पोखरा: पोखरा चेम्बर अफ कमर्स कास्की दक्षिण क्षेत्र एकाइले आयोजना गरेको रक्तदानमा ४३ युनिट रगत संकलन भएको छ। पोखरा चेम्बर अफ कमर्सले आज (शनिबार) पोखरा १७ मा आयोजना गरेको रक्तदानमा ४३ युुनिट रगत संकलन भएको हो । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा पोखरा महानगर वडा न १७ का वडा अध्यक्ष राधिका शाही योगि ,पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेल ,चेम्बर कास्कीका सल्लाहकार योगेन्द्र के सि।चेम्बर दक्षिण एकाइका निबर्तमान अध्यक्ष नगेन्द्र शर्मा भण्डारी महिला चेम्बरका अध्यक्ष सिमा कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सङ्खुवासभा: सङ्खुवासभाको मकालु गाउँपालिका-२ मा पर्ने मकालु बेस क्याम्पमा लेक लागेर एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका-२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको मकालु गाउँपालिका-२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट हिजो लेक लागेर बिरामी भएका थिए । विष्टले विदेशी टोलीको भरियाको काम गर्दै आएका थिए । ‘विष्टमकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिडेका थिए, वडाध्यक्ष शेर्पाले भने, ‘विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत् सेदुवा ल्याउने तयारी भइरहेको छ ।’ सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिन लाग्छ। घटनाका बारेमा आज मात्रै जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ । हिउँदयाममा नदीको पानी घटेपछि गएको पुष ३ गतेदेखि बन्द भएको विद्युत् निर्यात नदीमा पानीको बहाव बढेपछि हिजोदेखि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। हिजो झण्डै ६ सय मेगावाट विद्युत् भारत पठाइएको उनले बताए । आज प्रसारण लाइन जाँचको लागि निर्यात बन्द गरेको र भोलिदेखि पुन: नियमित निर्यात हुने उनले बताए । नेपालले केही अघिसम्म दैनिक ४ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा पछिल्ला केही दिन वर्षा भएकाले उत्पादन बढेर निर्यात गर्ने अवस्थामा पुगेको भट्टराईले बताए । तर वर्षा रोकिएमा भने उत्पादन घटेर आयात गर्नुपर्ने अवस्था आउन पनि सक्ने उनको भनाइ छ । प्राधिकरणमा अनुसार हिजो झण्डै सात रुपैयाँप्रति युनिटका दरले निर्यात भएको छ ।
म्याग्दी: उम्रेदेखि नै मकैमा फौजी किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् । फौजी किराको प्रकोपका कारण गएको वर्षको तुलनामा यसवर्ष म्याग्दीमा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश भएका हुन् । यहाँको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रका किसानले लगाएको मकै बालीमा रोग तथा फौजी किराको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन पाएका छैनन् । जिल्लाको लेकदेखि बेँसीसम्मका प्रायजसो खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार म्याग्दीको ११ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३७ हजार आठ सय १७ टन मकै उत्पादन हुन्छ । यहाँबाट करिब २५ टन मकैको बिउपर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत ठाउँ जाने गर्छ । ुम्याग्दी मकै खेतीमा आत्मनिर्भर छ, तर यस वर्ष भने समयमै वर्षा नहुँदा र रोग किराको प्रकोप देखिएको हुँदा विगतको जस्तो उत्पादन हुँदैन कि भन्ने आशङ्का