चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।  भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीह...

जनकपुरधाम:    साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई नियन्त्रणमा लिएको हो । कात्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको जनाइएको छ । जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिवन्धित लागूऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । घटनाको क्रममा मृतकले प्रयोग गर्ने साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले हत्या गर्ने समयमा प्रयोग गरेको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल समेत जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

खोटाङ:     खोटाङमा श्रीमानले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ फलाँटेका दावा शेर्पाले श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका हुन् ।  ४० वर्षीय दावाले मादक पदार्थ सेवन गरी बिहीबार साँझ करिब ७ बजे ३६ बर्सिया लाक्पा शेर्पालाई चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरूबिच सामान्य विवाद हुँदा श्रीमानले चिर्पट प्रहार गरेको बताइएको छ । श्रीमती लाक्पाको शव घरदेखि करिब २०० मिटर टाढा गोरेटो बाटोमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताए ।  चिर्पटले हानेर हत्या गर्ने श्रीमान् दावालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

काठमाडौं:   राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका पश्चिम रुकुमका एकजना युवक पुन: हत्या आरोपमा पक्राउ परेका छन् ।   रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले बताए ।   लोकन्द्रले मुसीकोट–७ साँखक घर भएकी २७ वर्षीया भावना विकको हत्या गरेका हुन् ।   संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका उनले भावनाको हत्या गरेको स्विकार गरेका छन् । असोज ३० मा मुसिकोट नगरपालिका–१ त्रिवेणीचोकको सत्कार होटलमा भावनाको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा लोकबहादुरले हत्या गरेको खुलेको डिएसपी भट्टराईले जानकारी दिए ।   ३३ वर्षीय लोकेन्द्र र भावना प्रेम सम्बन्धमा थिए । भावनाले आफूलाई विवाह गर्न ‘दवाव’ दिएपछि हत्या गरेको लोकेन्द्रले प्रहरीलाई बताएका छन् ।   त्रिवेणी चोकमा रहेको सत्कार होटलमा उनिहरु असार २८ मा पुगेका हुन् । दुईदिन पछि विहानको खाना नखाएर लोकेन्द्र हिँड्न खोजेपछि भावनाले उनलाई तानेकी थिइन् । ‘विवाह गर्नुपर्छ’ भनेर दवाव दिएपछि शुरुमा आफुले छातिमा प्रहार गरेको र त्यसपछि होटलको कोठामा भेटिएको चक्कुले घाँटीमा काटेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । रातोपाटीमा यो खबर लेखिएको छ ।    

पोखरा:  लेकसाइड डिहिगोपाटन स्थित जिना मेडिकल हलबाट लागूऔषध बेचबिखन गरेको आरोपमा प्रहरीले सबिन चौधरीलाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ६ लेकसाइड डिहिगोपाटन स्थित जिना मेडिकल हल सञ्चालन गरी बस्ने २८ वर्षीय चौधरीलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो ।  मेडिकल हलबाट लागूऔषध कारोवार भइरहेको गोप्य सूचनापछि वडा प्रहरी प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले ८८ एम्पल लागूऔषध बरामद गरेको थियो ।  लागूऔषधको कारोवार भइरहेको गोप्य सूचनापछि प्रहरीले मेडिकल हल खानतलासी गर्दा डाईजापाम २८ एम्पुल, फेनारागन ३१ एम्पुल, नुर्फिन २९ एम्पुल गरी ८८ एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रकाउ परेका सबिनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ । 

उदयपुर:  आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राई रहेका छन् ।   उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको छ ।    पिटरले घरायसी विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।   सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।  

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित बसका चालक र सह–चालकसहित चार जनालाई प्रकाउ गरेको छ ।  पोखराबाट भैरहवा जान लागेको प्रदेश १–०१००१ ख ३४३९ बस चेकजाँच गर्ने क्रममा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई राखेको अबस्थामा लागूऔषध फेला परेपछि बस चालकसहित तीन सहचालकलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ पर्नेमा बस चालक गोरखाको शहीद लखन गाउँपालिका ३ घर भई पोखरा १५ रामबहार बस्ने ३५ वर्षीय हिराबहादुर नेपाली, सहचालक स्याङ्जा घर भएका ३८ वर्षीय विशाल कार्की ,४५ वर्षीय टिकाराम पौडेल र म्याग्दी घर भएका ३७ वर्षीय दीपक परियारलाई बससहित नियन्त्रणमा लिएको हो ।  प्रहरीले बस चेकजाँच गर्ने क्रममा ड्राईभरको सिट अगाडी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध एमफेटामाईन (आईस) जस्तो देखिने ३७.५० ग्राम लागूऔषध फेला पारेपछि बससहित चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।   लागूऔषधसहित प्रकाउ परेका चार जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

नवलपरासी:  नवपलुरमा नक्कली नोट बनाउने सामानससहित दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका–६ ठिमुरेका ३० वर्षीय कृष्णबहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका–३ दानश्रीका २५ वर्षीय सुरज बिक रहेका छन्  ।     उनीहरुलाई बर्दघाट नगरपालिका–४ फलफुलचोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामान बरामद गरेको छ ।   सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्।   काभ्रे पनौती घर भई ललितपुर महानगरपालिका-२७ बस्ने २८ वर्षीय दीपक लामा पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत चापागाउँबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।   लामाविरूद्ध बालिकामाथि असोज २० देखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

लमजुङ:   लमजुङमा आफ्नै बुवाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथर गाउँपालिका–९ टक्सारका २८ वर्षीय सुजन बिक रहेका छन् ।   उनले आफ्नो ६० वर्षीय बुवा दिल बहादुर बिकलाई खुकुरी प्रहार गरेका थिए ।    गत असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि दिलबहादुरलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  लगिएको थियो । त्यसपछि सोही दिन दिउँसो चिकित्सकले मृत घोषणा गरेको थियो ।    प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार सुजन र आफ्नो बुवाबीच दाह्री काट्ने जिलेटबारे विवाद भएको थियो । सोही विषयलाई लिएर सुजनले आफ्नो बुवालाई खुकुरी प्रहार गरेका थिए ।    प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले सुजनलाई असोज १६ गते पक्राउ गरेको थियो । हाल सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।