तनहुँ:   जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।   तत्कालीन प्रधानमन्त्री श...

पोखरा:  जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको स्वास्थ्य बीमा गरेको हो ।  शनिबार वडाले विजयपूर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बीमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।  उनका अनुसार गाउँका ४० घर परिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराइएको हो । बीमा गरेसँगै अब गाउँका नागरिकले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउने उनले बताए ।  आफु भाषण भन्दा पनि काममा विश्वास राख्ने भएकाले वडा १३ का नागरिकको सुखदुखमा सदैव साथमा रहेको उनले बताए ।  “भाषण होइन काममा विश्वास राख्ने गर्छु । शहरका नागरिकले स्वास्थ्य बीमा गराइराख्दा गाउँका नागरिक यसबाट वञ्चित हुनुहुँदैन भन्ने लाग्यो । फलस्वरुप वडाले आज गाउँका स्थानीयको स्वास्थ्य बीमा गराएको हो । आशा छ निशुल्क स्वास्थ्य बीमा बाट नागरिकलाई लाभ मिल्नेछ ।”, उनले भने ।  बरालले आफ्नो कार्यकालसम्म गाउँको बाँकी भौतिक विकास गर्दै जाने प्रतिबद्धता समेत गरेका छन् । “गाउँमा आइराख्दा थोरै समस्या बाटोघाटोको देखे । मेरो कार्यकालसम्म उक्त बाटोघाटोको समस्याको पनि समाधान गर्नेछु ।”, उनले भने ।  भौतिक विकाससँगै मानविय विकासमा समेत वडा सक्रिय रहेको उनले बताए । सीपमुलक तालिम सिकाई वडामा भएका नागरिकलाई रोजगार दिलाउने बाटोमा समेत अग्रसर रहेको भनाई उनको छ । शिक्षाको क्षेत्रमा समेत वडाले लगानी गरिरहेको छ ।  नेपाली काँग्रेस वडा नं. १३ का इकाई सभापति माधव प्रसाद सिग्देलले वडाको नयाँ अभियानमा स्थानीयले समेत सरकारलाई सहयोग गर्नुपर्ने बताए ।  उनले वडाले गाउँका नागरिकको निशुल्क स्वास्थ्य बीमा गराएर उदाहरणीय बनेको बताए । गाउँका मान्छे गाउँमै बस्ने वातावरण मिलाउने तर्फ पनि सोच्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।  स्थानीय टोल विकास समितिकी उपाध्यक्ष धनकुमारी गुरुङले पोखरा १३ वडाध्यक्षको मात्रै नभई सबैको भएको उल्लेख गरिन् । उनले विकासका काममा वडाध्यक्षलाई स्थानीयले समेत साथ दिनुपर्ने बताइन् । गाउँका मान्छेको स्वास्थ्य बीमा गराएर वडाले सह्रानिय काम गरेको भनाई उनको छ ।  स्थानीय पोखरी स्वाराका भीम बहादुर दमैले वडाले गाउँमा नै आएर निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएकोमा खुशी लागेको बताए ।  “वडाले गाउँमा नै आएर यसरी निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदा खुशी लागेको छ । सिंहदरबार गाउँमा नै आएको आभाष भएको छ । वडाध्यक्ष लगायत पोखरा १३ का जनप्रतिनिधिलाई धेरै धन्यवाद ।”, उनले भने ।  पोखरी स्वाराकै सरस्वती घले पनि निशुल्क स्वास्थ्य बीमा कार्ड पाएर खुशी छिन् । अब उनको स्वास्थ्य उपचारका लागि कुनै खर्च लाग्नेछैन । वडाध्यक्ष गाउँमा नै पुगेर निशुल्क स्वास्थ्य कार्ड उपलब्ध गराउँदा खुशी लागेको उनले सुनाइन् ।   

