भक्तपुर:   सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।  शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. प...

काठमाडौं:   नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा आजदेखि प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्त सञ्चार सेवा भवनबाट सुरु भएको छ ।  गोरखा भूकम्पबाट रक्त सञ्चार भवनमा क्षति पुगेपछि नेपाल रेडक्रसले सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको थियो ।  नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौँमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा सुरु गरेको थियो ।  विसं २०३९ असोज ६ गतेदेखि अष्ट्रेलियन रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा निर्मित भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिनुभयो ।  विसं २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवा भवनमा क्षति पुगेपछि यहाँबाट ललितपुरको बालकुमारी हुँदै रेडक्रसको केन्द्रीय कार्यालय ताहचलबाट रक्तसञ्चार सेवा प्रदान हुँदै आएको थियो ।  थाइल्याण्ड सरकारबाट थाई रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा सुविधा सम्पन्न नयाँ केन्द्रीय रक्तसञ्चार सेवा भवन निर्माण गरिएको छ ।

बर्दिया:    बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित हुनुहुन्छ ।  उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै व्यथा छन्, त्योभन्दा बढी पीडा सुष्मालाई छ । उपचारका लागि आर्थिक चाँजोपाँजो मिलाउने, अस्पताल पुर्‍याउनेदेखि रोगले थलिनुभएकी सासूआमाको जीवनमा प्राण भर्ने जिम्मेवारी बुहारी सुष्माकै काँधमा छ ।  अरू चाँजोपाँचो त जेनतेन भइहेकै हुन्छ तर महिनाको दुई पटकसम्म रगत चढाउनुपर्ने भए पनि नजिकै ‘ब्लड बैङ्क’ नभएको पीडा अझ बढी छ । “घर नजिकै ब्लड बैङ्क  छैन । रगतकै लागि ७३ किलोमिटर टाढा रहेको बाँकेको नेपालगञ्जसम्म पुग्नुपर्दा निकै सास्ती खेप्नुपर्‍यो । बर्दियाबाट भेरी अस्पताल जानुको विकल्प नै थिएन । त्यति टाढा गएर पनि एकै दिनमा रगत चढाउन पाइँदैन थियो । त्यहाँ जानै समस्या, गए पनि अधिकांश दिनमा रक्त अभावले पालो कुरेर उतै चाररपाँच दिनसम्म बस्नुपर्दाको सास्ती भनिसाध्य छैन”, सुष्माले भन्नुभयो । उहाँले घण्टौँ लगाएर अस्पताल पुगे पनि रगत अभावमा अस्पतालको शय्यामा कुर्नुपर्दाको सास्ती र बसाइँ लम्बिँदा हुने खर्चको तनावले थप पीडा दिने गरेको सुनाउनुभयो । यसरी उपचारका क्रममा कैयौँ दिन अस्पतालमा भोकै बस्नुपरेका दिन अहिले पनि सुष्माको मानसपटलमा ताजै छ ।  “त्यति टाढा पुगेर पनि रगत पाइन्छ भन्ने निश्चित हुँदैनथ्यो । कति पटक चार दिनसम्म पालो कुर्दा भोकभोकै बस्नुपरेको थियो । अहिले त्यो पीडा सम्झिन पनि चाहन्न”, उहाँले भन्नुभयो । राजापुर क्षेत्रमा रगत नपाइने र चाहिएको बेला रक्त समूह नमिल्ने भएकाले सुष्मालाई दुःख भोगेर भए पनि नेपालगञ्ज जानैपर्ने बाध्यता थियो । पछिल्लो चार महिनादेखि भने यो बाध्यता हट्दै गएको छ ।  राजापुर नगरपालिकाले राजापुर बजारमै रक्त सङ्कलन तथा भण्डारण केन्द्र (ब्लड बैङ्क) स्थापना गरेपछि सुष्मालाई ठूलो राहत भएको छ । नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा ब्लड बैङ्क स्थापना गरेको हो ।   सुष्मा र उहाँकी सासूआमा भागिरथी त प्रतिनिधिपात्र मात्रै हुन् । नगर स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार राजापुरमा भागिरथी जस्तै दुई सय २४ जना सिकलसेल एनिमियाका बिरामी रहेको तथ्याङ्क छ ।  यी सबैजसो बिरामी र तिनका परिवारको समस्या उस्तै थियो । स्थानीयस्तरमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि यी सबैलाई ठूलो राहत भइरहेको छ ।  “मेरो छोरा दुई वर्षको हुँदादेखि उसमा सिकलसेल एनिमिया देखिएको थियो, जसकारण बेलाबेलामा रगत चढाउनु पर्छ । अहिले छोरो १० वर्षको भयो, आठ वर्षसम्म नेपालगञ्ज गएर रगत चढाइयो  तर अहिले नगरमै ब्लड बैङ्क सञ्चालनमा आएपछि घर आँगनमै सेवा लिएको अनुभव गरेको छु । यसले वर्षौंदेखि पीडा भुलाएको छ”, बिरामी राजीव चौधरीका बुबाले भन्नुभयो ।   नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरै नागरिक लाभान्वित भएको बताउनुभयो । “नजिकै रक्त सङ्कलन तथा भण्डारण केन्द्र नहुँदा दीर्घरोगीले त समस्या भोग्नु परेकै थियो, आकस्मिक घटना हुँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । नगरले यो समस्या समाधानका लागि केन्द्र स्थापना गरेको हो । त्यसले स्थानीयस्तरमा निकै राहत पुगेको छ”, उहाँले भन्नुभयो । राजापुर नगरपालिकाले एकजना ‘ल्याब असिस्टेन्ट’ को दरबन्दी राखेर रु आठ लाखको लागतमा ब्लड बैङ्क स्थापना गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरको भवनबाट ब्लड बैङ्कको सञ्चालन भइरहेको छ । गत साउन १ गतेदेखि सञ्चालनमा आएको यस केन्द्रबाट हालसम्म ५५ जनाले सुविधा लगिसकेका छन् जसमा ९५ प्रतिशत सिकलसेलका बिरामीले सेवा लिएका छन्भने बाँकी पाँच प्रतिशत गर्भवती र अन्यले सेवा लिएका ल्याब असिस्टेन्ट महेश चौधरीले जानकारी दिनुभयो । सिकलसेल एनिमियाका प्रायः थारू समुदायका नागरिकमा देखिने रोग हो । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीले भन्नुहुन्छ,  “सिकलसेल एनिमिया एक गम्भीर अनुवांशिक रक्तरोग हो । यस रोगमा रातो रक्त कोष हँसिया (सिकल) आकारमा बदलिने हुँदा शरीरमा अक्सिजनको आपूर्ति कम हुन्छ, जसले रक्तअल्पता, असह्य पीडा र शरीरका अङ्गहरूमा अक्सिजन नपुग्ने समस्या निम्त्याउँछ । थारू समुदायको विशिष्ट जैविक बनावट र परम्परागत वैवाहिक अभ्यासहरूले यो रोग पुस्तान्तर हुँदै आएको छ ।” राजापुर नगरपालिकामा ६९ हजार आठ सय ७३ जनसङ्ख्या रहेको छ । कुल जनसङ्ख्यामध्ये करिब ८१ प्रतिशत थारू समुदायको रहेको छ । थारू बाहुल्य क्षेत्र भएकाले सिकलसेलको जोखिम पनि सोहीअनुसार रहेको अनुमान छ ।  अब गाउँमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरैलाई सहज भए पनि चाहिएको समयमा रक्त समूह मिल्ने रगत व्यवस्थापन भने चुनौतीपूर्ण रहेको ल्याब असिस्टेन्ट चौधरीले बताउनुभयो । यस्तो अवस्थामा टीकापुर, मधुवन र भेरी अस्पतालबाट रगतको जोहो गर्नुपरिरहेको उहाँले जानकारी दिनुभयो ।  “नगरपालिका आफैँले वर्षमा तीनपटक, गैरसरकारी संस्था युनिक नेपालले तीनपटक र विभिन्न सङ्घसंस्थाले आयोजनाले गर्ने रक्तदान शिविरबाट रगत सङ्कलन भइरहेको छ तर भण्डारण क्षमता कम भएकाले कहिलेकाहीँ छिमेकी अस्पतालहरूबाट रगतको जोहो गर्नुपर्छ”, ल्याब असिस्टेन्ट चौधरीले भन्नुभयो, “थारू समुदायको ठूलो बस्ती रहेकाले सिकलसेलको जोखिम र आकस्मिक रूपमा चाहिने रगतका लागि यस केन्द्रको स्तरोन्नति आश्वयक छ । भर्खरै सञ्चालनमा आएकाले नगरपालिकाले समस्या र आवश्यकता हेरेर त्यो काम गर्ने नै छ ।” नगरप्रमुख दीपेश थारूले ब्लड बैङ्कको सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा आफूहरू सचेत रहेको बताउनुभयो । उहाँले स्थानीय नागरिकको माग र आवश्यकताअनुसार सेवा विस्तार गरिने बताउनुभयो ।  “नगरपालिकामा १५ शय्या अस्पताल सञ्चालन हुँदैछ, काम अगाडि बढिरहेको छ । त्यहाँ पनि ब्लड बैङ्क रहनेछ । ब्लड बैङ्क सेवालाई अझ प्रभावकारी बनाउने र रगतको भण्डारण बढाउन नियमित रूपमा रक्तदान कार्यक्रम गरेर सेवा विस्तार गर्ने योजनामै छौँ”, नगरप्रमख थारूले भन्नुभयो ।  यस सेवाबाट नगर क्षेत्रका मात्रै होइन छिमेकी गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिका क्षेत्रका नागरिक पनि लाभान्वित हुन थालेका छन् ।

