मनाङ : करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ । पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा २०७९ साउनदेखि २०७९ असोज पहलिो सातासम्म कुल तीन हजार आठ सय १८ पर्यटक मनाङ भित्रिएको कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । सो अवधिमा सार्क राष्ट्रका पुरुष एक हजार तीन सय ३० र महिला छ सय १४ भित्रिएका छन् । अन्य देशका एक हजार आठ सय ७४ पर्यटक मनाङ प्रवेश गरेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको असोज पहिलो सातासम्म सबैभन्दा बढी इजरायलका चार सय २८, जर्मनीका एक सय ४९, स्पेनका एक सय ३४, बेलायतका एक सय ३०, फ्रान्सका एक सय २२, अमेरिकाका एक सय आठ र अन्य देशका आठ सय ७३ पर्यटक मनाङ घुम्न आएका छन् । गत आवमा सो अवधिमा कुल सात हजार २० बाह्य पर्यटक मनाङ आएका थिए । पर्यटकलाई स्वागत यसैबीच मनाङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङ र आयोजनाको अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोष्ट धारापानीले ४३औँ विश्व पर्यटन दिवसका अवसरमा मङ्गलबार इलाका संरक्षण कार्यालयमा पर्यटकलाई स्वागत गरिएको हो । पर्यटकलाई मनाङका आमा समूहले सांस्कृतिक परम्परा तथा परम्परागत पहिरन लगाएर खादासहित स्वागत गरेका थिए । ‘पर्यटनमा पुनर्विचार’ नाराका साथ मनाइएको सो दिवसमा धारापानीमा ४१ ९पुरुष २४ र महिला १७० बाह्य पर्यटक, नेपाली पथप्रर्दशक तथा भरिया नौ र मनाङ चेकपोष्टमा कुल ४० ९पुरुष २२ र महिला १८० बाह्य पर्यटक र नेपाली पथप्रर्दशक तथा भरिया आठ जनालाई स्वागत गरिएको मनाङ आमा समूहकी अध्यक्ष सीता गुरुङले जानकारी दिनुभयो । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले, ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्ष, संरक्षण क्षेत्र व्यवस्थापन समिति टङ्की–मनाङका अध्यक्ष सगर गुरुङ, पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष कर्मा गुरुङ र मनाङ ङिस्याङ युवा क्लबले पर्यटकलाई स्वागत गरेको हो । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र एउटा प्रसिद्ध पर्यटकीय क्षेत्र एवं पदमार्ग हो । यहाँ घुम्नका लागि उपयुक्त धेरै ठाउँ छन् । यस क्षेत्रअन्तर्गत घान्द्रुक, अन्नपूर्ण बेस क्याम्प, मुक्तिनाथ, दामोदर कुण्ड क्षेत्र, लोमान्थाङ, मर्दी हिमाल, धम्पुस, मनाङ, तिलीचो ताल, नार, फुलगायत स्थान पर्दछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको पर्यटकीय क्षेत्रका रूपमा ताल, धारापानी, चामे, लमजुङ हिमाल, बेस क्याम्प, माथिल्लो मनाङ, नार, फु, तिलीचो ताल, आइसलेक, मिलेरेपा गुम्बा, पोचो गुम्बा, मनाङ गाउँलगायत रहेका छन् ।
पोखरा: नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखराले आयोजना गरेको तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगितामा नबिल र लक्ष्मी बैंक च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा असोज ७ र ८ गते सम्पन्न फुटसल प्रतियोगितामा पुरुष तर्फ नबिल बैंक र महिलातर्फ लक्ष्मी बैंक विजयी बनेको हो । आयोजक संस्थाका सचिव जितेन्द्रराज शाक्यका अनुसार सिद्धार्थ बैंक र नबिल बैंकबीच भएको फाइनल खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा नबिल बैंक विजयी बन्यो भने महिला तर्फ लक्ष्मी बैंकले मेगा बैकलाई फाइनलमा १–० गोल अन्तरले पराजित गरेको थियो । उक्त प्रतियोगिताबाट महिला तथा पुरुष तर्फको विजयी टिमले च्याङ्ग्रा प्राप्त गरे भने उपविजेता टोलीले खशी हात पारेका थिए । सो प्रतियोगिताबाट सिद्धार्थ बैंकका अमित लम्साल सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरि नबिल बैंकका फडेन्द्र जङ गुरुङ उत्कृष्ट गोलरक्षक र अमित पौडेलले सर्वाधिक गोलकर्ताको उपाधि पाए । यसैगरि महिला समूहतर्फ लक्ष्मी बैंककी स्वेच्छा श्रेष्ठ सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत बनिन् । मेगा बैंककी तृष्णा प्रधान उत्कृष्ट गोलरक्षक र पोखरा फाईनान्सकी स्मृति आले मगरले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरिन् । सचिव शाक्यका अनुसार सो प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३८ समूह र महिला तर्फ ११ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा डेपुटी गभर्नरको नेतृत्वमा नेपाल राष्ट्र बैंक र बैंकर्सबिच मैत्रिपूर्ण खेलसमेत आयोजना गरिएको थियो । समापन कार्यक्रममा गण्डकी प्रदेशखेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा रामशरण खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिना, केन्द्रीय सचिव कृष्ण प्रसाद खराल, सचिवालय सदस्य तुल्सीराम बाँनिया, केन्द्रीय सदस्य रमेस खतिवडा, नेपाल राष्ट्र बैंक पोखराका उप निर्देशक पुष्कर सुर्खाली, उप निर्देशक प्रतिभा अधिकारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका संयोजक समिर केसी, डेपलपमेण्ट बैंकर्स एशोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर केसी लगायतले पुरस्कार वितरण गरेका थिए । नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जितेन्द्रराज शाक्यले गरेका थिए ।
कास्की: पोखरा महानगरपालिका ३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रले ब्लड क्यान्सर पीडित मनकुमारी पुनलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रशिक्षण केन्द्रको आयोजना तथा छन्त्याल युवा संघको सह–आयोजनामा सम्पन्न क्लबस्तरीय पुरुष तथा महिला प्रतियोगिता २०७९ मा संकलित रकममध्ये नगद रु २० हजार सहयोग हस्तान्तरण गरेको हो । नगद हस्तान्तरण गर्दै प्रशिक्षण केन्द्रका सञ्चालक तथा प्रशिक्षक मनोज खड्का, छन्त्याल युवा संघका निवर्तमान अध्यक्ष कुल प्रसाद (कुशल) छन्त्याल, सचिव नवीन छन्त्याल लगायतले पुनको आफन्त भिमा घर्तीमगरलाई सो रकम हस्तान्तरण गरे । सो अवसरमा बोल्दै पुनको स्वास्थ्य लाभको कामनासहित आर्थिक सहयोग गरेको निवर्तमान अध्यक्ष कुशल छन्त्यालले बताए । उनले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिने बताउदै छन्त्याल युवा संघ दुखको सारथी बन्ने धारणा राखेका थिए । यसैगरि प्रशिक्षण केन्द्रका सञ्चालक तथा भलिबल प्रशिक्षक मनोज खड्काले गत वर्ष मृगौला पीडित सुरज गुरुङलाई आर्थिक सहयोग गरेको स्मरण गरे । ‘हामीले प्रतियोगिता गरेर संकलन भएको रकमको केही हिस्सा सामाजिक कार्यमै खर्च गर्ने निर्णय थियो, उनले भने, ‘त्यही अनुरुप यसवर्ष हामीले ब्लड क्यान्सर भएर उपचाररत रहनुभएकी मनकुमारीलाई सहयोग गरेको हौं ।’ यसैगरि छन्त्याल युवा संघका सचिव नवीन छन्त्यालले खेलकुद क्षेत्रमा मात्र नभई विभिन्न सामाजिक कार्यमा सक्रियता रहदै आएको बताए । उनका अनुसार प्रशिक्षण केन्द्रको २० हजारसँगै पोखरा भलिबल प्रशिक्षण केन्द्रका सल्लाहकार सुनिल मगरले नगद रु ५ हजार र देविस्थान घर्थोकका शेरबहादुर घर्तीमगरले १५ हजार सहयोग गरेका थिए । मालिका गाउँपालिका २ रुम (बिल्बाङ्ग) म्याग्दीकी मनकुमारी पुनको नयाँ दिल्लीकोस्थित राजीव गान्धि क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भईरहेको उनकी आफन्त भिमा घर्तीमगरले जानकारी दिइन् । उनका अनुसार पुनले जनजागृति आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएकी थिइन् । पुनको उपचारको क्रममा करिब ३० लाख सकिसकेको बताउदै घर्तीमगर अझै ५० लाख भन्दा बढी खर्च लाग्ने बताइन् । उनले पुनको थप उपचारका लागि सहयोग गर्नसमेत आग्रह गर्दै भनिन्, ‘तपाइहरुपनि उहाँको उपचारका लागि केही सहयोग गर्न चाहनुहुन्छ भने गरिमा विकास बैंकको (सिमा पुन) खाता नम्बर ०२१०१७००८१३४९००००००१ मा जम्मा गर्न सक्नुहुनेछ ।’
पोखरा : गण्डकी जुडो संघले गण्डकी प्रदेशबाट छनौटमा पर्न सफल आफ्ना खेलाडीहरुलाई अति आवश्यक पर्ने प्रोटिनको साथै व्यक्तिगत हाइजिङका सामाग्रीहरु वितरण गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको कार्यालयमा विहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु वितरण गरेको हो । विशेषगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गर्दा संघले क्लोज क्याम्पमा रहेका १८ जना आफ्ना खेलाडीहरुलाई तालिमको दौरान आवश्यक पर्ने प्रोटिनको साथै पर्सनल हाइजिङका सामाग्रीहरु वितरण गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङ्गको प्रमुख आतित्यथामा भएको सो कार्यक्रममा उहाँले आफ्नो विगतलाई स्मरण गर्दै ४० वर्ष अगाडी आफु पनि खेलाडीको रुपमा रहेको र कडा मेहेनेत, लगनशिल, अनुशासित, कर्मठ र संघर्षले गर्दा नै आज प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको सदस्य सचिव जस्तो संवेदनशिल, महत्वपूर्ण र जिम्मेवार पदमा रहेर कार्य सम्पादन गर्न सफल भएको बताउनुभएको छ । उहाँले २०४० सालमा पोखरामा भएको राष्ट्रिय प्रतियोगितामा आफु हण्डबलको टिम क्याप्टेनको रुपमा रहेर त्यस समय यस ठाउँलाई स्वर्ण पदक जिताउन सफल भएको पनि बताउनुभएको छ । प्रमुख अतिथि गुरुङ्गले खेलकुद जिवनको एउट अभिन्न अंग भएको बताउँदै विगतमा आफुले खेलकुदको क्षेत्रमा गरेको संघर्ष र परिश्रमको कारण नै आज विभिन्न खेलका खेलाडीहरुसंग बसेर खेलकुदको महत्वकोबारेमा जानकारी दिन पाउँदा अत्यन्त गर्व महशुस भएको जनाउनुभएको छ । उहाँका अुनसार जुडो खेल आफैमा एउटा नेपालमा सम्भावना भएको खेल रहेको र यस खेललाई यस क्षेत्रमा जोडदारका साथ अगाडी बढाउन प्राविधिक रुपमा प्रशिक्षक रबि चौधरीले महत्वपूर्ण भूमिका निवार्ह गर्दै आउनुभएकोमा खुशी व्यक्त गर्नुभएको छ । गण्डकी जुडो संघले रुद्र नारायण मल्ल जस्तो व्यक्ति अध्यक्षको रुपमा पाउनुभनेको जुडो खेलाडीहरुको लागि अति राम्रो भएको