पोखरा : पोखरामा आयोजना हुने नवौँ खेलकुदका लागि आजदेखि पोखरामा खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । नवौँ खेलकुदका लागि पोखरामा सुरु भएको छनौट खेल अन्र्तगत महिला भलिबलमा बागलुङ, कास्की, लमजुङ र स्याङ्जा विजयी भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा बागलुङले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ । बागलुङले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१७ मा आफ्नो पक्षमा पार्दै विजयी भएको हो । त्यसभन्दा अगाडी पोखरा रंगशालाको बहुुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा कास्कीले नवलपुरलाई पराजित गरेको छ । कास्कीले नवलपुरलार्य सोझो सेटमा पराजित गरेको हो । कास्कीले पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१६ मा नवलपुरलाई पराजित गरेको हो । पर्वत र लमजुङबीचको खेलमा लमजुुङ विजयी भएको छ । लमजुङले पर्वतलाई सोझो सेटमा पराजित गरेको हो । लमजुङले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२२ ले पर्वतलाई पराजित गरेको हो । बहुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा नै स्याङ्जाले मुस्ताङलाई सोझो सेटमा पराजित गरेको छ । स्याङ्जाले मुस्ताङलाई पहिलो सेटमा २५–०३ र दोस्रो सेट २५–११ मा पराजित गरेको हो । आजबाट सुरु भएको छनौट खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरु पोखरा आएका छन् । आज पोखरामा रंगशालामा अन्य खेलहरु समेत सञ्चालन भएका छन् ।
पोखरा : गण्डकी प्रदेशले विभागीय टोली नेपाल एपिएफ क्लबमाथि पूनरागमन जित निकाल्दै फाइनल प्रवेश गरेको हो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकीले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गण्डकीले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो सेट २२–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पनि २२–२५ ले गुमाएको थियो । विवादित बनेको तेस्रो सेट २५–२३ ले जित्दै गण्डकी खेलमा फर्किएको थियो । २२–२२ को बराबरीको अवस्थापछि खेल विवादित बन्न पुगेको थियो । गण्डकी २२–२३ ले पछि रहँदा विवाद बढ्दै गएपछि खेल झन्डै ३० मिनेट रोकिएको थियो । त्यसपछि शुरु भएको खेलमा गण्डकीले लगातार ३ अंक जोड्दै २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा एकपक्षीय प्रदर्शन गरेको गण्डकीले २५–१६ ले जित्दै खेललाई पाँचौ सेटमा लम्व्याउँदै फाइनल पुग्ने आशा जीवितै राखेको थियो । निर्णायक तथा पाँचौ सेट प्रतिस्पर्धात्मक बन्दा गण्डकीले १७–१५ ले सेट आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो । अब गण्डकीले उपाधिका लागि बुधबार आर्मी र पुलिसबीचको विजेतासँग खेल्नेछ । आर्मी र पुलिसबीचको दोस्रो सेमिफाइनल अहिले भइरहेको छ। महिलातर्फ न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेका छन् । पुलिसले आर्मीलाई तथा न्यू डायमण्डले गण्डकीलाई हराएर फाइनल प्रवेश गरेको हो । पुरुष र महिला दुवैतर्फको फाइनल बुधबार हुनेछ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ । महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ । दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ । पोखराको लामाचौरमा जारी तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको पहिलो सेमिफाइन खेलमा खेलाडी र रेफ्रीमाथि बोतल प्रहार भएको छ । तेस्रो सेटमा रेफ्रीमाथि बोतल प्रहार लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको सेमिफाइनल खेलमा विभागीय टोली नेपाल एपिएफ र गण्डकी प्रदेशबिच भइरहेको खेलको तेस्रो सेटमा रेफ्रीमाथि बोतल प्रहार भएको हो । खेलको तेस्रो सेटमा गण्डकी प्रदेशका खेलाडीको फल देखाएपछि रुष्ट बनेका दर्शकले रेफ्री र खेलाडीमाथि बोतल प्रहार गरेका हुन् ।
