सुनसरी: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको दोस्रो जिल्ला अधिवेशनको शनिबार यहाँ उद्घाटन गर्दै उहाँले नेपाली कांग्रसलाई स्थापनाकालदेखि यसको साङ्गठनिक सृदृढीकरणमा मुस्लिम समुदायले सघाएको बताउनुभयो । कार्यक्रम पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको दोहोर्याउँदै समाजका सबै पक्षका समस्या सम्बोधन गर्न संविधान संशोधनको विषयलाई आफ्नो पार्टीले अघि बढाएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमलअख्तर आजादलगायत उपस्थित हुनुहुन्थ्यो । यसैबीच, सङ्घको कोशी प्रदेश सभापतिमा इस्राइल मन्सुरी सर्वसम्मत चयन हुनुभएको छभने उपसभापतिमा मोहम्मद महताब आलम, सचिवमा मोहम्मद बसिर मियाँ चुनिनुभएको छ ।
तनहुँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँ कमिटीको सम्मेलन एवं खबरदारी सभामा आज उहाँले विसं २०८४ को निर्वाचनमा पार्टीलाई एक्लै प्रतिस्पर्धा गर्न सक्ने बनाउन सबैलाई पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो । उपमहासचिव पुनले हालै सम्पन्न उपनिर्वाचनले त्यसको पुष्टि गरिसकेको र एक्लै प्रतिस्पर्धा गर्दा पार्टी झनै लोकप्रिय रहेको देखिएको बताउनुभयो । आँबुखैरेनी गाउँपालिका माओवादी एक्लैले जितेको बताउँदै जनतासँग साथमा रह्यौँ भने पार्टीलाई विश्वास गर्ने वातावरण सिर्जना हुने उहाँको भनाए थियो । अब जितेको पालिकामा नमूनायोग्य काम गरेर जनताको विश्वास जित्ने गरी काममा लाग्न उपमहासचिव पुनले आग्रह गर्नुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ण निकालेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको बैठकपछि पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । “फ्रेमवर्क फर बिआरआई कर्पोरेशन ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा भएका सम्झौता नेपालको दीर्घकालिन विकासका लागि महत्त्वपूर्ण उपलब्धि हो,” नेता ज्ञवालीले भन्नुभयो, “सत्तामा रहेका दुई पार्टीबीचमा जुन खालको समझदारी भएको छ । त्यसले बिआरआईलाई निष्कर्षमा पु¥याउन भूमिका खेलेको छ ।” नेता ज्ञवालीले बिआरआईमा नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच भएको समझदारीले भोलिका दिनमा परराष्ट्र नीति र वाह्य नीति सञ्चालन गर्दा राष्ट्रिय सहमति निर्माण हुने आधार बनाएको बताउनुभयो । उहाँले हालै भएको चीन र नेपाल पक्षबीच भएको सहमति दुवै देशले चाँडै नै कार्यान्यवन गर्नमा पार्टीले जोड दिएको बताउनुभयो । प्रधानमन्त्री ओली यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म चीन भ्रमण गर्नुभएको थियो । उहाँले बिआरआईप्रति नकारात्मक टिप्पणी गर्नु गलत भएको बताउनुभयो । नेपालजस्तो देशले संसारको दोस्रो अर्थतन्त्र भएको देश चीन र पाँचौ अर्थतन्त्र भएको भारतसहित अरू विकासत देशसँग जोडिएर अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले उपनिर्वाचनको परिमाणलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभयो । “उपनिर्वाचनबाट थप उपलब्धि हासिल भएको छ । हामीले एउटा अध्यक्ष दुईवटा उपाध्यक्षसहित समग्रमा आठ स्थानमा जितेको छौँ तर यति हुँदाहँुदै पनि परिणामलाई गम्भीररूपमा लिएका छौँ,” उहाँले भन्नुभयो, “खासगरि किर्तीपुर नगपालिका, त्यहाँका वडा र काठमाडौँ महानगरपालिका–१६ मा जस्ता शहरी क्षेत्रमा हामीले जे अपेक्षा गरेका थियौँ, त्यो ढङ्गले परिमाण नआएकाप्रति हामी गम्भीर पनि भएका छौँ ।” उपनिर्वाचनको परिमाणले सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजाने बैठकले निष्कर्ष निकालेको बताउनुभयो । सामाजिक सञ्जाल दुरूपयोग गरी भ्रम सिर्जना गर्ने कुराको पार्टीपङ्क्तिलाई प्रतिवाद गर्न आग्रह गरिएको छ । उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालको दुरूपयोग गर्दै ‘मिस र डिसइन्फरमेशन’ को माध्यमबाट राजनीतिक दलका नेताको चरित्र हत्या, जनतामा भ्रम र निराशा फैलाउने सिर्जना गर्ने र सामाजिक सद्भावलाई खलवल्याउनेजस्ता गतिविधि उचित नभएको भन्दै त्यस्ता खालका गलत कुराको पार्टी पक्तिले खण्डन गर्न आग्रह गरिएको बताउनुभयो ।
