मुस्ताङ:  मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो ...

काठमाडौं:  साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार पनि नेप्से परिसूचक घटेको छ।   गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तरता पाएको छ।   यस दिन नेप्से ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा बन्द भएको छ।   मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।   गत कारोबार दिन ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँमा सीमित भएको छ।   यस दिन २६४ वटा धितोपत्रको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको हो।   मंगलबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।    यसदिन उक्त कम्पनीको सेयरमूल्य २५७ रुपैयाँ ८० पैसा पुगेको छ।    यस्तै, सानिमा ग्रोथ फण्डको इकाई मूल्य ८.९३ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ ५ पैसा पुगेको छ।   यसैगरी, यसदिन ८.५ प्रभु बैंक डिवेञ्चर २०८७ को मूल्य सर्वाधिक ९.२९ प्रतिशतले घटेको छ।   उक्त डिवेञ्चरको मूल्य ७३८ रुपैयाँ पुगेको छ।   यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ८.३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५७३ रुपैयाँ ९० पैसामा झरेको छ।   त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।   यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशतले घटेको छ।    मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।   उक्त कम्पनीको प्रतिकित्ता ४१० रुपैयाँमा ३ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको हो।   यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशतले घटेको हो।   सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ६९६ रुपैयाँ ६० पैसामा ३ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

काठमाडौं : संघीय राजधानीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ। प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी दुई युवकले एक बालिकामाथि सामूहिक बलात्कार गरेको हो।   प्रहरीले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक घर भएका २१ वर्षीय आशिष तामाङ र काभ्रेपलाञ्चोक घर भएइका २१ वर्षीया कुशल श्रेष्ठलाई पक्राउ गरेको हो।   तामाङले फेक फेसबुक आइडी बनाएर पीडितलाई साथी बनाएका थिए। च्याटका क्रममा ललाइफकाइ पीडित बालिकालाई उनीहरूले भेट्न आग्रह गरेका थिए। उनीहरूले टोखा नगरपालिका-३ ग्राण्डी अस्पताल नजिकै रहेको गेष्ट हाउसमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ।    घटनापछि फरार रहेका उनीहरूलाई काठमाडौंको धापासीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार थप अनुसन्धान र कारबाहीका लागि पक्राउ परेका दुई जनालाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।

