मुस्ताङ:  मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो ...

ताप्लेजुङ:  ताप्लेजुङमा हिजोआज बेमौसमी हिमपात भइरहेको छ । पछिल्लो केही दिनयता दिनहुँजसो वर्षा हुने र वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहने गरेको हो ।   ताप्लेजुङमा शुक्रबार साँझपछि वर्षा भएको र वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भएको छ । स्थानीयका अनुसार शुक्रबार राति उच्च हिमाली क्षेत्रमा निक्कै बाक्लो हिउँ परेको छ । अहिले हिउँ पर्ने मौसम नभए पनि वर्षा हुनासाथ हिमाली भेगमा हिमपात भइहाल्ने गरेको स्थानीय बताउँछन् ।    जिल्लाको हिमाली बस्तीहरू फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोला बस्ती, याङ्मा लगायतमा हिउँ परेको स्थानीयले बताएका छन् । फलेका स्थानीय मिङ्मा शेर्पाका अनुसार शुक्रबार साँझपछि बाक्लो हिउँ परेको छ । फलेसहित घुन्सा र ग्याब्ला बस्तीसम्म नै हिउँ परेको शेर्पाले जानकारी दिनुभयो ।    जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा (४२०० मि.उचाइ) मा निक्कै बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् । तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोलामा पनि निक्कै हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । यस्तै तेह्रथुम र सङ्खुवासभाको सीमावर्ती क्षेत्र गुफापोखरी, मिल्के क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ ।    मैवाखोला गाउँपालिकाकै फाकुम्बा सिरान, मिक्वाखोलाको पापुङ तोक्पेगोला, फक्ताङ्लुङको मानाभरा क्षेत्र सिरिजङ्घाको याम्फुदिन, मामाङ्खेलगायत अधिकांश स्थानीय तहका उच्च हिमाली भेगमा हिमपात भएको छ । त्यस्तै, तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । पाथीभरा क्षेत्रको माथिल्लो फेदी बस्तीसम्म नै बाक्लो हिउँ परेको स्थानीय राजेन्द्र महतले जानकारी दिनुभयो ।    यस वर्षमा हिउँद मौसमभर हिमपात र वर्षा भएको थिएन । हिउँद मौसम सकिएपछि निरन्तरजस्तै वर्षा र हिमपात हुँदा राहत नै मिलेको किसानहरू बताउँछन् । तर बेमौसमी हिमपातले भने चिसो अझै नहटेको स्थानीयको भनाइ छ । यस्तै बेमौसमी निरन्तरको हिमपातले हिमाली क्षेत्रका बासिन्दाको जनजीवनलाई प्रभावित बनाइरहेको छ ।    यसअघि गत फागुन १४ गते हिमाली जिल्ला ताप्लेजुङमा पहिलो पटक हिमपात भएको थियो । विगतमा मङ्सिरपछि सुरु हुने हिउँद मौसमसँगै हिमपात हुने गरेकोमा पछिल्लो समय मौसम बितिसकेर बेमौसमी हिमपात हुँदा वातावरण असन्तुलित भई मानव जीवनशैली र प्राणी जगतमा असर पुग्ने बताइन्छ । यता, शनिबारको मौसम पनि धुम्मिएकाले हिमपातको सम्भावना अधिक रहेको स्थानीय बताउँछन् । 

दोलखा : दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो ।   यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।  

