मुस्ताङ:  मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो ...

काठमाडौं:  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरु सरकारकै कारण सुकुम्बासी बन्ने अवस्थामा पुगेको बताएका छन्।    बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले मिटरब्याज पीडितसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न सरकार आफै उदासिन बन्नाले पीडितहरू सुकुम्बासी बन्ने अवस्थामा पुगेको बताएका हुन्।   मिटरब्याजलाई गम्भीर आर्थिक अपराधको रूपमा सरकार आफैले स्वीकार गरिसकेको तर महिनाै‌ंसम्म कानुनको मस्यौदा गृहमन्त्रालयमा अड्किँदा साहु महाजनले  छलकपट गरी धमाधम  किसानकाे जग्गा लिलामी गरिरहेकाे उनले बताए।    ‘यसले दैनिक भूमिहिन हुने किसानहरुको संख्या झन् बढिरहेको छ। सरकारले आफै सुकुम्बासी उत्पादन गरेको जस्तो देखिएको छ,’उनले भने।   सांसद पौडेलले पीडितहरू मिटरब्याजको पैसा तिर्न साहु महाजनकै योजनामा लागूऔषध कारोबार गरेर जेलमा परेको घटनासम्म सार्वजनिक भएको बताउँदै सरकारलाई संवेदनशील हुन आग्रह गरे।    मिटरब्याजी साहु महाजन र तिनका आसेपासेले पीडित महिलामाथि यौन शोषण गरेका घटनाहरुसमेत सुन्नमा आएको बताउँदै पौडेलले मिटरब्याज पीडितको समस्या यथाशिघ्र सामाधान गर्न सरकारको ध्यानाकर्षण गराए। 

काठमाडौँ:  पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ ।   पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो ।   विकास कोषको सूचनामा भनिएको छ, “प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौँ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिनासम्मका लागि हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाएको छ । उक्त सरसफाइ अभियान शनिबार बिहान ८ देखि १० बजेसम्म चल्दै आएको र उक्त अभियानमा सहभागी हुन समेत कोषले सबैलाई आग्रह गरेको छ । 

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडितको समस्या सम्बोधनमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।  संसद्को विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले तत्काल मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने बताए।   उनले मिटरब्याज पीडितको  समस्यामा ढाकछोप र अलमल्याउने काम नगर्न पनि आग्रह  गरे।   अध्यक्ष लिङ्देनले मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको भन्दै आक्रोश व्यक्त गरे।    ‘के सरकार मुठभेड तर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन?,'उनले प्रश्न गरे।

अर्खला:  पूर्वी नवलपरासीको होमस्टेहरू पर्यटन प्रवर्द्धन र जातीय परम्पराका कारण विकासको बलियो आधारको रूपमा अगाडि बढेका छन् ।   पूर्वी नवलपरासीको पहाडी क्षेत्रको बुलिगंटार गाउँपालिकाको वडा नं. ४ अर्खला चुलीबोझामा ४ वर्षअघि स्थापना गरी सञ्चालन गरिएको देवचुली चुलीबोझा मगर सामुदायिक होमस्टे (घरबास)मा आन्तरिक एवम् बाह्य पर्यटकको आगमनमा वृद्धि भएसँगै स्थानीयको जीवन स्तरमा समेत परिवर्तन आएको अर्खला वडा नं ४ का वडाध्यक्ष मिनबहादुुर आलेमगरले बताउनुभयो ।   स्थानीय स्रोत र साधनको प्रयोग गर्दै स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ सञ्चालन गरिएको सो होमस्टे निरन्तरको अथक प्रयासपछि अहिले सफलता तर्फ उन्मुख भएको देवचुली चुलीबाेझा मगर सामुदायिक होमस्टेका अध्यक्ष हेमलाल बरालले बताउनुभयो ।   पूर्वी नवलपरासीको उत्तरपूर्वी क्षेत्र पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका वडा नं. ४ बोझा पोखरीमा रहेको होमस्टेमा गएको सात महिनायता आन्तरिक पर्यटक तीन हजार एक सय जनाले होमस्टेमा बास बसेको अध्यक्ष बरालले बताउनुभयो ।   मगर सामुदायिक होमस्टेसँगै रहेको प्रसिद्ध देवचुली डाँडा ७ महिनाको अवधिमा तीन हजार एक सय स्वदेशी पर्यटकले होमस्टेमा बास बसेको अभिलेख रहेको होमस्टे सञ्चालकले बताउनुभयो । मगर समुदायको आफ्नो भाषा, भेषभुषा रहनसहन, सांस्कृतिक पहिचान, रहेको भन्दै पर्यटकको आकर्षण बढेको अध्यक्ष बरालको भनाइ छ ।   मगर होमस्टेमा समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, देवचुली डाँडा, त्रिकन्या देवीको दर्शन, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार ( कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुरा)ले गर्दा समेत पर्यटनको आगमन बढेको सञ्चालक नौसिंह ठाडाले बताउनुभयो ।   होमस्टेमा बस्न आउने व्यक्तिहरू मध्ये आलोपालो प्रणाली अन्तर्गत सबैको घरमा बस्ने कारणले समेत आफूहरूले सबै खालका पाहुनाहरूको स्वागत गर्ने मौका पाएको र उनीहरूबाट नयाँ कुरा समेत सिक्न पाएको ठाडाको भनाइ छ ।   पूर्वी नवलपरासीको बुलिङटार वडा नम्बर ४ मा स्थापना गरिएको होमस्टे अन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू रहेका छन् । सो होमस्टेमा तीन बटा हलकोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ ।   होमस्टेमा जाने पर्यटकलाई बस्ने, खाने सबै व्यवस्था सञ्चालक समितिले गर्दै आएको छ । होमस्टे पुगेका आगन्तुकबाट उठेको रकम १० प्रतिशत समूहमा राखेर बाँकी पैसा भने होमस्टेका सदस्यहरूलाई वितरण गर्ने गरिएको छ । कला र संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने होमस्टेले स्थानीयवासीको जीवनस्तरमा समेत परिवर्तन ल्याएको वडाध्यक्ष आले मगरको भनाइ छ ।   होमस्टे सञ्चालनपछि गाउँमा विकास निर्माणको कामदेखि स्थानीयवासीको आनीबानी तथा व्यवहारमा परिवर्तन आएको स्थानीय बताउँछन् । जिल्लामा मात्र थारु, मगर, गुरुङ र निजी क्षेत्रमा सञ्चालन गरिएको बरौली होमस्टे सञ्चालनमा छन् । जिल्लामा रहेका अमलटारी र पिप्रहर होमस्टे भने देशका प्रमुख होमस्ट मध्ये पर्दछन् ।