बताउँदै उहाँको अध्यक्षतामा गठन भएका सम्पूर्ण पदाधिकारीहरु पनि यस खेल विकासका लागि संवेदनशिल भएर लागि परेको बेला–बेलामा देख्न र सुन्न पाउँदा धेरै खुशी लागेको जानकारी दिनुभएको छ । पछिल्लो समय विभिन्न खेलका संघ–संस्थाहरुमा सिनियर व्यक्तिहरुको उपस्थिति भएको जनाउँदै उहाँहरुको उपस्थिति प्रदेश खेलकुद परिषदकोे लागि एउटा गर्वको विषय भएको बताउनुभएको छ । उहाँले कुनैपनि खेलको लागि संघ बलियो हुन जरुरी भएको स्पष्ट पार्दै यदि संघ बलियो भयो भने खेलका गतिविधिहरु चलायमान हुने भएकाले यसले खेल र खेलाडी दुवैको विकास हुने जानकारी दिनुभएको छ । सो कार्यक्रममा बौल्दै प्रमुख अतिथि गुरुङ्गले गण्डकी जुडो संघले खेलाडीहरुको लागि गरेका कामहरु एक्दमै प्रशंसनीय भएको र यस खेल विकासका लागि उहाँले आफु प्रदेश खेलकुद परिषदको सदस्य सचिवको नाताको साथै आफ्नो व्यत्तिगततर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले आश्विन २८ देखि यस प्रदेशमा आयोजना हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदको प्रतियोगितामा यस प्रदेशबाट छनौटमा पर्न सफल भएका खेलाडीहरुलाई सफलताका लागि शुभकामना पनि दिनुभएको छ । यस्तै कार्यक्रममा गण्डकी जुडो संघका अध्यक्ष रुद्र नारायण मल्लले केही समय अगाडी प्रदेश खेलकुद परिषदले आफ्ना खेलाडीहरुका लागि उपलब्ध गराएको डाइट अलि अप्रयाप्त भएको महशुस भएकाले संघका महासचिव निरज पन्तको समन्वयमा स्वास्थ्यको हिसाबले खेलाडीहरुलाई अति आवश्यक पर्ने प्रोटिनको साथै पर्सनल हाइजिङका सामाग्रीहरु वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ । उहाँले संघका महासचिव पन्तले जुडो खेलाडीहरुका लागि भनेर करिब ३० हजार मूल्य बराबरको सामाग्रीहरु उपलब्ध गराउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
पोखरा: गण्डकी प्रदेशको सर्वाेत्कृष्ट प्रहरीको उपाधिबाट प्रहरी नायब निरिक्षक सन्तोष सुवेदी पुरस्कृत भएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत सुवेदीलाई भदौ महिनामा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो । उनले भदौ महिनामा भएका आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै पुरस्कृत गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुरस्कृत सुवेदीले विभिन्न स्थानको बैंकको एटिएम फोडेर पैसा चोरी गर्ने, विन्ध्यवासिनी मन्दिर परिसरबाट दानपेटिका चोरी गर्ने, तनहुँमा भएको कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त र विभिन्न समयमा लागुऔषध सम्बन्धि मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए ।
बागलुङ: हिउँद्मा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् । करिब चार महिना बेँसी सुनसान जस्तै हुन्छ । बर्खा रोकिएर चाडपर्व शुरु भएसँगै उनीहरु बेँसी झर्न शुरु गर्छन् । चार महिनादेखि सुनसान भर्कोबाङमा यतिबेला निकै रौनक छाएको छ । वडा नं ६ मा पर्ने भर्कोबाङमा सयौँ वस्तुभाउ र मानिसको चहलपहल छ । मध्यपहाडी लोकमार्गभन्दा केही माथि रहेको पहाडको थुम्को (भर्कोबाङ) मा स्थानीयवासीले आफ्ना पशु चौपायालाई लेकबाट झारेका छन् । असोज ५ गतेभन्दा अगाडि कसैले पनि बेँसीमा पशु