काठमाडौं:  सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापासहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार दिउँसो सात जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।    तत्कालीन मेयर उपेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृतद्वय पित्रीभक्त गिरी, हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम भन्ने लालबहादुर घर्तीमगर र नमुना समाज, सुर्खेतका अध्यक्ष भूमिसरा पुलामीविरूद्ध मुद्दा दर्ता भएको हो।    उनीहरूले ५० लाख भ्रष्‍टाचार गरेको आरोप लागेको हो।    अख्तियार प्रवक्ता दाहालका अनुसार पञ्चपुरी नगरपालिका सुर्खेतले उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम संचालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरेको हो।    समाजले आफ्नो लगानीको कुनै स्रोत नदेखाइ तथा कामै नगरी पञ्चपुर नगरबाट रकम भुक्तानी लिएर हिनामिना गरेको भन्ने उजुरी परेको थियो।    मेयर थापाले नमुना समाज सुर्खेतसँग सम्झौता गरेका थिए। तर सम्झौता बमोजिमको कार्यक्रम संचालन गर्न नगरपालिकाको कुनै बैठकबाट निर्णय पनि भएको थिएन।    यस्तै नमुना समाजको कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्तावसमेत माग नगरेको पाइएको छ।   संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन/नियमावली लगायतका प्रचलित कानुनसमेतलाई बेवास्ता गरेको, सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमताबारे सोधिखोजी नगरेको र विश्वसनीयता रहे/नरहेको आधार बिना हचुवाको भरमा नै नमुना समाजसँग सम्झौता गरेको अख्तियारको ठहर छ।    त्यसअनुसार खर्च गरी फिल्डमा काम सम्पादन गरेको थियो/थिएन भन्ने समेत अनुगमन, मूल्यांकन र कार्यसम्पन्न समेतको कार्यसम्पादन नगरी भुक्तानी दिन मेयर थापाले निर्देशन दिएको पाइएको हो।    नमुना समाजले सम्झौता बिपरीत कार्य गरेको देखिँदादेखिँदै पनि दोस्रो किस्ताको रकमको भुक्तानी रोक्‍नु पर्नेमा उल्टै कार्यसम्पन्न भएको भनी रकम भुक्तानीको लागि निर्देशन दिएर भुक्तानी भएको देखिएको थियो।   उनले बदनियतपूर्वक सरकारी रकम हानिनोक्सानी पुर्‍याएको आरोप छ। 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग ट्रेलमा पर्ने यो झरना सुन्दर र मनोमहक छ । झरनाको दृश्यले पदयात्रालाई रोमाञ्चक बनाउँछ । थकान मेटाइदिन्छ, दुःख बिर्साइदिन्छ ।    अन्नपूर्ण, अन्नपूर्ण साउथ, निलगिरि र वराहशिखर हिमालबाट हिउँ पग्लिएर बनेको मिस्त्री खोलामा पर्ने यो फुतफुते झरनाले पदमार्गलाई सुन्दरता दिएको छ । हुमखोलाबाट एक घण्टाको पैदल यात्रापछि झरनामा पुग्न सकिन्छ ।     माथिबाट खसेको झरना र पानीको नीलो तालको अवलोकन गर्दै रमाउने गरेका छन् । झरनासँगै तस्बिर र भिडियो खिच्न पर्यटक लोभिन्छन् ।  झरनाको सुन्दरताले पर्यटकको थकान मेटाइदिन्छ । झरनाको अवलोकन गर्दा निकै आनन्द अनुभूति हुने पदयात्रामा जानुभएका अन्नपूर्ण गाउँपालिका–५, शिखका सुरेन गुरुङले बताउनुभयो । स्थानीयहरू आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई तीन वर्षअघि ‘मौरिस हर्जोग ट्रेल’ नामकरण गरी पूर्वाधार निर्माणमा जुटेका छन् । १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमालको पहिलो पटक आरोहण गर्नुभएको थियो । त्यसैले पालिकाले मौरिसको नामबाट पदमार्गको नामकरण गरेको हो ।  यो पदमार्ग मिस्त्री खोलाको किनारै किनार भएर अन्नपूर्ण आधार शिविर पुग्छ ।    पछिल्ला पाँच वर्षयता पर्यटन मन्त्रालय र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मार्फत पदमार्गलाई व्यवस्थित बनाउन  करिब साढे तीन करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।    उहाँका अनुसार पदमार्ग, झोलुङ्गे पुल, फड्के पुल र सिँढी निर्माण गरिएको छ । छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी छवटा खोलामा झोलुङ्गे पुल निर्माण भएको छ भने छ स्थानमा आश्रयस्थल निर्माण गरिएको छ  ।    समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य मनमोहक छ । शिविरमा नीलो रङ र गोलो आकारका पाँचवटा ताल छन् । नारच्याङवासीले उक्त ताललाई पञ्चकुण्ड भनेर नामकरण गरेका छन् । ती तालबाट हिमालको छायाँ हेर्न सकिन्छ । अन्नपूर्ण आधार शिविरमा अहिले आठवटा आरोही टोली पुगेको गुरुङले बताउनुभयो ।   

काठमाडौं :  नयाँ वर्षको अवसरमा आगामी बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा 'नेपाल टुरिजम फेस्टिभल' हुने भएको छ।   नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहयोग र एनटिपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलो पटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्देश्यले खुल्ला रूपमा नेपाल टुरिजम फेस्टिभल हुन लागेको हो।   आइतबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरेर नेपाल टूरिजम फेस्टिभलको घोषणा गरिएको हो।   यो फेस्टिभल अब हरेक वर्ष हुनेछ। नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत कुरालाई केलाउन फेस्टिभलको आयोजना गरिएको आयोजक एनटिपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए।   दुई दिने फेस्टिभलमा न्यूनतम १० देखि अधिकतम १५ वटा सेसनहरू सञ्चालन हुनेछन्। फेस्टिभलको उद्घाटन सेसन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुनेछ।   यस्तै अन्तिम सेसन 'पर्यटनमा राजनीति मिसन, भिजन र भिजिट नेपाल' पर्यटनमन्त्री सुदन किराँतीको हुने आयोजकले जनाएको छ। फेस्टिभलमा विभिन्न विधामा पर्यटन केन्द्रित गरेर सेसन सञ्चालन हुनेछन्।   यस्तै अन्य सेसनमा 'पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास', 'स्वास्थ्य पर्यटन, स्वास्थ्य सदृश्य र संसार', 'चलचित्र पर्यटन, सिन, सिनेमा र सेलिब्रेटी' हुनेछन्।   यस्तै 'व्यावसायिक पर्यटन, रहर, सहर र पर्यटन बजार', 'पर्यटनमा जलवायू परिवर्तनको असर, हिउँ हिमाल र हिमालय' सेसन पनि सञ्चालन हुनेछ।   नेपालमा रहेका विभिन्न विदेशी राजदूतको 'नेपाल अनुभव' सेसन पनि सञ्चालन हुने फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए।   फेस्टिभलमा 'खेल पर्यटन, खेल, खेलाडी र गोर्खाली' तथा 'कला पर्यटन, संगीत, सौन्दर्य र सुनौलो नेपाल', कृषि पर्यटन सेसन पनि सञ्चालन गर्ने तयारी छ। यसबाहेक शिक्षा पर्यटन, युद्ध पर्यटन, साहित्य पर्यटन लगायतका विषयले पनि प्राथमिकता पाउने आयोजकको भनाइ छ ।   नेपालीको नयाँ वर्ष वैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनीटपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।   'नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन केन्द्रित नीतिगत बहस गर्ने उद्धेश्यले नेपालमा पहिलोपटक नेपाल टुरिजम फेस्टिभल आयोजना गर्न लागेका हौँ' फेस्टिभल संयोजक विष्णु विवेकले भने, 'वैशाख १ र २ गते हुने कार्यक्रममा सरकार, निजी क्षेत्र, पर्यटन क्षेत्रका सरोकारवालाबीच गम्भीर छलफल, बहस तथा अन्तरक्रिया हुनेछ।'   नेपाली तथा विदेशीलाई समेत नेपालका विभिन्न ठाउँमा घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन हुन लागेको फेस्टिभल पहिलोपटक आयोजना भएर वर्षेनी सञ्चालन हुने पनि उनले बताए।   पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपाल फेस्टिभलले पर्यटन क्षेत्रका विविध विधालाई जोड्ने र पर्यटनका नीतिगत सवाललाई उजागर गर्ने बताए।

