काठमाडौं : रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्रन थालेका छन्। चीनले शनिबारदेखि नाका पूर्ण रूपमा सञ्चालन गरेसँगै चिनियाँ पर्यटक नेपाल भित्रन थालेका हुन्। शनिबार र आइतबार नाकाबाट २६ जना पर्यटक भित्रिएका अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार चिनियाँ पर्यटकहरू काठमाडौंका आएका छन्। साथै नेपालबाट आइतबार पाँचजना चिनियाँ पर्यटक केरुङतर्फ गएका छन्। केरुङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। कोभिड-१९ का कारण लामो समयसम्म नाकाबाट मान्छेको आवतजावत रोकिएको थियो। रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको हो। कोभिड-१९ सुरु हुनुपूर्व नाकाबाट चिनियाँसहित विभिन्न देशका पर्यटक नाकाबाट आउने गरेका थिए। रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका छन् ।
काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। सेयर कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक १६.६७ अंकले घटेर १८७१.८८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले घटेर ३५२.७१ विन्दुमा अडिएको छ। आज २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँको सेयर खरिदबिक्री भयो। दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कालिञ्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो। यसदिन प्रभु बैंक डिभेन्चर २०८७ को सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा नविल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ३ करोड ६२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआईसी एसिया बैंकको २ करोड बढि मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य घट्यो भने १ को मात्रै बढ्यो। ट्रेडिङ उपसमूहको सूचक १.२१ प्रतिशतले बढ्यो।
काठमाडाैँ: भारतको राजधानी नयाँ दिल्लीस्थित रेल्वे स्टेसनबाट सात जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ । एक हप्ते लामो विशेष उद्धार अभियानबाट सात नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बङ्गलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै चार सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् । नयाँ दिल्ली रेल्वे स्टेसनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेसनका प्रवेश र निकासद्वारा खटिएका उद्धारकर्मीहरूले बालबालिकाहरूको उद्धार गरेका हुन् । समारोहमा बोल्दै दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले सात दिनसम्म २४ घण्टा चलाइएको अभियानमा सात नेपाली बालबालिकाहरूको उद्धार गरिएको बताउनुभयो । उहाँले दिल्ली र अन्य राज्यहरूमा निरन्तर रूपमा नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा दिल्ली पुर्याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकाहरूलाई किन इण्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताउनुभयो । उहाँले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका धेरै बालबालिकाहरू दिल्ली पुग्ने गरेको बताउनुभयो । बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला सहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरूले बताएका छन् ।
स्याङ्जा: औषधि सेवनबाट निको हुने क्षयरोगको गण्डकी प्रदेशमा फागुन मसान्त सम्म एक हजार चार सय ४१ बिरामी फेला परेका छन् । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी रहेर छ महिना सेवन गरे निको हुने क्षयरोग हरेक दिन बढ्दै जाँदा सबैका लागि चुनौती बनेको छ । गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा दुई हजार चार सय ४७ बिरामी भेटिएकोमा यस आर्थिक वर्षको आठ महिनामा गत वर्ष भन्दा एक हजारले कम देखिएको हो । यहाँ आव ०७७/७८ मा भन्दा आव ०७८/७९ मा ५८२ जना बढी बिरामी भेटिएका थिए । क्षयरोगको मुख्य गरेर चैतदेखि असारसम्म सबैभन्दा धेरै बिरामी देखिने बताउँदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग कार्यक्रम संयोजक राजेश यादव बिरामी भेटिने समय अगावै धेरै बिरामी भेटिएको बताउनुभयो । गत आर्थिक वर्षको यसै अवधिमा बिरामीको सङ्ख्या धेरै कम रहेको र अबको चार महिनामा यस भन्दा बढी बिरामी भेटिने उहाँको भनाइ थियो । गण्डकीमा आठ महिनामा सबैभन्दा धेरै कास्कीमा ३५८ जना बिरामी भेटिँदा सबैभन्दा थोरै मनाङमा तीन जना बिरामी भेटिएका छन् । नवलपुरमा ३३८, तनहुँमा १७६, स्याङ्जामा १७०, बागलुङ १४०, गोरखा ११९, लमजुङ ५३, पर्वत ४६, म्याग्दी ३३ र मुस्ताङमा पाँचमा क्षयरोगका बिरामी रहेका छन् । पाँच वर्ष पहिला एक जना बिरामी देखिएकोमा गत वर्ष दुई जना क्षयरोगका बिरामी मनाङमा भेटिएका थिए भने अहिले आठ महिनामै धेरै भेटिएका हुन् । भेटिएका क्षयरोगका बिरामीको सङ्ख्या कम भएको बताउँदै गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रका निमित्त निर्देशक अरुणकुमार झाले बिरामीले रोग लुकाउँदा सरकारी