चितवन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।” फरक प्रसङ्गमा उहाँले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको बताउनुभयो । चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । इन्डो प्यासेफिक स्ट्राटिजी (आइपिएस) र बिआरआईका सन्दर्भमा अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो । गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ ।
काठमाडौं: नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीको क्रम सङ्ख्या १९ मा आदिवासी जनजाति समूह महिलातर्फ समावेशी समूहभित्रको प्राथमिकता क्रसं ५ मा नाम रहनुभएका सुनिता थापामगरलाई गण्डकी प्रदेशसभा सदस्य पदमा मनोनयन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित विमला गौचनको गत कात्तिक २८ गते निधन भई रिक्त भएको उक्त पदमा थापालाई मनोनित गर्ने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले विधानबमोजिम केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई केन्द्रीय कोषाध्यक्ष पदमा गर्नुभएको मनोनयनलाई बैठकले अनुमोदन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले नेपाल तरूण दलको विधान, २०१० (संशोधन सहित) (सातौँ संशोधन २०८१÷०६÷०६) र नेपाल किसान महासङ्घको विधान, २००८ (संशोधनसहित) (सातौँ संशोधन २०८१)लाई परिमार्जनसहित पारित गरेको छ ।
पोखरा: नेपाली कांग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की कांग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । सहसचिव एवं प्रवक्ता सिग्देलका अनुसार, अभियानका क्रममा गर्नुपर्ने कामका बारेमा सोमबार कार्यक्रम गरी अभिमुखीकरण गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अभियानका कास्की प्रतिनिधि गोविन्द भट्टराईले पार्टी विचार र सिद्वान्तले चल्ने बताए । कांग्रेसले मात्र देश र जनताको हितमा काम गर्ने उनको भनाइ छ । कास्की काँग्रेसले जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र गाउँ पालिका सभापतिहरुको संयुक्त बैठक बसेर सुझाव संकलन गरी प्रतिनिधि खटाएको हो । वडामा पुगेका प्रतिनिधिहरुले विभिन्न १० वटा बुँदामा छलफल गरी पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने कास्की कांग्रेस सभापति किशोरदत्त बरालले बताए । ‘अभियान प्रभावकारी रुपमा संचालन हुन्छ, सभापति बरालले भने, अभियानले पार्टी शशक्त बनाउन ठूलो सहयोग गर्ने छ ।’
तनहुँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आर्थिक समृद्धि हासिल गर्न सुशासन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । आर्थिक समृद्धिको लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनको भनाइ थियो । उहाँले सरकारले यसका लागि गर्ने हरेक कार्यमा आफ्नो पार्टीको साथ रहने बताउनुभयो । “सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो । सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्छ । यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ । माओवादी पार्टी अहिले सरकार फेरबदलमा लाग्दैन”, उपमहासचिव पुनले भन्नुभयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएका तर वर्तमान शासन व्यवस्थाका बारेमा कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेकामा उहाँको जोड थियो । उपमहासचिव पुनले भन्नुभयो, “व्यवस्था त बदलियो तर अवस्था बदलिएन, हामी २०८४ को चुनावमा यही ‘एजेन्डा’ लिएर जनतामाझ जानेछौ । जनताले खोजेको पनि यही हो । अहिले हामी सङ्गठन सुधारको अभियानमा लागिरहेका छौँ।”