काठमाडौँ:  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक धारा सञ्चालनमा ल्याइएको छ।   जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बगैँचामा सञ्चालनमा ल्याइएको सो धाराको निवर्तमान खानेपानी मन्त्री अब्दुल खानले शुक्रबार उद्घाटन गर्नुभयो।    उहाँले सिंहदरबारका साथै सार्वजनिक स्थल, अस्पताल, बसपार्क, विमानस्थलमा समेत सार्वजनिक धारा सञ्चालन गर्ने योजना मन्त्रालयको रहेको बताउनुभयो। सञ्चालनमा ल्याइएका दुईवटा धाराबाट आगन्तुक, सेवाग्राही र कर्मचारीले पानी खान सक्नेछन्।    निवर्तमान खानेपानी मन्त्री खानले जार तथा बोतलको पानी विस्थापित गर्ने कार्यलाई मन्त्रालयले प्रमुखताका साथ अगाडि बढाएको बताउँदै अबको केही महिनाभित्र नै पानीको मूल्य घटाएरै छोड्ने प्रतिबद्वता व्यक्त गर्नुभयो। मन्त्रालयले बजारमा जार र बोतलको मूल्य घटाउने सम्बन्धमा समेत काम गरिरहेको उहाँको भनाइ छ।   पानीमा धनी हुँदाहुँदै पनि किनेर खानु दुःखको विषय भएको बताउँदै उहाँले दुईदेखि साढे दुई वर्षभित्रमा तराई मधेशमा र पाँच वर्षभित्र मुलुकभरि नै पानीको समस्या समाधान गरी नेपालको पानी विदेश निर्यात गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो।   ‘एक घर एक धारा’ अभियान   सो अवसरमा निवर्तमान मन्त्री खानले मुलुकभरि नै ‘एक घर एक धारा’ अभियान सुरु गरिसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले एक घर एक धारा अभियानका रूपमा काम अघि बढाइसहेका छौँ। हाम्रो मन्त्रालयको निम्ति मैले सोचेअनुसार ऐतिहासिक काम हो। यहीअनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन।’’   खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले सिंहदरबारमा मिनरल वाटरका जार र बोतलको प्रयोग पूर्ण रूपमा प्रतिस्थापन गर्ने योजनाअन्तर्गत नै मेलम्चीको पानी वितरण सुरु गरिएको बताउनुभयो। उहाँले मेलम्चीको पानी वितरण सुरु भएपछि अहिले पानी खरिदमा खर्च भइरहेको मासिक करोडौँ रुपियाँ बच्ने विश्वास व्यक्त गर्नुभयो।    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले सञ्चालनमा ल्याइएको धाराको पानी प्रत्यक्ष रूपमा खान हुनेगरी पूर्ण रूपमा शुद्ध रहेको बताउँदै सो धारा २४सै घण्टा सञ्चालनमा रहने जानकारी दिनुभयो।   काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नयाँ बानेश्वर केन्द्रका प्रमुख विजय विश्वकर्माले सिंहदरबारभित्र तत्काल थप तीन ठाउँमा सार्वजनिक धारा सञ्चालनमा ल्याउने योजना रहेको र अबको १० दिनभित्र ती धारा सञ्चालनमा आइसक्ने जानकारी दिनुभयो। उहाँका अनुसार अब गृह मन्त्रालय, खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राङ्गणमा सार्वजनिक धारा जडान गरिने भएको छ।

काठमाडौँ:  सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।   शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटर ब्याज पीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो आश्वासन दिनुभएको हो ।   उहाँले मिटर ब्याज पीडितहरूका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताउनु भयो । उहाँले मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरूमाथि मुद्दा चलाउन सक्ने गरी ऐन तयारीको अन्तिम चरणमा रहेको स्पष्ट पार्नुभयो ।    प्रधानमन्त्री दाहालले उच्चस्तरीय आयोग ‘ र्‍यापिड एक्सन पोस्ट’ सरह काम गर्ने गरी अघि बढाइने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसमा दीर्घकालीन समाधान गर्ने भनेको ऐनको नै व्यवस्था छैन । मिटर ब्याज पीडितहरूलाई न्याय दिने र मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐनको नै अभाव छ । मैले यस पटक आउने बित्तिकै ऐन ड्राफ्ट गर्न लगाएँ र अहिले त्यो ऐन अन्तिम चरणमा छ । मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ ।   मिटरब्याजीको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि हुँदैन । मिटरब्याजी समस्यालाई लिएर मन्त्री स्तरीय बैठकबाट नै एउटा उच्चस्तरीय आयोग तत्काल फिल्डमा गएर कारबाही गर्न सक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्न सक्ने आयोग बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । त्यो प्रक्रिया अघि बढी सकेको छ ।   त्यसलाई र्‍यापिड एक्सन पोस्ट जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पुर्जी काट्ने र कारबाही गर्ने खालको होस् ।’ प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताउनुभयो । शनिवार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका उनीहरूले प्रधानमन्त्री दाहालसँग भक्कानिएर आफ्ना पीडाहरू राखेका थिए । उहाँहरूले आफ्ना ६ वटा मागहरू पूरा सम्बोधन भएपछि मात्रै काठमाडौँ छोड्ने प्रधानमन्त्रीसँग अडान लिएका छन् । प्रधानमन्त्री दाहालले भने अब पुनः गृह मन्त्रालयको सरकारी टोलीसँग यसबारे सम्झौता गरेर मात्रै घर फर्किन आग्रह गर्नुभएको छ ।

