फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले सोमबार प्रसारित एक अन्तरवार्तामा उहाँसँग ग्लक अर्ध–स्चालित पेस्तोल रहेको खुलासा गर्नुभएको छ ।   ‘निश्चय नै’ उहाँले यसलाई सुटिङ रेन्जमा चलाएको बताउनुभयो ।   अमेरिकी उपराष्ट्रपतिको हतियार रोजाइबारे अटकलबाजी चलिरहँदा उहाँले हालै टेलिभिजन स्टार ओप्रा विन्फ्रेलाई आफूसँग बन्दुक रहेको र आफ्नो घरमा कोही चोर पसेमा गोली हान्ने बताउनुभएको थियो । “मसँग एउटा ग्लक धेरै समयदेखि छ”, प्राइमटाइम सिबिएस सो ६० मिनेटमा अन्तरवार्ता दिने क्रममा कस्तो किसिमको बन्दुक छ भनेर सोधिएको प्रश्नमा पूर्वअभियोजक एवं क्यालिफोर्नियाकी पूर्वमहानायाधिवक्ता ह्यारिसले भन्नुभयो, “मेरो पृष्ठभूमि कानून प्रवर्तनमा छ र त्यसैले त्यहाँ तपाईँको जवाफ छ ।”   अन्तरवार्ताकार बिल ह्विटाकरले त्यसपछि उहाँलाई कहिल्यै ग्लक चलाउनुभएको छ भनेर सोध्नुभयो । उहाँले हाँस्दै जवाफ दिनुभयो, “निश्चय नै मैले सुटिङ रेन्जमा चलाएको छु ।”   अस्ट्रियाली निर्माता ग्लकले अमेरिकाको सबैभन्दा बढी बिक्री हुने ह्यान्डगनहरूमध्ये एक बनाउँछ । प्रहरीले व्यापक रूपमा प्रयोग गर्ने ग्लकले आफ्नो उपस्थितिका कारण चलचित्र र हिप–हप संस्कृतिमा लोकप्रियता पाएको छ ।   ह्यारिसको डेमोक्रेटिक पार्टीले नियमित रूपमा सशस्त्र अपराध र ठूलो मात्रामा गोलीकाण्डले प्रभावित अमेरिकामा बन्दुकको पहुँच कटौती गर्ने कुरामा जोड दिइरहेका बेला अहिलेसम्म ह्यारिसले आफूसँग बन्दुक रहेको कुरा बिरलै उल्लेख गर्नुभएको थियो ।   यद्यपि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको कडा निर्वाचनमा ५९ वर्षीया डेमोक्रेट ह्यारिसले आफ्नो बन्दुकधारकको योग्यता देखाउन थाल्नुभएको छ ।   ह्यारिसले अमेरिकी संविधानको दोस्रो संशोधनको उल्लङ्घन गर्दै अमेरिकीहरूको बन्दुक जफत गर्न चाहनुभएको ट्रम्पले बारम्बार दाबी गर्दै आउनुभएको छ । गत महिना भएको उहाँहरूबीचको एउटा मात्र टेलिभिजन बहसमा पनि ट्रम्पले यो कुरा दोहोर्याउनुभएको थियो ।   आफू र आफ्नो उपराष्ट्रपति उम्मेदवार टिम वाल्ज दुवै बन्दुकधारक रहेको उल्लेख गर्दै ह्यारिसले उक्त आरोपलाई जोडदार रूपमा अस्वीकार गर्नुभयो ।   “म बन्दुक मालिक हूँ”, उहाँले सेप्टेम्बरमा विन्फ्रेसँग हाँस्दै भन्नुभयो, “यदि कोही मेरो घरमा प्रवेश गर्छ भने उसलाई गोली लाग्नेछ ।”   आप्रवासन र अर्थतन्त्र जस्ता संवेदनशील विषयहरूमा सावधानीपूर्वक कठिन प्रश्नहरूको सामना गर्नुहुने ह्यारिसको अन्तरवार्तामा ग्लक खुलासा सबैभन्दा आकर्षक विषय थियो ।

काठमाडौं:    राष्ट्रपति जो बाइडेनले शुक्रबार नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताउनुभएको छ ।  सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले यो टिप्पणी गर्नुभएको हो ।  ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा व्यापक घोटाला भएको आरोप लगाएपछि उहाँका समर्थकहरुले राजधानीमा तोडफोड गरेका थिए ।  “म विश्वस्त छु कि यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ । तर यो शान्तिपूर्ण हुन्छ वा हुँदैन मलाई थाहा छैन “, बाइडेनले चुनावको बारेमा छलफल गर्दा सञ्चारकर्मीलाई बताउनुभयो ।    “ट्रम्पले अन्तिम पटक चुनावको नतिजा मन नपराउँदा गरेका टिप्पणीहरु निकै खतरनाक थिए।“  रिपब्लिकनको पराजयपछि उहाँका सयौँ समर्थकहरुले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाभियोग लगाइएको थियो। 