छु, कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । उहाँले खानाबाहेक बिउमकै उत्पादन गरी बाहिर जिल्ला पठाइने गरेको जानकारी दिनुभयो । मकै खेती कुल ६० प्रतिशत खेतीयोग्य भू-भागमा गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । म्याग्दीको खेतीयोग्य भू–भागमा मकै खेतीप्रति हेक्टरमा तीन हजार दुई सय ८० किलोका दरले उत्पादन हुने गर्दछ । जिल्लाको एक हजार ६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना–१, ३, देउती, शीतला र उपल्लो क्षेत्रमा अरुण–१, २, हिलपुल सेतो र स्थानीय जातका मकै खेती गरिन्छ । पोसिलो मकै रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार, बाबियाचौर क्षेत्रमा बढी खेती गरिन्छ । त्यसैगरी, उत्पादन राम्रो भए पनि राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरले ‘गरिबका लागि’ भनी सिफारिस गरेको पोसिलो–१ मकै कृषकले नरुचाएको कृषि प्राविधिकको भनाइ छ। जिल्लामा उत्पादन भएको कुल मकै खेतीको ३७ हजार आठ सय १७ मेट्रिकटनमध्ये २२ हजार सात सय ८४ मेट्रिकटन मकै प्रशोधित तथा खानका लागि योग्य मानिन्छ । कृषकहरूले समयमै मल र बिउप्राप्त गर्न नसक्नु, समयमै वर्षा नहुनु तथा मकै हुर्कँदै जाँदा रोग किराको प्रकोप देखिनुजस्ता कारणले यस वर्ष मकै उत्पादन घट्ने अनुमान कृषि प्राविधिकको छ । म्याग्दीमा मकै माघ–फागुनमा लगाइ असारदेखि भदौसम्म थन्क्याउने गरिन्छ । हिउँदेबाली असोज र कात्तिकमा लगाइ फागुन र चैतमा थन्क्याउने गरिन्छ।
पोखरा: पोखराका गायिकाहरुद्वारा स्थापित संस्था हार्मोनीले भित्तेपात्रो विमोचन गरेको छ । पोखरामा शनिबार आयोजना गरिएको एक कार्यक्रमका बीच नेपाली लेखक संघका अध्यक्ष, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भित्तेपात्रोको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले हार्मोनीले अहिले सम्म गरेका काम उदाहरणीय रहेको र अब आफुलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए । “हार्मोनीले छोटो समयमा आफुलाई स्थापित गरेको छ । संगीत क्षेत्रमा महिलाहरु संगठीत भई गरिएका हालसम्मका सबै कार्यक्रम प्रशंसनिय छ । अब थप परिमार्जित गर्दै नयाँपन दिनुपर्ने आवश्यकता छ ।”, उनले भने । कुनै बेला पोखराबाट स्थापित भएका ब्याण्ड र गायक गायिकाहरुले राम्रो सफलता प्राप्त गरिरहेको स्मरण गर्दै श्रेष्ठले पोखराको संगीत क्षेत्रलाई माथि उठाउन सबै एक भएर लाग्नुपर्ने उल्लेख गरे । हार्मोनीले अब पोखरा केन्द्रित मात्रै कार्यक्रम गर्नुभन्दा पनि अन्य शहरमा समेत कार्यक्रम गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । २०८० सालमा थप रचनात्मक सांगीतिक कार्यलाई प्रस्तुत गरि हार्मोनी अगाडि बढ्ने कुरामा आफु विश्वस्त रहेको भनाई उनको छ । उनले अब पोखराका गायकगायिकाहरु एक भएर अगाडि बढेनै पोखराको सांगीतिक क्षेत्रको श्रीवृद्धि हुने बताए । जसका लागि लेखकसँघ समेत सहयोग गर्न तयार रहेको भनाई उनको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले पोखरामा सांगीतिक क्षेत्रमा स्मरणीय काम कसले गर्छ भनेर सोधियो भने स्वस्फुर्त निस्कने नाम हार्मोनी भएको बताए । हार्मोनीका थुप्रै शुभचिन्तकहरु बजारमा धेरै हुँदै गएको भनाई उनको छ । छोटो समयमा आफुलाई गुणात्मक हिसाबले हार्मोनीले प्रस्तुत गरेको उनले बताए । बजारमा प्रतिस्पर्धा धेरै भएता पनि हार्मोनीको कामले संस्थाको गरिमालाई उचो राखेको अभिव्यक्ति उनको छ । