सल्यान: दार्मा गाउँपालिका - ३ फारुलाचौरका ६३ वर्षीय भोटु खत्रीको घरमै धारा बनेपछि दैनिकी फेरिएको छ । पानीका लागि बिहानै दार्माखोला नजिकै पुग्नु पर्ने उहाँको दैनिक फेरिएको हो । उहाँले भन्नुभयो, ‘पशुचौपायालाई खुवाउने पानीको व्यवस्था भए पनि मान्छेका गाह्रो थियो । अहिले घरमै खानेपानी धारा हुँदा सजिलो भएको छ ।’ उहाँ जस्तै फारुलाचौरकै विमला रोकायले घटौँ हिँडेर कुवा र मूलको पानीको पानी प्रयोग गर्दै आएकोमा अहिले गाउँपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गरेर घर घरमा निर्माण भएपछि दैनिक जीवनमा सहजता आएको बताउनुभयो । उहाँका अनुसार खानेपानी लिन सामुदायिक धारा र कुवामा जानुपर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुने गरेको बताउँदै अहिले घर घरमा खानेपानीको धारा निर्माण हुँदा लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । दार्मा गाउँपालिकाको एक करोड, नेपाल रेडक्रस सोसाइटीको ३४ लाख ६० हजार र १० लाख बराबरको जनश्रमदान गरी १ करोड ७३ लाख ६० हजार रुपियाँको लागतमा तीन खानेपानी योजना सम्पन्न गरिएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार पालिकाको एक घर एक धाराको नीति र स्थानीयलाई स्वच्छ खानेपानीको पहुँच भित्र ल्याउन एकै पटक ३२४ घरमा खानेपानी विस्तार गरिएको छ । दार्मा गाउँपालिका र रेडक्रस सोसाईटीको सहकार्यमा दार्मागाउँपालिका ३ का फारुलाचौरका १४०, वडा नम्वर ४ मालिकाका ३८ र ६ का मलिक्चाका ८०, टिकेपातलमा ६६ घरधुरीमा एक घर एक धाराको खानेपानी योजना सञ्चालन गरिएको छ । दार्मा गाउँपालिका सबै घर धुरीमा खानेपानी योजना सञ्चालन गर्न १८ करोड रुपियाँ बराबरको विस्तृत योजना तयार भएको गाउँपालिकाले जनाएको छ ।
काठमाडौँ : राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् । बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य डा.पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरिन् । उनले मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरु बोल्नुपर्ने बताइन् । उनले दलहरुले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताइन् । त्यसैगरी उनले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले भनिन्– ‘खुल्लामञ्चमा बस्न दिइएन उहाँहरुलाई । खुल्लामञ्च काठमाडौँको मात्रै पेवा रहेछ । मधेसबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने । कार्यदल बनाएको सरकारले भन्ने कुरा हामीले सुनेका छौँ । कार्यदलले के गर्दैछ, यो कुरा एकदमै प्राथमिकतामा राखेर कानून कहाँनिर संशोधन गर्नुपर्छ, कानून संशोधन गर्नुपर्यो । मेरो विचारमा मिटरब्याजलाई संविधानले पनि चिन्दैन । अर्थतन्त्रले नि चिन्दैन । कानुनले पनि चिन्दैन । नचिन्ने मिटरब्याजी कहाँबाट आयो ? हामीले किन त्यसलाई औपचारिकता दिइराखेका छौँ ? मलाई थाहा छैन । कानुन छैन भने ल्याउनुपर्यो । तुरुन्तै ल्याउनुपरयो ।’ पौड्यालले भनिन्, ‘हिजो हामी जाँदा त्यहाँका महिलाहरुले के भन्नुभयो भने नि, उहाँहरु दलका कार्यकर्ता हुन्, दलका नेताहरु हुन्, उहाँहरुले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौँ ? प्रश्न त्यो हो । दलका कार्यकर्तालाई हामीले संरक्षण गरिरहेका छौँ ? दलहरुले बोल्नुपर्यो । सबै राजनीतिक दलहरुलाई चुनौती हो यो । सबै राजनीतिक दलहरुले आफ्ना दलबाट त्यस्ता कामहरु भएका छन् भने, आफूले संरक्षण गरेका आफ्ना भोटरबाट आफ्ना समर्थकबाट भएका छन् भने त्यो हुन दिनुभएन । त्यो काम राजनीतिक दलहरुले गर्नुपर्यो ।’ डा.पौड्यालले मिटरब्याज गैरकानूनी भएको भन्दै त्यसका विषयमा जनचेतना जगाउनुपर्ने बताइन् ।
