धादिङ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । “दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्”, उहाँले भन्नुभयो । बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले जानकारी दिनुभयो । सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेका अस्पतालका आकस्मिक कक्ष प्रमुख डा दिनेश रेग्मीले बताउनुभयो । ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन् । अस्पतालमा शय्या अपुग हुने अवस्था आएको रेग्मी बताउनुहुन्छ ।
बाँके । बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्लाभित्रका छन् । बुधबारमात्रै डेङ्गुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना छन् । अन्य तीन जना बुटवल र काठमाडौँ आवतजावत गर्दा सङ्क्रमित भएका पाइएको छ । यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले डेङ्गु र भाइरल ज्वरोका बिरामी बढ्दै गएको उल्लेख गर्दै दमका रोगीसमेत बढेको बताउनुभयो । “अस्पताल भरिभराउ छ, बिरामी धेरै छन्”, उहाँले भन्नुभयो । डा रिसालले लामखुट्टेबाट बच्नु नै डेङ्गुको सङ्क्रमणबाट जोगिनु भएको उल्लेख गर्दै त्यसबाट बच्न लामखुट्टेको बासस्थान नै नष्ट गर्न आवश्यक भएको बताउनुभयो । त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ ।
बागलुङ : बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुग्नुभयो । उहाँको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाउनुभयो । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्कनुभयो । आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माउनुभयो । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुग्नुभयो । उहाँले विकको बाटोमै सामान्य उपचार गर्नुभयो र ढोरपाटन ल्याउनुभयो । अनमी बुढामगर भन्नुहुन्छ, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।” विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताउनुभयो । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउनुहुन्छ । अहिले उहाँको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउनुहुन्छ । ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उहाँको भनाइ छ । “धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, उहाँले भन्नुभयो, “विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो ।” ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताउनुभयो । “कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो”, उहाँले भन्नुभयो । समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताउनुभयो ।
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाइएको छ । आज दुई सय छ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ४४ जना पुगेको छ । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम र मुगु रहेका छन् । होम आइसोलेसनमा दुई हजार तीन सय १२, संस्थागत आइसोलेसनमा एक सय ३२, सघन उपचार कक्ष (आइसियु)मा ३८ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरस विरुद्धको खोप दुई लाख ६९ हजार छ सय ४५ जनाले लगाएका छन् ।
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेँङ्गुको सङ्क्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेँङ्गु देखिएको उपमहानगरपालिकाले जनाएको छ । स्थानीयवासीमा डेँङ्गु देखिएपछि अन्य व्यक्तिमा सर्न नदिनका लागि डेँङ्गु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमसहितको सहभागितामा वडा नं ४ को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । वडा नं ४ का अध्यक्ष गोपाल पुनले डेँङ्गुबाट नगरवासीलाई जोगाउन सचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।
काठमाडौं । पछिल्लो २४ घन्टामा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ३७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार तीन सय ८१ नमूनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ९२ र दुई हजार एक सय ५६ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक सय आठ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज ३३९ जना सङ्क्रमणमुक्त भएका छन् । आज दुई लाख ९७ हजार ११५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घन्टामा सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । ६६ जिल्लामा फैलियो डेङ्गु मन्त्रालयका अनुसार ६६ जिल्लामा डेङ्गु फैलिएको छ । गत साउनदेखि यही भदौ १५ गतेसम्म दुई हजार १७९ जनामा डेङ्गु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
