काठमाडौं:  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छोडेको घोषणा गर्दै नयाँ पार्टीको घोषणा समेत गरेका छन्...

धनगढी:   कैलाली निर्वाचन क्षेत्र नम्बर १बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनम चौधरीले १८ हजार ८ मत मात्र पाए । यस्तै नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए । २०७४ सालमा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीले भूमिगत अवस्थामै ३४ हजार बढी मतले यो क्षेत्रबाट जितेका थिए । कारागारमै रहेका बेला चौधरीले केही महिना अघि मात्र श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी खोलेका थिए । ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि चौधरीको पार्टीले क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको थियो । कैलाली प्रदेशसभा (क) मा उन्मुक्ति पार्टीकै कैलाश चौधरी र प्रदेशसभा (ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका हुन् । प्रदेशसभा (१) मा १५ हजार १०१ मतसहित कैलाश चौधरी निर्वाचित भएका छन् ।  उनका प्रतिस्पर्धी माओवादी केन्द्रका दीर्घराज विनाडी  १० हजार ३७७ मत ल्‍याए । यस्तै प्रदेशसभा (२) मा ११ हजार ३१७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्रेसका डा।रणबहादुर रावलले ८ हजार ५३ मत पाए भने नेकपा एमालेका द्धारिका न्यौपानेले ५ हजार ३२० मत मात्र ल्‍याए ।

 काठमाडौं:   झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो । २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई हराएका थिए । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा चाहिँ सिटौलाले लिङ्देनलाई हराएका थिए । लिङ्देनले २०३६ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । तत्कालीन समयमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भई राजनीति सुरु गरेका थिए । ०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गठन गरेर त्यसको संस्थापक अध्यक्ष बने । उनको राप्रपाको राजनीति भने ०५१ सालको महाधिवेशन प्रतिनिधिबाट सुरु भएको थियो । पञ्चायत कालमै उनी गोलधाप गाउँपालिकामा वडाध्यक्ष बनेका थिए । २०६१ देखि ०६३ सम्म झापाको जिल्ला विकास समिति सभापति बनेका थिए उनले कमल थापाले राप्रपा विभाजन गरेर राप्रपा नेपाल गठन गर्दा थापालाई साथ दिएका थिए । उनी ०७१ सालमा तत्कालीन राप्रपा नेपालको महामन्त्री बने । ०७८ को मंसिरमा राप्रपा अध्यक्षका लागि भएको निर्वाचनमा कमल थापालाई पराजित गरेर अध्यक्ष चुनिए । लिङ्देनले एक हजार ८४४ मत ल्याई अध्यक्षमा निर्वाचित हुँदा थापाले एक हजार ६१७ प्राप्त गरेका थिए । राप्रपामा नेतृत्व रुपान्तरणको नारा लिएर उनले अध्यक्ष पद जितेका थिए । झापामा आफ्नो चुनाव क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाएका लिङ्देनले शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्ने मुद्धा उठाइरहेका हुन्छन् । झापामा दर्जनौं पुल र सडक निर्माण गरेको उनी दाबी गर्छन् । जंगली हात्ती नियन्त्रणमा ‘लिङ्देन मोडल’ भनी उनले प्रचार गर्दै आइरहेका छन् । उनले सौर्य उर्जाबाट हात्तीलाई करेन्ट लगाएर भगाउने उपाय निकालेका थिए ।

दमौलीः   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ ।  उहाँले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ(२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पौडेल २०७४ को निर्वाचनमा तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत तनहुँ–१ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्को यात्रा तय गर्नुभएको हो । यसका लागि पौडेलले नेकपा ९एमाले०का एकबहादुर रानालाई पाँच हजार तीन सय ७५ मतान्तरले पराजित गर्नुभयो ।  कुल ६६ हजार एक सय ५८ मत खसेकोमा चार हजार मत बदर भएको छ । पौडेलले २५ हजार तीन सय १८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गर्नुभएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार आठ सय ७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गर्नुभएको छ ।  जिल्लाको अधुरा रहेका विकास योजनालाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै आउनुभएका पौडेलले कार्यकारी पदमा रहेर काम गर्ने इच्छा रहेको बताउनुभएको छ । देशमा सुशासन र विकासका लागि कार्यकारी पदमा बस्ने चाहना भएको बताउँदै पौडेललाई तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उक्त बाटो खुलेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताउनुभयो । विसं २००१ को असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाउनुभएको थियो । पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएको थियो । २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी हुनुभएको थियो ।  पौडेल २०४८ सालमा तनहुँ–१ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ ।  उहाँले सभामुखको जिम्मेवारी पनि निभाउनुभएको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि हुनुहुन्थ्यो । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको छ ।  जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसले दुवै प्रतिनिधिसभामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले दुई प्रदेशसभा, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले एक÷एक प्रदेशसभामा विजयी हासिल गरेका छन् ।  नेपाली कांग्रेसले तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ र २ मा विजयी भएको छ । साथै,  निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १५ हजार तीन सय ६७ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ५५ मत प्राप्त गर्नुभएको छ । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान विजयी हुनुभएको छ । चुमानले १३ हजार दुई सय ७१ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा ९एमाले० का पूर्णबहादुर गुरुङले दश हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको छ ।  निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित हुनुभएको छ । महतले १५ हजार छ सय ६५ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गर्नुभयो । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली काङ्ग्रेसका जीतप्रकाश आले विजयी हुनुभएको छ । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गर्नुभयो । तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी विजयी हुनुभएको छ । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा ९एमाले० का किरण गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गर्नुभयो ।