चौपाया झार्न नपाउने नियम छ । मकै भित्राइसकेपछि अहिले यो ठाउँ खुल्ला र हरियाली छ । अब केही दिन स्थानीयका सयौँ पशु चौपाया यहीँ हुनेछन् । लेकबाट झरेका सयौँ पशु चौपायाले भर्कोबाङको पाटाहरु भरिएका छन् । ती पाटाहरुमा सयौँको सङ्ख्यामा गाई, गोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राहरु निकै रमाइरहेका देखिन्छन् । गोठालाहरुले पाटाहरुको छेउछाउतिर गोठ बनाएका छन् । उनीहरु अब केही दिन यहीँ गोठमा दिन रात बिताउने छन् । असोज ५ गते भल्कोटवासीले विशेष दिनका रुपमा पनि लिइन्छ । महिनौदेखि परिवारसँग छुटेकाहरु पनि अब भेट हुन्छन् । असोज ५ गते नै अधिकांश गोठलाहरु बेँसी झर्ने गर्छन् भने केही विस्तारै दशँैसम्म आउँछन् । स्थानीयवासीले लेक जाँदा महिनौंलाई पुग्ने खर्च बोकेर जाँने हुँदा बेँसी झेरपछि मात्रै परिवारसँग भेट हुने गर्छ । लेकबाट सयौँ पशु चौपाया बेँसी झरेपछि दशँै आएको सन्देश दिन्छ । यहाँका एक परिवारले दजनौँ पशु चौपाया पाल्ने गर्छन् । वस्तुभाउलाई घाँस पु¥याउनकै लागि उनीहरु लेकमा लैजाने गर्छन् । करिब चार÷पाँच महिना लेकमा बिताउँदा उनीहरुले चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने, घ्यू उत्पादन गर्ने र बेच्ने गर्छन् । यसरी नै जीविकोपार्जन गर्दै आएका स्थानीयहरु अहिले पनि परम्परागत पशुपालनमै रम्न चाहन्छन् । स्थानीय वासिन्दाले लेक वैशाखदेखि नै जान पाउने व्यवस्था गरे पनि बेँसी झर्न असोज ५ नै कुर्नु पर्ने नियम बनाएका छन् । “असोज ५ गते बेँसी झर्ने नियम हाम्रा पाकापुर्खाले बनाएका हुन्, हामीले त्यसलाई निरन्तर मान्दै आएका छौँ, ५ गतेभन्दा अगाडि झर्नेलाई कारबाही हुन्छ, जरिवाना गरिन्छ, किनकी यहाँका एकै परिवाले धेरै वस्तुभाउ पाल्छन्, पहिला बेसी झार्नेले यहाँ भएको घाँसहरु एक्लै खुवाउँछ, त्यसले गर्दा सबै एकैपटक असोज ५ गते नै बेँसी झर्नु पर्ने नियम छ, कोही ५ गतेभन्दा पछाडि पनि झर्छन्” स्थानीय धनिश्वर बुढाले भन्नुभयो । उहाँले असोज ५ गतेभन्दा पछाडि आउँदा जरिवाना नलाग्ने स्थानीय बताउनुहुन्छ । बुढा मगरले धेरैजसो गोठालेहरु असोज ५ मा नै बेँसी झर्ने र भेडी गोठालेहरु मात्रै केही समयपछि मात्रै बेँसी झर्ने बताउनुभयो । उहाँले महिनौँलाई पुग्ने खर्चपर्च बोकेर लेक जाने र समय–समयमा गाउँ झर्ने, आफन्त भेट्ने र आवश्यक सामानहरु लिएर फर्किने गरेको बताउनुहुन्छ । “लेकबेँसी गर्ने त हाम्रो परम्परा नै भयो, गाउँलेले धेरै पशु चौपाया पाल्छन्, बाह्रै महिना एकै ठाउँमा राखेर पाल्न सकिन्न, त्यही भएर बर्खामा लेक जान्छौँ, हिउँद्मा बेसी झर्छौँ,” उहाँले भन्नुभयो “थोरै चौपाया हुन्थे भने बेँसीमै पनि पाल्न सकिन्थ्यो, धेरै हुँदा समस्या हो, बाउ बाजेले पाल्दै आएको हाम्ले छोड्न पनि भएन, लेक बेँसी गर्ने त हाम्रो लागि नौलो कुरा होइन, रहर भनौँ कि बाध्यता भनौँ, यो त गर्न परिहाल्यो ।” गाउँका करिब दुई सय गोठाला रोल्पा, रुकुम र बागलुङको सिमाना तथा उच्च पहाडी क्षेत्रमा जाने गर्छन् । उनीहरु गोठ रिग, खोलाखर्क, तिलचनलगायतका ठाउँमा हुन्छन् । गाई भैँसी गोठालाहरु केही तल्लो भागमा गोठ बनाएर बस्ने गर्छन् भने भेँडाबाख्रा गोठालाहरु चार हजार दुई सय मिटरको