प्रधानमन्त्रीले भारतबाट भैसी ल्यायो भन्दै गरेको कटाक्षप्रति पुष्पकमल दाहालले स्पष्ट पारेका छन् । आज संसदमा भारत भ्रमणको विषयमा जानकारी दिँदै प्रम दाहालले यसपटकको भ्रमण उल्लेखनीय भएको बताए । ‘यस भ्रमणबाट केही नयाँ सुरुवात भएको छ’ दाहालले भने कुरा मुर्रा राँगोको हैन, आगामी दिनमा देशले छिमेकी मुलुकबाट पाउने प्रतिफलको हो ।’ भ्रमणको एजेन्डातर्फ नलागि अन्य विषयमा रुमल्लिएको भन्दै दाहालको जवाफ छ ‘मुर्रा राँगो ल्याउने सहमति ७ वर्ष पहिले नै भएको रहेछ, यसपटक संयोग भनौ, मेरो भ्रमणपछि राँगो आउने भयो ।’ भ्रमण विगतको भन्दा उपलब्धीपूर्ण भएको र यसलाई निरन्तरता दिँदै आर्थिक विकासमा देशले नयाँ यूगतर्फ फड्को मार्ने दाहालको दाबी छ ।
काठमाडौं: विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आएको हो । ५० औँ वार्षिकोत्सवका अवसरमा उहाँले यस वर्ष विश्वव्यापी रूपमा तय भएको नारा “विट प्लास्टिक पोलुसन” र मूल विषय “सोलुसन टु प्लास्टिक पोलुसन” लाई हाम्रो आफ्नै मौलिक शैलीमा “प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ” भन्ने राष्ट्रिय नाराकासाथ देशव्यापी रूपमा मनाउन लागिएको छ । आ–आफ्नो ठाउँबाट यस राष्ट्रिय अभियानमा सरिक हुन सबैमा उहाँले शुभकामना मार्फत आव्हान गर्नुभयो । प्लास्टिक प्रदुषणलाई प्रमुखताका साथ उजागर गर्ने गरी यस दिवस मनाउन गइरहेका छौँ। प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ। एकातर्फ, यसले उद्योगमा क्रान्ति ल्याएको छ, हाम्रो दैनिक सुविधाहरूमा सुधार गरेको छ र हामीलाई अनगिन्ती लाभहरू प्रदान गरेको छ। अर्कोतर्फ, यसको अत्यधिक र अव्यवस्थित प्रयोगले ठुलो वातावरणीय समस्या सिर्जना गरेको छ। हाम्रा महासागरहरू, ल्यान्डफिल साइटहरू, समथर भूमि, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रहरू जताततै प्लास्टिकको फोहोरले भरिएका छन्, जसले मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पुर्याउने खतरा बढ्दै गइरहेको छ शुभकामना सन्देशमा उल्लेख छ । प्रत्येक वर्ष, विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामाग्रीहरू उत्पादन हुने गरेको र यसको ठुलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ। यसले पारिस्थितिक प्रणालीलाई समेत नराम्रोसँग असर पुर्याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयास स्वरुप संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा प्लास्टिक पोलुसन ट्रिटी सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको जानकारी दिनुभएको छ।
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।
काठमाडौं: सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश गरेको छ। अदालतले दुवै पक्षसँग छलफल गरी बोलाएर आदेश गर्नेछ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगन गरिएको हो । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमणबारे विपक्षी दलहरूले जवाफ मागेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रिया अनुरूप संसद्मा नयाँ नागरिकता विधेयक दर्ता गर्न माग गरे । संसद्मा नयाँ नागरिकता विधेयक दर्ता भएपछि दिनरात छलफल गरेर भए पनि एक हप्ताभित्र नयाँ विधेयक पारित गरेर नागरिकता प्रदान गर्ने काम अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । सरकारले संविधानको मर्म विपरीत नागरिकता विधेयक ल्याएको प्रमुख सचेतक गिरीले आरोप लगाए ।