काठमाडौं: नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२३ को फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमा ह्याट्रिक गरेको छ । एपिएफले लगातार तीन संस्करणको उपाधि जितेको हो । जितको लागि १ सय ५५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय रन बनायो । कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ४१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । स्पिनर बिनु बुढामगरको १४ औं ओभरको दोस्रो बलमा रुविना बोल्ड भएपछि कोशीको जितको सम्भावना सकिएको थियो । रेखा रावलले तेस्रो ओभरमै काजोल श्रेष्ठलाई ६ रनमा बोल्ड गरेकी थिइन् । अप्सरी बेगम २४ बलमा १ चौकासहित १० र स्मृति कटवाल ८ रनमा आउट भइन् । लखिता राजवंशी २१ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । नमिता श्रेष्ठ ११ बलमा १ चौकासहित ७ रनमा रन आउट भइन् । एपिएफकी बिनु बुढाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । नेरी थापाले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । रेखा रावलले एक विकेट लिइन् । सोनु खड्काले एक विकेट लिइन् । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । ललितपुर मेयर्स प्रतियोगिता इतिहासमा एकै इनिङमा बनेको यो हालसम्मकै उच्च योगफल हो । यसअघि पहिलो संस्करणको ललितपुर मेयर्समा ललितपुर ११ ले लुम्बिनीविरुद्ध ५ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । त्यो नै उच्च योगफल रहँदै आएको थियो । एपिएफको जितमा कप्तान सीता ६८ बलमा ९ चौका र २ छक्कासहित ७८ रनमा अविजित रहिन् । उनको यो टि२० घरेलु क्रिकेट करिअरको उत्कृष्ट प्रदर्शन हो । उपकप्तान इन्दु बर्मा ४१ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहिन् । ललितपुर मेयर्स कपमा एक ब्याटरले बनाएको सबैभन्दा उच्च योगफल हो । सीताले सुमन खतिवडाको कीर्तिमान तोडेकी हुन् । पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले ५२ बलमा ९ चौका र २ छक्कासहित ७७ रन जोडेकी थिइन् । दोस्रो विकेटका लागि सीता र इन्दुले १ सय ३६ रनको सानदार अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएका थिए । जुन ललितपुर मेयर्स कपको कुनैपनि विकेटको लागि भएको उच्च साझेदारी हो । पहिलो संस्करणमै सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीविरुद्ध १ सय ८ रनको अविजित साझेदारी गरेका थिए । उक्त कीर्तिमान सीता र इन्दुले तोडेका हुन् । कोशीकी एलिसा खडियाले एक विकेट लिइन् । यसअघिका दुबै संस्करणको उपाधि एपिएफले फाइनलमा सुदूरपश्चिमलाई समान ८ विकेटले हराउँदै जितेको थियो ।
काठमाडौं : सांसदहरूले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितहरूसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गरे। सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउन मुलुकी अपराधसंहिता,२०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ । यस्तै सांसद तारामान स्वाँरले गत कत्तिक २२ देखि सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको,कैयौँको ज्यान जानुका साथै घर चर्किएर,भत्किएर बस्न नसक्ने अवस्थामा रहेको भन्दै त्रसित अवस्थामा रहेका नागरिकको सुरक्षा र राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरे । उनले भूकम्पको उच्च जोखिममा रहेको क्षेत्रको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन पनि आग्रह गरे। सांसद तुलसाकुमारी दाहालले भूकम्पबाट क्षति पुगेको नेपाल राष्ट्रिय पुस्तकालयको संरचना हाल पुरानो ठिमीमा व्यवस्थापन गरिएको र त्यहाँ रहेका बहुमूल्य पुस्तक धमिरा लागेको र कुहिएको पुस्तकको संरक्षण गर्न माग गरे। उनले पुस्तकालयका एक लाख ५० हजार बढी सामग्रीको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
काठमाडौँ: लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा अहिले मासिक साढे तीन प्रतिशत प्रगति रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । यसलाई बढाएर अर्को मासिक चारपाँच प्रतिशत पु¥याउने लक्ष्य लिइएको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताउनुभयो । सो सडकको विभिन्न खण्डमा कालोपत्रको काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ चार लेनमा कालोपत्र गरिने भएपनि पहिले दुई लेनमा गरेर पछि अर्कोतर्फ गरिने योजना बनाइएको छ । एकै पटक सबैतिर साइट पनि खाली भइनसक्ने हुँदा एकातिर गरेर पछि अर्कोतर्फ हुनेछ । ” सडक विस्तारको गति बढाउन अहिले जनशक्ति थप गरिएको र निर्माण सामग्री थप गरिरहेको प्रमुख शाक्यले जानकारी दिनुभयो । अहिले गिटी बालुवा केही मात्रामा अहिले पनि पाइरहेको र आगामी दिनमा विभिन्न पालिकाबाट पाइने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “दिन्छु भनेका पालिकाले दिएमा समस्या हुँदैन ।” तत्काल अरु समस्या अरु नआएमा प्रगति बढ्ने देखिएको आयोजनाले जनाएको छ । निर्माणस्थल खाली भइरहेको र निर्माण कम्पनीले पनि जनशक्ति बढाएकाले गति बढ्ने देखिएको हो । अहिलेको अवधि साउनसम्म रहेकाले थपका लागि निर्माण कम्पनीले निवेदन दिएको आयोजनाले जनाएको छ । यस विषयमा पहिले अन्तराष्ट्रिय परामर्शदाताले मूल्याङ्कन गरेर टुङ्गो लगाउनुपर्ने उहाँले बताउनुभयो । काम गरिरहँदा थप्नुपर्ने कारण छ भन्ने परामर्शदाताको सुझाबका आधारमा मात्रै थप हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “परामर्शदाताले नै थप्न पर्छ वा पर्दैन र थप्ने भए कति थप्नुपर्छ भनेर प्रतिवेदन दिनुपर्छ ।” विभिन्न ठाउँमा पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । बाटो सजिलो हुन अझै केही समय लाग्नसक्ने प्रमुख शाक्यले बताउनुभयो । वर्षा सुरु हुनु पहिले नै सबै डाइभर्सन हटाउने प्रतिबद्धता निर्माण व्यवसायीले गरेको उहाँले जानकारी दिनुभयो । विगतका वर्षको वर्षाभन्दा यो वर्ष केही सजिलो हुने उहाँको भनाइ छ । दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या रहेको थियो । गत वर्ष पनि एकदुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षामा त्यो नदोहोरिने उहाँले बताउनुभयो । निर्माणस्थल खाली गराउन प्रक्रिया सकिए पनि काम भइसकेको छैन । निर्माण कम्पनीले सडकमा रहको बिभिन्न कुरा हटाउँदै खाली भएको खण्डमा निर्माणको काम गरिरहेको हो । विद्युतको पोल सार्ने, खानेपानीको पाइप सार्ने सबै काम निर्माण कम्पनीलाई नै जिम्मेवारी दिइएको । उहाँले भन्नुभयो, “उसले आफ्नो तालिकाअनुसार काम गरिरहेको छ ।” अहिले तत्काल एकातिरबाट काम गर्ने र खाली भएपछि अर्कोतर्फ गर्ने गरी तत्काल एकातर्फको सडक मात्रै कालोपत्र भइरहेको छ । अहिलेको चुनौती भनेको निर्माण कम्पनीको व्यवस्थापन गरेर कामको प्रगति बढाउनु