दाङ:    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह (एमविविएस)को अध्यापन सुरु गर्ने भएपछि सेवा विस्तार गर्न लागेको हो ।  प्रतिष्ठानले होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि चिकित्सक पठाउन लागेको हो । त्यहाँका नागरिकलाई सहज विशेषज्ञ सेवा प्रदान गर्नका लागि यस्तो कार्य गरिएको रजिष्ट्रार श्याम लम्सालले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा २४ सैँ घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ । एमविविएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी केन्द्रलाई ‘कम्युनिटी आउट रिच सेन्टर’कोरुपमा रहने गरी व्यवस्थापन गर्ने भएको हो । यसका लागि प्रतिष्ठान र रुन्टीगढ गाउँपालिकाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भएको छ । प्रतिष्ठानका रजिष्ट्रार लम्साल र गाउँपालिका अध्यक्ष जनक पुनबीच आगामी पुस १ गतेदेखि सेवा सुरु गर्ने सम्झौता भएको हो ।  साथै होलेरीमा नै प्रतिष्ठानबाट पास गर्ने एमडिपिजिपी चिकित्सक पठाएर विशेषज्ञ सेवा सुरु गर्ने उहाँको भनाइ छ । हाल प्रतिष्ठानमा एमडिजिपीमा दुई चिकित्सकले स्नाकोत्तर अध्ययनरत छन् । गत असारदेखि होलेरी अस्पतालमा चिकित्सकको नहुँदा बिरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने बाध्यता छ ।

काठमाडौं:    नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ ।  अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो ।  अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत धिरज मैनालीका अनुसार लामो समयदेखि घुँडा खिइएका बिरामीको शल्यक्रिया गरिएको हो  । अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिपरेको जानकारी दिनुभयो  ।  निर्देशक भण्डारीका अनुसार अस्पतालले प्रत्येक वर्ष कम्तीमा चार पटकसम्म दुर्गम भेगमा औषधोपचार अभावमा रहेका नागरिकलाई हाडजोर्नी र नशाको शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ ।  अमेरिकाबाट आउनुभएका अर्थोपेडिक सर्जन डा रवि बस्यालले अर्थोपेडिक अस्पतालसँग सन् २००९ देखि नै सहकार्य गर्दै आएको र  हाल सम्म करिब ६ सय घुँडाको शल्यक्रिया भएको जानकारी दिनुभयो ।  उहाँले नेपाल अर्थोपेडिक अस्पतालका चिकित्सक दक्ष, अनुभवी भएकाले नेपाल अर्थोपेडिक अस्पतालमा समेत घँुडा खिइएका बिरामीहरूको सफल शल्यक्रिया भइरहेको  यसको उपचारका लागि अस्पताल नै सक्षम रहेको बताउनुभयो  ।  अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।

भक्तपुर:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गर्नुभएको छ ।      अस्पतालले आयोजना गरेको कार्यक्रममा उहाँले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो ।            उहाँले कान्ति बाल अस्पताल (काठमाडौँ), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा मङ्सिर १ गतेदेखि निःशुल्क रुपमा सुरु भएको जानकारी दिनुभयो ।            क्यान्सर भएका बालबालिकाले आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् र रोगको समयमै पहिचान गरी ज्यान बचाउन सकियोस् भन्ने उद्देश्यले उपचार सेवा निःशुल्क सुरु गरिएको उहाँले बताउनुभयो ।       कर्मचारीदेखि जनप्रतिनिधिसम्म, सरकारीदेखि निजी निकायसम्मका सबै कर्मचारीले आफ्नो मासिक तलबको दुई प्रतिशत रकम बिमा कोषमा जानेगरी व्यवस्था गर्नसके आमनागरिकलाई बिमामार्फत निःशुल्क उपचार गर्न सकिने उहाँले बताउनुभयो ।           मन्त्री पौडेलले भन्नुभयो, “मन्त्रालयले नक्कली बिमा दाबी रोक्न कडा कानुनी व्यवस्था गर्न लागेको छ । बिमा ऐनमा संशोधन गरी नक्कली बिल पेस गरेर दाबी गर्ने अस्पताललाई सम्बन्धन खारेज गर्ने र नक्कली बिमालाई स्वीकृत गर्ने डाक्टर र कर्मचारीलाई बर्खास्त गर्ने सम्मको व्यवस्था आवश्यक छ ।”      कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले समयमा उपचार भए बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै उहाँले नेपालमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको बताउनुभयो ।      उहाँले भक्तपुर नगरपालिकाको ख्वप अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग रु २२ करोड सोधभर्ना लिन बाँकी रहेको बताउँदै सरकारी अस्पताललाई स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति व्यवस्थापन गरी सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।            भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले अस्पतालले क्यान्सरका बालबालिकाका लागि सम्पूर्ण उपचार निःशुल्क गर्ने बताउदै अहिले एक सय ५० जना बालबालिका क्यान्सरको उपचार गराइरहेको बताउनुभयो ।      कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, अस्पतालका प्रशासन प्रमुख राजाराम तजले, अस्पतालकी बालरोग विशेषज्ञ डा रितु लामिछानेलगायतले बालबालिकामा क्यान्सरको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै बालबालिकाको निःशुल्क उपचारमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

काठमाडौं:    विश्व बाल दिवस नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरेर मनाइयो ।  यसैक्रममा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसङघीय बालकोष (युनिसेफ)ले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कटका कारण प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभूति गर्न सरकारले प्रभावकारी नीति र कार्यक्रमको कार्यान्वयनलाई प्राथमिकता दिने बताउनुभएको छ ।  उहाँले  सरकारका तर्फबाट बालबालिकाको अधिकार सुनिश्चित गर्न, बालबालिकाको आवश्यकतालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिन र जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न कटिबद्ध रहेको प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।   मन्त्री ठुकरीले भन्नुभयो, “जलवायु सङ्कट केवल विश्वव्यापी आपत्काल मात्र होइन, यो बाल अधिकारको सङ्कट पनि हो, यसले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षाको अधिकार, स्वस्छ पानी र हिंसाबाट जोगाउने अधिकारलाई खतरामा पार्छ, नेपालको झण्डै ८० प्रतिशत जनसङ्ख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको अवस्थामा बालबालिका र युवा यस सङ्कटबाट प्रभावित भएका छन् ।”      कार्यक्रममा युनिसेफ की नेपाल प्रतिनिधि एलिस अङ्कुगाले जलवायु परिवर्तनले नेपालका बालबालिका र युवा पुस्तामा पर्ने असर र रोकथामबारे विस्तृत रुपमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

सर्लाही:    सर्लाहीको हरिपुर्वा नगरपालिका–१, निवासी १८ वर्षकी बबिता पासवानलाई गत कात्तिक ३० साँझ एक्कासि सुत्केरी बेथाले च्याप्यो ।  उहाँलाई श्रीमान् अरुण पासवानले हतारहतार गाउँमा रहेको बर्थिङ सेन्टर पु¥याउनुभयो । बबिताको पहिलो बच्चा जन्मदै थियो । उहाँले सोही बर्थिङ सेन्टरमा नियमित गर्भ परीक्षणसमेत गराउनुभएको थियो ।  स्वास्थ्यकर्मीहरुको नियमित निगरानीमा बच्चा र आमा स्वस्थ रहेकाले बच्चा सामान्य ढङ्गले जन्मिन्छ भनेपछि बबिताका श्रीमान् अरुण पनि ढुक्क हुनुहुन्थ्यो । बबितालाई दुई घण्टामै परिवारले बर्थिङ सेन्टर पु¥याएका थिए । बर्थिङ सेन्टर पुगेको १० मिनेटपछिनै उहाँको बच्चा जन्मियो । सामान्य ढङ्गले बच्चा जन्मिए पनि बच्चा ठूलो भएकाले योनीमा चोट अर्थात ‘भजाइन् टियरिङ’ भयो ।  त्यसपछि बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी र बिमारीका आफन्तलाई आपत आइलाग्यो । सुविधा सम्पन्न भनेर ल्याएको बर्थिङ सेन्टरमा सामान्य घाउ सिउनको लागि आवश्यक सियो(क्याटगड) समेत थिएन ।  