उचाइसम्म पुग्ने गर्छन् । चरन क्षेत्रका रुपमा निकै प्रख्यात मानिने रिग, खोलाखर्क क्षेत्र वस्तुभाउ बेँसी झर्न थालेसँगै सुनसान बन्न थालेको छ । असोज ५ गतेदेखि दशैँसम्म मध्यपहाडी लोकमार्गको भल्कोट–पातीहाल्ने खण्डमा सयौँ गाई, गोरु, भेडाबाख्रा र भैसीको हुल देखिन्छन् । अघिअघि पशुचौपाया, पछिपछि गोठालाहरुले निकै ठूलो भारीसहित झरिरहेका हुन्छन् । उनीहरुले गाईवस्तु बाँध्ने किलो, दाम्लो, लत्ता कपडा, ठेकीलगायतका सामानहरु बोकेका भेटिन्छन् । महिनौँ लेकमा बसेर गाउँमा झर्दै गरेका उनीहरुको अनुहारमा निकै चमक छाएको थियो । महिनौँ परिवारसँग भेट नभएका उनीहरु ५ गते सबैसँग भेटघाट हुने गर्छन् । घर केही टाढा हुनेहरु भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशु चौपाया झार्न जान्छन् । असोज ५ गतेभन्दा अगाडि–पछाडि बेँसी झर्दा पुर्खाहरुले बनाएको नियम भत्किने भन्दै सोही दिनै झर्नु पर्ने उनीहरु मान्यता राख्छन् । “असोज ५ त हाम्रा लागि निकै खुसी हुने दिन हो, यतिका समय लेकमा बस्यौँ, आज परिवारसँग भेट हुन्छ, तीतोमीठो के छ ? सँगै बसेर खान पाइन्छ, दुखम्–सुखम्का कुरा हुन्छ, यो त हाम्रो परम्परा हो नि, पुर्खाहरुले नै बनाउनु भएको नियम हो, हामीले मिच्नु हुन्न, त्यही भएर हामी तोकेकै समयमा बेसी झ¥यौँ” स्थानीय देवबहादुर घर्तीले भन्नुभयो । उहाँले अबको १२ दिन भर्कोबाङमै आफ्ना पशु चौपाया चराउने र त्यसपछि भल्कोट घरमा झार्ने बताउनुभयो । उहाँले यहाँ अझै केही दिन वस्तुभाउका लागि घाँस रहेको हुँदा आफू पनि गोठ बनाएर यही बस्ने बताउनुभयो । “अबको १२ दिनपछि मात्रै तल घरमा झर्नु पर्ला, अहिले घाँस पनि राम्रो रै’छ, यहाँ, भेँडागोठालाले अझै भेँडा ल्याएका छैनन्, तिनीहरु आए भने तल झर्नु पर्ला, म पनि गोठ बनाएर यहीँ बस्छु”, घर्तीले भन्नुभयो, “यहीँ बसेर यिनीहरुको रेखदेख गर्न पर्याे, अब केही दिनपछि तलै घर छेउका बारीमा लगेर चराउनु पर्ला, बारीमा लगेपछि केही समय त्यही चराउने त्यसपछि बाँधेर डाला काटेर हाल्नुपर्छ, अब अर्को बर्खामा मात्रै हो लेक लाने ।” घर्तीले अबको तीन महिनासम्म बारीकै घाँसले पुग्ने भन्दै त्यसपछि वन जङ्गलमा जानु पर्ने बताउनुभयो । उहाँले हिउँद्को समयमा लेकमा हिउँ पर्ने हुँदा बेँसीमै पशु चौपायालाई घाँस काटेर खुवाउनु पर्ने उहाँको भनाइ छ । बेँसीमा सयौँको सङ्ख्यामा रहेका चौपायाको व्यवस्थापन गर्न निकै गाहे हुने घर्तीकोे भनाइ छ । गाउँमा घाँस निकै कम हुने र सबैका पशु गाउँमै हुने हुँदा घाँसको व्यवस्थापनमा निकै समस्या पर्ने उहाँ बताउनुहुन्छ । “बेँसीमा पशुपाल्न निकै गाहे छ, गाउँभरिका गोठालाहरुको वस्तुभाउ गाउँमै हुन्छन्, सबैले घाँस काटेर खुवाउँछन्, यहाँ घाँसको निकै दुःख हुन्छ, सजिलो त लेकमै हुन्छ, एउटाका कम्तिमा पनि २५ वटा गाईभैँसी हुन्छन्, अझ भेँडाबाख्रा पाल्नेको त सयौँ हुन्छन्, तिनीहरुलाई घाँस कसरी पुर्याउने ?” घर्तीले भन्नुभयो “अबको तीन महिनामा त यतै जसोतसो घाँसको व्यवस्था हुन्छ, हिउँ पर्ने बेला भयो भने हिउँमै डालेघाँस काट्न लेकमै पुग्नु पर्छ, चौपायालाई लेकमा लगे चिसोले मर्छन् ।” यसवर्ष भेँडापालक तमबहादुर विकले असोज ५ गते नै भेँडा बेसी झार्नु