नवलपरासी:   जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। ...

पाल्पा:  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताउनुभएको छ ।  नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा उहाँले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको वास्तविकता सुनाउँदै उहाँले  त्यो परिस्थितिको उपज भएको बताउनुभयो ।  देश सङ्कटोन्मुख हुँदा सधैँ नेपाली कांग्रेसले अग्रपङ्तिमा रहेर काम गरेकोे उल्लेख गर्दै उहाँले सङ्कटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको हो भन्नुभयो ।  जनताले परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कम बोल्ने र अधिक काम गर्ने समय भएको बताउनुभयो ।  फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट गर्नुभयो ।  राजावादीका गतिविधि बढे पनि राजतन्त्रका बारेमा कुरा गर्नुको कुनै औचित्य नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा उहाँको जोड थियो । 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४  गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।       सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।  बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । 

काठमाडौं: समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा शनिबार नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको १२ औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।            मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तरक्र्रिया गर्ने भएको छ । संसदवादी दल र संसद् बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने मोर्चाको निर्णय छ ।  “राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत्  राजनीतिक पहल लिने निर्णय गरेको छ”, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले  भन्नुभयो ।           बैठकले यही चैत १५ गतेका लागि तय भएको विरोधसभा र जनप्रदर्शनलाई सफल बनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।            बैठकमा देशको राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको जानकारी दिँदै उहाँले राजतन्त्र पक्षधरको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको बताउनुभयो । उहाँले प्रतिगामी कदमलाई असफल बनाउने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।            बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।

लुम्बिनी:  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउन खोज्नेलाई छुट नदिइने बताउनुभएको छ । उहाँले त्यस्ता विरुद्ध सडकबाट भण्डाफोर अभियान चलाउनेसमेत बताउनुभयो ।  आज बुटवलमा आयोजित मगर मुक्तिमोर्चाको छैटौँं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले विगतमा नागरिकसँगका सम्बन्ध केही कमजोर भएकाले त्यसलाई सुधारेर जाने प्रतिबद्धता जनाउनुभयो ।   उहाँले विगतका निर्वाचनमा एमाले र कांग्रेससँग गठबन्धन गर्दा गल्ती गरिएको स्वीकार गर्दै जनतासँग माफी माग्न मैदानमा आएको बताउनुभयो । “माओवादीले अब पहिले गरेका गल्ती कमजोरी दोहो¥याउँदैन”, उहाँले भन्नुभयो, “जनतासँग माफी मागेर सरकारका गलत कामको खबरदारी गरिरहने हो ।”   अध्यक्ष दाहालले अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी ‘एजेन्डा’मा जानु उचित रहेको उल्लेख गर्दै कसैले पनि प्रतिगमनबारे नसोच्न चेतावनी दिनुभयो । पार्टीले गरेको जनयुद्ध उत्पीडित समुदायको मोर्चाबाटै सफल भएको बताउँदै उहाँले ती समुदायप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।  नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले कार्यशैलीका कारण निरङ्कुशतन्त्रले प्रहार गर्न खोजेको बताउनुभयो । उहाँले हालका सबै परिवर्तनको आधार माओवादी जनयुद्ध रहेको जिकिर गर्नुभयो ।   कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले राजतन्त्रले टाउको उठाउन खोजेकाले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

पोखरा:  नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ ।  आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुले आइतबार अनुप न्यौपानेको नेतृत्वको टिम तयार गरेको हो ।  प्रत्यक्षतर्फ निर्वाचन हुने सचिवमा विनायक भुवाँजी, कोषाध्यक्षमा रोहितकुमार शाहलाई उम्मेद्वार बनाउने निर्णय भएको अनेरास्ववियु कास्की जिल्ला सचिव रवि क्षेत्रीले जानकारी दिए ।  प्रत्यक्ष सदस्यमा अमृत बस्नेत, रुपेश पौडेल, अंकित गैरे, अश्रान्त पहारी, सुशान्त गौतम, पूर्णिमा अछामी, त्रिदेव ढकाल(सुरज)उम्मेद्वार रहेका छन् । समानुपातिक उम्मेदवार भने टुंगो लाग्न बाँकी छ ।  अध्यक्षका उम्मेद्वार न्यौपानेले इन्जिनियरिङ अध्ययन क्षेत्रका समस्या आफूले प्रत्यक्ष देखेको र त्यसलाई समाधान गर्न स्ववियुमार्फत क्रियाशील रहने प्रतिबद्धता जनाए ।  विगतमा हुन नपाएको निर्वाचन योपटक पनि नभएमा विद्यार्थीका मुद्दा झनै ओझेलमा पर्ने उनले बताए । ‘कसले जित्छ–हार्छ भन्ने भन्दा पनि सबै विद्यार्थी संगठन मिलेर कसरी स्ववियु चुनाव गर्ने भन्ने हुनुपर्छ,’ उनले भने, ‘योपटक स्ववियु निर्वाचन हुन्छ ।’ इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका लागि २ हजार ४१ जना मतदाता छन् ।  उक्त क्याम्पसमा २०७३ सालमा निर्वाचन भएको र त्यसपछि हुन नसकेको अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सदस्य विकल्प सापकोटाले जानकारी दिए । त्यतिबेला अनेरास्ववियुका उम्मेदवार इन्द्र पौडेल सभापतिमा विजयी भएका थिए ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका देशभरका क्याम्पसमा स्ववियु निर्वाचनका लागि आगामी मंगलबार मनोनयन दर्ता हुँदैछ ।  यसअघि जनप्रिय बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आविष्कार केसीलाई अध्यक्षको उम्मेद्वार बनाउने सार्वजनिक गरिसकेको छ ।  अनेरास्ववियुले सोमबार साँझसम्म सबै क्याम्पसमा उम्मेद्वार टुंग्याउने अनेरास्ववियु कास्की सचिव रवि क्षेत्रीले जानकारी दिए ।  इन्जिनियरिङ, जनप्रियसहित त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका पोखराको पृथ्वीनारायण क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस आगामी ५ चैतमा स्ववियु निर्वाचनअन्तर्गत मतदानको कार्यतालिका छ ।  नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको विन्दुवासिनी संस्कृति विद्यापीठमा भने १० चैतमा निर्वाचन हुने कार्यतालिका छ । 