मात्रै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले अरु पक्षबाट बिभिन्न अवरोध भए पनि त्यो सबै सामाधन भइसकेको छ अब जसरी पनि कामको प्रगति बढाउनुपर्ने छ ।” झण्डै छ दशकपछि अहिले विस्तार भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ । सडक चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सरकारले पूर्व–पश्चिम राजमार्ग एशियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ । विभिन्न खण्डमा कतै विस्तार अघि बढीसकेको छ भने कतै विस्तारको तयारी अघि बढेको छ । विसं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो । एक सय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पोरेशनलाई दिइएको थियो ।
तनहुँ: तनहुँ आबुखैरेनी गाउँपालिका –४ स्थित आम डाँडा स्थित खस्राङमा रहेको आधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण पुरा भएपछि स्थानीय बासिन्दालाई वर्षा याममा जोखिम बोलेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । खोलामाथि पुल निर्माण भएपछि आवत जावतमा सहज भएपछि स्थानीयवासी खुसी भएका छन् । कादूरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । कादूरीको ७७ लाख ११ हजार पाँच सय १९ र उपभोक्ताहरूको तर्फबाट श्रमदान रु एक लाख त्रिपन्न हजार गरी कूल रु ७८ लाख ६४ हजार पाँच सय १९ को लागतमा पुल निर्माण गरिएको हो । वि.सं २०७७ असोज १५ सर्वेक्षण गरी ०७९ कार्तिक १७ मा योजनाको निर्माण कार्य सुरु गरी ०७९ फागुन १८ गते सम्पन्न भएको आँधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण योजनाका अध्यक्ष इनबहादुर गुरुङले जानकारी दिनुभयो । ८६ मिटर लामो दुरीको उक्त पुल निर्माण पछि त्यस क्षेत्रका करिब एक हजार भन्दा बढी जनसङ्ख्या लाभान्वित हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पुलको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मङ्गलबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । सो अवसरमा चुमानले पुल निर्माण पश्चात् सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सहज हुने भएकोले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन्। भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक वा दुई हप्ताभित्र अहिले देखिएको समस्या समाधान हुने बताए। प्रधानमन्त्रीले भने,' क्रिकेट रंगशालाको १ या २ हप्ताभित्र समस्या समाधान हुन्छ र निर्माणकार्य अघि बढ्छ।' धुर्मुस सुन्तली फाउन्डेसन रंगशालाको निर्माणको जिम्मा लिएको थियो। तर, ऋण काढेको रकम तिर्न नसकेपछि फाउन्डेसनले रंगशालाको स्वामित्व लिन महानगरपालिकासँग आग्रह गरेपछि थप पक्रिया अघि बढने भएको हो। भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न लागेको हो।
काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी कोकिनसहित एकजना भारतीय नागरिक पक्राउ गरेको छ। चैत्र १४ गते इण्डिगो एयरको उडानबाट दिल्ली प्रस्थान गर्ने क्रममा लागुऔषध ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट तीन किलो कोकिन बरामद गरेको प्रहरी स्रोतले बताएको छ। प्रस्थान कक्षको एक्सरे मेसिनमा जाँच गर्दा तीन किलो कोकिनसहित भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतीय नागरिक भन्लालमी भएको प्रहरी स्रोतले बताएको छ। उनको बयानबाट थप एकजना भारतीय नागरिक पनि संलग्न रहेको पाइएको छ। घटनाबारे जानकारी दिन दिउँसो २ बजे लागुऔषध नियन्त्रण व्युरोले पत्रकार सम्मेलन गर्दैछ।
