर्दै आएको छ ।             नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा ३ मा परिषद्ले प्रधानन्यायाधीश वा अन्य संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनु एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ तर सर्वोच्च अदालतमा महाअभियोगको प्रस्ताव निर्णयमा नपुग्दै तत्कालीन निलम्बित प्रधानन्यायाधीश राणाको अवकाश भएपछि वरिष्ठतम न्यायाधीशलाई  प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्बाट सिफारिस हुनुपर्नेमा परिषद्को बैठक बस्न सकेको थिएन ।      

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ स्थित रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार बिहान एक जना पर्यटकको ज्यान गएको छ । बेनी जोमसोम सडकअन्तर्गत पर्ने पर्यटकीय स्थल रुप्से झरनाको अवलोकन गर्न पुग्नुभएका काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  प्रहरी निरीक्षक किरण लामाका अनुसार झरना अवलोकन गर्दा ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीको बेनी अस्पतालमा उपचारका क्रममा  चिकित्सकले मृत घोषणा गरेका थिए ।

चितवन:    पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएको घटना तत्काल छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरी आज चितवन बन्द गरिएको छ । बन्दको प्रभाव पूर्व–पश्चिमको मुख्य राजमार्ग क्षेत्रमा नै परेको छ । पूर्व(पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन् । चितवनसँग जोडिएका क्षेत्र गैँडाकोट, लोथर, मुग्लिनलगायतका ठाउँमा गाडी रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका ठाउँमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् । पश्चिमबाट आएका धेरै गाडी गैंडाकोटमा रोकिएका छन् । पुल्चोकमा बन्दकर्ताले अत्यावश्यक बाहेकका गाडी चल्न नदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मंगलबार आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

काठमाडौं:   सुडानबाट नेपाल फर्किएका १३ जना नेपाली स्वदेश आइपुगेका छन्।  इजिप्टस्थित कायरो दूतावासको सम्पर्कमा ३१ जना आएका थिए। उद्धार भएका १९ मध्ये छ जना रोजगारदाता कम्पनीको दुबई शाखामा स्थानान्तरण भएर काम थालेका छन्। चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपालीलाई पनि चीन सरकारको सहयोगमा उद्धार भएको छ। बाँकी १२ जनामध्ये थप नौ जना भारत सरकारको सहयोगमा पोर्ट सुडानको हवाईमार्ग हुँदै भारतको अहमदावाद उडेका छन्। तीन जनामध्ये एक जना स्वेच्छाले पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमानजिकको स्थानमा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  मन्त्रालयले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली सैनिक तथा प्रहरीको यसअघि उद्धार गरी सुरक्षित स्थानमा लगिइसकेको छ। सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगबाट सक्रिय रूपमा समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जानकारी दिएको छ। उद्धार प्रक्रियामा सहयोग पु(याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारको कार्यको नेपाल सरकारले सराहना गरेको छ।