मुस्ताङ:  मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो ...

काठमाडौं:  बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।   नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।    बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ८९ पैसा घटेको हो।   युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८७ पैसा पाइन्छ।    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५८ पैसा पाइन्छ।   बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा तोकिएको छ।    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७६ पैसा र बिक्रीमा २९ रुपैयाँ ९० पैसा पाइन्छ।   बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८१ पैसा तोकिएको छ।

काठमाडौं :  वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ।   उनीविरूद्ध परेका तीन वटा उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ।   ‘उहाँविरूद्ध परेका तीन वटा उजुरीमा दाबी नपुग्ने भएकाले खारेज भएका छन् भने अर्को एउटामा सात दिने स्पष्टीकरण सोधिएको छ,’ जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले सेतोपाटीसँग भने,‘उहाँको उम्मेदवारी कायम भएको छ। अब स्पष्टीकरणबारे निर्वाचन आयोगको केन्द्रीय कार्यालयले निर्णय गर्नेछ।’   लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुन: नागरिकता प्राप्ति गरेको भन्दै युवराज पौडेलले उजुरी दिएका थिए। उक्त उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण सोधिएको हो।   चैत २० गते उम्मेदवारी दर्ता दिएका २४ जनाकै उम्मेदवारी सदर भएको कार्कीले जानकारी दिए।   कार्यालयले बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ। कार्यालयले भोलि नै उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने र चुनाव चिन्ह वितरण गर्ने जनाएको छ।

काठमाडौं:  बलात्कार आरोप लागेका न्यायाधिश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।    जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए।    उनी न्याय परिषदमा कार्यरत छन्। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमै कार्यरत थिए।   गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानेको थियो। न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन।   पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद‍मा पनि निवेदन दिएकी थिइन्।    न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितले पटकपटक सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्ने गरेकी छन्। 

चितवन : चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि रवि लामिछानेको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालय भरतपुरले लामिछानेको उम्मेदवारी कायम गरेको हो।    लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उजुरी परेको थियो। आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने स्पष्ट कारण नखुलेका कारण लामिछानेको उम्मेदवारी कायम गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले बताए।   लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा, स्वतन्त्र उमेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरी सुवेदी र युवराज सफलले उजुरी दर्ता गराएका थिए। 

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा 'हेर्न नभ्याइने'मा राखिएको छ।   लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको जिल्ला अदालत प्रशासनले  जनाएको छ।   मुद्दाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो।   यसअघि चैत्र १३ गते मुद्दाको पेशी तोकिएपनि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलास परेपछि सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको थियो। न्यायाधीश घिमिरेले नै गत कार्त्तिक १८ गते सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर,पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको  थियो।   यसअघि  सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।

काठमाडौं : सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी रिट निवेदनमा सुनुवाइ जारी छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ।   मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा रिटको पेसी तोकिए पनि पछि हेर्न नमिल्नेमा राखिएको थियो।  रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो।     अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।    यसअघि नै उनले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले नागरिकता विवादमा लामिछानेलाई दोषी ठहर गरेको थियो।    फैसलासँगै लामिछानेको सांसद ,उप्रधानमन्त्री,गृहमन्त्री पद गुमेको थियो। पछि जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन्।   महान्यायाधिवक्ता डा.पोखरेलले यही चैत छ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।  जिल्ला सरकारी वकिलको कार्यालयहुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेपछि सो निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको हो।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको बताएका छन्।   बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै थापाले तीव्ररूपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको र सोचेजस्तो लय समात्न नसकेको बताए।   थापाले अहिलेको सरकारलाई हिँडेर अघि बढ्ने समयको सुविधा नरहेको बताए। उनले गएको १०-१५ वर्ष खेर फालेको भन्दै अब कांग्रेससमेत सहभागी वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको जिकिर गरे।    पाँच महिनाभित्र सरकारले गति लिन थाल्यो भने लक्ष्यमा पुग्ने महसुस जनतालाई हुने उनको भनाइ छ। उनले अहिलेको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्रीले नै अनावश्यक खर्च कटौति गरेर अफ्ठ्यारो अवस्थालाई सहज बनाउनुपर्ने बताए। थापाले प्रधानमन्त्री र मन्त्रीहरूले फुर्सद नलिई काम गरे सकारात्मक वातावरण बन्ने बताए।    उनले मुलुकको आर्थिक समस्या समाधान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्न परनिर्भरतालाई कम गर्नुपर्नेमा जोड दिए। 

बारा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा–२ मा पुरुषोत्तम पौडेल जित्ने दावी गरेका छन् । बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा- २ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित भएको बताए।   ओलीले भने,‘एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् । तपाईंहरू सतर्क रहनुहोला । वर्गीय  प्रेम मात्रै सही र साँचो हुन्छ । जात जात भनेर गरिने प्रेम झुटो हुन्छ । यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन ।’   यादवले जिते देशको विकास नहुने उनको भनाइ । ओलीले भने,‘यादवज्यू मोरङ,सुनसरीबाट उखेलिनुभयो । लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो । उहाँ जितेपछि के गर्नुहुन्छ ? फूलमाला लगाउनुहोला । मन्त्री हुनुहोला । उहाँ (यादवज्यू)बाट विकास हुन्छ त ? ’    ओलीले एमालेको एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको बताए । 

काठमाडौं : उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ।   भेटमा नेपाल र अमेरिकाबीच द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ।   गृहमन्त्रालयका अनुसार नेपालमा अमेरिकी लगानी,कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदूतले चासो राखेका थिए ।  कोभिडपछि अमेरिकी सहयोग संस्था पिसकोरको काम प्रभावित भएकाले त्यहाँ कार्यरत कर्मचारीको  भिसा सहजताका लागि राजदूत थम्पसनले आग्रह गरेका थिए।    जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताएका थिए। गृहमन्त्री श्रेष्ठले वैदेशिक लगानी र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका थिए।