तनहुँ:   जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।   तत्कालीन प्रधानमन्त्री श...

चितवन:     चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका सात सय ९४ घर परिवारको नि:शुल्क स्वास्थ्य बीमा गरेको छ । ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ती परिवारमा रहेका तीन हजार एक सय ७७ जनाको स्वास्थ्य बीमा गरिएको हो । पालिकाभित्र रहेका विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमका लागि पालिकाले ३० लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये अहिलेसम्म २८ लाख ४३ हजार तीन सय बराबरको बीमा भइसकेको छ । नगरप्रमुख विनोद रेग्मीका अनुसार विपन्न परिवारलाई पालिकाले बीमा गरिदिएको हो । उहाँले भन्नुभयो, “चेपाङ समुदायको प्रदेश सरकारले बीमा गरिरहेकाले सो समुदायबाहेक अन्य समुदायका विपन्न परिवारको बीमा नगरपालिकाले आफ्नै बजेटमार्फत गरेको हो ।” अहिले बीमा भएका परिवारको आगामी मंसिर १ गतेदेखि लागू हुनेछ । विपन्न परिवारले उपचारका लागि आर्थिक सहयोग माग्नु नपरोस् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रम गरिएको जनाउँदै उहाँले भन्नुभयो, “विपन्न परिवारका लागि पनि स्थानीय सरकार भएको अनुभूति हुने गरी काम गर्दै आएका छौँ ।” नगरपालिकाभित्र स्वास्थ्य उपचारका लागि कोही पनि बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो । स्वस्थ्य नगरपालिका निर्माणका लागि यो कार्यक्रम प्रभावकारी बन्ने उहाँको भनाइ छ । पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि यसअघि नै घरघर पुगेर नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ । पालिकाभित्र रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएकाको प्रत्येक दुई महिनामा घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो । 

चितवन:    खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निः शुल्क प्राप्त गर्ने भएका हुन् ।  नगरपालिकाले ‘उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार’ कार्यक्रममार्फत यस्तो सुविधाको उपलब्ध गराएको हो । नगर प्रमुख शशीकुमार खनियाले उप(प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन महत्त्वपूर्ण हुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सफलता र निरन्तरताका लागि कर्मचारीलगायत सरोकारवाला सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक हुने बताउँदै उहाँले आमाहरूको स्वास्थ्य र सुरक्षामा यो सेवा कोसेढुङ्गा साबित हुने बताउनुभयो । नगर(उपप्रमुख कविता उप्रेतीले गर्भवतीको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समेटेर कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ । नगरपालिका बजेटमा नै व्यवस्था गरेर कार्यक्रम अघि बढाएको हो ।

गलकोट:     बागलुङमा पछिल्लो समय डेङ्गुु सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । पछिल्लो एक महिनामा मात्रै ९० जनाभन्दा बढीको सङ्ख्यामा डेङ्गु पुष्टि भएको छ ।  साउनयताको तथ्याङ्कअनुसार एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण  भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । उहाँले जिल्लामा डेङ्गुु सङ्क्रमण तीव्ररुपमा फैलिएकाले सचेत हुन पनि आग्रह गर्नुभयो ।  “एक महिना अघिसम्म डेङ्गुु सङ्क्रमण निकै कम थियो, ४० जनालाई मात्रै सङ्क्रमण भएको थियो, पछिल्लो एक महिनामा मात्रै ९० जनालाई सङ्क्रमण भएर अहिले सङ्क्रमणको सङ्ख्या एक सय ३० पुगेको छ, सबैभन्दा बढी ढोरपाटन नगरपालिकामा सङ्क्रमण फैलिएको हो”, प्रमुख शर्माले भन्नुभयो, “डेङ्गुुको सङ्क्रमण तीव्र भइरहेकाले सबैजना लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ ।” बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै शङ्कास्पद बिरामीमा  परीक्षण गर्दा ९६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यस्तै धौलागिरि अस्पतलमा १५, गलकोट नगर अस्पतालमा १७ र बोङ्गादोभान स्वास्थ्य चौकीमा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दस पालिकामध्ये बरेङ गाउँपालिकाबाहेक अन्य नौ पालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।  उक्त कार्यालयको तथ्याङ्क अनुसार ढोरपाटन नगरपालिकामा ६७, बागलुङ नगरपालिकामा आठ, जैमिनी नगरपालिकामा दुई, गलकोट नगरपालिकामा १४, काठेखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा दस  निसीखोला गाउँपालिकामा १८, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।  डेङ्गु सङ्क्रमण फैलिरहेको समयमा धौलागिरि अस्पतालमा ज्वरोको बिरामी ह्वात्तै बढेको उक्त अस्पतालले जनाएको छ । जिल्लामा डेङ्गुुको लक्षण भएका बिरामीको समेत धौलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ ।  उक्त अस्पतालमा उच्च ज्वरोका बिरामीको सङ्ख्या ह्वातै बढेको र  ज्वरो आएका बिरामीको निःशुल्क डेङ्गु परीक्षण भइरहेको  अस्पतालले जनाएको छ ।  धौलागिरि अस्पतालमा डेङ्गु सङ्क्रमण भई भर्ना भइरहेका केही बिरामीलाई थप उपचारका लागि पोखरासमेत पठाइएको छ भने सामान्य बिरामीलाई सोही अस्पतालमै उपचार गरिरहेको त्यहाँका मेडिकल सुपरीटेन्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिनुभयो । अहिले उक्त अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा आउने अधिकांश बिरामी ज्वरोको आउने गरेको पाइएको छ ।   अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिँगटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भए पनि सबैमा डेङ्गु सङ्क्रमण भने नदेखिएको अस्पतालको भनाइ छ । डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान ओझेलमा परेकामा  रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम थालिएको छ ।  