नयाँदिल्ली:   पश्चिमी भारतको  पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा  हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।   अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६:४५ बजे दुर्घटना हुदाँ हेलिकप्टरमा आगो लागेको थियो ।   दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी  देवेन्द्र पोटफोडले पत्रकारहरू समक्ष बताउनु  भएको छ ।  उहाँले आफुहरु घटनास्थलमा पुग्दा, हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गर्नु भएको छ  ।   उहाँले दुर्घटनामा मृत्यु वरण गरेका तीनैजनालाई निकाली उनीहरूलाई प्रहरीलाई हस्तान्तरण गरेको बताउनु भएको छ ।   हेलिकप्टर विपक्षी राष्ट्रवादी काङग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ ।   दुर्घटनाको आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन यद्देपी स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेकोले दुर्घटना भएको रिर्पोट गरेका छन् ।  

काठमाडौं:   इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अवीव र यस क्षेत्र वरपरका “तीनवटा सैन्य आधार“लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको इरानी मिडियाले पुष्टि गरेको छ ।  इजरायली सेनाले इरानले आफ्नो क्षेत्रमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये अधिकांशलाई रोकिएको बताएको छ ।  सन् २०२३ को जुनमा इरानले एक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइलको अनावरण गरेको थियो, जुन ध्वनिको गतिभन्दा १५ गुणा हाइपरसोनिक गतिमा यात्रा गर्न सक्षम छ ।  तत्कालीन राष्ट्रपति इब्राहिम रायसीले उक्त हतियारले इरानको प्रतिरोधको शक्ति बढाउने बताउनुभएको थियो ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको क्षेप्यास्त्र आक्रमण “ठुलो गल्ती” भएको बताउनुभएको छ ।  रिभोलुसनरी गार्ड्सले मिसाइल हमलालाई जुलाईमा हमास नेता इस्माइल हनियाह, साथै हिजबुल्लाह नेता हसन नसरल्लाहको शुक्रबार गरिएको हत्याको बदला भएको बताएको छ ।

अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ ।   उद्धारकर्ताले शनिबार विनाशकारी आँधीबाट बेपत्ता भएकाहरुको खोजी प्रयास जारी राखेका छन् ।   चौथो श्रेणीको आँधीको रूपमा बिहीबार फ्लोरिडामा अवतरण गरेको हेलेन बिस्तारै निष्क्रिय हुँदै उत्तरतर्फ बढेको थियो ।   अलाबामा, फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना, साउथ क्यारोलिना र टेनेसी गरी छ वटा राज्यमा सङ्घीय आपतकालीन अवस्था घोषणा गरिएको छ र उद्धारका लागि सङ्घीय आपतकालीन व्यवस्थापन प्रशासन (फेमा) का ८०० भन्दा बढी कर्मचारीहरू तैनाथ गरिएको छ ।   हाल ‘उत्तर–उष्णकटिबन्धीय चक्रवात’ को रूपमा वर्गीकृत गरिएको आँधी ओहायो उपत्यका र मध्य एपलाचियनलाई आइतबारसम्म रहने अपेक्षा गरिएको नेशनल शुरिकेन सेन्टरले जनाएको छ ।   आँधीजन्य विपत्का कारण दक्षिण क्यारोलिनामा कम्तिमा २४, जर्जियामा १७, फ्लोरिडामा ११, उत्तरी क्यारोलिनामा १० र भर्जिनियामा एक जनाको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएको छ ।   मौसम पूर्वानुमानसम्बन्धी राष्ट्रिय निकायले ‘विगत दुई दिनदेखि आएको विनाशकारी बाढीपछि आज स्थितिमा सुधार हुने जानकारी गराएको छ ।   तर बिजुली कटौती लामो समयसम्म हुनसक्ने चेतावनी दिएको छ । आँधीको प्रभावले दक्षिणपूर्वी फ्लोरिडादेखि मिडवेस्ट इन्डियानासम्म १० राज्यमा २६ लाख मानिसहरू विद्युत्को अभावमा अध्यारोमा बसिरहेका छन् ।