पोखरा: पोखराको भीमकालीपाटनस्थित संस्कृत माध्यमिक विद्यालयमा निर्मित शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरूमा आज प्राणप्रतिष्ठा गरिएको छ । डा.भोलानारायण रेग्मीको प्रमुख आचार्यत्वमा मन्दिरका गणेश, देवी, सूर्य, विष्णु र शिवलगायत देवीदेवताका मूर्तिमा वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको हो । उक्त अवसरमा ठूलो संख्यामा श्रद्धालु भक्तजन उपस्थित भई आर्थिक सहयोग समेत गर्नुभएको े मूल आयोजक समितिका संयोजक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । मूर्तिहरुको पर्दा हटाएर सार्वजनिक गर्दै डा. चिद्घन चैतन्य महाराजले निराकार तत्वका रुपमा ईश्वरको बोध गर्न जोसुकैले नसक्ने वास्तविकतामा भगवान्को सगुण साकार रुपमा मूर्तिहरुको स्थापना गरिने गरिएको बताउनुभयो । २०७५ सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीले मन्त्रालयमार्फत् पन्ध्र लाख रुपैयाँ बजेट विनियोजन गरी सुरु भएको मन्दिरको बाँकी कार्यसमेत गरी ९० लाख लागत लाग्ने जनाइएको छ । पोखराको प्रसिद्ध धार्मिक स्थल गाईघाट, विन्ध्यवासिनी नजिक रहेको यस मन्दिरलाई स्थानीय समुदायको अपनत्व र संरक्षकत्वमा महत्वपूर्ण धार्मिक स्थलका रुपमा स्थापित गर्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समिति सदस्य रोजी पराजुलीले बताउनुभयो । प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल आयोजक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक श्रीकान्त सापकोटाले जानकारी दिनुभयो । अन्य विभिन्न उपसमिति संयोजकहरू रामविक्रम राणा, ईश्वरीप्रसाद बास्तोला, जुनकाजी गुरुङ, रामू पौडेल, रामबहादुर लामिछाने, विष्णुकमारी मल्ल, कल्पना अधिकारी, गोविन्दप्रसाद अधिकारी, रुद्रप्रसाद सुवेदी, गोविन्द नेपाली, साहरा प्रधान, श्रीकान्त सापकोटा लगायत हुनुहुन्थ्यो । कामना आमा समुहले ध्वजा पताका व्यवस्थापनको संयोजन गरेको थियो । आर्थिक व्यवस्थापन उपसमिति संयोजक ईश्वरीप्रसाद बास्तोलाका अनुसार गुरुकुल अक्षयकोष र मन्दिर सञ्चालनका लागि छ लाख एक हजार आठ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । विद्यालयले मन्दिर निर्माण समिति, चन्दादाता, स्थानीय संघसंस्था, आमा समूह, युवा क्लब तथा सम्पूर्ण श्रद्धालु भक्तजन लगायतलाई धन्यवाद ज्ञापन गरेको छ । मन्दिरमा आजबाट नै दैनिक रुपमा रुद्रभिषेकलगायत धार्मिक अनुष्ठान सुरु गरिने कार्यक्रममा जानकारी गराइयो । गण्डकी प्रदेशकै जेठो विद्यालयमा निर्मित कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल बन्ने विश्वास लिइएको छ ।
सिन्धुली: सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित लौकुन नभघाटमा जिपसहित सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्यका लागि शनिबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को बा १ झ ७४६७ नं स्कार्पियो जिप शुक्रबार मध्येपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत उक्त ठाउँमा दुर्घटना भई सुनकोसी नदीमा खस्दा गाडीमा सबार चारमध्ये तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका–७ का घर भई हाल योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भई हाल विद्युत प्रशिक्षकका रूपमा कार्यरत ३२ वर्षीय भानु पौडेल छन् । चालक दाङ राप्ती गाउँपालिका –६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बाँकी तीन जना अझै बेपत्ता छन् । प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोलीले शुक्रबार साँझ खोजी गरेको थियो । सुनकोसीमा जिप झरेको स्थानको सय मिटर आसपासमा खोजी गर्दा पनि फेला नपरेको प्रहरी उपरीक्षक सिलकालले जानकारी दिए । उनले भने, ‘‘सुनकोसी नदीमा खसेको उक्त जिप अहिलेसम्म भेटिएको छैन । पानीको बहाव धेरै भएकाले दुई वटा एक्स्काभेटर लगाई पानी थोरै डाईभट गर्दै काम गर्न लागेको छ । आर्मीको टोलीसँग पनि समन्वय भइरहेको छ ।’’