मोरङ:  मोरङ प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।    मंगलबार इलाका प्रहरी कार्यालय रङ्गेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको टोलीले रङ्गेली नगरपालिका–२ चेका खोलास्थित गहुँबारीमा पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा दुई भारतीय नागरिक गाँजासहित पक्राउ परेका थिए।    भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंहलाई १५० किलो गाँजा ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।    प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले मोरङको रङ्गेली नगरपालिका–३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा लुकाईछिपाई राख्ने गरेको खुलेपछि प्रहरी खानतलासीका लागि पुगेको थियो।    कार्कीको घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटिएपछि प्रहरीले कार्कीसहित गाँजा ओसारपसारमा संलग्न थप दुई  भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पनि पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए।    उनीहरुको साथबाट कुल २३४ किलो गाँजा बरामद भएको हो। डीएपसी कार्कीले पक्राउ परेका पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बताए। 

काठमाडौं : नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।   अघिल्लो कारोबार दिन प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ।   मंगलबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।     त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।    मंगलबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।   मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।   नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९७ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६२ पैसा पाइन्छ।   बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ५० पैसा र बिक्रीदर १६२ रुपैयाँ २४ पैसा तोकिएको छ।    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ८१ पैसा र बिक्रीमा २९ रुपैयाँ ९५ पैसा पाइन्छ।   बुधबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३६ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५५ पैसा तोकिएको छ।  

तनहुँ: तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा दूषित पानीका कारण फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । ६५० उपभोक्ताले उपभोग गर्ने सो ठाउँस्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लास सडेका अवस्थामा फेला परेको थियो । जसका कारण स्थानीयवासी झाडापखाला फैलिएको थियो ।   दूषित पानीका कारण फैलिएको झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।   ‘‘उपभोक्ता बिरामी भएको खबर पाएपछि स्वास्थ्यकर्मीसहित गाउँमै पुग्यौँ हाल सबैलाई निको भएको छ,’’ अधिकारीले भन्नुभयो ।   उपभोक्ताले ट्याङ्कीमा शव देखेपछि मनोविज्ञानमा असर परी अधिकांशले वान्ता गर्ने गरेको र सबै जना बिरामी भएकोमा हाल सामान्य अवस्थामा फर्किएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।   ‘‘ट्याङ्कीमा शव भेटिएपछि घिन मानेर अधिकांशले बान्ता गरेका थिए अहिले सामान्य अवस्थामा आएको छ’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । तत्कालका लागि मलुको पानी दुर्गन्धित ट्याङ्की नराखी नयाँ अस्थायी पाइप लाइनबाट आठ स्थानमा वैकल्पिक सार्वजनिक धारा व्यवस्था गर्ने कार्य पालिकाले गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।   घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।   ‘‘तत्कालका लागि खानेपानीको समस्या समाधान गर्न दुई हजार लिटर क्षमता ४ वटा पानी ट्याङ्की राखेर वितरण सार्वजनिक धाराबाट वितरण गर्ने गरी काम भइरहेको छ,’’ अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।   दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्याङ्कीको ढकन खोलेर चेक गर्ने क्रममा लास देखेर प्रहरीमा खबर गरेका थिए । घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा आइतबार शव फेला परेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।   ७० लाखको लागतमा सो आयोजना योजना निर्माण गरिएको दुई लाख २५ हजार घन मिटर क्षमताको पानी ट्याङ्कीमार्फत उपभोक्तालाई पानी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।  पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीय शान्ता श्रेष्ठको शव दुर्गन्धित अवस्थामा ट्याङ्की भित्र भेटिएपछि गाउँवासीले प्रहरीलाई खबर गरेका थिए ।