गण्डकी : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वको मौलिकता जोगाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । हरितालिका तीजको पावन अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले चाडपर्व हाम्रा संस्कृति र पहिचान भएको उल्लेख गर्नुभयो । “मौलिक संस्कृतिको प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो”, शुभकामना सन्देशमा भनिएको छ । हरितालिका तीजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको सन्देशमा उल्लेख गरिएको छ । भाद्र शुक्लपक्ष तृतीयाका दिनपर्ने यस पर्वमा महिलाले भगवान् शिवपार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको प्रदेश प्रमुख गुरुङले भन्नुभएको छ । सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले सबैमा खुसी साटासाट गदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।
पोखराको लामाचौरमा आयोजित लामाचौर तीज महोत्सव २०७९ लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा विभागीय नेपाल एपिएफ क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । लगातार दोस्रो हारसँगै मणिमुकुन्द समूह चरणबाटै बाहिरिएको छ । अब यो समूहबाट पुलिस र एपिएफबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । पुलिसले शनिबार मणि मुकुन्दमाथि ३–१ को सेटमै जित निकालेको थियो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा एपिएफले शुरुवाती सेट २०–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट २५–१९, २५–२२ र २५–१९ ले जित्न सफल भएको थियो । गण्डकी र आर्मीको खेल पुनः स्थगित लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल पुनः स्थगित भएको छ । लाइट प्रोटेस्टका कारण शनिबार पनि स्थगित भएको खेल आइतबार पनि स्थगित हुन पुगेको आयोजक नव आदर्श सामुदायिक विकास समाजले जनाएको छ । पोखरामा लगातार वर्षाका कारण खेल निर्धारित समयमा शुरु हुन सकेको थियो । आइतबार भएको पहिलो सेटमा गण्डकीले आर्मीमाथि २५–१९ को सेटमा जित निकालेको थियो । लाइट प्रोटेस्ट लाग्ने पक्का भएपछि नै दुवै टोलीले नयाँ खेलाडीलाई मौका प्रदान गर्दा गण्डकीले बाजी मारेको हो । अब यो खेल सोमबार शुरुबाटै हुनेछ । यसअघि शनिबार आर्मीले पहिलो सेट ३१–२९ ले जितेपछि खेल स्थगित भएको थियो । वर्षाका कारण महिलातर्फको एक खेल पनि हुन सकेको छैन । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी भएनन् । महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ । दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कास्की जिल्लाबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ गण्डकीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही भदौ ११ देखि १८ गतेसम्म पोखरामा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरेको सङ्घका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य वसन्तराज दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीयका लागि दुई छुट्टाछुट्टै खेलका लागि खेलाडी छनोट गरिएको हो । छनोट हुनेमा पुरुष क्रसकन्ट्रितर्फ विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र शेरबहादुर गुरुङ हुनुहुन्छ । त्यसमा आशिष थापा वैकल्पिकका खेलाडीका रुपमा हुनुहुन्छ । पुरुष एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा रहनुभएको छ । त्यसमा