भएको छ । उहाँले अघिल्लो वर्षहरुमा दशैँको दुई दिन अगाडि झर्ने गर्नुहुन्थ्यो । विकले यसवर्ष भेँडा केही भेँडालाई बजारमा लैजाने हिसाबले बेँसी छिटो झारेको बताउनुभयो । बर्खाको समयमा बेँसीमा भेँडाहरु पाल्नै नसकिने हुँदा लेक लैजानु परेको उहाँको अनुभव छ । स्थानीयवासीको सयौँ पशुचौपाया हुने भएकाले गाउँमा घाँस पु¥याउन सकिने अवस्था आएपछि आफूहरु लेक बेँसी गर्नु पर्ने अवस्था भएको उहाँको भनाइ छ । “यस वर्ष भेँडा पनि बढे, केहीलाई दशैँको बेला बजारमा लगेर बेच्छु भनेर छिटो झारेको छु, २५ वटा भेँडा यसपालि बेच्ने योजना छ, धेरै पाल्न पनि सकिन्न” उहाँले भन्नुभयो “बर्खामा त गाउँमा पशुहरु राख्न सक्ने सम्भावना नै हुँदैन, वनमा चरण पर्याप्त हुन्छ, यहाँ त हजारौँ गाईभैँसी र भेडाबाख्रा हुन्छन्, त्यति धेरैलाई कहाँबाट घाँस पु¥याउन सकिन्छ ?, यति धेरैलाई गाउँमा राख्ने अवस्था नै हुँदैन, जिजुबाजेले पनि उहिलेदेखि नै लेकबेंसी गर्ने परम्परा बसाल्नु भएछ, हामी पनि अब त्यही नै ग¥यौँ, अबका पुस्ताले गर्लान् जस्तो लाग्दैन ।” उहाँले खर्बामा गाउँका सबै वस्तुभाउहरु लेक जाने हुँदा बेसीमा घाँस पलाउने र फर्किएपछि केही महिना गाउँमै पाल्न सकिने बताउनुभयो । विकले पशु चौपायालाई लेकबाट बेँसी झारेपछि लेकमा पनि अर्को पटक जाँदा प्रशस्त घाँस पाइने बताउनुहुन्छ । “पुर्खाहरुले जुन थिति बसाल्नुभयो त्यो हामीहरुले मान्दै आएका छौँ, उहाँहरुले त्यतिबेला असोज ५ मा नभएर जहिले आए पनि हुने जहिले गए पनि हुने खालको निमय बनाइदिएको भए, यति धेरै पशु पाल्न गाहे हुन्थ्यो, अब त हामी बेसी झ¥यौँ लेकमा पनि घाँस पलाउँछ, बर्खाभरि मल पनि भयो, यहाँ पनि बर्खाभरि पशु थिएनन्, घाँस पलाएको छ ।” विकले अब वैशाखसम्म जसोतसो बेँसीमै भेँडाहरु पाल्नु पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भेँडालाई अबको दुई महिनासम्म गाउँमा प्रसस्त घाँसहरु पाइने भए पनि पुस महिनादेखि लेकमा पुगेर कटुस, खर्सुङलगायतका डालेघाँस काटेर खुवाउने बताउनुभयो । निसीखोला गाउँपालिका–५ र ६ का अधिकांश स्थानीयवासी पशुपालनतर्फ बढी आकर्षित छन् ।
तनहुँ: जिल्ला प्रहरी तनहुँले तीन जनालाई गाँजासहित पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित वेनीटारबाट बुधबार २२ किलो गाँजासहित दुई महिला र एक युवकलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
बागलुङ: बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ । झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताउनुभयो । उहाँले गाउँपालिकाले अझै बढी पर्यटक भित्र्याउनका लागि झरना वरपर थप पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक दुई बढी पर्यटक आउने गरेको बताउनुहुन्छ । “पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्, यसले स्थानीयलाई उत्साहित बनाएको छ ।” वार्षिक करिब २२ हजार बढी पर्यटक भित्रिने गरेको भन्दै यस वर्ष लामो वर्षा हुँदा कम कम आएको उहाँले बताउनुभयो । “यस्तो ठाउँमा पर्यटक आउलान भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थालेकी, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै बढीलाई भित्र्याउन सकिन्थ्यो