पाेखराः जुवाखाल सन्चालन गरेकाे सूचनाकाे आधारमा पोखरा ३ नदीपुर बस्ने राम पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जुवातास खेलाएका पुनसँगै जुवातास खेल्दै गरेका अन्य ९ जनालाई मंगलबार बेलुकी साढे ४ बजे पोखरा महानगरपालिका २ अर्चलबोटबाट पक्राउ गरिएको हो । ‘सबै प्रोपाइलहरु थाहा छैन । को कुन पार्टीमा आवद्ध छ, के प्रोफाइलको हो भन्ने कुरा हामीलाई थाहा हुदैन हामी विभाग हो, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभासँग भने, ‘हामीले जुवामा पटके होकी हैन भन्ने मात्रै हेर्छाै । म्याद थप भएपछि प्रेस रिलिज आउँछ ।’ पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि आज (बुधबार) म्याद थप गरिने बताईएको छ । स्रोतका अनुसार जुवा खेलाएका राम पुन राष्ट्रिय भलिबल रेफ्री हुन् ।
काठमाडौँ, वैशाख १४ गते । डिभिजन वन कार्यालय, मुगुमा कार्यरत वन अधिकृत भरतबहादुर वुढथापा, सव इन्जिनियर गोरसिंह वढुवाल र डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सव इन्जिनियर रबिन्द्र शाहीले पद मार्ग निर्माण कार्यगर्दा झुठ्ठा विल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयागले मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरको छ । सोरु गाउँपालिका वडा नं १ स्थित काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माणको लागि डिभिजन बन कार्यालय, मुगुबाट आर्थिक बर्ष २०७५–०७६ मा बिनियोजित रकमबाट उक्त कार्य गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरे अनुसार कार्य नगरी, भएको कार्यभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा कार्य नगरी आठ लाख ८७ हजार ६ सय ५३ रुपियाँ ७७ पैसा भुक्तानी लिनेरदिने काम गरेको अख्तियारले उल्लेख गरेको छ । अख्तियारले सरकारी र सार्वजनिक सम्पत्तिमा बदनियतपूर्वक हानिनोक्सानी पुर्याइएकोले उक्त कार्यमा संलग्न कर्मचारी र निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई बिगोसमेत असुल उपर हुनेगरी कानुन अनुसार कारवाही गर्न अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
पोखरा: सवारी दुर्घटना पश्चात चालकलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका १९ का ४३ वर्षिय मिन बहादुर मगरलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई बताए । उनका अनुसार मगरले गत १० गते जिल्ला कास्की पोखरा महानगरपालिका ५ फिर्के पुलस्थित पोखरा बाग्लुङ सडक खण्डमा टिप्पर चालक बारा जिल्लाका नवराज कार्कीलाई कुटेका थिए । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियोमा मिनबहादुरले चालकलाई निर्घाट कुटपिट गरेको प्रष्ट देखिन्छ । कुटाई खाएका टिप्पर चालककले आफुलाई बचाउन हारगुहार गर्दै भन्छन्, ‘दाई त्यसरी नहान्नु न । मलाई बचाउनुस न ।’ भन्दै विलौना गरेका छन् । त्यही समयमा कुटेका मिनबहादुरले छिटो उठा भन्दै हातपात गरिरहन्छन् । टिप्पर चालक आफैले नै बनाईदिने भन्दै नकुट्न आग्रह समेत गरिरहेको भाइरल भिडियोमा देखिन्छ । मिनबहादुरको मोटरसाइकल र टिप्पर एक आपसमा ठक्कर खाएपछि उक्त घटना भएको डिएसपी तिवारीले बताए । ‘भिडियो भाइरल नहुदै हामीले त्यतिखेरै नियन्त्रणमा लिएका हौ, डिएपसी तिवारीले भने, ‘म्याद पनि थपेर अनुसन्धान भैरहेको छ ।’ तिवारीका अनुसार पक्राउ परेका मगरलाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।
काठमाडौं- राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँच जना विरुद्ध ३६ करोड रुपियाँ सजाय दावी सहित मुद्धा दर्ता गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुट्टा मुल्य अभिबृद्धि कर विजक खरिद गरी राजस्व चुवाहट गरेको भन्दै विभागले मुद्धा दर्ता गरेको जनाएको छ । यी कम्पनीहरुले आय विवरणहरु तयार गरी मुल्य अभिबृद्धि कर नतिरेको दावी विभागको छ । विभागले यी पाँच जना उपर ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ सजाय दावी सहित मुद्धा दर्ता गरेको विभागका सूचना अधिकारी दिपेश लेखकले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल स्थायी बसोबास गर्ने श्री शुभलक्ष्मी इन्टरनेशनल , गणपति ट्रेड लिंक, एच बि ट्रेड एण्ड सप्लायर्स र एम. के. इन्टरनेशनल कम्पनीबाट कारोवार गर्ने मनिष कुमार अग्रवाल, काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल स्थायी