सुदूरपश्चिम:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताउनुभएको छ ।      आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पार्नुभयो ।       अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।”      कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुग्नुभएको छ ।

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले तत्कालका लागि ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गरिएको जनाएको छ ।      मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ अभियान तत्कालका लागि स्थगित गरिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।  “सदनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता बोध गरी, महँगी, जनजीविका, राष्ट्र राष्ट्रियता, महत्वपूर्ण कानुन निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई ख्याल गरेर तत्कालका लागि अभियान स्थगित गरिएको छ”, उहाँले भन्नुभयो,“आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केन्द्रित हुनुपर्ने र तराई मधेस क्षेत्रमा होली, रमजानलगायत सांस्कृतिक पर्वसमेत परेकाले अभियानलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।” प्रवक्ता सापकोटाले आगामी चैत महिनाको सुरुआतदेखि पुनःअभियान सञ्चालन गरिने बताउनुभयो ।  झापाबाट सुरु भएको अभियान आज रौटहत पुगेर स्थगन भएको हो । अभियान स्थगित भएसँगै माओवादी केन्द्रले आइतबार पदाधिकारी बैठक बोलाएको छ ।  अभियानअन्तर्गत आज रौतहत केन्द्रीत कार्यक्रम आयोजना गरिएको थियो । पार्टीले आइतबार पर्सा र सोमबार चितवनमा अभियानअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो ।

तनहुँ:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढिरहेको बताउनुभएको छ ।       पार्टीको भिमाद नगर समितिको आज आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले देशभर पार्टीको पक्षमा जनलहर बढेरहेकाले जनताको विश्वास कायम राख्नेगरी काम गर्न सबै नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।        तल्लो स्तरसम्म पुगेर पार्टीको गतिविधिलाई चलायमान बनाउन आग्रह गर्दै उहाँले सबै मिलेर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । जनताले पार्टीप्रति गरेको विश्वासलाई डगमगाउन नदिने उहाँको भनाइ छ ।       पार्टीका जिल्ला संयोजक विश्व बास्तोला र व्यास नगर समितिका सभापति चुडामणि दाहालले जिल्लाका सबै पालिकामा पार्टीको भेलालाई तीव्र पारिएको जानकारी दिनुभयो ।        भेलाले नगर समितिको सभापतिमा हरिप्रसाद लम्साललाई चयन गरेको छ । त्यस्तै, उपसभापतिमा उत्तम सुवेदी, सचिवमा अमृत थापा, सहसचिवमा कमलभक्त गैह्रे, कोषाध्यक्षमा विमला भण्डारी र सदस्यहरूमा सुकुमाया गोतामे, टीकाराम राना र रामु नेपाली चयन हुनुभएको छ । 

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन वर्षभित्र संविधान संशोधन प्रक्रिया पूरा हुने बताउनुभएको छ ।      सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधान संशोधन सरकारको महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो ।  “सरकार अहिले सुशासन प्रणालीलाई गतिशील बनाउन कटिबद्ध छ, संविधान संशोधनको काम तीन वर्षभित्र पूरा हुन्छ”, उहाँले भन्नुभयो ।      नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस मिलेर वर्तमान सरकार गठन हुँदा भएको सहमतिमा संविधान संशोधन पनि एउटा महत्वपूर्ण बुँदा रहेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनका चरणमा देखिएका समस्या पहिचान गर्ने काम भइरहेको समेत बताउनुभयो ।       नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले अहिले शासन प्रणालीलाई जनतामुखी कसरी बनाउने भन्नेतर्फ यो सरकार केन्द्रित रहेको बताउनुभयो । कोमामा रहेको मुलुकको अर्थतन्त्र सुधार गर्दै सुशासनमा जोड दिएको अहिलेको सरकारले संविधान संशोधन तीन वर्षभित्र गरेरै छाड्ने उल्लेख गर्नुभयो ।       “संविधान संशोधनको विषय पहिचानका लागि समिति बनाएका छौँ ।  समस्या पहिचान गरेर मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउछौँ”, मन्त्री गुरुङले भन्नुभयो, “संविधान संशोधन सबै दलको साझा सहमतिमा मात्रै हुन्छ ।”      त्यसअवसरमा पछिल्लो समय राजतन्त्रका सम्बन्धमा भइरहेका गतिविधिसम्बन्धी प्रतिक्रिया दिँदै मन्त्री गुरुङले आजका दिनमा राजतन्त्र रोज्नु भनेको सामन्ती व्यवस्थालाई रोज्नु रहेको बताउनुभयो । “लोकतन्त्र विरोधी राजतन्त्र कहिल्यै जनताको हितमा हुँदैन, आफ्नो दरबारको रक्षा गर्न नसक्ने राजतन्त्रले देश कसरी बचाउन सक्छ रु”, उहाँले भन्नुभयो । उहाँले राजतन्त्रात्मक प्रणालीमा विश्वास गर्नु लोकतन्त्र विरोधी रहेको समेत उल्लेख गर्नुभयो ।