ललितपुर: उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य १ हुनुपर्ने बताउनुभएको छ । ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले आवश्यक नीतिगत तथा कानुनी व्यवस्थासहित भ्रष्टाचार अन्त्यका पक्षमा वर्तमान सरकार क्रियाशील रहेका बताउनुभयो । “भ्रष्टाचार एउटा सङ्गठित अपराध हो, यसले घूसखोरी र आर्थिक अनुशासनलाई बढावा दिएर मुलुकको विकासलाई सुस्त बनाउँछ, निर्वाचन प्रणालीलाई प्रभावित गरी राजनीतिक अस्थिरता बढाउँछ, भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रणका पक्षमा राज्य निर्मम र कठोर हुनुपर्दछ भन्ने मान्यताका साथ सरकारले काम गरिरहेको छ ।” उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो, प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरुप पनि जटिल बन्दै गएको छ, राज्य अझ बढी सक्रिय हुन जरुरी छ, भ्रष्टाचारको अन्त्य गरी सुशासन सहितको सभ्य समाज निर्माणका लागि राज्य संयन्त्र अन्तर्गतका जिम्मेवार सबै अधिकारीहरु १ भई अघि बढ्नु पर्दछ ।” संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनका आधारमा भ्रष्टाचारको विषय गम्भीर देखिएकाले त्यसको नियन्त्रणका लागि सम्बद्ध सबै एक हुनुपर्नेमा जोड दिनुभयो । राज्य संयन्त्र अन्तर्गतका महत्वपूर्ण निकायमा विचौलिया हाबी हुने गरेकाले सुशासन कायम हुन नसकेको उल्ल्ेख गर्दैै आवश्यक नियम कानुन तर्जुमा गरी भ्रष्टाचार अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जुनसुकै संस्थाको पनि नेतृत्व गर्ने व्यक्ति इमानदार भयो भने सदाचार कायम हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित २ विधेयकमाथि छलफल गरी यथासक्य छिटो समितिमा आएका छन् । “भ्रष्टाचार विश्वव्यापी समस्या हो, भ्रष्टाचार अन्त्यका लागि सक्दो प्रयास गरेका छौँ, अख्तियारसँग सम्बन्धित दुईवटा विधेयक समितिमा आएका छन्, ढिला नगरी छिट्टै पास गरी पठाउँछौँ”, सभापति खतिवडाले भन्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन अभिवृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संसद्मा रहेका भ्रष्टाचार विरुद्धको ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनसम्बन्धी विधेयक यथासक्य छिटो पारित हुने विश्वास विश्वास व्यक्त गर्नुभयो । “अख्तियारले विकास र सुशासनका पक्षमा सुधारात्मक नीति लिएको छ, आयोगमा उजुरी पर्ने क्रम बढ्दो अवस्थामा छ, भ्रष्टाचार नियन्त्रण तथा रोकथाममा सार्वजनिक निकायहरु सबल र सक्षम हुनुप¥यो, भ्रष्टाचार न्यूनीकरणका लागि राज्यको तीनै तहले ध्यान दिनुपर्ने छ”, प्रमुख आयुक्त राईले भन्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण श्रेष्ठले भ्रष्टाचारसँग सम्बन्धित समस्या दिनानुदिन बढ्दै गएको भनी चिन्ता व्यक्त गर्दै भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा समग्र राज्य एक हुनुपर्नेमा जोड दिनुभयो । मुख्यसचिव एकनारायण अर्यालले भ्रष्टाचारजस्तो जघन्य अपराध कुनै १ राष्ट्रको सीमाभित्र मात्रै सीमित नहुने धारणा व्यक्त गर्दैै भ्रष्टाचार नियन्त्रणका लागि सरकारी, सार्वजनिक, निजी क्षेत्रका साथै नागरिक समाजका बीच सहयोग र सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणीन्द्र गौतमले २००५ डिसेम्बर ५ देखि लागू भएको भ्रष्टाचार विरुद्धको कानुन हाल १ सय ९१ वटा राष्ट्रमा लागू भएको जानकारी दिँदै हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिएको बताउनुभयो । सन् २००३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको र नेपालले सन् २०११ मा सो महासन्धिलाई अनुमोदन गरेको सो अवसरमा बताइयो ।