नवलपरासी:   जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। ...

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशले सत्यको जीत भएको उल्लेख गरेको छ ।    कास्कीले विज्ञप्ती जारी गर्दै कसुरविना रविलाई पक्राउ गरिएको भन्दै कास्की अदालतले छोड्ने आदेश दिनू नै सत्यको जीत भएको प्रतिक्रिया दिएको हो ।   विज्ञप्तीमा भनिएको छ, ‘ढिलै भए पनि सत्यको जित भएको छ । ८४ दिनदेखि विना कसुर हिरासतमा रहनुभएको थियो । अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ ।’ अदालतको आदेशप्रति रास्वपाले आभार व्यक्त गरेको छ ।   

काठमाडौं:   नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सम्पन्न बैठकले संविधानको समयानुकूल संशोधन हुनुपर्ने मागसहित विभिन्न १४ बुँदे प्रस्ताव पारित गरेको छ । बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा निर्माण गर्ने प्रण गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिनुभयो ।  बैठकलाई समापन गर्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीका नेताहरूलाई पार्टीमाथिको अभिभारा पूरा गर्न वैचारिक, राजनीतिक रूपमा स्पष्ट भएर पार्टीले गरेका निर्णय र कार्ययोजना कार्यान्वयनमा जुट्न निर्देशन दिनुभएको थियो ।  “एमाले अनुशासित लोकतान्त्रिक पार्टी हो, हामीलाई समाजवादमा जानु छ, समृद्ध नेपाल, सुखी नेपाली बनाउनु छ । त्यसैले पार्टीमा अराजकता र अनुशासनहीनता सैह्य हुँदैन”, उहाँको भनाइ थियो ।     बैठकमा पार्टीका केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य र स्थायी कमिटी सदस्यहरू गरी एक सय ५३ जनाले राजनीतिक प्रतिवेदन र संगठनात्मक कामबारे राय प्रस्तुत गर्नुभएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।    त्यसैगरी पार्टीका केन्द्रीय निकाय, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आ—आफ्ना आयोगका कामका साथै प्रतिवेदनहरूमाथि सुझाव राख्नुभएको थियो ।   यसअघि, अध्यक्ष ओलीले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नाका साथै महासचिव शङ्कर पोखरेलले संगठनात्मक कामको सङ्क्षिप्त जानकारी गराउनुभएको थियो ।  आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो ।  महासचिव पोखरेलले साङ्गठानिक अवस्थाको सङ्क्षिप्त जानकारी गराउँदै केन्द्रीय कमिटीको सातौं बैठकयता संगठन निर्माण र परिचालनका सन्दर्भमा महत्वपूर्ण कामहरू भएको, नेकपा स्थापनाको हीरक महोत्सव र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक भव्य रूपमा सम्पन्न भएको लगायत विषय प्रस्तुत गर्नुभएको थियो ।  समयानुकूल संविधान संशोधन बैठकले संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ ।  “नेपालको संविधान कार्यान्वयनको दश वर्ष हुन लागेको छ । संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षलाई केलाउँदै संविधानका प्रगतिशील अन्तरवस्तुको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी बृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन यो बैठक सरकारसँग आग्रह गर्दछ”, पारित समसामयिक प्रस्तावमा भनिएको छ ।  यस्तै, राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर एमाले र नेपाली काङ्ग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ ।  “मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दल सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन्”, प्रस्तावमा भनिएको छ,  “सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ ।” एमालेले सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल, भूकम्प र महामारी जस्ता चुनौती बाबजुद नेपालले गएको साढे तीन दशकमा हासिल गरेका उपलव्धि महत्वपूर्ण रहे पनि सुस्त विकास, न्यून आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भरता जस्ता चुनौतीहरु विद्यमान रहेको उल्लेख गरेको छ ।  “राष्ट्रिय पुँजीको निर्माण गर्दै र स्वाधीन अर्थप्रणालीको विकास गर्दै समाजवादोन्मुख राज्य निर्माणमा हामी दृढ सङ्कल्पित छौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ््क्षा अवश्य पूरा हुन्छ भन्ने आत्मविश्वास बलियो बनाउन र यस सामाजिक– आर्थिक रूपान्तरण र समृद्धिको अभियानमा सहभागी हुन यो बैठक आह्वान गर्दछ ।”   स्वदेशभित्र अवसर नदेखेर या भएको अवसर सदुपयोग गर्न नसकेर भइरहेको युवाहरू पलायनप्रति चिन्तित र संवेदनशील रहेको भन्दै एमालेले ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकको रुपमा अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ  ।  यस्तै, बैठकले भ्रष्टाचारविरुद्ध सामाजिक जागरण, सहकारी बचतकर्ताहरूको रकम फिर्ताको सुनिश्चित, अनियमिततामा मुछिएका जोसुकैविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ  ।  बैठकले मिथ्या, दुराशययुक्त र झुट्टा सूचना विश्वव्यापी चुनौतीका रूपमा  देखापरेको र नेपाल पनि यो समस्यासँग जुझिरहेको भन्दै संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्दै यस्ता सूचना रोक्न राज्यका नियामक निकायहरूको भूमिका थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।  सरकार र पाटीएका सकारात्मक कामको प्रचार गर्न आग्रह बैठकले  पार्टी पङ्क्तिलाई  सूचना प्रविधिको सही सदुपयोग गर्न र सरकार तथा पार्टीले हासिल गरिरहेका सकारात्मक उपलव्धि, सफलता र अग्रगतिका सूचनामार्फत् जनतामा आशा र भरोसा जगाउन आग्रह गरेको छ । यस्तै बैठकले दुराशययुक्त सूचनालाई खण्डित र निष्प्रभावी बनाउन आह्वानसमेत गरेको छ  ।  बैठकले नेपाली सीमा नजिर्कै चीनमा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले हालसम्म चीनमा ९५ जनाको ज्यान गएको र ठूलो भौतिक क्षति पुगेको घटनाप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ ।  एमालेमा फर्कन आग्रह बैठकले पार्टी विभाजनलगायत कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेको छ । यस्तै बैठकले श्रमजीवी जनता र विपन्न नागरिकलाई केन्द्रमा राखेर दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति, महङगी, कालोबजारी र मिसावट नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन तथा नियमन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।  “किसानले उत्पादन गरेका कृषिउपजको उचित बजार र मूल्य पाउने सुनिश्चित गर्न, बिचौलियाको बिगबिगी अन्त्य गर्न र स्वदेशी कृषि उत्पादनको संरक्षण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ”, पारित प्रस्तावमा भनिएको छ । 