पोखरा:     रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रबाट २ सय ७ युनिट रगत संकलन भएको छ ।   नयाँ रक्तदातालाई रक्तदान प्रति पे्ररित गर्ने उद्देश्यर्ले स्वास्थ्यका लागि रक्तदान’ भन्ने नाराका साथ आयोजना गरेको २२ औं संस्करणको रक्तदानबाट २ सय ७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक राजाराम पौडेलले जानकारी दिए ।   कार्यक्रममा नयाँ रक्तदाताको उल्लेखनीय सहभागिता रहेको थियो । ८० जना नयाँ रक्तदाता, १ सय ८४ पुरुष र २३ जना महिलाले रक्तदान गरेका छन् । रेडियोले आफ्नो स्थापना कालदेखि हालसम्म ७ हजार ७ सय ३ युनिट रगत संकलन गरिसकेको महा–प्रबन्धक नारायण पौडेलले बताए ।   पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति र रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले पहिलो रक्तदाता विजया सापकोटालाई संयुक्त रुपमा ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रजापतिले रेडियोले आफ्नो स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएको भन्दै प्रशंसा गरे ।   रेडियोका अध्यक्ष पालिखेले रेडियोले वार्षिक रुपमा रक्तदान गर्दै आइरहेको र यसलाई निरन्तरता दिइरहने बताए । 

सुदूरपश्चिमः    सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो ।    कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइदैन । कोरोना भाइरसको सङ्क्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताउनुभयो ।   हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ ।“देशका अरु नाकामा यो रोगका सङ्क्रमित देखिएका छैनन्, सुदूरपश्चिमका नाकामा कोरोनाका बिरामी फेला परेका छन्”उहाँले भन्नुभयो । कोरोनालाई नागरिकले सामान्य रुपमा लिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनमा चासो नदिने गरेको पाइएको पनि छ ।    धनगढीका स्थानीयवासी लेखराज ओझाले भन्नुभयो “कुनै समयमा गाउँमा हैजा, झाडापखाला लाग्दा रोगी नजिक जानु नहुने र रोगबाट जोगिन स्वस्थ्य व्यक्ति गाउँनै छोडेर सुरक्षित भएर बस्नुपर्ने अवस्था थियो, नागरिकले अहिले कोरोनालाई पनि सामान्य रोगजस्तै लिन थालेको हुनसक्छ ।”    पछिल्लो हप्तामा सुदूरपश्चिमका सीमा नाकाहुँदै भित्रिने नागरिकमध्ये शङ्कास्पद छ सय २० को एन्टिजेन विधिबाट को नमुना जाँच गरिएको छ ।“सिकिस्त अवस्थाका कोरोना सङ्क्रमित फेला परेका छैनन्” अहेब साउदले भन्नुभयो“कोरोनाको  लक्षण देखिएकालाई घरमै छुट्टै आइसोलेशनमा बस्न सल्लाह दिएर पठाउने गरेका छौँ ।”     हेल्थ डेस्कमा कोरोनाको नमुना जाँच गर्ने कीट, लगायतका सामग्रीको अपर्याप्तता देखिएको छ । प्रदेशमा विगतमा कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि बनाइएका क्वारेन्टाइन,र होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा छन् । गौरीफन्टा, गड्डाचौकी, लगायतका सीमा नाका हुँदै भित्रिने नागरिकमा कोरोना सङ्क्रमण देखिने गरेको हो ।    गएको पुस अघिको आठ÷दश महिना शून्य रहेको कोरोना सङ्क्रमण गत पुस महिनादेखि पुनःदेखिन थालेको हो ।“हेल्थ डेस्कका कर्मचारीलाई गत साउन देखिको तलब परिश्रमिकसमेत खान पाएका छैनन्,”साउदले भन्नुभयो “तलब नपाउँदा कर्मचारीले पीडाबोध गरिरहेका छन्,हेल्थ डेस्कमा एन्टिजेन कीट, मास्क लगायतका सामग्री पनि पर्याप्त नहुँदा काम गर्ने मनोबल पनि घटेको छ ।”    सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले कोरोना सङ्क्रमण रोकथामका लागि निरन्तर निगरानी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“यो मौसममा भाइरलको समस्या बढ्ने भएकोले सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सचेतता अपनाउन जरुरी छ ”   

काठमाडौं:    सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् ।       उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले खोप लगाएका हुन् । एकतीस जिल्लाले अझै रिपोर्ट  बुझाएका छैनन् । “रिपोर्ट पठाएका ती जिल्लाले पनि कोहीले भर्खरै अभियान सञ्चालन गरेका छन्”, उनले भने, “हिमालका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन गरेका छन् ।” उनका अनुसार हिउँका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान सुरु भएको छैन । दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ देखि आगामी चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ । भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ । खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइँदै छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्र रहेका छन् । यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिने छ । शाखाका प्रमुख डा गौतमले खोप सुरक्षित र प्रभावकारी रहेको जनाउँदै यसले ८५ प्रतिशतलाई दादुरा–रुबेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताए । 