विष्णु गौतम वैकल्पिकका रुपमा हुनुहुन्छ । महिलातर्फको क्रसकन्ट्रिमा त्रिशा श्रेष्ठ र सुष्मिता सुनुवार तथा महिला एक्युरेसीमा कृषु पौडेल र रितु श्रेष्ठ रहनुभएको छ । छनोट भएका खेलाडीले भदौ १६ देखि १८ गतेसम्म पोखरामा हुने प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने कास्की जिल्ला खेलकुद कार्यालयका प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयता संस्थागत गर्न गण्डकी प्रदेश सरकारले महत्वपूर्ण काम गरेको बताउनुभएको छ । मुस्ताङका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा अन्य सङ्घ संस्थाका प्रमुखसँगको अन्तरक्रियामा उहाँले सङ्घीयतालाई संस्थागत बनाउन जगदेखि नै काम थालिएको र यसबीचमा पूर्वाधार मात्र नभएर सामाजिक क्षेत्रमा उल्लेखनीय काम भएको बताउनुभयो । काम गर्ने क्रममा भएका गल्ती कमजोरीलाई लिएर शासन व्यवस्था माथि नै प्रश्न उठाउने बेला नभएको उहाँले बताउनुभयो । सीमित साधनस्रोत र जनशक्तिकाबीच सडक, पुलसँगै उज्यालो प्रदेश कार्यक्रमदेखि ‘एक घर, एक धारा’ जस्ता नमूना काम गर्न सफल भइएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । शासन व्यवस्थालाई सुदृढ पार्दै नागरिकका अपेक्षा पूरा गर्न आफूले बिना पूर्वाग्रह कार्य सम्पादन गर्दै आएको उहाँको भनाइ छ । गुनासो नआउने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री पोखरेलले कर्मचारीलाई सक्षम बनाउन प्रदेश प्रशिक्षण प्रतिष्ठानले काम गर्दै आएको बताउनुभयो । सङ्घ सरकारलाई कुरेर बस्दा ढिलाइ भएको भन्दै उहाँले प्रदेश निजामती कर्मचारी विधेयक र स्थानीय तह कर्मचारी विधेयक अध्यादेशबाट ल्याउन लागिएको जानकारी दिनुभयो । केन्द्रिकृत मानसिकता नै सङ्घीयता कार्यान्वयनको वाधक बनेको उहाँको भनाइ छ । कोरोला त्रिवेणी सडक प्रदेशकै लाइफ लाइन रहे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काम अलपत्र परेकामा प्रदेश सरकारको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । उत्तरतर्फको नाका सञ्चालनका लागि प्रदेशले सङ्घ सरकारलाई ध्यानाकर्षण गर्दै आइरहेको उहाँले बताउनुभयो । आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले प्रदेशले आफ्नो क्षमताअनुसार प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउनका लागि प्रयत्नरत रहेको बताउनुभयो । विपद् व्यस्थापनका क्षेत्रमा प्रदेशले सक्दो काम गरेको बताउँदै उहाँले राहत तथा उद्धारका लागि जिल्ला प्रशासनसँग समन्वय भइरहेको बताउनुभयो ।
‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ । गण्डकी प्रदेश कार्यसमितिको बिहीबार सम्पन्न पदाधिकारी बैठकले प्रदेशअन्तर्गतका जिल्लामा प्रदेश समितिका पदाधिकारी र ३६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला ‘मधु’ले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङ र मुस्ताङका लागि प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापतिद्वय कल्पना तिवारी र मेखलाल श्रेष्ठलाई बागलुङ र म्याग्दी, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेलाई कास्की र पर्वत, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठलाई गोरखा, सहमहामन्त्री कोपिला रानाभाटलाई स्याङ्जा, रमेश पाण्डेलाई नवलपुर, रामचन्द्र जोशीलाई लमजुङ र माधवप्रसाद बाँस्तोला ‘मधु’लाई तनहुँ जिल्लाका लागि प्रतिनिधि खटाइएको छ । त्यस्तै ३६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको उहाँले जानकारी दिनुभयो । बैठकबाट प्रदेश कार्यसमितिअन्तर्गत सूचना सञ्चार तथा प्रचार विभागमा सबै जिल्लाको प्रतिनिधित्व हुने गरी १२ प्रदेश विभाग सदस्य थप गरिएको विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो । बैठकले कांग्रेस केन्द्रीय सदस्य, नेता एवं समाजवादी चिन्तक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको असामयिक निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
