काठमाडौं: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका बताउनुभएको छ । आजदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुठा प्रचारमा लागेका टिप्पणी गर्नुभयो । एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरु लागेका बताउँदै अध्यक्ष ओलीले एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न पार्टीका सबैलाई आग्रह गर्नुभयो । “हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति–व्यक्ति र घरघरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकाउमा लागेर होइन, एउटै नीतिमा अडिग भएर पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्नुपर्छ ।” पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर खुसी मनाउ गर्नेहरु पश्चाताप गरिरहेका टिप्पणी गर्नुभयो । बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ राजनीतिक मार्गचित्र, एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, वर्तमान गठनबन्धनपछिका छ महिना, बदलिँदो विश्व परिवेश र मुलुकको पराराष्ट्र नीति, स्थानीय तह उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माणलाई समेट्नुभएको छ । नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रियहितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथिति अन्त्यगरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय गरिएको र विकास–निर्माणले गति लिएको मुख्य जानकारी गराउनुभयो । बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी, गत वैशाखमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछिका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णयहरुबारे जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरुको सम्बोधन र समसामयिक विषयमा महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराउनुभएको थियो । बैठकले पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको ‘बहस नोट कमिटी’ तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरेको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको सो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ । कार्यदलमा कान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा तोसिमा कार्की, डा अच्युतम लामिछाने र मेघ आले रहेका छन् । उक्त कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् । यसैबीच रास्वपाको केन्द्रीय समितिको दोस्रो दिनको बैठक स्वयम्भूस्थित स्टार भेन्यूमा जारी छ । दोस्रो दिनको बैठकमा संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशाबारे छलफल गरिने कार्यवाहक प्रवक्ता झाले बताए । पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ । यस्तै पार्टीको केन्द्रीय समिति, सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल गरिनेछ । बैठकले पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन र आचारसंहितामासमेत छलफल हुने बताइएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी माघ २ गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ । आजदेखि सुरु भएको दुईदिने केन्द्रीय समितिको पहिलो बैठकले दुई महिनासम्म सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पहिलो दिनको बैठकले विभिन्न पाँच विषयमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माण चरणलाई निर्धारित समयमा पूरा गर्न राष्ट्रव्यापी सङ्गठन निर्माण अभियान सञ्चालन, केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभागका साथै पार्टीको सम्बन्धित निकायले सिफारिस गरेका विज्ञ सदस्य रहेको जिल्ला समितिअन्तर्गतका पार्टी संरचनालाई सहयोग तथा सहजीकरण गर्न जिल्लाअनुसार कार्यदल निर्माण गर्नेबारे बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो । यसरी गठन हुने कार्यदलले सदस्यता विस्तारका साथै पालिका तथा वडा समिति निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिलाई सहजीकरण गर्नेछ । बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टी गतिविधिबारे अवगत गराउनुभएको थियो । प्रदेश महामन्त्रीहरूको सहभागिता रहेको आजको बैठकमा केही समयअघि सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पेस गरी आवश्यक छलफल गरेको जनाइएको छ । यस्तै, बैठकले दिवङ्गत नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको र हालै अध्यादेशमार्फत ल्याइएको सहकारीसम्बन्धी विधेयकका सम्बन्धमा छलफल जारिरहेको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।
गण्डकी: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि’ विषयक प्रदेशस्तरीय गोष्ठी उद्घाटन गर्दै उहाँले चुनावमा जाँदा उपलब्धिपत्र लिएर जानका लागि परिणाम देखाउने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । महामन्त्री थापाले निराश हुनुपर्ने अवस्था नरहेको तर आगामी तीन वर्षमा जनताले अनुभूति गर्ने गरी क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “कांग्रेसको नेतृत्वमा देशमा धेरै उपलब्धि हासिल भएका छन् तर ती कामको प्रचार हुन सकेको छैन । अब थप उपलब्धिका लागि जुनजुन तहको सरकारको जिम्मेवारीमा छौँ, त्यहाँ परिणाम दिनेगरी काम गर्नुपर्छ । तिनै कामको विवरण लिएर आगामी चुनावमा जाने अवस्था बनाउन सबै जिम्मेवारीपूर्वक काममा लागौँ”, उहाँले भन्नुभयो । पार्टी संगठन र निर्वाचित जनप्रतिनिधिबीच संवाद आवश्यक भएको बताउँदै महामन्त्री थापाले त्यसले जनअपेक्षा सम्बोधन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । समस्या सुन्ने मात्र नभइ समाधान दिन