काठमाडौं : नेपाल–चीन रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । आंशिक रुपमा मात्र सञ्चालन हुँदै आएको रसुवाको रसुवागढी नाका शनिबारदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।   कोभिड–१९ महामारीका कारण बन्द भएका अन्तर्राष्ट्रिय नाका खुल्ला गरेको लामो समय भएपनि चीनका सिमा नाका पूर्ण सञ्चालनमा आउन सकेका थिएनन्।  तीन वर्षपछि चरसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।   दूतावासले नाका सञ्चालन भएसँगै द्विपक्षीय सहयोग र जनताबीचको आदानप्रदानलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरेको छ। केही दिनअघि नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफूहरुको माग राखेका छन्।   शनिबार बिहान बालुवाटार पुगेर मिटरब्याज पीडितहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।   पीडितहरुले पटकपटक काठमाडौं आउँदै सरकारी वार्ता टोलीसँग सहमति गरिएको भएपनि कार्यान्वयन नभएको बताए।    यसपालि प्रधानमन्त्रीकै मुखबाट पीडितहरुको समस्या समाधानको प्रतिबद्धता सुन्न चाहेको पीडितहरुले बताएका थिए ।    उनीहरुले मिटरब्याजको शक्तिशाली आयोग गठन गर्नुपर्ने र उक्त आयोगलाई कार्यकारी अधिकार दिनुपर्ने माग राखेका छन्।    आयोगलाई मिटरब्याज वा तमसुकको आधारमा अदालतमा चलेका चलाइएका मुद्दाहरु समेत फर्छ्यौट गर्ने अधिकार प्रदान गरिनुपर्ने पीडितहरुको माग छ।    त्यस्तै मिटरब्याजलाई आर्थिक अपराधको रुपमा कानुनी दायराभित्र ल्याउनका लागि गरिने कानुन संसोधनको ड्राफ्ट वार्ता समितिमा पेस हुनुपर्ने माग राखेका छन्।    तमसुकका आधारमा चलाइएका मुद्दाहरु स्थगन गर्न, जारी पक्राउ पुर्जी स्थगन गर्न, जेल चलान गरिएका मुद्दाहरुमा समेृत सम्बन्धित निकायसँग समन्वय गरी पीडितलाई न्याय दिलाउन महान्यायाधिवक्ताको कार्यालयबाट कार्यान्वयनका लागि सहमति पत्र पेस गर्न प्रधानमन्त्रीसमक्ष माग राखेका छन्।    पीडितहरुलाई राज्यले क्षतिपूर्ति प्रदान गर्ने आधारहरु प्रस्तुत गर्नुपर्ने पनि उनीहरुको माग छ।   मिटरब्याजी साहु महाजनबाट पीडित महिलाहरु बलात्कृत भएको बताउँदै उनीहरूले पीडितको किटानी जाहेरी दर्ता गरी तत्काल पक्राउ गर्न माग राखेका छन्।   आफूहरुको माग पूरा हुने वातावरण नभएसम्म यसपालि काठमाडौंबाट  घर नफर्किने पीडितहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष बताएका छन्।    प्रधानमन्त्री प्रचण्डले पीडितहरूकाे मागप्रति आफू सकारात्मक रहेको र सरकारले चाँडै न्याय दिने ढंगले अगाडि बढेको बताए। 

त्रिशूली: नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।   बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौँ जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।    उहाँको अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

काठमाडौं : हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।   जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।      रातिको समयमा पनि देशभर बदली रहनुका साथै पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।   आज काठमाडौँमा आंशिकदेखि सामान्य बदली रही अपराह्नतिर हल्का वर्षाको  सम्भावना रहेको छ । बितेको २४ घण्टामा सबैभन्दा धेरै भैरहवामा ६० मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा २४, विराटनगरमा २१, ओखलुङ्गामा १८, घोराहीमा, वीरेन्द्रनगरमा २३, नेपालगञ्जमा २१ र काठमाडौँमा ८ मिलिमिटर वर्षा भएको छ । 

काठमाडौं:  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।   मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान १० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए।    बारा २ मा हुने उपनिर्वाचनमा के गर्ने भन्नेबारे छलफल गरी निर्णय गर्ने कांग्रेसको तयारी छ।    कांग्रेसले बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने तयारी गरेकोमा यसअघिको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा केही नेताहरूले असन्तुष्टि जनाएका थिए।    यस्तै सरकारमा थप मन्त्री पठाउनेबारे पनि छलफल हुनेछ। कांग्रेसले ८ मन्त्रालय पाएकोमा शुक्रबार ४ मन्त्रीलाई मात्रै शपथग्रहणमा पठाएको थियो। अब ४ मन्त्री छान्न बाँकी छ।    नेता शेखर कोइराला पक्षले कम्तीमा ३ मन्त्रालय आफूहरुले छान्न पाउनुपर्ने अडान राखिरहेका छन्।