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले कार्यक्रम कहिले गरियो भन्दा पनि के गरियो भन्ने विषय महत्वपूर्ण हुने बताए । हार्मोनीले स्थापना पश्चात अहिले सम्म जेजे कार्यक्रम गरिरहेको छ आफैमा स्तुत्य रहेको उनले बताए । उनले काम महत्वपूर्ण भएको उल्लेख गरे । हार्मोनीले नेपाली सांगीतिक फाँटमा नयाँ आयाम थपेको उनले बताए । विविधताले शहरलाई सुन्दर बनाउने हुँदा विविधतालाई संरक्षण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । हार्मोनीकी अध्यक्ष इतु जोजिजूले संस्थाले समाजमा आफुलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । सबैको सल्लाहबमोजिम नै पोखराको सांगीतिक क्षेत्रलाई उचो राख्न कार्यमा हार्मोनी तत्पर रहने भनाई उनको छ । आफ्ना कार्यक्रमलाई परिमार्जित गर्दै संगठीत रुपमा हार्मोनी अगाडि बढ्ने उनले बताइन् । कार्यक्रममा गायक रामभक्त जोजिजू र गायिका रजनी रिदम राईले गीत प्रस्तुत गरेका थिए । उपाध्यक्ष कौशल्या गुरुङले स्वागत, सचिव सानू जोजिजूले संचालन गरेको कार्यक्रममा गायक सन्तोष बस्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पोखराका गायकगायिका देखि संगीत अनुरागीहरुको उपस्थिति थियो ।
ढोरपाटन: हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ । बजार क्षेत्रमा आवश्यकपर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको छ । सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ । नगरपालिले चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी वडा नं ६ हरिचौरमा बालउद्यान निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु छ लाखले उद्यान निर्माणको सुरुआत गरेको छ । नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि हरेक वडामा बालउद्यानलगायतका संरचना आवश्यक हुनेहुँदा हरिचौरमा यस वर्ष उद्यान निर्माण गर्न थालिएको वडाध्यक्ष पवन हमालले बताउनुभयो । उहाँले बजार नजिकैको दुई रोपनी सार्वजनिक जग्गामा बालउद्यान निर्माण गर्न थालेको जानकारी दिनुभयो । बालउद्यानसँगै ढल व्यवस्थापनलगायतका कामसमेत गरिरहेको छ । बालउद्यानका लागि यस वर्ष जग्गा व्यवस्थापन गरी सम्याएर संरचना निर्माण गर्न थालिएको अध्यक्ष हमालको भनाइ छ । उद्यानसँगै बगैँचासमेत व्यवस्थापन गरिनेछ । अहिले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्री राखिएको उहाँले बताउनुभयो । अहिलेसम्म बजार क्षेत्रमा कुनै पनि तनाव व्यवस्थापन गर्ने स्थल नभएको भन्दै वडा कार्यालयले छोटो समय भए पनि भुल्ने स्थान बनाउन थालेको अध्यक्ष हमाल बताउनुहुन्छ । आफूहरुले हरिचौर बजारलाई समेत थप व्यवस्थित र बालमैत्री बजारका रुपमा विकास गर्न थालिएको उहाँको भनाइ छ । “यस वर्षदेखि हामीले बजार व्यवस्थापन गर्नुका साथै बालउद्यान निर्माण गर्न थालेका छौँ, बजार तीव्ररुपमा विस्तार हुँदैछ, दिनदिनै भिडभाड हुने हुँदा शान्त हुने ठाउँको अभाव पनि छ, त्यसले गर्दा मान्छेलाई एकैछिन भए पनि ‘फ्रेस’ हुन र मनलाई शान्त पार्नका लागि बालउद्यान निर्माण गरेका हौँ”, अध्यक्ष हमालले भन्नुभयो, “खासगरी बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी यो निर्माण गरेका हौँ, यस वर्ष केही काम भएको