बैतडी : बैतडीका तीन युवती बेपत्ता भएका छन्। जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन्।     मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएकी उनका देवर निराजन पोखरेलले बताए।   भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ।  सम्पर्कविहीन भएकी लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन्। उक्त दम्पतिका दुई छोरा छन्।    यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता भएकी छतन्। यही चैत १६ गते घरबाट हिंडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ।  पार्वतीका श्रीमान् सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन्। पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ।    जिल्लाको पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता छिन्। यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुबा दिलीप लाबडले जानकारी दिए। चैत १५ गते देहिमाण्डौँ जात्रामा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिलेसम्म घर फर्किएकी छैनन्।    इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरु बेपत्ता भएको जानकारी प्राप्त भएकाले  खोजी जारी रहेको बताए।

सिड्नी : अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो।    देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन्। साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन्।    यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन्। युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन्। ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ।    चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आवद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलव्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ। अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा  टिकटकको मातृ कम्पनी विवादमा पर्दै आएको छ। यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गर्दै आएको छ।   गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२०मा टिकटक र ‘मेसेजिङ एप वी च्याट’लगायत दर्जनौँ चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो। चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो। चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए।    अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएकामा चीनले त्यसको आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको छ। साथै उसले अन्य देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप पनि लगाएको छ। 

रसुवा : बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ। केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले  दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन्।    चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार  १५ करोड बराबरको नेपाली सामग्री चीनको केरुङतर्फ निर्यात  भइसकेको छ। निर्यात भएका  सामग्रीमा बाँसका मुढा, कपडा, कार्पेट, भाँडाकुँडा, हातेकागज, हस्तकलाका सामग्रीसमेत छन्।   उक्त सामग्रीमध्ये बाँसको मुढा मात्रै साढे तीन करोड मूल्य बराबर निकासी भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिनुभयो। यस्तै, आयात तथा निर्यात वस्तुको शुल्कबाट रसुवा भन्सार कार्यालय रसुवाले चालू आवको आठ महिनामा रु चार अर्ब १८ करोड राजस्व आर्जन गरेको छ।   आयात कमी हुँदा सामानका शुल्क बापतको राजस्व कमी भएको र अबका दिनमा केरुङबाट काठमाडौँसम्म नेपाली कन्टेनर सिधा आवतजावतको वातावरणले आयात सामग्रीको परिमाण बढ्न गई राजस्व बढ्ने आशा गरीएको छ।   चीनबाट स्याउ, ओखर, अदुवा, लसुन जस्ता वस्तु आयातमा कमी हुँदै गएको बताइएको छ। जुत्ता, चप्पल, तयारी पोसाक, बच्चाका खेलौना,  मोटरका पार्टपुर्जा, विद्युतीय कार, जिप, स्काभेटर, टिपर, थर्मस, रोल कपडा, इलेक्ट्रिक सामान, जलविद्युत् उत्पादनका उपकरणलगायत विविध  सामग्री आयात भएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए।

चितवन : बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् ।   पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो  ।    ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटना आज बिहान १० बजे भएको हो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।