म्याग्दी: बेनीकी ४९ वर्षीया विष्णु गुरुङलाई यतिखेर एसइई परीक्षाको चिन्ता छ । भोलि (शुक्रबार) देखि सुरु हुने एसइई परीक्षामा राम्रो अङ्क ल्याएर पास गर्ने रहर गुरुङमा जागेको छ । घरको कामधन्दा सँगै गुरुङ एसइईको तयारीमा जुट्नुभएको छ । भोलि देखि परीक्षा हो भन्छन् मनमा डर लागिरहेको छ उहाँले सुनाउनुभयो । ‘‘सानै उमेरमा विवाह भएपछि पढ्ने अवसरबाट वञ्चित भइयौँ’’,गुरुङले भन्नुभयो, ‘‘पढाई नहुँदा धेरै ठाउँमा ठक्कर खाएँ,त्यसैले उमेर नाघे पनि पढ्ने इच्छा जागेर आयौँ । राम्रो अङ्क ल्याएर एसइई पास गर्ने रहर छ ।’’ सात कक्षा पास गरेर आठ कक्षामा पढ्दै थिए बुवा आमाले विवाह गरिदिनुभयो गुरुङले भन्नुभयो, ‘विवाह पछि छोराछोरी जन्माउने,हुर्काउने र पढाउन तीर लागियो आफूले पढ्ने भन्ने हरायो ।’ छोराछोरी हुर्काउने र पढाउने काम सकेपछि बल्ल आफूलाई पढ्ने फुर्सद भयो गुरुङले सुनाउनुभयो । गुरुङले भन्नुभयो,‘बेनीको उज्यालो विद्यालयमा हामी जस्तालाई पढ्ने अवसर दिएकाले ८ कक्षामा भर्ना भएर पढ्न थाले अहिले एसइईको परीक्षा दिने भएकी छु ।’ बेनीमा अल्लो उद्योग व्यवसाय गर्दै आउनुभएकी गुरुङलाई शिक्षा नहुँदा धेरै ठाउँमा ठक्कर खानु परेको अनुभव सुनाउनुभयो । नयाँ प्रविधिको विकास भएको छ उक्त प्रविधिलाई प्रयोग गर्न पनि शिक्षा जरुरी रहेछ उहाँले भन्नुभयो । एसइईमा राम्रो अङ्क आए त्यसपछि क्याम्पस पनि पढ्ने रहर भएको उहाँले बताउनुभयो । यस्तै रघुगंगा गाउँपालिका–७ चिमखोलाकी ५७ वर्षीया राधा पुनलाई पनि एसइई पास गर्ने रहर जागेर आएको छ । ‘छोराछोरीले एसइई पास गरिसके मैले पनि यसपालि एसइई पास गर्ने हो ।’ उहाँले भन्नुभयो । रघुगंगा गाउँपालिका १ बेगखोला स्थायी ठेगाना भई हाल बेनीमा बसोबास गर्नुहुने ५० वर्षीया डिलकुमारी पुर्जाले पनि एसइईको तयारीमा हुनुहुन्छ । ‘‘सानो हुँदा भेडा बाख्रा चराउन जानुपर्दथ्यो,गोठमा दिनहरू बिते,विद्यालयमा टेक्ने अवसर पनि पाइएन,’’ पुर्जाले भन्नुभयो, ‘‘गोठमा बाजेले अलिअलि कखरा पढाउनुभयो । अनि विवाह भयो पढ्न पाइनँ ।’’ पुर्जाको छोराछोरीले १२ कक्षा पास गरिसेका छन् । अहिले पढ्न थालेपछि छोराछोरी पनि खुसी भएका छन् । परिवारले पनि हौसला दिन्छन् उहाँले सुनाउनुभयो । उहाँहरू सहित उज्यालो वैकल्पिक विद्यालयबाट ९ जना आमाहरू यसपालिको एसइई परीक्षामा सहभागी हुनुहुन्छ । ३५ वर्षीया सङ्गीता छिनाल, ३९ वर्षीया धनकुमारी विक, ४० वर्षीया रामदेवी पुन, ३७ वर्षीया इन्द्र मति फगामी, २८ वर्षीया पूजा छन्त्याल र ५२ वर्षीया तुलकुमारी खत्री एसइई परीक्षामा सहभागी हुँदै हुनुहुन्छ । बुधबार विद्यालयले एसइई परीक्षामा सहभागी हुने आमाहरूलाई एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयअन्तर्गत स्थापित उज्यालो वैकल्पिक विद्यालय सामाजिक विकास कार्यालय रहेको भवनको भुईँ तलाको ६ कोठामा सञ्चालन गरिएको छ । बिचमै पढाई छाडेका लागि उज्यालो विद्यालयले पढ्ने अवसर दिएको छ । विद्यालय पुगेर औपचारिक शिक्षा नपाएका वा बिचैमा पढाई छोड्न बाध्य गृहिणीलाई शिक्षाको मूलधारमा ल्याउन २०७३ देखि समुदायको सक्रियतामा उक्त विद्यालय खुलेको हो । विद्यालय सञ्चालन गर्न बेनी नगरपालिकाले केही रकम अनुदान दिने र बाँकी दाताको चन्दा सहयोगबाट चलेको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । सरकारले दरबन्दी कायम गरेर शिक्षक उपलब्ध गराइदिए आगामी दिनमा विद्यालय सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।