काठमाडौं:  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छोडेको घोषणा गर्दै नयाँ पार्टीको घोषणा समेत गरेका छन्...

पोखरा: अवसर आएर पनि सफलता आफ्नो पक्षमा पार्न नसक्ने ‘अभागी’ नेताको विम्ब बोकेका थिए एमाले नेता दामोदर बैरागीले । २०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुने चाहना थियो, तर मतदाताले वडा सदस्यमै हराइदिए । बैरागी २०७८ सालमा एमालेको कास्की जिल्ला अध्यक्ष बन्ने प्रतिस्पर्धामा थिए । तर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको प्रतिष्ठाको लडाइँको चेपुवामा परे । कास्की जिल्ला अध्यक्ष पृथ्वीसुब्बा समूहका मनबहादुर गुरुङले जिते । माघ २०७७ मा भूमिसम्बन्धी समस्या समाधान आयोगको कास्की जिल्ला अध्यक्षमा नियुक्त भएका बैरागी शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि ६ महिनामै फालिए । लामो समयदेखि राजनीतिमा सहभागी भएर पनि कुनै लाभको पदमा पुग्न नसकेका बैरागी यसपटक भने प्रतिनिधिसभा सदस्यमा चुनिए । यसअघि वडा सदस्यमै पराजित बैरागीलाई यसपटक कास्की क्षेत्र नम्बर ३ का मतदाताले संघीय सांसदमा जिताएका छन् । कर बढाएको भन्दै जनस्तरमा आलोचित गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालप्रति मतदाताको विकर्षण र सत्तारुढ गठबन्धनको असन्तुष्ट पक्षको मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पाउँदा एमालेका बैरागीले चुनाव जिते । बैरागीले २२ हजार ९८० मत ल्याउँदा बरालले १७ हजार ५३५ मत पाए । उनीहरुबीचको मतान्तर ५ हजार ४४५ रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत ल्याए । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटका क्रममा कास्की–३ मा कांग्रेसको दाबी थियो । तर माओवादी केन्द्रले पाएपछि पार्टीभित्र असन्तुष्टि थियो । अर्कोतर्फ शहीदपुत्री अनिता भूर्तेलले बरालकै विरुद्धमा बागी उम्मेदवारी दिएकी थिइन् । उनले उल्लेख्य मत प्राप्त गर्न नसके पनि रामजीका विपक्षमा माहौल बनाउन सहयोगी बन्यो । अर्थमन्त्री बराल चुनावी घरदैलोमै रहेका बेला निर्वाचन आयोगले गण्डकी सरकारलाई चुनावको मुखमा घटाइएको करको दर सच्याउन निर्देशन दियो । यसले पनि बराललाई थप दबाबमा पार्‍यो । फलस्वरुप जनस्तरमा बढेको असन्तुष्टिको मत राष्ट्रिय स्वतन्त्र पार्टीले पायो भने एमालेले आन्तरिक असन्तुष्टिको केही मतबाहेक ठूलो जनमत जोगाउन सफल भए । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमालेका जगत विश्वकर्माले चुनाव जितेका थिए । यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतको पाँच दलीय गठबन्धन हुँदा माओवादी केन्द्रक बरालले जित्न सक्ने आँकलन नेताहरुको थियो । तर २०७४ सालमा प्रदेशसभामा बराललाई नै निर्वाचित गराउन खटिएका बैरागीले यसपटक उनलाई नै पराजित गरे । मजदुर संगठनको कामबाट राजनीतिमा परिचय बनाएका ५६ वर्षीय बैरागी २०३६ को विद्यार्थी आन्दोलनपछि राजनीतिमा आकर्षित भएका थिए । अनेरास्ववियु (एकता पाँचौं) को सहप्रारम्भिक कमिटी सदस्य हुँदै अध्यक्ष भएका उनी २०३९ मा नेकपा (माले) मार्फत् कम्युनिस्ट पार्टीमा लागेका हुन् । उनले २०४० देखि २०४३ सालसम्म अखिल नेपाल किसान संघमा र करिब तीन वर्ष भूमिगत बनेर पार्टीको काम गरेका थिए । २०४५ देखि १० वर्ष नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मार्फत मजदुर आन्दोलनमा सक्रिय उनी २०५३ मा एमाले कास्कीको सदस्य बने । पार्टीका विभिन्न तह र पदमा रहेर काम गरेको बैरागी २०७० मा एमाले कास्कीको सचिव बनेका थिए । अहिले उनी एमालेको गण्डकी संगठन कमिटीको सचिवालय सदस्य छन् ।