झापा । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ । दुई वर्षअघि अस्पातालले ‘पेट सिटी स्क्यान’ उपकरण ल्याए पनि सरकारले रेडियोधर्मीसम्बन्धी ऐन, नियम नबनाएका कारणले सञ्चालन आउन सकेको थिएन । अस्पतालका मेडिकल निर्देशक डा वीरेन्द्र यादवले भन्नुभयो, “पेट सिटी स्क्यान’ को सेवा सुरु भएपछि क्यान्सर उपचारका लागि भारतलगायत छिमेकी मुलुक जानुपर्ने अवस्थामा लगभग अन्त्य हुने छ ।” क्यान्सर रोगी केही नेपाली बिरामीहरु उपचारका लागि भारतलगायत अन्य मुलुकमा जाने जनाइएको छ । उहाँले भन्नुभयो, “अब हामीले नै पेट सिटी स्क्यानको सेवा न्यूनतम शुल्कमा दिएपछि बाहिर मुलुकमा उपचारका लागि जानु पदैन ।” उहाँका अनुसार ‘पेट सिटी स्क्यान’ उपकरणले क्यान्सर रोगको अवस्थाबारे जानकारी गराउने र यसले गर्दा क्यान्सरको उपचार गर्न सजिलो हुन्छ । “क्यान्सर कति फैलिएको छ । उपचारपछि निको कति भयो, भएन । सबै कुराको थाहा उपकरणबाट पत्ता लाग्ने गर्दछ”, भारतको मेदान्त अस्पतालमा सेवा गरिसक्नु भएका डा यादवले भन्नुभयो, “उपकरण सञ्चालन भएपछि अब जस्तोसुकै क्यान्सरको उपचार हामी गर्न सक्दछौँ ।” क्यान्सर अस्पतालमध्ये पहिलोपटक पूर्वाञ्चल क्यान्सर अस्पतालाले ‘पेट सिटी स्क्यान’ सेवाको सुरुआत गरेको हो । ४५ हजारमा ‘पेट सिटी स्क्यान’ अस्पतालले अन्य ठाउँभन्दा सस्तोमा ‘पेट सिटी स्क्यान’ सेवा दिने भएको अस्पतालका निर्देशक डा यादवले बताउनुभयो । ‘पेट सिटी स्क्यान’ सेवा अस्पतालले ६० हजारमा उपलब्ध गराए पनि अहिले दुई महिनासम्म बिरामीलाई रु ४५ हजारमै उपलब्ध गराउने उहाँको भनाइ छ । भारतमा ‘पेट सिटी स्क्यान’ सेवाका लागि जाँदा करिब रु पाँच लाखसम्म खर्च हुने गरेको छ । ‘पेट सिटी स्क्यान’ सेवाका लागि ‘रेडियो आइसोटोप’ समेत प्रयोग गरिन्छ । उक्त रेडियो आइसोटोप ल्याएको चार घण्टाभित्र बिरामीको उपचारका लागि प्रयोग गरिसक्नुपर्ने हुन्छ । भारतको कोलकाताबाट खरिद गरेको दुई घण्टामा झापाको बिर्तामोडमा उक्त ‘रेडियो आइसोटोप’ आइपुग्ने र बिरामीलाई समेत सजिलै उपचार गर्न सकिने अस्पतालका निर्देशक डा यादवले जानकारी दिनुभयो । कोलकाताबाट सिलगुडीको वागडुग्रा विमानस्थलमा एक घण्टा र त्यहाँबाट आधा घण्टामा बिर्तामोडमा ‘रेडियो आइसोटोप’ ल्याइने गरिन्छ । ‘पेट सिटी स्क्यान’ उपकरण सञ्चालन गर्ने अस्पतालका न्युुक्लियर मेडिसिन विभागका प्रमुख डा रितेश उपाध्यायले क्यान्सरको उपचारका गर्दा पटक–पटक ‘पेट सिटी स्क्यान’ गर्नुपर्ने जानकारी दिनुभयो । उहाँका अनुसार क्यान्सरको उपचार थालनी गर्नुपूर्व, उपचारको बीचमा र उपचारपछि निको भयो कि भएन भनेर ‘पेट सिटी स्क्यान’ उपकरणबाट परीक्षण गर्ने गरिन्छ । “क्यान्सर उपचारपछि निको भयो कि भएन । उपचारलाई परिवर्तन गर्नुपर्ने हो वा होइनसमेत ‘पेट सिटी स्क्यान’बाट थाहा हुन्छ”, डा उपाध्यायले भन्नुभयो, “‘पेट सिटी स्क्यान’ अन्य रोगको पनि उपचारका लागि पनि प्रयोग गरिन्छ ।” उहाँले क्यान्सरको उपचारका लागि ‘पेट सिटी स्क्यान’ अनिवार्य रहेको भन्दै शरीरको पूरै भागको स्क्यान गरी क्यान्सरको अवस्था पत्ता लाग्ने बताउनुभयो । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले दैनिक १०–१२ जनाको ‘पेट सिटी स्क्यान’ सेवा दिनसक्ने बताउनुभयो । उहाँले आजदेखि ‘पेट सिटी स्क्यान’ सेवा सुरु गरे पनि आइतबारदेखि नियमितरूपमा सुरु गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार २५ क्यान्सर बिरामीको ‘पेट सिटी स्क्यान’ गर्न तयारी गरिएको छ । अस्पतालमा दैनिक एक सय २५ जना क्यान्सरका बिरामी आउने गरेका छन् । अस्पतालम काठमाडौँ लगायत देशका अन्य क्षेत्रबाट बिरामी आउने गरेका छन् ।
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय १५ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.५ प्रतिशत छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ५८ पुगेको छ । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला र मुगु छन् । यस्तै होम आइसोलेसनमा तीन हजार चार, संस्थागत आइसोलेसनमा एक सय ५४, सघन उपचार कक्ष (आइसियु)मा ४६ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । आज कसैले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् ।
काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा सङ्क्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढी रहेको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिवनगर, माडीलगायतका अस्पतालमा डेङ्गु रोगको परीक्षण गरिँदै आएको छ । उहाँले भन्नुभयो, “यो वर्ष डेङ्गुको सङ्क्रमण फैलिने जोखिम उच्च छ ।” भदौ, असोज र कात्तिक डेङ्गुका लागि उच्च जोखिमका महिना रहेको उहाँले बताउनुभयो । डेङ्गु ज्वरो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ । डेङ्गुको सङ्क्रमण देखिए एक्कासि ज्वरो आउने, ज्वरो पाँच/सात दिनसम्म रहने, आँखाका गेडी तथा टाउको दुख्ने, शरीर कटकट दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखापर्ने उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालीदास अधिकारीले अहिले दिनहुँजसो डेङ्गुका बिरामी अस्पताल आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलाको भन्दा अहिले डेङ्गुका बिरामीको सङ्ख्या बढ्दो छ ।” डा. अधिकारीका अनुसार अहिले डेङ्गुका बिरामीको वृद्धिदर पाँचदेखि सात प्रतिशत रहेको छ । डेङ्गु रोगको सङ्क्रमणबाट बच्नका लागि पूरा बाहुला भएको कपडा लगाउने, झुलभित्र सुत्ने, घर वरिपरि सरसफाइ गर्नुपर्ने उहाँले बताउनुभयो । घर वरिपरि भएका खाल्डा पुर्ने र पानी जम्ने ठाउँ भए त्यहाँ हप्तामा एक पटक मट्टितेल छर्कने गर्नुपर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । गत आर्थिक वर्ष जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।