होला”, घर्तीले भन्नुभयो । गुल्मीको भुवाचिदीबाट घुम्न आउनु भएका आकाश पौडेलले सामाजिक सञ्जालमा गाईघाट झरनाको फोटो देखेको र निकै सुन्दर लागेर घुम्न आएको बताउनुभयो । “यसभन्दा अगाडि मेरा साथीहरु घुम्न आएका थिए, उनीहरुले राम्रो राम्रो फोटो खिचेर लगेका थिए, मैले पनि सामाजिक सञ्जालमा धेरै फोटो देखेको थिएँ, त्यही भएर घुम्न आएको निकै सुन्दर रैछ झरना, निकै आनन्द आयो घुम्न”, उहाँले भन्नुभयो । ताराखोला गाउँपालिका–१ का अध्यक्ष यमबहादुर श्रीसले आगन्तुकलाई आकर्षित गर्नका लागि झरनाको फेदमा पौडिने पोखरी, त्यस वरपर बगैँचा र विश्रामस्थल निर्माण गरेको बताउनुभयो । “झरना आकर्षक छ, जनप्रतिनिधिका रुपमा आएदेखि यसको विकास र प्रवद्र्धनमा लागेका थियौँ, अहिले पनि लागि रहेका छौँ”, अध्यक्ष श्रीसले भन्नुभयो, “झरना वरपर बगैँचा निर्माण गरेका छौँ, फेदमा पौडी खेल्न मिल्ने पोखरी बनाएका छौँ, अन्य संरचना पनि विस्तारै बनाउने तयारीमा छौँ ।” गत साउनमा ताराखोलामा आएको ठूलो बाढीले सडकदेखि झरना पुग्ने पुल बगाउँदा अहिले आगन्तुकलाई समस्या भएको छ । पुल निर्माणका लागि गाउँपालिकाले यस वर्ष रु २० लाख विनियोजन गरेको र प्रदेश सरकारसँग थप बजेट माग गरेर यसै वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने अध्यक्ष श्रीस बताउनुहुन्छ । “बर्खामा पनि पर्यटकको आगमन उल्लेख्य थियो, साउनमा खोलाले पुल बगाइदियो, त्यसपछि झरना अवलोकन गर्न आउने आगन्तुकलाई समस्या भयो, अहिले फड्के हालेर वारपार गर्ने व्यवस्था त मिलाएका छौँ तर त्यो जोखिमपूर्ण छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “यहाँ पुल निर्माणका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको छ, प्रदेश सरकारसँग पनि केही बजेट माग गरेर यसै वर्ष पुल निर्माण गर्ने योजना छ, जति सक्दो पर्यटकलाई भित्र्याउने प्रयासमा हामी छौँ ।”
मनाङ: हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् । नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । “भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाए सकिना साथ विद्यालय रित्तिने गरेका छन्”, उहाँले भन्नुभयो । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उहाँको भनाइ छ । शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने न्यून रहेको चपाईले बताउनुभयो । विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उहाँले बताउनुभयो । जिल्लाका चार पालिकाका विभिन्न विद्यालय विद्यार्थीविहीन भएका छन् । “विद्यालय भवन र शिक्षक छन् । विद्यार्थी छैनन् । यस्तो अवस्थामा विद्यालय बन्द गर्नुबाहेक कुनै विकल्प छैन”, चपाईले भन्नुभयो, “केही विद्यालयमा इसिडीका विद्यार्थी छन् ।” बाढीपहिराको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर आफन्तकोमा वा छात्रावासमा राखी पठनपाठन गराइरहेको अनुसन्धानका क्रममा पाइएको उहाँले बताउनुभयो । जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर पढाउने अभिभावकको भनाइ छ । बाल विकासदेखि कक्षा १२ सम्म कूल पाँच सय ४५ विद्यार्थी तथा एक सय ६१ शिक्षक रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