ढोरपाटन:   बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो ।  धौलागिरी अस्पतालमा सिटी स्क्यानको सेवा सञ्चालनले बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतबासीलाई सहज हुनेछ । गण्डकी प्रदेश सरकारले यसका लागि गत आर्थिक वर्ष २०७९(८० मा रु १० करोड बजेट विनियोजन गरको थियो ।  धौलागिरी अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप(प्रादेशिक अस्पताल बनाउने योजना अन्तर्गत उपकरण थप गरेको हो । पछिल्लो समय धौलागिरी अस्पतालले दैनिक औसतमा पाँच सय बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सिटी स्क्यान सेवाको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि प्रदेश सरकार तयार रहेको विश्वास व्यक्त गरे ।  प्रदेश सरकारले गोरखा र बागलुङको अस्पताललाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ ।

काठमाडौं:    आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।  सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ । आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनुभयो । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिन्छ । यस्तै,  सकभर मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनु भएको छ ।

गलकोट:     बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान ९ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् । कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नहुँदा स्वास्थ्य बीमा बोर्ड बागलुङको कार्यालय अस्तव्यस्त भएको बोर्ड स्थापनादेखि काम गर्दै आउनुभएका दर्ता अधिकारी नारायण शर्माले बताउनुभयो । स्वास्थ्य बीमा गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको जनाउँदै उहाँले तीन महिना अघि एकसाथ तीन कर्मचारीले बोर्ड छोड्दा समस्या भएको बताउनुभयो । “स्वास्थ्य बीमाको जानकारी लिन, हराएको कार्ड बनाउन सेवाग्राही आउँछन् । कार्यालयमा जिल्लाभर छरिएका दर्ता सहयोगीले फोन गरिरहन्छन् । एक जनाले सेवाग्राहीसँग कुरा गर्ने कि फोनमा दर्ता सहयोगीसँग कुरा गर्ने रु”, शर्माले भन्नुभयो । उहाँका अनुसार बीमामा आबद्ध नागरिकको फर्म दर्ता सहयोगीबाट सङ्कलन गर्न समस्या भइरहेको छ । शर्माले बीमा गर्ने सङ्ख्यामा वृद्धि भएकाले एक्लै फर्म अपडेट गर्न समस्या भइरहेको बताउनुभयो । “सुरुमा दुई जना कर्मचारी थियौं, बीमा कर्ता थोरै हुनुहुन्थ्यो, अहिले बीमा गर्नेको सङ्ख्या वृद्धि भइरहेको छ, दर्ता सहयोगीबाट आएको फर्म सङ्कलन गर्न नै नभ्याउने अवस्था आइसक्यो, अपडेटका लागि रातिको समय व्यवस्थापन गरेको छु”, उहाँले भन्नुभयो, “यो हाम्रो मात्रै समस्या हैन गण्डकी प्रदेशभर यस्तै छ भन्ने सुनेको छु, बीमा गर्नेको सङ्ख्या बढ्ने कर्मचारी घट्ने भएको छ । तीन महिना अघि तीन जना स्वास्थ्यका कर्मचारी हुनुहुन्थ्यो, मन्त्रालयको पत्र आएपछि जानुभयो ।” जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या ४३ प्रतिशत पुगिसकेको दर्ता अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हाल एकलाख १० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । आगामी असार मसान्तसम्म ५० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । जिल्लामा ७८ जना दर्ता सहयोगीमार्फत घर–घरमै पुगेर स्वास्थ्य बीमा गराउने कार्य भइरहेको जनाउँदै शर्माले बोर्डको कार्यालयमा कर्मचारी अभाव हुँदा समस्या भइरहेकाले तत्कालै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । पाँच जनाको दरबन्दी रहेको बागलुङमा एक जनाको भरका कार्यालय सञ्चालन हुँदा बिरामी पर्दा कार्यालयनै बन्द गर्नुपर्ने अवस्था आउने गरेको उहाँको भनाइ थियो । बागलुङमा मात्रै नभएर गण्डकी प्रदेशमै कर्मचारी अभाव रहेकाले समस्या भएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक महेशप्रसाद ठाकुरले बताउनुभयो । उहाँका अनुसार कर्मचारीका लागि बोर्डले परीक्षा लिइसकेको र नतिजा प्रकाशनको तयारीमा रहेकाले केही समयमै थप कर्मचारी आउने तयारी भइरहेको छ । “कर्मचारीको समस्या बागलुङमा मात्रै होइन गण्डकी प्रदेशका छ जिल्लामा छ । बागलुङमा धेरै बिमित भएकाले समस्या बढी नै भइसक्यो”, ठाकुरले भन्नुभयो, “जिल्लामा एक लाख १० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । एक जना कर्मचारीको भरमा कार्यालय सञ्चालन धइरहेको छ । हामीले कर्मचारी ल्याउन केन्द्रमा पहल गरिरहेका छौंँ ।” अन्य जिल्लामा भन्दा बागलुङमा बीमा कार्यक्रम पहिला सुरु भएको र जनसङ्ख्या पनि धेरै भएकाले बढी समस्या भएको उहाँले बताउनुभयो । बागलुङसहित स्याङ्जा, पर्वत, मनाङ, मुस्ताङ र गोरखामा समेत एक जना कर्मचारीकै भरमा कार्यालय सञ्चालन भइरहेको संयोजक ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार बोर्डमा अध्यक्ष नहुँदा कर्मचारीको नतिजा प्रकाशनमा ढिलाइ भइरहेको छ । नतिजा प्रकाशनसँगै यो समस्या समाधान हुने बताउँदै बागलुङमा कम्तीमा तीन जना कर्मचारी आवश्यकपर्ने ठाकुरले बताउनुभयो । उहाँका अनुसार हाल गण्डकी प्रदेशमा नौ लाख २८ हजार चार सय ५९ नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । 