उपचारमा खटिनुभएकी स्वास्थ्यकर्मीले कतै मेडिकलबाट किनेर तत्काल ल्याउनु भन्दै आवश्यक सामानको सूची बबिताको श्रीमान्को हातमा राखिदिनुभयो तर मध्यरातमा कुनै उपाय थिएन । यता बत्रिता रगत बगाउँदै शय्यामा छटपटी रहनुभएको थियो । स्वास्थ्यकर्मीले बबितालाई ढाडस दिँदै आफूले सिकेको अनेक उपाय लगाएर रगत रोक्ने प्रयास गरिरहनुभएको थियो । भोलिपल्ट बर्थिङ सेन्टर नजिकैको मेडिकल खुलेपछि औषधि र सामान ल्याएर उपचार गरियो ।  बबिता जस्तै हरिपूर्वा नगरपालिका–६, निवासी १९ वर्षकी रेजिना कार्कीलाई पनि गत कात्तिक १२ गते सुत्केरी ब्यथा लाग्यो । परिवारले तत्काल बर्थिङ सेन्टर पु¥याएको केही समयमै सामान्य हिसाबलेबच्चा जन्मियो । तर, बच्चा जन्मने क्रममा रेजिनाको पनि भजाइन टेयरिङ भएर रक्तस्राव भयो ।  बर्थिङ सेन्टरमा सामान्य उपचारको सामान समेत नभएपछि उहाँको परिवारले पनि हातमा औषधिको सूची लिएर रातभर हारगुहार गर्नुप¥यो । तर, कुनै उपाय नलागेपछि बबिताले जस्तै रेजिनाले पनि जोखिमपूर्ण ढङ्गले भोलिपल्ट बिहान हुने पर्खाइमा पीडा सहेर बस्नुपरेको थियो ।  सामान्य उपकरण र औषधि नहुँदा बर्थिङ सेन्टर आउने बबिता र रेजिना जस्ता आमा र नवजात शिशुको ज्यान जोखिममा रहेको छ । सुविधा सम्पन्न भनिएको बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने गर्भवतीका आफन्तले आवश्यक पानीदेखि सियो धागो र स्वास्थ्यकर्मीको लागि पञ्जासम्म आफैँले किनेर ल्याउनुपर्ने बाध्यता रहेको रेजिनाका श्रीमान् अवधेशकुमार यादव बताउनुहुन्छ ।  सामान्य एउटा कोठालाई बीचमा बारेर दुई कोठा बनाएर बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । रातको समयमा बिजुली गएको समयमा मोबाइलको बत्ती बालेर सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।  स्वास्थ्य चौकीका प्रमुख उमेशकुमार यादव नगरपालिकाबाट आवश्यक बजेट विनियोजन नहुँदा सेवा प्रवाहमा समस्या रहेको बताउनुहुन्छ । स्वास्थ्य चौकीमासमेत सरकारले निर्णय गरेको निःशुल्क वितरण गर्नुपर्ने १०÷१५ प्रकारको औषधि सधँै अभाव हुने गरेको उहाँको भनाइ छ ।  अहिले चिसो समयमा धेरै रुघा, खोकी र ज्वरोका समस्या भएका बिमारी आउने गर्छन् तर आवश्यक औषधि नहुँदा बिमारी यसै फर्केर जाने गरेका छन् । एक गैरसरकारी संस्थाले केही उपकरण उपलब्ध गराएपछि पाँच वर्षअघि सुरु भएको बर्थिङ सेन्टरका अधिकांश उपकरण अहिले काम नलाग्ने भइसकेका छन् । नियमित मर्मत नहुँदा बच्चालाई तातो बनाउने९बेबी वार्मर०, पानी तताउने भाँडो काम नलाग्ने भएको छ । यता हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले सबै नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा पाइरहेको दाबी गर्नुहुन्छ । नगरका स्वास्थ्य चौकीहरुमा नियमित रुपमा निःशुल्क औषधि वितरण भइरहेको भन्दै तत्काल थप बुझेर समस्या समाधान गरिने बताउनुभयो । नगर अस्पताल सञ्चालनको तयारी समेत गरिएको उहाँको भनाइ छ । 

भक्तपुर:   भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो ।  अस्पतालकी कार्यकारी निर्देशक डा। सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतिविन्दुको शल्यक्रिया गरिने छ ।  यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको थियो ।प्रदेश सरकारले उपकरण प्रदान गरेपटि सेवा सञ्चालन भएको हो ।  यसैबीच, वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पतालमध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा विस्तार भएको तथा प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा उपलब्ध गराउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।