तथ्याङ्कमा सङ्ख्या कमी रहेको बताउनुभयो । कसैले थाहा नपाउन भनेर निजी स्वास्थ्य केन्द्रमा सरकारको तथ्याङ्क भन्दा बढी बिरामीले औषधि सेवन गर्दै आएको उहाँले बताउनुभयो । सबै क्षेत्रबाट रोगको बारेमा सचेतना जगाएर जान सकेमा बिरामीको सङ्ख्या कमी आउने बताउँदै झाले आम नागरिक पनि यसमा जोडिनुपर्ने बताउनुभयो । ११ जिल्ला रहेको गण्डकीमा ७९२ डट्स सेन्टरबाट क्षयरोगका बिरामी उपचार हुँदै आएको छ । देशभर क्षयरोग नियन्त्रण केन्द्रका मार्च २४ को प्रतिवेदनमा आव ०७८/७९ मा ३७ हजार ८६१ बिरामी रहेको छ भने सरकारी सर्भेमा प्रत्येक वर्ष ७९ हजार बिरामी बढ्ने र १७ हजारको मृत्यु हुने तथ्याङ्क छ । आव ०७७/७८ मा देखिएका बिरामी भन्दा १० हजार १८४ ले ०७८/७९ बढी हो ।
कलैया : आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन्। बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा अध्यक्ष यादवले मनोनयन दर्ता गराएका हुन् । बारा २ मा जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो। यो क्षेत्रमा नेकपा एमालेबाट पुरूषोतम पौडेल,जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा,रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिने तयारीमा छन्।
तनहुँ: आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेका नेता तथा पूर्वआईजीपी सर्वेन्द्र खनालले मनोनयन दर्ता गराएका छन्। खनालले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्। गत मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचनका हुन लागेको हो। निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकेको हो। नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा.स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउने तयारीमा छन्।
पोखरा: पृथ्वीचोकमा रहेको पवित्र वचत तथा ऋण सहकारी संस्था लिं.ले ६६ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आइतबार पोखराको मुख्य वजारक्षेत्र पृथ्वीचोकमा सरसफाई गरेको छ । रानाभाट तथा भाट समाजद्धारा २०६८ सालमा स्थापना भएको सहकारीको प्रधान कार्यालय पृथ्वीचोकस्थित पोखरा मलमा रहेको छ । सहकारी दिवसको अवसरमा आफ्नो कार्यलय परिसर सरसफाई गर्दा समाजमा राम्रो सन्देश जाने भएकोले पृथ्वीचोकमा सरसफाई गरिएको सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटले वताए । २०६८ सालमा रानाभाट समाजका ४८ जना शेयर सदस्यले स्थापना गरेको सहकारीमा हाल १३ सयको करिब शेयर सदस्य छन् । उक्त सरसफाइ कार्यक्रममा पदाधिकारी तथा शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको व्यवस्थापक अप्सरा रानाभाटले वताईन् ।
पोखरा: सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले आइतबार आफ्नो २० औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा भर्खरै सम्पन्न सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यरुलाई सम्मान तथा बधाइ ज्ञापन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १ का वडाध्यक्ष साहारा प्रधानले सामुदायिक प्रहरी सेवाले गरेका हरेक कार्यक्र उत्कृष्ट रहेको बताए । वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिना सामुदायिकले गर्ने हरेक कार्यक्रम आफ्नो कार्यालयको तर्फबाट सहकार्य गर्ने प्रतिवद्धता जनाए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले हरेक उतार चढावक बीच संस्था यो स्थानमा आएको बताउँदै आगामी दिनमा पनि संस्थाले उल्लेखनियक कार्यक्रमहरु गर्नु पर्ने बताउनुभयो । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरकी पूर्व अध्यक्ष तथा सल्लााहकार जीवन अधिकारीले समाजमा हुने विकृति विसंगती रोक्नका लागि संस्थाले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताइन् । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर का अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामभूषण पराजुली र सचिव शिवराज अधिकारीले बोलेका थिए । संस्थाले स्थापना काल देखिनै विकृति विसंगती न्यूनिकरणका लागि सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन्। सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कतिपय सञ्चारमाध्यमहरू सरकारकै तर्फबाट सञ्चालन भएतापनी ती सञ्चारमाध्यमहरु भजनमण्डली बन्न नहुने बताएकी हुन्। उनले त्यसका लागि सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको बताइन्। ‘प्रसारण ऐन पारित भइरहँदा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा पनि नयाँ वातावरण सिर्जना गछ,’ उनले भनिन्। मन्त्री शर्माले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन लगायत थुप्रै कानुनहरु अभाव रहेको र कानुन बनाउन मन्त्रालयका विज्ञहरूसँग छलफल गरिरहेको जानकारी दिइन्। उनले जनतालाई सुसुचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरुलाई सञ्चारमाध्यमहरुले प्राथमिकता दिन जरुरी रहेको बताइन्।