काठमाडौं: काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जयसवालका अनुसार बसमा ३० जना यात्रुहरु थिए । तीमध्ये केही घाइते भएका र उनीहरुलाई अस्पताल पठाइएको उनले जानकारी दिए । घाइतेहरुमध्ये १०–१२ वर्षको एकजना बच्चाको अवस्था गम्भीर रहेको डिएसपी जयसवालले जानकारी दिए । बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखा: गोरखामा गाडी दुर्घटनामा परेर मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । गए राति प्रदेश ३ ०१–०२३ च २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा शहीद लखन–५ का १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । दुलहा र दुलही अर्कै गाडीमा चढेकाले उनीहरू सुरक्षित छन् । गाउँलेहरूका अनुसार उनीहरूले यसअघि आफूखुसी बिहे गरेका थिए र हिजो बिहीवार टिकाटालोका लागि केटा पक्ष जन्तीसहित केटीको घर गएको थियो । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएका छन् । घाइते भएका १२ मध्ये ११ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको छ । एक जनालाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
ओखलढुङ्गा: ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ मा गएराति वर्षासँगै झरेको पहिरोले ३ घर बगाउँदा ३ को मृत्यु र १ बेपत्ता भएका छन् । पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपबहादुर केसीका अनुसार स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी १८ महिनाकी छोरी कृतिका गुरुङको शव पुरिएको अवस्थामा फेला पारेर बाहिर निकालिसकिएको छ । रणबहादुरकै श्रीमती २९ वर्षीय शिवमाया गुरुङको शव पहिरोले पुरिएको अवस्थामा फेला पारेपछि अहिले निकाल्ने कार्य भइरहेको प्रहरीको भनाई छ । रणबहादुरका १० वर्षीय छोरा दिनेश गुरुङ भने हालसम्म वेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोबाट स्थानीय रणबहादुर गुरुङ, बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको हो । अन्य दर्जनौँ घरमा क्षति पुगेको छ । पहिरोले रणबहादुरको परिवारमा मानवीय क्षति भए पनि अन्य घरका परिवार भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी पुगेको छ ।
गोरखा: गोरखामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । गए राति प्रदेश ३ ०१–०२३ स २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा पाँच जनाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । उनका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा बिहेका लागि टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएका छन् । अहिले शव सङ्कलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए। यस्तै घाइते भएका १२ जनामध्ये ११ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको छ । एक जनालाई भने थप उपचारका लागि चितवन रिफर गरिएको उनले जानकारी दिए । उनका अनुसार गाडीमा १९ जना थिए । दुई जनाले भने दुर्घटना हुँदै गर्दा हाम फालेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।
लमजुङ: लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको राइनास नगरपालिकामा रहेको भलायखर्क आसपास केन्द्रविन्दु भएर आज शुक्रवार बिहान ५ बजेर ५५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखामा महसुस गरिएको थियो । यसअघि गएको असार ५ गते बिहान दार्चुलाको खाण्डेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।
काठमाडौं: नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयनका लागि बाटो खुलेको हो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । योसँगै राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यान्वयनमा अघि बढ्ने भएको हो । राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको उक्त नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । उहाँहरूले दायर गरेको रिटमा जेठ २१ गते न्यायाधीश शर्माले विपक्षीको नाममा कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गर्ने आदेश दिनुभएको थियो ।
काठमाडौं: सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । साथै न्यायाधीश शर्माले मुद्दा फिर्ताको कारण पेश गर्न विपक्षीको नाममा आदेश जारी गरेको छ । उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेकपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेपछि चलाउनेले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । उपप्राध्यापक चलाउनेमाथि विसं. २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थियो । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले उपप्राध्याक चलाउनेमाथि आक्रमण गरेको अभियोग लागेको थियो ।
काठमाडौं: उच्च अदालत पाटनले काठमाडौका हलमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । नेपाल चलचित्र सङ्घले दायर गरेको रिटमा आज शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय चलचित्रलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले छलफलका लागि असार १२ गते दुवै पक्षलाई बोलाएको छ । भारतीय चलचित्र ‘आदिपुरुष’ मा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद मूल फाइलबाट नहटाएको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गएको सोमवारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । मेयर शाहको निर्णयविरुद्ध चलचित्र सङ्घले उच्च अदालत पाटनमा रिट दायर गरेको हो । यसैबीच मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्दै अदालतले आदेश दिए पनि काठमाडौं महानगरभित्र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने अडान लिएका छन् । चलचित्र लेखकले नेपाल भारतको अधिनमा थियो भन्नुले चलचित्रको नियत स्पष्ट भएको भन्दै मेयर शाहले आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर महानगरमा भारतीय चलचित्र चल्न नदिने बताए । उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफू कुनै कानुन र अदालतलाई नमान्ने जिकिर गरेका छन् ।
रुकुम: रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा बिहीबार बिहान बोलेरो जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्बरको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जीप दुर्घटनामा परेर दश जना घाइते भएका छन् । घाइते हुनेहरूमा मुसिकोट नगरपालिका ५ की १३ वर्षीया सरस्वती केसी, सोही ठाउँकी ५५ बर्षीया लीला केसी, मुसिकोट १३ की ५० बर्षीया सुबि रोका, मुसिकोट नगरपालिका ३ की १३ बर्षीया सुजता केसी, सोही वडाकी १२ वर्षीया करिना केसी रहेका छन् । त्यसै गरी सोही वडा निवासी १४ वर्षीया दक्षिणा खड्का, ८ वर्षीया वर्षा केसी, मुसिकोट नगरपालिका १ की ३५ बर्षीया बिनिता केसी, दाङको शान्तिनगर गाउँपालिका ४ निवासी २५ बर्षीया टिका ओली केसी र सोही स्थानकी ३३ बर्षीया टिका केसी घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइते मध्य वर्षा केसीको बायाँ खुट्टाको तिघ्राको हड्डी निस्किएकोले अवस्था सिरियस रहेको बताइएको छ । प्रहरीका अनुसार उक्त जीपपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । जीप स्टाट गर्ने क्रममा ब्रेकले काम नगरी ब्याक हुन जाँदा सडकबाट करिब ६ मिटर तल खसेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । घाइतेहरू सबैको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।