समाजवादी प्रेस सङ्गठन नेपालको गण्डकी प्रदेश भेला भदौ १० गते पोखरामा हुुने भएको छ । प्रदेशअन्तर्गत जिल्ला अधिवशेनको मिति पनि सोही भेलाले तय गर्ने छ । भदौ मसान्तभित्र देशभरका सबै जिल्लाका सङ्गठनको अधिवशेन सम्पन्न गरिने योजना छ । प्रेस चौतारीबाट अलग भएको सङ्गठनले प्रगतिशील विचार समूहका पत्रकारलाई एकताबद्ध गरी व्यावसायिक पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हकहित तथा अधिकार संरक्षण, साना लगानीका सञ्चार गृहको संरक्षण र पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा सरकारलाई दबाब दिँदै आएको छ । गतवर्ष भदौ १० गते स्थापना भएको उक्त सङ्गठनले करिब ५० जिल्लामा सञ्जाल विस्तार गर्नाका साथै गत कात्तिक २७ गते पदाधिकारी तथा संस्थापक सदस्य घोषणा र गत चैत १२ -१३ मा केन्द्रीय कमिटीको विस्तारित भेला सम्पन्न गरेको छ । प्रथम राष्ट्रिय अधिवेशनको तयारीमा रहेको सङ्गठनले मधेश प्रदेशको अधिवेशन पनि हालै सम्पन्न गरेको छ । प्रदेशको भेला सम्पन्न गर्ने र प्रतिनिधि चयनको प्रक्रियामा छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारको सुरक्षा तथा सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउनाका साथै व्यवस्थित बनाउन आग्रह गर्दै मुलुकको राष्ट्रियताको सम्वद्र्धन, लोकतन्त्र, सुशासन तथा पेसागत व्यवसायिकतामा जिम्मेवार भई क्रियाशील हुन आग्रह गर्नुभयो । यसैबीच उहाँले सङ्गठनको पहिलो स्थापना दिवसका अबसरमा देश विदेशमा रहेका सम्पूर्ण पत्रकारलाई शुभकामना पनि व्यक्त गर्नुुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको साइक्लिङ खेल पोखरामै हुने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङ खेलकुदका लागि सोमबार खेलस्थल व्यवस्थापन समिति सहितको टोलीले साइक्लिङ खेलका लागि पोखरा र आसपासका संभाव्य खेलस्थलको अवलोकन गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राखेप सदस्य राजेशकुमार गु?ङ, सचिव एवं प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, नेपाल साइक्लिङ संघका केन्द्रीय अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, संघका सचिव देवेन्द्र बस्नेत, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, उपाध्यक्ष अशोक चालिसे लगायतको टोलीले खेलस्थलको अवलोकन गरेको हो । टोलीले पोखरा-बागलुङ हाइवेस्थित हेमजाको भाइरल रोड, आर्वाको महाप्रभुधाम, मेथलाङ र शान्ति स्तुपा लगायतको क्षेत्रलाई साइक्लिङका लागि संभाव्य खेलस्थलका रुपमा अवलोकन गरेको हो । साइक्लिङ महिला÷पुरुष दुबै इभेन्टका लागि रोड साइक्लिङ र माउन्टन रेस गरी २ क्याटागोरीका लागि टोलीले संभाव्य खेलस्थलको अवलोकन गरेको हो । रोड रेस साइक्लिङ अन्तर्गत पनि टाइम ट्रायल र मास रेस गरी २ क्याटागोरीमा साइक्लिङ प्रतियोगिता हुनेछ । जसका लागि हेमजाको भाइरल रोड अन्तर्गत याम्दीदेखि फेंदीसम्मको स्पोर्ट सर्कललाई टोलीले छनोट गरेको छ। सोही क्याटागोरीका लागि पोखरा आसपासको लामाचौर, बाटुलेचौर र महेन्द्रगुफा लगायतको स्पोटर््स सर्कललाई पनि संभाव्य साइक्लिङ स्पटको रुपमा अवलोकन गरेको छ। साइक्लिङकै माउन्टेन रेस अन्तर्गत क्रस कन्ट्री र डाउन हिल क्याटागोरीका लागि पोखरा आसपासका उच्चपहाडी क्षेत्र मेथलाङ र आर्वाको महाप्रभुधामको अवलोकन गरेको छ। टोलीले मंगलबार माउन्टेन रेस अन्तर्गतकै क्याटागोरीका लागि शान्तिस्तुपाको समेत अवलोकन गर्नेछ। माउन्टेन रेस अन्तर्गत २ छुट्टाछुट्टै पूर्वाधारहरु जुटाउनुपर्ने हुन्छ । जस्तो क्रस कन्ट्रीका लागि ३ देखि ५ कि.