मुस्ताङ:  मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो ...

न्युयोर्क : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध  फौजदारी अभियोग लागेको छ ।  लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनलाई फौजदारी अभियोग लगाएको हो ।     अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो ।    फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् ।   जुरीको उक्त निर्णयसँगै उनको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुनाका साथै पुनः राष्ट्रपतिमालड्ने उनको योजना चकनाचुर भएको छ ।  सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अघि ट्रम्पले अश्लिल चलचित्रकी नायिका स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न उनलाई भुक्तान गरिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ ।    ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । डेनियलले पनि आफूलाई ट्रम्पले मौन रहन रकम दिएको दाबी गरेकी छन् ।    पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएको उक्त आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भनेका छन्।    उनका छोरा एरिकले आसन्न राष्ट्रपतिको चुनावलाई लक्ष्य गरेर विपक्षीले उक्त आरोप लगाएको आरोप लगाएका छन्। म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उनका वकिलसँग सम्पर्क गरिएको बताएका छन् ।    हाल फ्लोरिडामा रहेका ट्रम्प आगामी मंगलबार न्युयोर्कको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ ।  अदालतमा उनले आफू निर्दोष रहेको दलिल प्रस्तुत गर्दै अपील गर्ने सम्भावना छ । उनलाई अदालतले धरौटीमा रिहा गर्ने सम्भावना पनि रहेको छ ।    शुक्रबार नै उनलाई आत्मसमर्पण गर्न भनिएको थियो तर उनका वकिलहरूले केही समय माग गरेका थिए ।

पशुपतिनगर: इलाम कारागारबाट एक कैदी फरार भएका छन् । देशकै नमुना सुधारगृह बनाइएको इलाम कारागारबाट थुनुवाका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय मनराज राई फरार भएका हुन् ।   विहीबार साँझ कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको कारागार प्रशासनले जनाएको छ  ।   गणनाका क्रममा उनी फेला नपरेपछि फरार थुनुवाको खोजतलास भइरहेको इलामका एसपी दिलिप घिमिरेले जानकारी दिनुभयो । उहाँले सिसि टिभी फुटेज हेर्दा बिहिबार नै कैदी भागेकोसमेत देखिएको बताउनुभयो । "हामी कारागारबाट कैदी फरार कसरी भयो भन्ने अनुसन्धान  गर्दैछौ‌‍," एसपी घिमिरेले भन्नुभयो ।   डाँका मुद्दामा सजाय भोगीरहेका राई २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए । इलाम कारागारमा केहि दिनअघि कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो ।    जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा छानविन गरिए पनि उक्त भिडियो १० महिना अगाडीको रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।    पछिल्लो समय नमुना मानिएको इलाम कारागार विवादित बन्दै गएको छ ।

काठमाडौँ: आज (शुक्रवार) देश सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ ।   राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) को तथ्याङकनुसार देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले परीक्षामा सहभागिता जनाएका छन् । परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ ।   परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ ।  परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् । 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित सरकारमा संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजैबाट सत्तारुढ हुने भएको छ ।   नवनियुक्त मन्त्रीहरूले आजै ३ बजे राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्री पदको शपथ ग्रहणको समय तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सञ्चारकर्मीहरूलाई २ः३० बजे नै राष्ट्रपति भवनमा आउन निमन्त्रणा पनि गरिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले शपथ ग्रहणको तयारी सुरु भएको जानकारी दिनुभयो ।    यसैबीच, प्रधानमन्त्री प्रचण्डले आजै राष्ट्रपति पौडेलसँग भेट गरी नयाँ मन्त्रीहरूको शपथ ग्रहणका लागि समय लिनु भएको जानकारी प्राप्त भएको छ । राष्ट्रपतिसँग प्रधानमन्त्रीको यो नियमित भेट हो ।

