काठमाडौं: जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् । यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुइँमा लडेका थिए । उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।
टोकियो: जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् । आबेको स्वस्थ्य अवस्था चिन्ताजनक रहेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीले गोली हान्ने व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको छ । आबे चुनावको दौडानमा थिए । स्थानीय नारा सहरमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । ६७ वर्षीय आबे लिबरल डेमोक्रेटिक पार्टीमा आवद्ध छन् ।
काठमाण्डौः प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस्ता भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
जेनेभा, विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् । “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ,” डब्लुएचओका अधिकारीको भनाई छ । मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् । यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ । डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् । -रासस
टिमोर: पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएसले जनाएको छ । यद्यपी क्षतिको तत्काल विस्तृत विवरण भने आएको छैन । यस भूकम्पले हिन्द महासागर क्षेत्रमा सुनामी उत्पन्न गर्न सक्ने सुनामी सल्लाहकार समूहले जानकारी दिएका छन् । पूर्वी टिमोर र इन्डोनेसियाबीचमा विभाजित टिमोर टापुको पूर्वी सिराबाट ५१.४ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । पूर्वी टिमोरको राजधानी डिलीमा एएफपी समाचार समितिका एक पत्रकारले भूकम्पको धक्का महसूस गरेको, तर मानिसहरू सामान्य रूपमा आफ्नो गतिविधिमा गएका बताएका छन् । सन् २००४ मा सुमात्राको तटीय क्षेत्रमा गएको ९.१ म्याग्नीच्युडको भूकम्पले इण्डोनेसियाका एक लाख ७० हजार नागरिकलगायत दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो । तेह्र लाख जनसङ्ख्या भएको पूर्वी टिमोर दक्षिणपूर्व एशियाको सबैभन्दा कान्छो देश हो । यस देशले हालै मात्र इन्डोनेसियाबाट स्वतन्त्र भएको आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ । अधिकांश ग्रामीण क्षेत्र रहेको यस देशको अर्थतन्त्र कोभिड–१९ को महामारीले नराम्ररी प्रभावित भएको छ । विश्व बैंकले ४२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको बताएको छ । एजेन्सि
चीनको राजधानी बेइजिङमा पनि कोरोना सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि विद्यालयहरू बन्द गरिएका छन् । महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो । सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए । विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने सर्त राखिएको छ । विद्यालय अब पुनः कहिले संचालन गर्ने भन्ने बारेमा महामारीको सङ्क्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले जनाएका छन् ।-
एजेन्सी: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले युक्रेनको भ्रमण गरिरहेका बेला रुसले युक्रेनी शहरहरुमा मिसाइल आक्रमण गरेको छ । युक्रेनी राजधानी किभबाट एक साताअघि नै पछि हटेको रुसी सेनाले पुनः राजधानी किभ सहितका शहरमा बमबारी गरेको हो । युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग पत्रकार सम्मेलन गरेको झण्डै एक घन्टापछि बमबारी शुरु भएको हो । रुसले युक्रेन माथि एकैपटक पाँचवटा मिसाइल आक्रमण गरेको जनाइएको छ । रुसको पछिल्लो आक्रमणले विश्वव्यापी संस्थाहरु प्रतिको रुसको दृष्टिकोष स्पष्ट भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ छ । यसैबीच अमेरिकाले युद्धग्रस्त युक्रेनको सहयोगका लागि ३ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ ।-
एजेन्सीः म्यानमारको जुन्ता अदालतले आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ । पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको थियो । दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले फैसला र सजाय सुनाएको हो । सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो । सैन्य शासनको अधिनमा रहेको म्यान्मारको विशेष अदाललत गोप्य सुनुवाइपछि नेत्री सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता सुकीलाई सैन्य हिरासतमा राखिएको छ । सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ । उहाँले सबै आरोपहरु अस्वीकार गर्नुभएको छ भने मानवअधिकारकर्मीहरुले पनि अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँदै आएका छन् । उहाँलाई पाँच वर्षको थप जेल सजाय तोकिएपछि जेल बस्नुपर्ने कुल समय ११ वर्ष पुगेको जनाइएको छ । गत डिसेम्बरमा उहाँलाई कोभिडसम्बन्धी स्वास्थ्यका नियम तोडेको र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।
एजेन्सीः इलोन मस्कले समाजिक संजाल ट्वीटर ४४ अर्ब डलरमा किन्ने भएका छन् । अपेक्षा गरिएभन्दा बढी रकममा ट्वीटर किन्न इलोन मस्क सहमत भएको रोयटर्सले जनाएको छ । ट्वीटरको सञ्चालक समितिले इलोन मस्कको प्रस्तावलाई अनुमोदन गरेको समाचार माध्यमहरुले उल्लेख गरेको छ । ट्वीटरमा व्यापक सम्भावना रहेको र त्यो सम्भावनालाई उजागर गर्न कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न आफू तत्पर रहेको इलोन मस्कले बताएका छन् । फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २ सय ७३.६ अर्ब डलर रहेको छ । उनी विद्युतीय सवारी साधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेस एक्सको पनि प्रमुख हुन् ।