काठमाडौं:   नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाउनुभएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी १ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।  कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गर्नुभयो ।  पिता ईश्वरीप्रसाद र माता हरिकला भण्डारीको कोखबाट गुल्मीको हुँदा ७ मा २०१८ मा जन्मनुभएका उहाँले स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका भण्डारी सङ्घकै महामन्त्री हुनुभएको थियो ।       त्रिभुवन विश्वविद्यालयबाट उहाँले चार वर्षअघि समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गर्नुभएको हो । राजनीतिक यात्राका क्रममा नेता भण्डारीले पाँच वर्षभन्दाबढी जेल जीवन बिताउनुभएको छ । यसअघि उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता भण्डारी पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार हुनुहुन्थ्यो ।

पोखराः   कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादीका बागी उम्मेदवार अनिता भुर्तेलले २ सय ३८ मत प्राप्त गरेकी छिन् ।  कास्की ३ नेकपा माओवादीको भागमा परेसँगै गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका रामजीप्रसाद बरालले टिकट पाएपछि भुर्तेलले बागी उम्मेदवारी दिएकी थिइन । भुर्तेलले पाएको मत परिणाम अनुसार उनी आठौं भईन् ।  भुर्तेलले स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपा माओवादीका अध्यक्ष पुष्ष्कमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका थिइन् ।  कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा बराललाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरेको छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार ५ सय ३५ मत प्राप्त गरे । 

गुल्मी:  गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । आधिकारीक रुपमा विजेता घोषणा हुन भने बाँकी रहेको छ । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए । ०६४ सालदेखि नै यी दुई नेता बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भण्डारी र ज्ञवाली बीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिखेर भण्डारी ज्ञवालीसँग पराजित भएका थिए । ०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि ज्ञवाली भण्डारीसँग नै पराजित भएका थिए । ०७४ सालको निर्वाचनमा भने भण्डारी ज्ञवालीसँग पराजित भएका थिए ।

महोत्तरी:   महोत्तरी २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्‍याए । यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।

काभ्रेः   काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ ।  बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार  शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी हुनुभएको हो । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्नुभएको छ भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ ।       यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । यस क्षेत्रमा एक लाख तीन हजार तीन सय ९१ ले मतदान गरेको थिए । बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा निर्वाचित भएर मन्त्रीसमेत हुनुभएको थियो ।       विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गर्नुभएका बाँस्कोटा पार्टीका विभिन्न भ्रातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्व समेत गर्नुभएको थियो । उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।

काठमाडौं:   कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका मनबहादुर गुरूङ विजयी भएका छन्। उनी २५ हजार ७०८ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार १७९ मत प्राप्त गरेका छन्।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई १० हजार ९४१ मतसहित तेस्रो भए। राप्रपाका सूर्यबहादुर गुरूङले पनि ३ हजार ८ मत प्राप्त गरे।

काठमाडौँ:   मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बाजुरा, दोलखा र स्याङ्जा क्षेत्र नं २ मा भएको विवादको छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । बाजुराको बुढीनन्दा ५ मा  मतदानको दिन झडप भएर मतदान  स्थगित भएको थियो भने दोलखा र स्याङ्जा २ मा मतदानमा बुथ कब्जा भएको आरोपसहित निर्वाचन आयोगमा निवेदन परेर मतगणना रोकिएको छ ।  आयोगमा सूचना अधिकारी अर्यालका अनुसार बाजुरामा स्थगन भएको मतदान –भोलि शनिवारलाई तोकिएको छ । मतगणना गणना रोकिएका दुई वटा क्षेत्रको भने अहिले अनुसन्धान भइरहेको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मतदान स्थगन भएको बाजुरामा भोलि शनिवार मतदानका लागि प्रक्रिया अघि बढेको छ  भने मतगणना हुन बाँकी दुई निर्वाचन क्षेत्रको अनुसन्धान भइरहेको छ । अनुसन्धानपश्चात् यसको कारबाही थालिनेछ ।’  दोलखा र स्याङ्जा क्षेत्र नं २ मा गठबन्धन पक्षले बुथ कब्जा गरी मत खसालेको भन्दै प्रतिस्पर्धी उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

काठमाडौं:  उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका छन् । उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई पराजित गरे । अन्तिम मत परिणाम अनुसार किरातीले १५ हजार ९२ मत ल्याउँदा बस्नतेले १३ हजार ८४९ मत प्राप्त गरे । राप्रपाका सुभाषचन्द्र खड्का २ हजार ६७९ मत पाएर तेस्रो स्थानमा रहे ।