छ, आगामी वर्षको बजेटले पूर्णता दिनेछौँ, उद्यानमा फूलबारी हुनेछ, बालबालिका खेल्ने सामग्री अहिले नै राखेका छौँ थप सामग्री व्यवस्थापन गर्दै जानेछौँ ।” अध्यक्ष हमालले हरिचौर बजार क्षेत्र अव्यवस्थित हुँदा आगन्तुक तथा स्थानीयलाई समस्या हुने गरेको भन्दै अब बन्ने सबै संरचना मापदण्डअनुसार निर्माण हुने र हरिचौरलाई जिल्लाकै उत्कृष्ट बजारका रुपमा विकास गर्ने अध्यक्ष हमालले बताउनुभयो । यहाँ रहेका साँघुरो र अप्ठ्यारो सडकमा बेलाबेला दुर्घटना हुने गरेको भन्दै अहिले ढलान गरेको उहाँ बताउनुहुन्छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले हरिचौर बजारको सौन्दर्यकरण गरी व्यवस्थित बजार बनाउन नगरपालिकाले मापदण्ड बनाएको बताउनुभयो । बजारमा तीव्ररुपमा भवनहरु बनिरहेको भन्दै अब निर्माण हुने सबै संरचना नगरपालिकाले बनाएको मापदण्डअनुसार बनाउनुपर्ने प्रवक्ता भण्डारी बताउनुहुन्छ । यहाँ ऐतिहासिक गलकोट दरबार छ । हरिचौर हुँदै पर्यटकीयस्थल टेउवाको मूर्तिकला पुगिने हुँदा बजारमा विभिन्न संरचना बनाउन थालिएको उहाँको भनाइ छ । प्रवक्ता भण्डारी भन्नुहुन्छ, “हरिचौर बजार पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, यहाँ दैनिक आन्तरिक पर्यटक घुम्न आउने गर्छन्, यहाँको गलकोट दरबार र टेउवाको मूर्तिकला हेर्न आउने पर्यटकले एकैछिन थकान मेटाउनका लागि र बालबालिकालाई ‘रिफ्रेसमेन्ट’ गराउनका लागि पार्क निर्माण भएको छ, अहिले सामान्यरुपमा निर्माण भए पनि यसलाई थप व्यवस्थित बनाउने योजना छ ।”
काठमाडौं: सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनकारी दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसके पनि प्रतिनिधि सभामा छलफल जारी छ । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम पारित हुने छ । त्यसपछि संसदमा आर्थिक वर्ष २०८० र ८१ को बजेट प्रस्तुत हुनेछ । संविधानको व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने भएको छ ।
गण्डकी: वनपाखा चहारेर ऐँसेलु टिप्छन् । मल्लाताको हरियो पातलाई सोली आकारमा बेर्छन् । त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आइपुग्छन् । ऐँसेलु टकार्दै गाडीको झ्यालतिर हात लम्काउँछन् । यात्रुलाई ऐँसेलु किन्न विनयपूर्वक आग्रह गर्छन् । कसैले गाडी रोकेर ऐँसेलु किन्छन्, कोही वास्तै नगरी हुइँकिन्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेका कतिपय महिलाले हिजोआजको दैनिकी यसरी नै कटाउँछन् । मङ्गलबार मध्यपहाडी पुष्पलाल लोकमार्गमा मनमाया विकसँगै तीन महिला ऐँसेलु बेचिरहेका भेटिए । झरीकोसमेत पर्वाह नगरी उनीहरु हातमा ऐँसेलु लिएर सडक किनारमा उभिइरहेका थिए । विकले काँडाले कोतरेका हत्केला देखाउँदै ऐँसेलु टिप्नु दुःखजिलो काम भएको सुनाउनुभयो । “बिहानमा ऐँसेलु टिप्छौँ, दिउँसो बाटोमा ल्याएर बेच्छौँ”, उहाँले भन्नुभयो, “टाढाटाढा वनमा जानुपर्छ, गाह्रो भए पनि घरखर्च जुटाउन काम गर्नैप¥यो ।” महिला टपरी झैँ खिपेको हरियो पातमा ऐँसेलु राखेर बेच्छन् । एउटाको मूल्य रु एक सय राखेका छन् । कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्छन् । दैनिक ज्यालादारी कामकोभन्दा धेरै पैसा आउन थालेपछि महिला ऐँसेलुतिर आकर्षित भएका हन् । “ऐँसेलु बेच्न सजिलो त छैन, धेरैले त वास्तै गर्नुहुन्न, कोहीकोहीले गाडी