जुम्ला:    जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।  विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा नि:शुल्क उपचार सेवा दिन थालिएको हो ।      गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य शाखालाई रु ९५ लाख बजेट विनियोजन गरी सेवा सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । स्थानीय सरकारको स्रोतसाधनबाट स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको उहाँले बताउनुभयो ।      “जबसम्म नागरिकको स्वास्थ्य सबल हुँदैन तबसम्म अन्य परिवर्तनको पनि अर्थ रहँदैन भनेर जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने निर्णय गरी शिविरमार्फत सेवा दिन थालेका हौँ । स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रतिफलसहितका योजना बनाएर अघि बढेका छौँ”, अध्यक्ष धितालले भन्नुभयो ।       गाउँपालिको आयोजनामा प्लान नेपालको साझेदारी र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको प्रविधिक सहयोगमा गत कात्तिक ३० गते शनिगाउँ स्वास्थ्य चौकी र यही मङ्सिर १ गते नराकोट स्वास्थ्य चौकीमा विशेषज्ञसहित स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य शिविरबाट सात सय २२ जनाले सेवा लिएका छन् ।      उक्त शिविरमा हाडजोर्नीसम्बन्धी दुई सय दुई, स्त्री रोगसम्बन्धी ९५, जनरल जाँच एक सय ५०, मनोसामाजिक परामर्श एक सय ३०, अपाङ्गता परीक्षण एक सय १० र मुखको परीक्षण ३५ जनाको भएको रोकायाले जानकारी दिनुभयो ।        कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायाबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो । गत कात्तिक २८ गते नराकोट स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क कानको परीक्षणमा दुई सय ५९ जनाले सेवा लिएका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रोकायाले जानकारी दिनुभयो । उक्त शिविर गाउँपालिकाको आयोजना र नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।      सिञ्जाका ३२ वटा गाउँमा पुगेर मासिक रुपमा यहाँका ज्येष्ठ नागरिकको स्वास्थ जाँच गर्ने गरिएको स्वास्थ्य शाखाका प्रमुख रोकायाले बताउनुभयो । गाउँमै दक्ष चिकित्सकबाट निःशुल्क उपचार पाउँदा सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको सिञ्जा–३ की नुन्नु उपाध्यायले बताउनुभयो ।      अहिले पालिकामा छ वडामध्ये तीनमा स्वास्थ्य चौकी र तीनमा आधारभूत स्वास्थ्य चौकीबाट सेवा प्रवाह भइरहेको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिनुभयो । उहाँका अनुसार गर्भवतीका लागि नराकोट, धापा र शनिगाउँ स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा उपलब्ध गराइएको छ ।      आपत्कालीन अवस्थाका बिरामी, ज्येष्ठ नागरिक, अपङ्गता र सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले बताउनुभयो । गत आवमा चारवटा स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार पाँच सयबढीले सेवा लिएका गाउँपालिकाले स्वास्थ्य शाखाले जनाएको छ ।      आगामी वैशाखमा सिञ्जा कर्णाली प्रदेशकै उकृष्ट पोषणमैत्री स्थानीय तह घोषणा हुन लागेको बताउँदै विभिन्न १६ सूचकमध्ये १४ वटा पूरा गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रको पहुँच कम भएका ठाउँमा स्वास्थ्य शिविरमार्फत सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो ।      नवजात शिशुलाई खोप र ज्येष्ठ नागरिकलाई निःशुल्क औषधिसहित स्वास्थ्य जाँच कार्यक्रमले दीर्घरोगीले सहज उपचार पाएका स्थानीय बताउँछन् । गत आवमा स्वास्थ्यतर्फ सिञ्जा गाउँपालिका जिल्लाका आठ स्थानीय तहमध्ये पहिलो भएको थियो ।  स्वास्थ्य सेवातर्फ विभिन्न सूचक पूरा गरी ८७ प्रतिशत अङ्क प्राप्त गर्दै सिञ्जा जिल्लाकै पहिलो भएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।