काठमाडौं:     सरकारले देशभरि दादुरा(रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा(रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको बताउनुभयो । खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ । उहाँका अनुसार भारतसँग सीमा जोडिएका दादुरा(रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका पनि खोप अभियान सहभागी हुने प्रवक्ता डा बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार जाजरकोट र पश्चिम रुकुममा भने गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले खोपका लागि सबै तयारी पूरा गरिएको जानकारी दिँदै सातै प्रदेशमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत सञ्चालन गरिएको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा खोप केन्द्र राखिएको छ । डा गौतमका अनुसार अभियानका लागि ६३ लाख ३० हजार मात्रा खोप नेपाल आइसकेको छ । ती खोपलाई प्रदेशमार्फत सबै खोप केन्द्रमा पठाइने उहाँले जानकारी निुभयो । उक्त खोप अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्म दादुरा(रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो । लक्षण दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।

कपिलवस्तु:   कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिए । पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्च्याउने, रुनेलगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको हो । विद्यार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले बताए । बुधबार मात्र १० जनाभन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पोखरेलले बताए । विद्यालयमा समस्या देखिएपछि मनोविश्षेलकहरूसँग परामर्श गरिएको नगरप्रमुख अजय थापाले बताए । केही बेर बेहोस हुने, कराउने गरेपछि आफैँ ठीक हुने गरेको बताइएको छ । केही समयपछि फेरि अरू विद्यार्थीलाई पनि यस्तो समस्या देखिएपछि विद्यालयको पठनपाठन बन्द भएको हो । केही समयअघि सरस्वती आधारभूत विद्यालयमा पनि यस्तै समस्या भएको थियो । छात्रामा देखिएको समस्या ‘मास हिस्टेरिया’ भएको चिकित्सकहरू बताउँछन् । छात्रामा देखिएको समस्या मास हिस्टेरिया भएकाले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरेमा समस्या आफैँ समाधान हुने मनोविश्षेलकहरूको दाबी छ ।

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा बिहीबार गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिएका हुन् । उनले भने, “वीर अस्पताल बाहिर रहेको फार्मेसीले म्याद गुर्जेका औषधि बेचेको भेट्यौँ । त्यस्तै औषधि महँगोमा बेचेको पाइयो । औषधिलाई राम्रोसँग स्टोर गर्नुपर्नेमा बाहिरै त्रिपालले छोपेर राखेको पाइएपछि यी फार्मेसी पसललाई बन्द गर्ने निर्णय गरी कानुनी कारबाहीका लागि अगाडि बढ्नेछौँ ।” मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए । उनले भने, “अस्पतालको स्टोरमा औषधि राख्ने तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लगाउने गरेको भेटिएको छ । यो झन् ठूलो समस्या देखिएको छ ।” मन्त्री बस्नेतले अस्पतालको पार्किङ क्षेत्रमा रहेको ठाउँमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्नेबारे अस्पतालको व्यवस्थापनसँग छलफल भइरहेको जानकारी दिए । उनले भने, “शल्यक्रियाका लागि आवश्यक औषधि र महँगा औषधि अस्पतालको फर्मेसीमै पाउने व्यवस्था गर्नका लागि पार्किङमा फार्मेसी निर्माण गर्न छलफल भइरहेको छ ।” औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निरीक्षणका क्रममा ‘फ्रिज’मा राख्नुपर्ने औषधिलाई बाहिर खुला राखिएको भेटिएको बताए । स्वास्थ्य विभागले नियमन गरिआएका औषधि प्रशस्त मात्रामा भेटिएको समेत महानिर्देशक ढकालले जानकारी दिए ।

गोरखा:     गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए । “पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ”, उनले भने, “स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।” गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको छ ।  आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलव्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको उनको भनाइ छ । कार्यक्रम सुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराउँदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए । “कार्यक्रमबाट गर्भवतीको सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्योपचारमा खर्च न्यूनीकरण हुनेछ”, उनले भने, “नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीका लागि कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ ।” गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन् । दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । कार्यक्रम अब निरन्तर चल्नेछ । बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ ।