मि.सम्मको ट्रयाक बनाउनुपर्ने हुन्छ । डाउन हिलका लागि डेढदेखि ३ कि.मि.सम्मको ट्र्याक बनाउनुपर्ने हुन्छ । राखेपका सदस्यसहित खेलस्थल व्यवस्थापन समितिका संयोजक एवं साइक्लिङ संघका पदाधिकारी र प्राविधिकसहितको टोलीले साइक्लिङ प्रतियोगिताका लागि पोखरा उपयुक्त स्थान भएको दाबी गरेका छन्। राखेप सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेलका लागि पोखरामा सबै पूर्वाधार निर्माणसहित व्यवस्थापन गर्ने दाबी गरेका छन् । कुनैपनि खेलका लागि पूर्वाधार निर्माण र व्यवस्थापनमा कहीँ, कतैबाट पनि कमी हुन नदिने गुरुङको प्रतिबद्धता छ। गुरुङ भने, ‘हालसम्म खेलस्थलबारे निर्णय भएको छैन। अबको ९÷१० दिनभित्र टुंगो लाग्नेछ। तर, राष्ट्रिय खेलकुदकै लागि जतिपनि प्रक्रियाह? थालिएका छन् । ति सबै परिणाममुखी छन् । अब, मनाङ, मुस्ताङ र लमजुङको अवलोकनपछि सबै टुंगो लाग्नेछन्।’ नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुुन्दरलाल कक्षपतिले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङका खेलहरु पोखरामै हुने प्रष्ट पारेका छन् । साइक्mिलङका लागि यहाँका स्पटह? उपयुक्त रहेको उनको जिकिर छ । कक्षपतिले भने, ‘साइक्लिङका लागि खेलस्थलबारे कुनै दुविधा छैन । अवलोकन गरिएका संभाव्य स्थानहरुमा साइक्लिङ प्रतियोगिता गर्न सकिन्छ। बाँकी पूर्वाधारको कुरा हो, पूर्वाधार जुटाउनेबारे हाम्रो प्रयास रहनेछ।’ त्यस्तै, संघका सचिव देवेन्द्र बस्नेतले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङका लागि हेमजाको रोड उपयुक्त रहेको बताए । संघको प्राविधिक प्रमुख समेत रहेका बस्नेतले भने ‘यो रोड, साइक्लिङको रोड रेस र टाइम ट्रायलका लागि पर्फेक्ट छ । चुनौती टेक्निकल पाटोको हो, त्यसलाई हामी पूरा गर्नेछौं। इभेन्टको बेलामा साइक्लिङ स्पोर्ट्स भेन्युलाई विस्तारित र व्यवस्थित गर्नुपर्छ।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा साइक्लिङ प्रतियोगिता राखेपको श्रोत, नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग र कास्की जिल्ला साइक्लिङ संघको नेतृत्वमा हुने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए। नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघका पदाधिकारी तथा सदस्यहरुको बैठक बसेको छ । यसैबीच, कास्की जिल्ला साइक्लिङ संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रशिक्षण छनोटका लागि साइक्लिङको ५१ जनाको नाम सिफारिस गरेको छ । त्यसमध्ये ४० जना पु?ष र ११ जना महिला रहेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनको १ गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुदका ३६ र २ प्रदर्शनीका खेल गरी ३८ खेलमा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा ४ सय सात स्वर्णपदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एउटा टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा १ टोलीमा ७ सय ८ जनासम्म खेलाडी सहभागी हुनेछन् । जसमध्ये प्रतियोगितामा कुल ७ हजार ७ सय ८८ जनासम्मका खेलाडीहरु सहभागी हुनेछन् । यही भदौको २५ गतेभित्रमा खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोजको १० सम्ममा खेलगत इभेन्ट, खेल समयतालिका, खेलस्थलको जानकारी गराउने आयोजक राखेपको कार्यक्रम तालिका छ ।