काठमाडौं:     प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताउनुभएको छ । एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन मन्तव्य व्यक्त  गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु नरहेकाले त्यस्ता पूर्वसमूहहरु खोज्नतिर नलाग्न आग्रह गर्नुभयो ।  “एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन् । हामी पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’’, अध्यक्ष ओलीले भन्नुुभयो, “हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ ।’’ स्वस्थ एवं रचनात्मक आलोचना पार्टीभित्र ग्राह्य हुने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने ढङ्गको गुटबन्दी र अराजकता कदापि स्वीकार्य नहुने अध्यक्ष ओलीले बताउनुभयो ।  उहाँले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेसको  सहकार्यमा बनेको वर्तमान सरकारले देश र जनताका पक्षमा हरसम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  आफूहरु चुनावदेखि चुनावसम्मको ‘केवल’ सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरुलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका असल कामको प्रचार गर्न आव्हान गर्नुभयो ।  उहाँले असंलग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक नीतिमा सरकार सदैव अडिग रहेको स्मरण गराउँदै छिमेकी देशको विकासबाट हामीले पनि लाभ लिनुपर्ने बताउनुुभयो । उहाँले देशको राजनीतिक नक्सामा समेटिएको नेपाली भूमि फिर्ता लिइने अठोट पनि व्यक्त गर्नुभयो । यही पुस २१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना पारित गरेर टुङ्गिएको छ ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको छ ।  तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकको अन्तिम सत्रलाई आज सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताउनुभयो ।       बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताउनुभयो । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रमभङ्ग गरेको जिकिर गर्नुभयो ।   छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन       बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ ।  छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष दाहालले घोषण गर्नुभयो ।  अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने उहाँले स्पष्ट गर्नुभयो ।      माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।  त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।      बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिमरूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।  बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने निर्णय गरेको छ ।       बैठकले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘पार्टी रूपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’  शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी एक सय १८ जनाले सुझाव दिनुभएको थियो ।