स्याङ्जा:  कतारकी राजकुमारी आस्मा अल्थानीले स्याङ्जाको भीरकोट नगरपालिका–५, महापुरबाट प्याराग्लाइडिङको तालिम लिनुभएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण मौसमले प्रभावित भएसँगै जिल्लाको सुरक्षा निकायले समेत थाहा नपाउने गरी गोप्य रूपमा अल्थानीले भीरकोट नगरपालिका–५, महापुरमै बसेर पाँच दिनको प्याराग्लाइडिङको तालिम लिनुभएको हो ।   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलेसँगै पोखराको प्याराग्लाइडिङ उडान रोकिरहँदा उच्चस्तरकी पाहुना अल्थानीले चैत ५ देखि ९ गतेसम्म भीरकोटमा प्याराग्लाइडिङ तालिम लिएर उडान भरेको तस्बिर ‘द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुल’ भीरकोटले सार्वजनिक गरेसँगै सार्वजनिक भएको हो ।    हाई प्रोफाइल कतारी राजकुमारी अल्थानी स्याङ्जामा आउँदा यहाँको प्रशासनसमेत अनभिज्ञ रहेको छ । राजकुमारी अल्थानी आएको आफूहरूले थाहा नपाएको बताउँदै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले राजकीय रूपमा नआई पर्यटकका रूपमा आएकाले थाहा नपाएको बताउनुभयो ।    विश्वकप प्याराग्लाइडिङ सफल भएको भीरकोट महापुरमा उच्च तहका पाहुना उडान र सिक्न आउनुले पोखरा पछाडिको प्याराग्लाइडिङ केन्द्र स्याङ्जा भएको उहाँले दाबी गर्नुभयो ।    राजकुमारी अल्थानीलाई ‘द बाबु एड्भेन्चर’ भीरकोटका सञ्चालक सानुबाबु सुनुवारले प्याराग्लाइडिङमा उडान गराउनुका साथै उड्न र अवतरण गराउने सिकाउनु भएको थियो । सञ्चालक सानुबाबु सुनुवारले पाँच दिन २० घण्टा उडान तथा अवतरणको तालिम दिएसँगै राजकुमारीले वालिङ नगरपालिका–१, दौवाफाँटमा अवतरण गर्नुभएको  सुनुवारले बताउनुभयो ।     राजकुमारी अल्थानीकै आग्रहमा साहसिक कुरा भएकाले कसैलाई नभन्न आग्रह गरेसँगै गोप्य राखेर तालिम दिएको सञ्चालक सुनुवारले बताउनुभयो। राजकुमारी अल्थानीले डाँडाबाट ‘टेकअफ’ र मैदानमा सुरक्षित तवरले अवतरण बारेमा सिकेर पाँच मिनेटबाट २५ मिनेटसम्मको चारवटा उडान आफैँ गरेको र अन्तिम उडान दौवाफाँटसम्मको गर्नु भएको हो।    प्याराग्लाइडिङ तालिम सिकेर एक्लै उडान र अवतरण गर्न सक्ने बनेर अल्थानी फेरि अन्नपूर्ण प्रथम आरोहणमा निस्के पनि मौसमका कारण पोखरामा रहनुभएको छ।    आधारभूत पाइलट प्रशिक्षण एक साताको हुने भए पनि अल्थानीले प्याराग्लाइडिङ उडानको २० घण्टामै आधारभूत पाइलट प्रशिक्षण पूरा गरेको सुनुवारले बताउनुभयो। धेरै पहिलादेखि  भीरकोटमा प्याराग्लाइडिङ उडान गर्न र सिक्न आउने अल्थानीको चाहना आफ्नो स्कुलले पूरा गरेको सुनुवारले बताउनुभयो।    उच्च तहका पाहुना भीरकोटमा आउने अल्थानी पहिलो भएको बताउँदै सुनुवारले राजकुमारीका लागि उपकरण स्कुलले उपलब्ध गराएको बताउनुभयो।