लेबनानी सशस्त्र समूह हिजबुल्लाह उसको समग्र नेता हसनल नसरल्लाहको हत्या र अन्य विनाशकारी आघातबाट लडखडाइरहेको बेला हवाई आक्रमणमा हिजबुल्लाहका अर्का एक शीर्ष अधिकारीलाई मारेको इजरायली सेनाले आइतबार बताएको छ ।   इजरायली सेनाले हिजबुल्लाहको केन्द्रीय परिषद्का उपप्रमुख नबिल काउकलाई शनिबार मारिएको बताएको छ ।   हिजबुल्लाहका तर्फबाट यसबारे तत्काल कुनै टिप्पणी आएको छैन ।   साथै आक्रमण कहाँ भएको थियो भन्नेबारे पनि जानकारी भएको छैन ।   हालैका साताहरूमा इजरायली आक्रमणहरूमा दशकौँसम्म मृत्यु र पक्राउबाट बच्दै आएका हिजबुल्लाहका संस्थापक सदस्यहरूलगायत धेरै वरिष्ठ कमान्डरहरू मारिएका छन् । मारिनेमा नसरल्लाहका नजिकका व्यक्तिहरू पनि थिए ।   हिजबुल्लाहलाई उसका पेजर र वाकी–टाकीहरूमा गरिएको परिष्कृत आक्रमणको लक्ष्य बनाइएको थियो । उक्त आक्रमणका लागि व्यापक रूपमा इजरायलमाथि दोष लगाइएको थियो ।   लेबनानाको स्वास्थ्य मन्त्रालयका अनुसार लेबनानका ठूला क्षेत्रहरूमा गरिएको इजरायली हवाई आक्रमणबाट दुई साताभन्दा कम सयममा एक सय ५६ महिला र ८७ बालबालिकासहित एक हजार ३० जनाको ज्यान गएको छ । पछिल्ला आक्रमणका कारण लेबनानमा लाखौँ मानिस आफ्नो घरबाट भाग्न बाध्य भएका छन् ।   वातावरणमन्त्री नासिर यासिनले करिब दुई लाख ५० हजार मानिस आश्रयस्थलहरूमा रहेको सरकारले अनुमान गरेको बताउनुभयो । त्यसको तीनदेखि चार गुणा मानिस साथीहरू वा आफन्तहरूकहाँ बसिरहेका छन् वा सडकमा शिविर बनाएर बसेका छन् ।   हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट र मिसाइलहरू प्रहार गरेको छ तर अधिकांशलाई रोकिएको छ वा खुला क्षेत्रहरूमा खसेका छन् । यसबाट उत्तरी इजरायलमा केही हताहत र सामान्य क्षति भएको छ । काउक सन् १९८० को दशकदेखि नै हिजबुल्लाहका अनुभवी सदस्य थिए ।   उनले सन् २००६ मा इजरायलसँगको युद्धमा दक्षिणी लेबनानमा हिजबुल्लाहको सैन्य कमान्डरका रूपमा सेवा गरेका थिए । उनी प्राय स्थानीय सञ्चारमाध्यममा देखा पर्थे र राजनीति तथा सुरक्षा विकासमा टिप्पणी गर्थे ।   साथै वरिष्ठ लडाकूहरूको अन्त्येष्टिमा श्रद्धाञ्जलि दिन्थे । अमेरिकाले सन् २०२० मा उनीविरुद्ध प्रतिबन्ध घोषणा गरेको थियो ।   प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणले गाजामा युद्ध सुरु भएपछि हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट, मिसाइल र ड्रोनहरू प्रहार गर्न थालेको थियो ।   हिजबुल्लाह र हमास दुवै इजरायलविरुद्ध इरान समर्थित ‘प्रतिरोधको धुरी’ का हिस्सा मान्ने सहयोगी हुन् ।   इजरायलले हवाई आक्रमणहरूमार्फत जवाफ दिएको छ र द्वन्द्व लगातार युद्धको सङ्घारमा पुग्दा क्षेत्रव्यापी द्वन्द्वको आशङ्का बढेको छ ।   इजरायलले उत्तरमा रहेका समुदायहरूबाट करिब एक वर्षअघि खाली गरिएका आफ्ना करिब ६० हजार नागरिकलाई फिर्ता ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।   हिजबुल्लाहले भने गाजामा युद्धविराम भएको अवस्थामा मात्र आफ्नो रकेट प्रहार रोक्ने बताएको छ । अमेरिका, कतार र इजिप्टको नेतृत्वमा इजरायल र हमासबीच महिनौँको अप्रत्यक्ष वार्ताका बाबजुद अझै पनि युद्धविराम सम्भव भएको छैन ।