बसोबास गर्ने एचबि ट्रेड एण्ड सप्लायर्स, साझेदार तथा गणपति ट्रेड लिंक संचालक र एम के इन्टरनेशनल कम्पनीका कारोबारमा संलग्न हितेष कुमार अग्रवाल, काठमाडौं नागार्जुन नगरपालिका वडा नंम्बर ३ सितापाइला स्थायी बसोबास भई काठमाडौं महानगरपालिका १३ वाफल चंखुमार्ग बसोबास गर्ने एमके इन्टरनेशनलका सञ्चालक प्रमित महर्जन रहेको उहाँले बताउनुभयो । रौतहटको गौर नगरपालिका वडा नम्बर १ घरभई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल बसोबास गर्ने एचबि ट्रेड एण्ड सप्लायर्सको साझेदार बिमल अग्रवाल र रौतहट, गौर घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल बसोबास गर्ने बर्ष ५० को गणपति ट्रेड लिंकका प्रोपराइटर दिपेन्द्र कुमार अग्रवाल समेतलाई विभागले विपक्षी बनाएर विगो दावी सहित मुद्धा दर्ता गरेको लेखकले जानकारी दिनुभयो ।
महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो । उनी घटनापछि फरार थिए । थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो । थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ ।
काठमाडौं, वैशाख ८ गते । कैलाली जिल्लाको गोदावरी नगरपालिकाका सातजना कर्मचारीसहितको मिलोमतोमा झण्डै तीन करोड रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले बिहीबार सातजना कर्मचारीविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो । गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र ठेक्केदारले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिएको ठहर आयोगको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसमेत सातजना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको छ । आयोगले तत्कालीन प्रशासकीय अधिकृत खेमराज भट्टविरुद्ध ३१ लाख ३७ हजार ८५३ रुपियाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । यसैगरी, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी २५ लाख ५२ हजार ८८६ रुपियाँ, तत्कालीन इन्जिनियर पूर्ण कुँवरले ५६ लाख ९० हजार ७४०, तत्कालीन सब इन्जिनियर ज्ञानेन्द्र बुढा ४३ लाख १७ हजार ६६६ र तत्कालीन सब इन्जिनियर नरेन्द्र शाहीले १२ लाख २४ हजार ४५९ रुपियाँ आर्थिक हिनामिना गरेको अभियोग लगाइएको छ । यसैगरी, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धनबहादुर बिष्टले ५३ लाख ५१ हजार २३४ हानि नोक्सानी गरेको र निर्माण व्यवसायी गणेश विष्टले ५० लाख ३१ हजार ५४ रुपियाँ हिनामिना गरेको आयोगको दाबी छ ।
तम्घास, बैशाख ८ गते । गुल्मीमा जवरजस्ती करणी गरी फरार रहेका आरोपी बुटवलबाट पक्राउ परेका छन् । जिल्लाको इश्मा गाउँपालिका ३ का २९ वर्षीय कृष्णबहादुर नेपालीले वैशाख ४ गते साँझपख सोही स्थानकी २७ वर्षीय सुस्त मनस्थिति महिलालाई जबरजस्ती करणी गरी फरार थिए । नेपालीले जबरजस्ती करणी गरी फरार रहेको भन्ने कार्यालयमा प्राप्त सूचनाको आधारमा खोजतलासी गर्दा निजलाई बुटवलबाट पक्राउ गरी गुल्मी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले जानकारी दिनुभयो । नेपालीले ठाडढुङ्गाको खोल्सामा जवरजस्ती करणी गरी फरार रहेको भन्ने आरोप लागेको छ । निजलाई वैशाख ७ गते जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नेपाल प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका–९ का २९ वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका–५ का २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ३० वर्षीय विकास पुर्कुटीलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटारस्थित लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्वपश्चिम गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुले ‘द नर्थ फेस’ लेखेको नीलोकालो झोलाभित्र सेतो बोराले बेरेर चितुवाको छाला बिक्रीवितरण गर्न हिँडेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकासँग लम्बाइ पुच्छरसहित ४.३ फिट र चौडाइ दुई फिट भएको चितुवाको छाला एक थान, लम्बाइ पुच्छरसहित ६.९ फिट र चौडाइ तीन फिट भएको चितुवाको छाला एक थान, छालाविनाको चितुवाको टाउको एक थान, ओपो मोबाइल तीन थान र सामसुङ कम्पनीको मोबाइल एकथान बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको प्रवक्ता मैनालीले बताउनुभयो ।