सिरहा:     सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर)को भौतिक संरचना जीर्ण भएको छ ।    जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार वर्षायाममा पानी चुहिएर सुत्केरी र नवजात शिशुको आङमा पानीको थोपा खस्ने गर्छ । भुइँ हिलाम्मे भई स्वास्थ्यकर्मी दबदबे हिलोमा उभिएर प्रसूति गराउँछन् । उनले भनिन् “वैशाखमा टन्टलापुर घाम र उखरमाउलो गर्मी हुन्छ । जस्तापाता तातिएर उखुम हुन्छ । नजिकै सडक भएकाले सवारीसाधन आवतजावत हुँदा हिउँदमा निस्सासिँदो धुलो उठ्ने गर्दछ ।” स्वास्थ्यकर्मीले गर्भवती  र नवजात शिशुको ज्यान जोखिममा राखेर सुत्केरी गराउनु पर्ने  अवस्था छ । “सुत्केरी र नवजात शिशुलाई भित्र राख्नै सकिँदैन”, उनले भनिन्, “प्रसूति गृह वरिपरि वनमारा र घाँसपातको घारी छ । गर्मी र वर्षाको समयमा विषालु सर्प भित्रैसम्म आइपुग्छ । हामी स्वास्थ्यकर्मी लठ्ठी लिएर सर्प धपाउन चनाखो भएर बस्नुपर्छ ।” अनमी श्रेष्ठका अनुसार यस प्रसूतिगृह दुई–चार वर्ष पहिल्यैदेखि नै यस्तो अवस्था रहँदै आएको छ, यसको स्तरोन्नति गर्न गोलबजार  नगरप्रमुख श्यामकुमार श्रेष्ठलाई जानकारी गराइएको भएता पनि समाधान हुनसकेको छैन । विसं २०६३ देखि यस प्रसूति गृहमा कार्यरत सिनियर अनमी निरीक्षक सविता शाक्य पञ्जियारको पनि उस्तै गुनासो छ । वर्र्षौँदेखि बेहाल रहेको भवनबाट सेवा गर्न बाध्य भएको उनको भनाइ छ । “प्रसूति गृहको एउटा सानो वैकल्पिक टहरो पनि लोकमार्ग विस्तारका कारण भत्काइयो । यो सानो टहरोभित्र दुईवटा शय्या राखिएको थियो । यो टहरो भत्काइएका कारण शय्या झिकेर कौसीमा राख्नुपरेको छ”, उनले भनिन्, “वर्षामा बाछिटा र जाडोमा सिरेटो सहेर भए पनि सुत्केरी आमालाई यही शय्यामा सुताउनुपर्छ ।” गोलबजार स्वास्थ्यचौकीका प्रमुख सत्यनारायण यादवले जीर्ण प्रसूतिगृहको भौतिक संरचना सुधार तथा सुविधासम्पन्न ठाउँमा स्थानान्तरणको लागि पटकपटक पहल गरेता पनि केही प्रगति हुन नसकेको गुनासो गरे ।  “प्रसूति गृहको मुख्य टहरो पनि ज्यादै साँघुरो छ । कोठामा छिर्ने ढोका नै साँघुरो छ । नागबेली परेर बल्लतल्ल भित्र छिर्न सकिन्छ । सुत्केरी हुन आउने आमालाई शय्यासम्म लैजान कठिन हुन्छ । चालीस स्क्वायर फिटको कोठामा शिशुलाई न्यानो राख्ने हिटर, लेवर शय्या, सुत्केरी भएपछि सुताउने शय्या, अक्सिजन सिलिन्डर, सक्सन मेसिन र अन्य उपकरण राख्नुपरेको छ । दुईजना स्वाथ्यकर्मी र एकजना सुत्केरी व्यथाले च्यापेको आमालाई ओल्टोकोल्टो फर्किनै कठिन हुन्छ”, उनले भने, “नालाको पानी बगेर प्रसूति केन्द्रकै अगाडि जम्छ । कुनै निकास छैन । फोहर पानी टेकेर भित्र पस्नुपर्छ । साह्रै सास्ती छ । सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराएका छौँ, तर कुनै सुधार हुँदैन ।”  