रोकेर चाख मानीमानी किनेर खानुहुन्छ”, विकले भन्नुभयो, “फुर्सदका दिनको सदुपयोग पनि भएको छ, घरगुजारा चलाउन अलिअलि पैसा पनि हुन्छ ।” बढीजसो सहरिय मानिसको रोजाइमा ऐँसेलु पर्छ । विदेशी पर्यटकले पनि किनेर खान्छन् । लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्तयाममा ऐँसेलु बेच्ने भेटिन्छन् । पहाडी भेगका अरु राजमार्ग छेउछाउ पनि ऐँसेलुको किनमेल हुन थालेको छ । बिदाका दिनमा त बालबालिका पनि ऐँसेलु बेच्न बाटोमा निस्कन्छन् । वयस्क पुरुष भने यो काममा खासै भेटिन्नन् । बागलुङको काठेखोला गाउँपालिका–५ का दुई दाजुभाइ शिशिर र विश्वास पनि केही दिनअघि सडकमा ऐँसेलु बेचिरहेका भेटिए । शनिबारको फुर्सद पारेर गाउँ नजिकैको वनबाट ऐँसेलु टिपेर ल्याएको शिशिरले सुनाउनुभयो । त्यसअघि उनीहरुलाई ऐँसेलु बिक्री हुन्छ भन्ने थाहा पनि थिएन । अन्यत्र पनि सडकमा ऐँसेलु बेचेको देखेर आफूहरुले सिकेको शिशिरले बताउनुभयो । कापीकलम र खाजाखर्च जुटाउने सोचले ऐँसेलु बेच्न बसेको उहाँको भनाइ थियो । उनीहरुसँग ऐँसेलु किनेर खाएपछि गोरखाका अमृतराज उपाध्ययले बालपनको सम्झना आएको बताउनुभयो । उहाँले पोखरादेखि गलकोटसम्म पुग्दा ठाउँठाउँमा ऐँसेलु बेच्न बसेका मानिस भेटेको सुनाउनुभयो । पहिलेपहिले वनपाखा धाएर ऐँसेलु, चुत्रोलगायत फल खाने चलन थियो । पछिल्लो समय त्योक्रम हट्दै गएको छ । चैतदेखि जेठसम्म डाँडापाखामा एँेसेलु पाँक्ने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताउनुभयो । “ऐँसेलुबाट जुस, वाइन पनि बनाउन सकिने विज्ञले बताएका छन्, तर हामीकहाँ यसबारे खासै चासो र अध्ययन भएको पाइँदैन”, उहाँले भन्नुभयो, “केही ठाउँमा ऐँसेलु सङ्कलन गरेर बेच्न थालिएको छ, वनमा यसै खेर जाने फलबाट किसानले कमाइ गर्नु सुखद कुरा हो ।” वनस्पति विज्ञका अनुसार मझौला काँडेदार बुट्यान ९झाडी०मा ऐँसेलु फल्छ । पहाडी भेगको सातसयदेखि दुई हजार मिटरसम्ममा ऐँसेलु पाइन्छ । यो फल रसिलो र गुलियो हुन्छ । ऐँसेलु प्रकृतिमा आफैँ उम्रेर वर्षौँसम्म टिक्ने वनस्पति हो । अपच भएको अवस्थामा ऐँसेलु प्रयोग गर्नु लाभदायी मानिन्छ । ऐँसेलुमा भिटामिन सीलगायत सुक्ष्म पोषकतत्व पाइन्छ । ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ । यो पूर्णरुपमा जैविक फल हो । ‘गोल्डेन हिमालयन रासबेरी’ले चिनिने ऐँसेलु वाइनका लागि खपत हुन थालेपछि तेह्रथुमलगायत पहाडी जिल्लाका किसानको आयआर्जनको बाटो बनेको छ, ऐँसेलु ।
पोखरा: नेकपा एमाले गण्डकी प्रदेश कमिटीले सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ । एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले मेयर नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै छानबिनका लागि निलम्बन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘हामी निष्पक्ष छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्छौं,’ दवाडीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सहकारीका अध्यक्ष नेपाली र सञ्चालकहरूलाई सर्वसाधारणको रकम यथाशिघ्र फिर्ता गर्न र छानबिनमा सहयोग गर्न पनि आग्रह गर्दछौं।’ सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत शुक्रबारदेखि सम्पर्कविहीन छन् । पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका दोस्रो पटक निर्वाचित मेयर समेत हुन् ।