ललितपुर:    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक व्यवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्ने बताउनुभएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र फेडरालिज्म एण्ड लोकलाइजेसन सेन्टरको संयुक्त आयोजनामा आज यहाँ भएको ‘सङ्घीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक कार्यक्रममा उहाँले सङ्घबाट प्रदेश र स्थानीय तहलाई कानुन र कार्ययोजना बनाएर कानुनअनुसार काम गर्ने गरी सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।  “जनआक्रोशबाट मुक्ति पाउन सजिलोका लागि प्रदेशलाई अपजस बोकाउने काम भइरहेको छ, यो गलत छ । सङ्घीयता सबलीकरणका लागि सङ्घीय संसद्बाट सहजतापूर्वक कानुन बन्नुपर्छ”, महामन्त्री थापाले भन्नुभयो, “यसका लागि संसद्मा भएका विधेयकलाई चैत महिनाभित्र पारित गर्ने र बाँकी कानुनहरू संसद्मा पेस गर्नका लागि दलहरूको समूह बनेको छ ।” उहाँले सबै तहका सरकारले तीन वर्षभित्र प्रभावकारी सेवा प्रदान गरेर मतदातालाई उत्साहित गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घीयता सबलीकरणका लागि सङ्घले प्रदेश र स्थानीय तहलाई रचनात्मक सहयोग र समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सातै प्रदेशमा भएका अन्तक्र्रिया, त्यसमा उठेका सवाल तथा सुझावले आगामी दिनमा थप कार्य गर्न मार्गनिर्देश गर्ने बताउनुभयो ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले संविधानको मर्मअनुसार सङ्घीयता कार्यान्वयनमा देखिएका कमजोरी सुधार गरेर अगाडि जानुपर्ने बताउनुभयो ।  उहाँले एउटै प्रकृतिका योजना कार्यान्वयन गर्ने तीन तहका मन्त्रालय फरक हुँदा समस्या भएको र यसलाई सुधारका लागि पहल गर्नुपर्ने सुझाव दिनुभयो ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष भानुभक्त जोशीले सरकारको स्थायित्व नहुँदा योजना, नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा समस्या हुने गरेको सुनाउनुभयो ।  बजेट बनाउने बेला एउटा र कार्यान्वयन गर्ने बेलामा अर्कै सरकार बन्ने प्रवृत्तिले सिर्जना हुने अन्यौलता हटाउन सबै दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।  कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) नेता महेन्द्रबहादुर शाहीले संविधानको मर्मअनुरुप तीन तहका सरकारको कार्यसम्पादनमा देखिएका जटिलता समाधानमा नेताहरुको चासो नरहेको गुनासो गर्नुभयो ।  संविधानप्रदत्त अधिकारअनुसार काम गर्ने वातावरण सिर्जना गर्न सङ्घीय सरकारले सहजीकरण र व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो ।  कार्यक्रमा जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य जयकान्त राउत, संविधानसभा सदस्य प्रह्लाद लामिछाने, फेडरालिज्म एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष खिमलाल देवकोटा, डा दीपेन्द्र रोकायाले संविधान कार्यान्वयन, सङ्घीयतालगायत विषयमा आफ्नो धारणा राख्नुभएको थियो  ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले पार्टीलाई उत्पादनसँग जोड्न अध्यक्षसहित सम्पूर्ण नेता कार्यकर्ता श्रम अभियानमा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।            राजधानीमा जारी आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रस्तावमाथिको छलफलमा नेताहरुले प्रत्येक महिनाको कम्तीमा तीन दिन श्रम अभियानमा आबद्ध हुनुपर्नेमा जोड दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।         बैठकमा आज ८० जनाले आफ्नो धारणा राख्नुभएको थियो । अधिकांश नेताहरुले कम्युनिष्ट पार्टीका नेताहरुको जीवनशैली पारदर्शी, उच्च नैतिक चरित्रवान्, जनताको मन जित्ने बोली र व्यवहार हुनुपर्नेमा जोड दिएका थिए ।          नेताहरुले पार्टीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, पार्टीभित्रको दण्डहीनतालाई प्रश्रय दिन नहुने, पार्टीका सबै संरचनालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने धारणा राखे ।  आसन्न निर्वाचन केन्द्रित रहेर मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उपत्यका र काँठ क्षेत्रमा जनजागरण अभियान सञ्चालन गर्नुपर्ने र पार्टी नेतृत्वको सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको पक्षमा थालेका अभियानबारे जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिइएको प्रवक्ता सापकोटाले बताउनुभयो ।            पार्टीको महाधिवेशनका सम्बन्धमा नेताहरुले मिश्रित धारणा व्यक्त गरेका छन् । महाधिवशेन गर्नेमा सबै सहमत भएपनि कार्यतालिका तोक्ने विषयमा नेताहरुको धारणा बाझिएको छ । कतिपय नेताले विशेष महाधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिए ।  नेताहरुले अध्यक्ष दाहालद्वारा प्रस्तुत प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेको र यसले पछिल्लो राजनीतिक अवस्थालाई सही ढङ्गबाट विश्लेषण गरेको टिप्पणी गरेका छन् ।          आइतबारदेखि सुरु भएको बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्नेछ । आज बैठकको प्रारम्भमा अध्यक्ष दाहालले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा फर्किएका छन् ।  एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराएका हुन् ।  उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ थिए। मकवानपुर निवासी उनी संविधानसभा सदस्य हुन् । 

काठमाडौं:   जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दी गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा शरदसिंह यादव रहनुभएको छ ।      मधेश केन्द्रित दलहरुबीच संवाद र सहकार्यको पहल गर्न उक्त कार्यदल गठन गरिएको सो पार्टीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।  पार्टीको केन्द्रिय सचिवालय समितिको निर्णयानुसार मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीका लागि कार्यदलको जिम्मेवारी तोकिएको हो ।  पछिल्लो समय संविधान संशोधनको विषयवस्तु उठिरहेको सन्दर्भमा मधेश केन्द्रित दलहरुको साझा धारणा बनाउने क्रममा सहमतिको पहलका लागि कार्यदल गठन गरिएको सो पार्टीले जनाएको छ ।        यसअघि आइतबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरुसँग पार्टी एकीकरणका लागि समिति गठन गरेको थियो ।

काठमाडौं:   नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान  ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नु हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।  “हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नुहुने छ,” उहाँले भन्नुभयो, “त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ  ।” आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो ।  प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।