काठमाडौं:  शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।   आइतबार एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।   नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा तोकिएको छ।    बिहीबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। बिहीबाररको तुलनामा आज युरो  ३८ पैसा बढेको हो।   त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४७ पैसा तोकिएको छ।    यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रूपैयाँ १२ पैसा तोकिएको छ।    क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४८ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २ पैसा र बिक्रीदर ३५ रूपैयाँ १८ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ७२ पैसा र बिक्रीमा २९ रूपैयाँ ८६ पैसा पाइन्छ।   शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ४३० रूपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५० रूपैयाँ २० पैसा तोकिएको छ।

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।   अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।    बिहीबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।     त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।    बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं:  आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको छ ।   निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज (बिहीबार) मुख्य निर्वाचन अधिकृतको नियुक्ति गरेको हो ।   आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले चैत १८ गते शनिबारदेखि लागू हुने गरी निर्वाचन अधिकृतहरूको नियुक्त गरिएको जानकारी दिनुभयो ।   प्रवक्ता पौड्यालका अनुसार नियुक्त हुनुभएको मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि माननीय जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य हुनुहुन्छ ।   मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ । अब निर्वाचनका सबै कार्यक्रम ती कार्यालयहरूबाट सञ्चालन हुनेछ ।  

झापा : झापाको मेचीनगरमा लागु औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१३ घर भई हाल मोरङ जिल्ला लेटाङ नगरपालिका-३ निवासी ४६ वर्षीय विशाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।    मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दा टोलमा इलाका प्रहरी कार्यालय नकलबन्दा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नकलबन्दाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको शर्मालाई शंकाका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ १० ग्राम र नगद २८ हजार ६१५ रुपैयाँ फेला परेको थियो।    पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाइएको छ।  

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा वन विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएको बताएका छन्।   चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री एवं कुलपति प्रचण्डले कृषि, वन तथा पशुपालनसम्बन्धी विज्ञको आवश्यकता बढिरहेको बेला विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्नु चिन्ताको विषय भएको बताए।   'देशको लागि कृषि, वन तथा पशुपालन सम्बन्धी विज्ञको आवश्यकता दिन प्रतिदिन बढ्दो छ तर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा यी विषयमा अध्ययनका लागि भर्ना हुने विद्यार्थीको संख्या क्रमिक रुपमा घट्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ,'प्रधानमन्त्री प्रचण्डले भने,' यो समस्या एक विश्वविद्यालयको मात्र नभई अन्य विश्‍वविद्यालयहरुमा समेत देखिएकोले यो विषयको मुल समस्या पहिचान गरी  समस्या निर्मुल गर्न नेपालको शिक्षा नीतिमा नै परिमार्जन गर्नुपर्ने हो कि भन्ने मेरो बुझाइ छ।'   प्रधानमन्त्री प्रचण्डले विद्यार्थीलाई स्वदेशमा उच्च शिक्षा अध्ययन, अनुसन्धान र उद्यमशिलता विकासमा प्रोत्साहन गर्न आजको विश्‍वव्यापिकरणको युगमा निकै चुनौतिपूर्ण रहेको बताए।  उच्‍च शिक्षाको क्षेत्रमा देखिएका विभिन्‍न समस्या यथासमायमा नै समाधान गर्न सकियो भने उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेशिनुपर्ने बाध्यतालाई पक्कै कम गर्न सकिने उनको भनाइ ।   यसका लागि विद्यार्थीहरूले अध्ययन गर्न चाहेको विषयमा गुणस्तरीय शिक्षा प्रदान गरी नेपालको समग्र विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा विश्‍वविद्यालय प्रयासरत रहनुपर्नेमा जोड दिए।   प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्‍ट्रियस्तरको उच्चशिक्षा एवं प्रतिष्पर्धी विद्यार्थी उत्पादन गर्न सकेमात्रै दिगो विकासका लक्ष्य पूरा गर्न सकिने बताए।   उनले विश्‍वविद्यालयले कृषि र वन विज्ञान शिक्षामा शैद्धान्तिकभन्दा पनि अनुसन्धानबाट आएका व्यावहारिक ज्ञानको पठन/पाठनमा ध्यान दिँदै त्यसलाई विद्यार्थीबाट कृषि र वनसँग सम्बन्धित जन समुदायमा पुर्‍याउन सकेमा फलदायी हुने बताए।