पोखराः नेपाली कांग्रेसका ‘वागी’ महादेव गुरुङले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की २ बाट १ हजार ३४० मत प्राप्त गरेका छन् ।    समानुपातिकको बन्द सूचीमा परेपनि अन्तिममा नाम काटिएपछि गुरुङले स्वतन्त्र उम्मेदवारी थिए । गुरुङले प्राप्त गरेको मतानुसार उनी पाँचौ स्थानमा छन् ।    गुरुङले स्वतन्त्र उम्मेदवारी दिएपछि नाम फिर्ता लिन कांग्रेस र गठबन्धनका नेताहरुले फिर्ता लिन गरेको आग्रह उनले अस्वीकार गरेका थिए ।    त्यसपश्चात्, उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिसकेको छ । 

मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेकी गिता नाथले जम्मा ४ मत प्राप्त गरेकी छिन् ।    प्राप्त मतानुसार नाथ उम्मेदवार तालिकाको पुछारमा रहेकी छिन् । कूल १४ उम्मेदवारध्ये नाथले दुई अंकमा मत प्राप्त गर्न सकिन् ।    स्वतन्त्र उम्मेदवारी दिएकी ३५ वर्षीया नाथको चुनाव चिन्ह ‘खरायो’ रहेको थियो ।    नाथभन्दा माथिल्लो क्रममा जमुना शर्मा रहेकी छिन् । शर्माले १२ मत प्राप्त गरिन् ।   

पोखराः  कास्की क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका उम्मेदवार खगराज अधिकारीले मतान्तरको अग्रता कायमै राखेका छन् ।  उम्मेदवार अधिकारीले सत्ता गठबन्धनका उम्मेदवार दीपक कोइरालालाई १ हजार ४ सय ६ मतले पछि पारेका छन् ।  उनले ६ हजार ३ सय २२ मत पाउँदा उनका निकटम प्रतिद्धन्दी सत्ता गठबन्धन तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालाले ४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । अहिले मतगणना भइरहेको छ ।   

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट  प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी शिरिष गुरुङले नयाँ अनुभव लिने अवसर मिलेको धारणा व्यक्त गरेकी छिन् ।  कास्की २ बाट राजनीति पार्टीसँगै स्वतन्त्र उम्मेदवारी दिएकी गुरुङले बिहिबार फेसबुकमा स्टाटस लेख्दै स्वतन्त्र उम्मेदवारीबाट निर्वाचनमा होमिदा नयाँ अनुभव र शिक्षा लिने अवसर पाएको बताएकी छिन् । ‘यो निर्वाचनमा प्रतिस्पर्धा हुँदैगर्दा मैले नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरे, उनले लेखेकी छिन्, ‘यस क्षेत्रबाट प्रतिनिधि सभातर्फ महिला नेतृ विद्या भट्टराई विजयी हुनुभएको छ । नेतृत्वमा महिला उम्मेदवार विजयी हुँदा गर्वावानवित भएको छु । महिलाको समस्या र उत्पीडनको बारेमा सदनमा विशेष आवाज उठाउनु हुन्छ भन्ने आशा गरेको छु ।’  निर्वाचनको अभियानका दौरान अहोरात्र स्वतन्त्र रुपमा खट्नुहने समस्त साथीहरु र आम मतदाताहरुलाई धन्यवादसहित आभार प्रकट गरेकी छिन् । सो क्षेत्रबाट विद्या भट्टराई निर्वाचित भएकी छिन् भने गुरुङ सातौ स्थानमा सिमित भइन् ।   