एकजना मात्र प्रसूति आमा हुँदा त जेनतेन सेवा दिइने तर यदाकदा दुई–तीनजना थपिँदा कहाँ राख्ने भन्ने समस्या हुने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । प्रसूति केन्द्र २४सैँ घण्टा खुला राख्नुपर्ने हो तर स्वास्थ्यकर्मीले टुसुक्क बस्ने ठाउँ पनि छैन । पाले सुत्ने खाटमा अहिले ‘अल्ट्रासाउण्ड’ गरिन्छ । स्वास्थ्यकर्मी रातको समयमा डेरामा बस्छन् । सेवाग्राही प्रसूति आमा आउँदा स्वास्थ्यकर्मी बोलाउन डेरासम्म पुग्नुपर्छ । प्रसूति गृहमा बत्ती गएका बेला बाल्ने वैकल्पिक साधन छैन । कहिलेकाहीँ टर्च बालेर सुत्केरी गराउनुपर्छ । नेपाली कांग्रेस गोलबजार नगरसभापति राजदेव साहसुत्केरी गराउने स्थानमा यस प्रकारको समस्या हुनु लज्जाको विषय भएको बताए। उनले भने, “प्रसूति सेवाको यो हालत छ, लज्जास्पदभन्दा पनि जनताको स्वास्थ्यसँग हदैसम्मको खेलवाड गरिएको छ । नगरपालिका गोलबजारको ध्यान जानुपर्ने हो ।” सभापति साहका अनुसार गोलबजारबाट प्रसूति सेवा लिन २० किलोमिटर पूर्व लहान जानुपर्ने बाध्यता छ । साठी हजारभन्दा माथि जनसङ्ख्या भएको गोलबजार नगरपालिकामा एकजना ‘एमबिबीएस’ चिकित्सक छैनन् । हालैस्वास्थ्य सेवा विभागले सो प्रसूति गृहलाई ‘अल्टा«साउण्ड मेसिन’ प्रदान गरेको थियो । त्यो पनि सञ्चालनमा नआई बिग्रिएको छ । सि अनमी निरीक्षक शाक्यले निन्, “मैले तालिम त लिएर आएँ, तर मेसिन त बिग्रेको आएछ । कसरी काम गर्ने रु नगरपालिकालाई जानकारी गराएको छु । अहिलेसम्म कुनै वास्ता गरिएको छैन ।” स्थानीय ७५ वर्षीय उद्धवबहादुर अधिकारीका अनुसार यो टहरो तत्कालीन सडक विभागले सुरक्षाकर्मी राख्न बनाएको थियो । सडक विभागले खाली गरेर वर्षौँदेखि रित्तो रहेको टहरोलाई सफा गरेर तत्कालीन अवस्थामा प्रसूति गृह बनाइएको बताइएको छ । तीस वर्ष बित्यो तर प्रसूति गृहको जीर्णोद्धारसमेत भएन । “२१औँ शताब्दीमा बाख्रा गोठजस्तो टहरामा प्रसूति सेवा सञ्चालन भइरहेको छ”, उनको भनाइ थियो ।     गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले भने उक्त प्रसूति गृहमा जग्गाको विवाद भएकाले मर्मतसम्भार गर्न नसकिएको जानकारी दिए । उनका अनुसार नगरपालिकाले प्रसूति गृहलाई अन्यन्त्र स्थानान्तरण गरिने प्रक्रिया सुरु गरेको छ ।  तर स्थानीयले भने नगरपालिकाले धेरै पहिलादेखि यस्तो आश्वासनमात्र दिएको र जनताको आँखामा छारो हाल्ने काम भएको टिप्पणी गरेका छन् ।  विसं २०५० मा स्थापना भएको यस प्रसूति गृह गोलबजार स्वास्थ्यचौकी मातहतमा छ । महिनामा करिब एक सय ५० गर्भवतीको स्वास्थ्य परीक्षण र २५ देखि ३० जनालाई प्रसूति सेवा प्रदान गरिएको दर्ता रजिष्ट्ररमा देखिन्छ । तत्कालीन समयमा यस प्रसूतिगृह स्थापना गर्न पहल गरेका ७४ वर्षीय  समाजसेवी रामजी यादवले  भग्नावशेष प्रसूतिगृहको बिजोग अवस्था देखेर आफूलाई चिन्ता लागेको बताए । उनले भने, “तीस वर्षअघि हामीले जस्तो स्थापना गरेका थियौँ, आज पनि त्यस्तै अवस्थामा रहेछ । कुनै सुधार भएको रहेनछ । प्रसूतिगृहको यो अवस्था देखेर मनमा असाध्यै पीडावोध हुन्छ ।”