काठमाडौं: हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । दिउँसोको समयमा भन्दा राति ठूलो पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । आज पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान गरिएको र अहिले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको असर रहेको महाशाखाद्वारा प्रकाशित मौसम बुलेटिनमा उल्लेख छ ।
काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (बुधवार) हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको भाडा ९० रुपैयाँले घटेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–विराटनगरको दुई सय ४०, काठमाण्डौ-धनगढीको चार सय ४५, काठमाण्डौ-नेपालगञ्जको तीन सय २५, काठमाण्डौ-भैरहवाको दुई सय १० र काठमाण्डौ-सुर्खेतको भाडा तीन सय ४५ रुपैयाँले घटेको छ । हिजो मङ्गलवार आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँले कम गरेको थियो । हवाई भाडामा लाग्दै आएको इन्धन शुल्क यस्तो छ :
काठमाडौं: अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवस मध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यस अघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायःबनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतनाजगाउने काम सुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमायसलाई चटक्क बिर्सिएका नेपाली युरोप तथा अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । माघ १गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।
पाल्पा: पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको तिनाउ नदी र रैनादेवी छहराको जलुके झर्नामा पौडी खेल्ने क्रममा डुबेर एकै दिन दुई जना युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत देश गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षका विपिन धुँसिया र रुपन्देही जिल्ला शुद्धोदन गाउँपालिका–२, बस्ने २२ वर्षका सञ्जय चौधरी रहनुभएको छ । सोमबार बेलुकी साढे ५ बजेतिर तिनाउ–३, शिद्धबावा नजिकै तिनाउ नदीमा साथीहरूसँगै पौडी खेल्ने क्रममा धँसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै रैनादेवी छहरा–८, जलुकेस्थित जलुके झर्नामा साथीहरूसँगै पौडी खेल्न जाँदा बेलुकी ६ बजेतिर डुबेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । पछिल्लो समय पाल्पाका विभिन्न स्थानमा डुबेर मृत्यु हुने क्रम बढेको प्रनाउ थापाले बताउनुभयो । पाल्पामा पछिल्लो समय डुबेर मृत्यु हुने क्रम बढेको छ । गर्मी छल्न पौडी खेल्ने क्रममा युवा, किशोर–किशोरीको मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाँचथर: पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । पाँचथरको याङ्वरक गाउँपालिका–१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङको उद्धार गरिएको छ । त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ । त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताउनुभएको छ । आज बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताउनुभएको हो । भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल बैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताउनुभयो । तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्रीले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताउनुभयो । भेटमा पूर्वमन्त्री एवं नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्रीलगायतका नेता एवं जनप्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।
काठमाडौं: महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलि सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन हुन नदिने घोषणा गरेका छन् । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको समय दिएकोमा आज आइतवारसम्म पनि नहटाएकोले भोलिदेखि काठमाडौं महानगरका कुनै पनि हलमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर शाहले बताएका छन् । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु हरेक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपालीको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देश नरहेको शाहको भनाइ छ ।
स्याङ्जा: पोखराबाट भैरहवा छुटेको बसमा स्याङ्जाको गल्याङमा एक्कासी आगलागी भएको छ । पोखराबाट भैरहवाका छुटेको ना ७ ख ५३२३ नम्बरको बसमा स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाको सिमाना बायाँटारी नजिकै गोलाउदी खोलामा एक्कासी आगलागी भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ । आगलागीबाट कुनै मानविय क्षति नभएको ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ । बसमा आगलागी हुँदा बसको बनोटमा क्षति पुगेको छ ।
काठमाडौं: हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । आज आइतवार शेयर बजार परिसूचक नेप्से ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ विन्दुमा पुगेको छ । आज बैंकिङबाहेक सबै समूहको शेयर बढेर हरियाली हुँदा होटल तथा पर्यटन, बिमा, अन्य र जलविद्युत् समूहका शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय ८० वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर चार अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३६ करोड ६४ लाख बराबरको शेयर किनबेच भयो । आज नेपाल इन्सुरेन्स, प्रभु लाइफ इन्सुरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मन्छ्याम हाइड्रो गरी छ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै आठ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो । समग्रमा बजार बढेको दिन आज शुभम् पावर कम्पनी र सिटिज म्युचल फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज एक सय ९० वटा कम्पनीको शेयर बढ्दा २८ वटाको घटेको छ भने चार वटाको शेयर घटबढ भएन ।