सक्ने अवस्था सिर्जना गर्न संवादलाई बढावा दिनुपर्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले पार्टीको काँधमा धेरै जिम्मेवारी रहेकाले आगामी १५औँ महाधिवेशनबाट आउने नेतृत्व पार्टी संगठन सम्हाल्न सक्ने हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर महाधिवेशनको मात्र कुरा गर्न अवस्था बनाउन आग्रह गर्दै आगामी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । “चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको सदस्यता त्यपछि नवीकरण हुुनेवाला छैन । साथै क्रियाशील सदस्यता फाराम दिइएका जिल्लाले समयभित्र क्षेत्रलाई दिएन भने त्यो क्रियाशील फारम नम्बर फ्रिज गरिने छ । क्षेत्रले आफूभन्दा तलका समितिलाई नदिएमा सोहीअनुसार कारबाही हुनेछ”, महामन्त्री थापाले स्पष्ट पार्नुभयो । पार्टीको विधान संशोधनका लागि करिब पाँच महिना लाग्ने र विधान महाधिवेशन गरेर तत्काल पारित हुने र त्यसकै आधारमा महाधिवेशनको प्रक्रिया प्रारम्भ हुने उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टी नेतृत्वको सरकारले गरेका कामको प्रचार हुन नसकेको भन्दै पार्टीले अपनत्व लिनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जाललाई संगठन निर्माणसँगै राम्रा कामलाई जनातामाझ पुर्याउने गरी उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा रघुराज वाग्ले र डा हेमराज लामिछानेले जननिर्वाचित प्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, केन्द्रीय सदस्य मधु आचार्य, कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)लगायतले सम्बोधन गर्नुभएको थियो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ । शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल हुने कार्यक्रम छ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गर्नुभएको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं स्र्वाङ्गिण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ । रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ । कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार आइतबारकोे बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक एवं केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा गर्नेछ । रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोरप्रसाद अर्यालले हुनुहुन्छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनका मुख्य बुँदामा छलफल गरी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमाले केन्द्रीय कमिटी बैठक यही पुस २१ र २२ गते बस्दैछ । बैठकले प्रतिवेदनलाई प्रतिवेदनमा पछिल्लो राजनीतिक घटनाक्रमको विवेचना गरिएको उहाँले बताउनुभयो । “नयाँ सरकार बनेपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो, प्रतिवेदनमा किन हामीले एमाले र नेपाली कांग्रेसबीच नयाँ सहकार्य गर्नुप¥यो । त्यसको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसर के हुन त्यसको विश्लेषण गरेका छौँ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “प्रतिवेदनमा सरकार गठनको छ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले गरेका केही महत्वपूर्ण उपलब्धि र थुप्रै महत्वपूर्ण गर्नुपर्ने काम समावेश गरिएको छ ।” उपमहासचिव ज्ञवालीका अनुसार प्रतिवेदनमा सेवा, विकास निर्माण र अर्थतन्त्रलाई अझ लयमा ल्याउनका लागि सरकारले अझ ध्यान केन्द्रित गर्नुपर्ने कुरा उल्लेख छ । प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिका विभिन्न प्रवृत्तिको पनि विश्लेषण गरिएको उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले संविधानको संशोधन, संविधानको कार्यान्वयन, संसद्मा रहेका विधेयकलाई छिटो टुङ्ग्याउने, संविधानसँग बाधिएका कानुनलाई प्रतिस्थापन गरी नयाँ कानुन ल्याउने कुरालगायत नौ वटा क्षेत्र अलग अलग संयन्त्र बनाएर एमाले र कांग्रेसले काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले दुई राजनीतिक दलबीच विश्वासको वातावरण बनाउँदै राजनीतिक स्थिरिताको सन्देश दिन सकेको बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आसन्न केन्द्रीय समिति बैठकको ‘एजेण्डा’ माथि छलफल गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । यही पुस २१ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुनःनिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्ने उहाँले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्दै पार्टी रुपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित छ महिने जनजागरण अभियान सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
बाँके: जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । अवधि पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष यादवले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सबैले अपनत्व लिने गरी, सङ्घीयता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने किसिमले सबैको सहमति र समन्वयबाट मात्रै संशोधन गर्नुपर्ने आवश्यकता छ ।” पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र र सङ्घीयताको रूपमा प्राप्त भएका उपलब्धिलाई संथागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिँंदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न सबै एकजुट हुनु जरुरी छ ।” अवधि पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रिय सचिव एवं नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, स्थानीय नेतालगायत सञ्चरकर्मीको उपस्थिति थियो ।