काठमाडौंः चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको प्रधानमन्त्री नयाँ दिल्ली भएरै आज (शनिबार) स्वदेश फर्कन लाग्नुभएको हो । भ्रमणका क्रममा द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता दुवै देशले व्यक्त गरेका छन् । सो अवसरमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ । व्यापार र पारवहन, जलविद्युत, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेल्वे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि, संस्कृति तथा नागरिक उड्डयनलगायत क्षेत्रबारे समीक्षा भएको हो । समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । दुवै पक्षबीच निर्माणाधीन परियोजनाको समीक्षा गर्दै ती परियोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ । प्रधानमन्त्री प्रचण्डले पनि चार दिने भारत भ्रमण पूर्ण रूपमा सफल भएको बताउनुभएको छ ।
पोखरा: सृजना माध्यामिक विद्यालय पोखरा–८ मा युवा रेडक्रस सर्कस गठन भएको छ । विद्यार्थीलाई मतदान गर्ने अभ्यास गराउँदै निर्वाचन मार्फत नै युवा रेडक्रस सर्कलमा नयाँ नेतृत्व चयन गरिएको हो । शुक्रबार विद्यालयमा भएको निर्वाचनमा युवा रेडक्रस सर्कलको अध्यक्षमा १५३ मतसहित अप्सन बरुवाल निर्वाचित भए् । सचिवमा २३५ मतसहित स्वस्तिक सिंह, सह–सचिवमा १९२ मतसहित कृष ज्वार्चन, कोषाध्यक्षमा १९५ मतसहित अस्विना केसी र सह–कोषाध्यक्षमा ९२ मतसहित अंकित क्षेत्री निर्वाचित भएका निर्वाचन अधिकृत मीनप्रसाद प्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार सदस्यमा विधान सुवेदी, सचिन थापा, राजश्री अधिकारी र अविसेक पौडेल निर्वाचित भएका छन् । सुवेदीले ३३६, थापाले १५१, अधिकारीले १३९ र पौडेलले १०६ मत ल्याएर निर्वाचित भएका हुन् । अध्यक्षमा ६, सचिवमा ७, सहसचिवमा ६, कोषाध्यक्षमा ८, सह–कोषाध्यक्षमा ११ र सदस्यमा ३८ जनाले मनोनय दर्ता गरेका थिए । पादाधिकारी र ४ सदस्य सहित ११ सदस्यीय समितिका लागि ७६ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । नेतृत्व चयनका लागि ६ सय ५० विद्यार्थी मतदाता रहेकोमा ६४१ मत खसेको थियो । त्यस मध्ये १६ मत बदर भएको र ६२५ मत सदर भएको निर्वाचन अधिकृत तिवारीले बताए । सर्कलको पदाधिकारी र सदस्यका लागि धेरै विद्यार्थी इच्छुक देखिए पछि निर्वाचनबाट नेतृत्व चयन गरिएको विद्यालयका निर्देशक सिता पाण्डेले बताइन् । कक्षा ४ देखी १० सम्मका विद्यार्थी मतदानमा सहभागी भएको पाण्डेले बताइन् । प्राविधिक कारणले निर्वाचनमा सहभागी हुन नसकेका कक्षा ११ र १२ का विद्यार्थीमध्यबाट समितिको उपाध्यक्ष र एक सदस्यमा मनोनय गरिने पाण्डेले जानकारी दिइन् । मतदानको अघिल्लो दिन बिहिबार उम्मेद्वार बनेका विद्यार्थीहरुले मतदातासंग आफ्नो एजेन्डा सहित मत मागेका थिए । निर्वाचनका लागि ३ वटा मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो । पदाधिकरीका लागि र सदस्यका लाग छुट्टाछुट्टै मतपत्र बनाइएको थियो । विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डेले युवा रेडक्रस सर्कल गठनका माध्यमबाट विद्यालय तहमा बालबालिकालाई निर्वाचनको महत्व, भोट गर्ने तरिका र निर्वाचन प्रकृयाको बारेमा शिक्षा दिन सफल भएको बताए ।