सपना थामी काठमाडौं, चैत २९ गते । परीक्षामा अनुपस्थित आफ्नो छोरालाई उत्तीर्ण गराउने शिक्षकदेखि कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । शिक्षकविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका चन्दननाथ प्राथमिक विद्यालयमा कार्यरत शिक्षक कलानन्द माझी, कर्णाली माध्यमिक विद्यालयका केन्द्राध्यक्ष मिनराज शर्मा, प्रभात शाही र शेखर माझीउपर मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीकाअनुसार शिक्षक माझीले परीक्षा केन्द्रमा छोरा परीक्षार्थी शेखर माझीलाई उपस्थित नगराई हाजिरीमा उपस्थिति देखाएको भन्ने उजुरी परेको थियो । त्यस विषयमा आयोगले अनुसन्धान गर्दा सोही विद्यालयमा कार्यरत तत्कालीन शिक्षक माझीले विज्ञान संकायतर्फ कक्षा ११ मा अध्ययनरत छोरा माझीलाई राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट लिइएको परीक्षामा सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरसहितको कन्ट्रोल लिस्ट गैरकानूनी तरिकाले थपघट गरेको अभियोग आयोगले लगाएको छ । २०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म जुम्लाको कर्णाली माध्यमिक विद्यालयमा सञ्चालित परीक्षामा अंग्रेजी र फिजिक्स विषय उत्तीर्ण गराउन सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरसहितको कन्ट्रोल लिस्ट गैरकानूनी तरिकाले थपघट गरिएको आयोगको भनाइ छ । गैरकानूनीरुपमा सो नम्बर सच्याइ उत्तीर्ण गरिसकेको प्रभात शाही उल्लेख गरी पुनः अर्को कन्ट्रोल लिस्ट बनाई कसूर गरिएको आयोगको दाबी छ । यसैगरी, केन्द्राध्यक्ष शर्माले पनि निज माझीसँग मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा शाही र माझी उल्लेख भएको दुईवटा कन्ट्रोल लिस्ट बुझी माझीले दिनुपर्ने परीक्षा शाहीले दिएको पूर्व जानकारी हुँदाहुँदै केन्द्राध्यक्षको दायित्व एवम् जिम्मेवारी पूरा नगरेको आरोप पुष्टि भएको आयोगले जनाएको छ । रकम हिनामिना सुनसरी हरिनगरास्थित चपडाही आधारभूत विद्यालयका प्रधानाध्यापकविरुद्ध विद्यालयको विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएको छ । यस विषयमा आयोगले अनुसन्धान गर्दा प्राथमिक विद्यालय नरसिंह –५, सुनसरीका पूर्व प्रधानाध्यापक सिद्धिनाथ लाल दास र महावीर प्राथमिक विद्यालय, साविक बबिया गाउँ विकास समिति ९ सुनसरीका तत्कालीन राहत शिक्षक एवम् प्रधानाध्यापक मनोजकुमार चौधरीले तारणीप्रसाद खतिवडासँग मिलेमतो गरेको पाइएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरी इनरुवाको लेटरप्याड, छाप तथा दस्तखत किर्तेगरी हेरफेर गर्नुका साथै राष्ट्रिय बैंक लिमिटेड, शाखा कार्यालयबाट दस्तखत नमुना कार्ड परिवर्तन भएको आयोगको भनाइ छ । चपडाही निमाविको बैंक खाता नम्बरमा साविकको खाता सञ्चालक प्रधानाध्यापक र शिक्षिकाको सट्टामा अर्को प्रधानाध्यापक र शिक्षकको नामबाट उक्त खाता सञ्चालन गरी पाँच लाख ६० हजार रुपियाँ रकम निकाली हिनामिना गरेको आयोगको ठहर छ । आयोगले प्रतिवादीहरु दास र चौधरीउपर प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम आयोगले काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । यसैगरी, आफ्नो ओहोदाको कर्तव्य पालना गर्दा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेकाले प्रतिवादी खतिवडा पनि सो कसूरको मतियार भएको आयोगको दाबी छ । सार्वजनिक सम्पत्ति हिनामिना सुनसरीको तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रअन्तर्गतको बंगुर अनुसन्धान इकाईका प्रमुख रामदेव पण्डित, सहायक कर्मचारीहरु सकुन्तला राई, प्रकाशकुमार यादवउपर पनि आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सो अन्तर्गत अनियमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्ने उजुरी निवेदन परेको थियो । त्यससम्बन्धमा अनुसन्धान हुँदा बंगुर बेच्नका लागि प्रयोग हुने ‘कुलिङ कार्ड’ मा हस्ताक्षर गर्ने अन्य कर्मचारी लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजवंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्णप्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठको मिलेमतो रहेको आयोगको भनाई छ । बंगुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा पनि कम देखाई बिक्री गरी सात लाख रुपियाँ हिनामिना गरी आफूलाई फाइदा र नेपाल सरकारलाई नोक्सानी गरेको देखिन आएको आयोगको दाबी छ ।