काठमाडौं:    त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले उक्त अवधिमा नौ हजार एक सय ८९ बिरामीको आँखाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । अस्पतालले गत आर्थिक वर्ष २०७९र८० पूर्ण तथा आंशिकरुपमा आठ सय ४० जना गरिब बिरामीले उपचारमा छुट दिएको थियो । अस्पतालले उपत्यका बाहिर सञ्चालन गरेको १३ सर्जिकल आँखा शिविरमा पाँच हजार दुई सय १२ जनाको आँखा परीक्षण गरिनुका साथै नौ सय ५० जनाको शल्यक्रिया गरेको सो अवसरमा जानकारी दिइयो । अस्पतालले ३७ स्क्रिनिङ शिविरबाट नौ हजार चार सय ५२ को आँखा परीक्षण गरी ७५ जनाको शल्यक्रिया गरेको जनाएको छ । सरकारी तथा सामुदायिक विद्यालयका १४ हजार नौ सय ९४ जना विद्यार्थीको आँखा परीक्षण गरी एक हजार १० थान चश्मा वितरण गरेको तथा शिविरबाट अस्पतालमा उपचारका लागि सिफारिस भई आएका तीन सय ८४ जनाको शल्यक्रिया गरिएको जानकारी दिइयो । अस्पतालले स्वर्ण महोत्सवका अवसरमा ८० वर्ष नाघेका बिरामी तथा अपाङ्गता भएकालाई लाग्ने शल्यक्रिया शुल्कमा ५० प्रतिशत छुट दिने तथा गरिब बिरामीलाई निःशुल्क एवम् सहुलियतमा उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले  सरकार, विभिन्न सङ्घसंस्थासँगको सहकार्य र समन्वयमा सेवा विस्तार गर्ने, आँखा स्वास्थ्य शिक्षाबारे सर्वसाधारणलाई अवगत गराउने, सेवाको गुणस्तर बढाउने तथा सेवालाई विशिष्टिकृत गर्ने,  नवीन उपकरण सेवा वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । पछिल्लो २५ वर्षयता पहिलो पटक यसवर्ष अस्पतालले खर्च कटाएर करिब रु पाँच करोड बचत गर्न सफल भएको छ । सञ्चालक समितिका कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गर्नुभएको वार्षिक आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९र८० मा चार करोड ९७ लाख ५९ हजार पाँच सय ६६ बचत गर्न अस्पताल सफल भएको उल्लेख छ । अस्पतालका संस्थापक वरिष्ठ आँखा चिकित्सक डा। रामप्रसाद पोख्रेल र अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालबाट प्रवाह सेवा गुणस्तरीय र प्रगतिउन्मुख रहेको बताउनुभयो । अस्पतालका आजीवन सदस्य मोति शान्ति शाक्यले अस्पतालको मोतिया बिन्दुको उपचार सेवामा सहयोग पुर्‍याउने हेतुले रु एक लाख नगदको चेक अध्यक्ष पोख्रेललाई हस्तान्तरण गर्नुभयो । अस्पतालले आगामी विश्व दृष्टि दिवसका अवसर पारी आगामी दिनमा काम गर्ने ठाउँमा आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने सोच अघि सारेको छ । उपाध्यक्ष दमनबहादुर घले र कार्यकारी निर्देशक धर्मराज गोसाईले अस्पतालले आँखा उपचारका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै अस्पतालले विस्तार गर्ने सामुदायिक आँखा सेवा कार्यक्रमलाई सहयोग पुर्‍याउन आह्वान गर्नुभयो ।

काठमाडौं:     हेटौँडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । सङ्घले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ । सङ्घले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । दोषी सबैलाई पक्राउ नगरिएको सङ्घले आरोप लगाएको छ । दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने सङ्घका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले बताउनुभयो । देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्।