पोखरा:  गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अन्तिम मतपरिणाम देशका विभिन्न स्थानमा धामाधम घोषणा भइरहेको छ । यसैबीच कास्कीको क्षेत्र नम्बर १ (ख) र ३ (क) को मतगणना जारी छ । यद्यपी क्षेत्र नम्बर २ को र १(क) तथा ३(ख) को सार्वजनिक भइसकेको छ ।    कास्की २ (क) मा सोही नेकपा एमालेका भीमबहादुर कार्की र २ (ख) मा नेपाली कांग्रेसका विन्दु थापा दोस्रो पटक निर्वाचित भएका छन् भने प्रतिनिधि सभा तर्फ कास्की २ बाट नेकपा एमालेकी विद्या भट्टराई यसपटक पनि निर्वाचित भएकी छिन् ।   स्वर्गीय रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा राजनीतिमा कमब्याक गरेकी भट्टराई दोस्रो पटक चुनावी मैदानमा उभिएकै कारण यस क्षेत्र विशेष चाँसोको क्षेत्र बनेको थियो ।   उनले निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका  माधव प्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गर्दै पतिको विरासतलाई मात्रै जोगाइनन् आफ्नै इतिहास् कोर्न सफल रहिन् ।  विद्याले दोस्रोपटक जीत हाँसिल गर्नु उनका स्वर्गीय पति मात्रै कारण होइन ।   उनको योग्यता, लोकप्रियता, क्षमता, इमान्दारिता, व्यवहारिक घोषणापत्र र गत कार्यकालको कार्यसम्पादन हो ।  भट्टराईले उपनिर्वाचानबाट आफूलाई जनप्रतिनिधिका रुपमा स्थापित गराई पुनः दोस्रो पटक चुनाव जित्नुले साँच्चिकै जनताको मन रिझाउन अब्बल रहेको पुष्टि गर्छ  ।    यस पटकको चुनावमा पाँच दलीय गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवाराई पराजित गर्दै दोस्रो पटक सांसद बन्ने उनको लक्ष्य पुरा भएको छ । अब जनतमाझ व्यक्त गरेका प्रतिवद्धतालाई उनले पूर्ण रुपमा कार्यान्वयन गर्नैपर्ने देखिन्छ । अन्यथा उनको सांसदमा ह्याट्रिक हान्ने रहर तुहिन सक्छ ।  त्यसैले उनले काममार्फत जनतालाई फकाउन सक्नैपर्छ ।   विद्याको कमब्याक   उदीयमान महिला नेतृको रुपमा देखिएकी भट्टराई विद्यार्थीकालदेखि नै वाम राजनीतिमा सक्रिय थिइन् ।  उनी पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हालेकी थिइन् । शालिन व्यवहार, मेहनती स्वभाव, अध्ययनमा रुचि, नरम बोली, अति मिलनसार र कसैसँग पनि वैरभाव नगर्ने चरित्रले विद्यार्थी कालमा सबैमाझ वाहवाही थिइन् ।   यतिमात्र नभएर त्यहीसमयदेखि उनको भाषणकला पनि उत्तिकै राम्रो थियो । यही स्वभाव र क्षमताकै कारण नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय नेतृत्व पङ्तिमा पुग्न सफल भइन् ।    सोही समयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उनको भूमिका बद्लियो । त्यही समयको अन्तरालमा अर्का बहुचर्चित नेता स्वर्गीय रवीन्द्र अधिकारीसँग उनको दाम्पत्य जीवन गाँसियो ।   विवाह पश्चात् उनले सफल गृहिणीको रुपमा र वैचारिक परामर्शसहित रवीन्द्रको पूर्णकालीन राजनीतिलाई सघाइन् ।  र सोही समयमै त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गरि रत्नराज्य क्याम्पसमा शिक्षाको ज्याति फैलाइन् ।    अध्ययन, अध्यापन र अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउँदै जादाँ समय र परिस्थितिले बाटो फेर्याे र भूमिका बद्लियो र राजनीतिमा फेरि कमब्याक भइन् । त्यसपछि उनका स्वर्गीय पति रवीन्द्रको राजनीतिक उत्तराधिकार उनीमाथि सर्यो । नेकपा एमालेले रवीन्द्रको अप्रत्यासित र असामयिक निधनले सिर्जना गरेको रिक्तताकाबीचमा उनलाई उपनिर्वाचनमा उतार्ने निर्णय गर्याे ।   त्यसपछि शोकलाई शक्तिमा बदलेर २०७६ सालमा उनी कास्की २ बाट उपनिर्वाचन जितेर पहिलो पटक संसदमा प्रवेश गरिन् । उनले स्वर्गीय रवीन्द्रको विरासत मात्र जोगाइनन् आफ्नो बौद्धिक र रचनात्मक क्षमता प्रदर्शन गर्दै अहिलेको निर्वाचनमा विजयी हुदैछुट्टै छबी बनाएकी छिन् ।   निर्वाचित भएपछि भट्टराईले दोस्रो पटक मतदाताले दिएको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्ने बताइन् । उनले घोषणा पत्रमा उल्लेख गरेका जनमुखी कार्यक्रमलाई कार्यान्वयन गर्ने बताइन् । उनले संसदमा आवजविहिनको आवाजलाई बलियो रुपमा प्रस्तुत गर्ने, युवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने जनएकी छिन् ।     

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले विद्या भट्टराईलाई बधाई ज्ञापन गरेका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका बरालले सूनगाभा न्युजसँग धारणा राख्दै मतपरिमाणको समिक्षा गरेर मात्र आफ्नो विस्तृत धारणा प्रस्तुत गर्ने बताए । ‘मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष रुपमा मतदान गर्नुहुने सबै मतदातामा हार्दिक आभार, उनले भने, ‘मत सोचेजस्तो मेरो पक्षमा आएन, किन आएन भनेर मैले समिक्षा गर्न बाँकी छ । समिक्षा गरेर पुनः आफ्नो धारणा राख्नेछु ।’ विजयी उम्मेदवार विद्या भट्टराईलाई  शुभकामना व्यक्त गर्दै बरालले जनताको जनअपेक्षा अनुसार काम गर्न आग्रह गरे । कास्की २ बाट उम्मेदवार बनेका बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए ।  विजयी भएका भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गरिन भने राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका थिए ।