काठमाडौं:    सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्नुहुने आधिकारिक मतगणनाले देखाएको छ ।       सतसठ्ठी वर्षीय रेलप्रेमी इशिबाले मुलुकको पहिलो महिला नेता बन्ने दौडमा रहनुभएकी कट्टर राष्ट्रवादी सनाए ताकाइचीलाई एक सय ९४ विरुद्ध दुई सय १५ मत ल्याएर पराजित गर्नुभयो ।       टोक्योमा लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० को मुख्यालयमा आफ्नो विजय घोषणा भएपछि इशिबाले मुस्कुराउँदै आफ्नो चस्मा फुकालेर आँसुले भरिएका आँखा पुछ्नुभयो र आफ्ना सहयोगीहरूले बधाई दिँदा बारम्बार शिर झुकाउनुभयो ।       “म जनतामा विश्वास गर्न, साहस र इमान्दारीका साथ सत्य बोल्न र यस मुलुकलाई पुनः एकपटक सबैजना मुस्कानसहित बस्न सक्ने सुरक्षित स्थान बनाउन पूरा कोसिस गर्नेछु”, आफ्नो संक्षिप्त सम्बोधनमा उहाँले भन्नुभयो ।      इशिबा पहिले पनि शीर्ष पदको नजिक पुग्नुभएको थियो । सन् २०१२ मा उहाँ राष्ट्रवादी शिन्जो अबेसँग पराजित हुनुभएको थियो । अबे जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने नेता हुनुहुन्थ्यो र पछि उहाँको हत्या गरिएको थियो ।       जापानमा एलडिपीले दशकौँदेखि करिब निरन्तर शासन गरेको छ र बहुमत कायम राखेको छ । यसको अर्थ इशिबालाई मङ्गलबारसम्म संसद्ले प्रधानमन्त्री चुन्नेछ ।       सन् १९७० को दशकमा पप आइडलहरूप्रति झुकाव राख्ने सैन्य मोडल निर्माता इशिबाले कृषि सुधारजस्ता कठिन मुद्दाहरू सम्हाल्ने आफ्नो अनुभवले आफूलाई यो पदका लागि योग्य बनाएको बताउनुभएको छ । 

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।   झडपका घटनामा १५० भन्दा बढी घाइते भएका छन् ।   पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा इस्लामको सुन्नी र शिया सम्प्रदायसँग सम्बन्धित जनजातिबीच रक्तपातपूर्ण मुठभेड हुनेगरेको छ ।   यहाँ वर्षौंदेखिको जातीय लडार्इंका कारण सयौँले ज्यान गुमाएका छन् ।   जुलाईमा भएको झडपमा ३५ जनाको मृत्यु भएको थियो र जिरगा (आदिवासी सङ्गठन) ले युद्धविरामको आह्वान गरेपछि मात्र समाप्त भएको थियो।   कुर्रममा तैनाथ एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई बताएअनुसार सुरक्षा बल र स्थानीयले सहमतिका लागि गरेको प्रयासका बावजुद जिल्लाका १० क्षेत्रमा सशस्त्र भिडन्त जारी छ ।   उहाँले भन्नुभयो, “भूमि विवादको रूपमा सुरु भएको घटना पूर्ण साम्प्रदायिक झडपमा परिणत भएको छ जसमा स्वचालित र अर्ध–स्वचालित हतियारका साथै मोर्टारको प्रयोग पनि भएको छ।   उहाँका अनुसार ३७ जनाको मृत्यु भएको छ भने १५३ जना घाइते भएका छन् ।   प्रान्तीय राजधानी पेशावरमा तैनाथ सुरक्षा अधिकारीले झडपका क्रममा २८ घरमा क्षति पुगेको बताए । पाकिस्तानमा आदिवासी र पारिवारिक कलहका घटनामा हरेक बर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।   तथापि, खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रमा जातीय द्वन्द्व विशेष गरी लामो र हिंस्रक हुने गर्छन् ।   यहाँ समुदायहरूले परम्परागत आदिवासीका स्थानीय नियम र कानुनलाई पालना गर्छन्। सुन्नी मुस्लिम बहुल देश पाकिस्तानमा शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको छ ।

काठमाडौं:    जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको कूल जनसङ्ख्याको २९।३ प्रतिशत वृद्धवृद्धा रहेका छन् । विश्वका २०० देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ । इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसङ्ख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन् । दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत वृद्धवृद्धाको जनसङ्ख्या रहेको छ । जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ साथै यसको लागि भुक्तानी गर्न श्रम शक्ति घट्दै जान्छ। जापानको सरकारी तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको छ । आइतबारको तथ्याङ्कअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन् । उनीहरूले कुल श्रमशक्तिको १३।५ प्रतिशत प्रतिनिधित्व गर्छन् वा हरेक सातमा एक जना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन् । जापान सरकारले आफ्नो जनसङ्ख्याको ह्रास र वृद्धवृद्धाको जनसङ्ख्यालाई सञ्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भएपनि यसले सार्थकता पाउन सकेको छैन ।