काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ वटा जिल्लामा जिल्ला समिति गठन गरेको छ । कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कंचनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरेको रास्वपाकोे सुदुरपश्चिम प्रदेश प्रमुख सन्तोषराज जोशीले जानकारी दिनुभयो । विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरुको नेतृत्वमा जिल्ला समिति गठन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार कैलालीमा महेशकुमार चौधरी, दार्चुलामा गोपाल सिंह कोट्यारी, बाजुरामा नवराज जैशी, अछाममा आमेप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशब बलायर, डडेल्धुरामा सुरेन्द्र अवस्थी, बैतडीमा भिमनाथ, कञ्चनपुरमा पदमबहादुर विष्टको नेतृत्वमा जिल्ला समिति गठन भएका छन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले आगामी पुस २० र २१ गते आठौँ केन्द्रीय कमिटी बैठक तोकेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । नेता ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामका बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेको निर्णयको अनुमोदन र समसामयिक राजनीतिक विषय भनेर चार वटा कार्यसूची तय गरिएको छ । बैठकले नेपाली कांग्रेससँगको सहकार्यमा पाँच महिना सरकारले गरेको काममा सन्तुष्टि व्यक्त गरेको निष्कर्ष निकालेको छ । “यो पाँच महिनामा अवधिमा महत्त्वपूर्ण काम अघि बढेकामा बैठकले सन्तुष्टि पनि व्यक्त गरेको छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “सरकारका काममा थप गति ल्याउनुपर्ने धेरै सुधारका काम अगाडि बढाउनुपर्ने बोधसमेत बैठकले गरेको छ ।” उपमहासचिव ज्ञवालीले सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक सुधार देखापरेको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएर ऐन बनेर आयोग बन्ने प्रक्रियामा रहेको बताउनुभयो । संविधान संशोधन गर्न कार्यदल गठन गरिने बैठकले संविधानको समीक्षा र संशोधन गर्नका लागि नेपाली कांग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरिएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । “संविधान र सङ्घीयता कार्यान्वयनको हामीले समग्र समीक्षा गर्नेछाँै । र त्यसभित्र कार्य विस्तृतीकरणका सुझाव कति कार्यान्वयन भए वा भएनन् । विज्ञ हस्तान्तरण कहाँ कति भए त्यसको पनि समीक्षा गरिनेछ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो । यस्तै बैठकले संसद्मा रहेका विचाराधीन रहेका विधेयकलाई छिटो टुङ्ग्याउनका लागि दुई दलका चार÷चार जना पदाधिकारी रहेको कार्यदल बनाउने निर्णयसमेत गरिएको बताउनुभयो । संसद्मा विधेयक लामो समय अड्किरहने अवस्थाको अन्त्य गर्नका लागि क्यालेण्डर बनाउने पनि सहमति भएको बताउनुभयो । “विद्यामान कानुनमा सुधार गर्नका लागि विज्ञ समिति बन्नेछ । त्यसका सन्दर्भमा असान्दर्भिक रहेका कानुनलाई खारेज गर्न सुझाव दिने र नयाँ संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्न सुझाव दिने र नयाँ बनाउने कानुनमा पनि सुझाव दिनेछ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो । सुशासन र जवाफदेहीताका सन्दर्भमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयमा सुशासन सुधार केन्द्र बनाउने सहमतिसमेत गरिएको बताउनुभयो । सरकारको बाह्य सम्बन्ध सञ्चालनमा प्रगति भएको निष्कर्ष निकालिएको छ । उहाँले पछिल्लो चीनसँग भएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआइ) भएको सम्झौतामा महत्त्वपूर्ण रहेको बताउनुभयो । संसदीय छानबिन समितिले सिफारिस गरेकाअनुसार सहकारीका क्षेत्रमा देखापरेका बेथितिविरुद्ध सरकारले कारबाही अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ । सरकारले अध्यादेश ल्याएर चाँडै नै अधिकार सम्पन्न सहकारी प्राधिकरण बनाएर सहकारीका बेतिथी अन्त्य गर्ने एउटा बलियो आधार तर्जुमा गर्ने उहाँले बताउनुभयो । बङ्गलादेशसँग भएको ऊर्जाको व्यापार, भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललगायत विभिन्न विकासका काममा आर्थिक गतिविधिमा प्रगति देखापर्न थालेको बैठकले निष्कर्ष निकालेको छ । उहाँले पछिल्लो समयमा राजस्व सङ्कलन १७ प्रतिशत सुधारले विस्तार मुलुकले लय लिन थालेको पुष्टि गरेको बताउनुभयो । बैठकले कांग्रेस र एमालेबीचमा बनेको राजनीतिक संयन्त्रले थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ऐतिहासिक परिवर्तनका साथै मुलुकमा सङ्कट उत्पन्न भएका बेला कांग्रेस र एमाले एकताबद्ध भएर अघि बढेका बताउनुभएको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालद्वारा आज यहाँ संयुक्त रूपमा आयोजित नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा भएका ऐतिहासिक परिवर्तनमा कांग्रेस र कम्युनिष्ट पार्टी एकढिक्का भएर लागेका इतिहास साक्षी रहेको उल्लेख गर्नुभयो । उहाँले कांग्रेस र कम्युनिष्ट मिलेर काम गर्दा ऐतिहासिक जित हासिल भएका उदाहरणहरू रहेका जिकिर गर्नुभयो । “मुलुकमा सङ्कट आउँदा दुवै पक्ष एकताबद्ध भएर मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन् । तर आवश्यकता अनुसमर कतिपय अवस्थामा कांग्रेस र एमाले प्रतिस्पर्धी पनि बनेका छन्”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले कुनै पनि राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै कांग्रेस र कम्युनिष्टबीच पनि अस्वस्थ प्रतिस्पर्धा नरहोस् भनेर सावधानी अपनाउने गरिएको धारणा राख्नुभयो । उहाँले राजनीतिक पार्टी फरक–फरक भए पनि आधारभूत विषय देश भक्ति र मुलुकको पूर्वाधार विकास रहेको जिकिर गर्नुभयो ।वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाल, भारत र चीनबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै त्यसमा सबै संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । “हामी नेपालीबीच देशको प्रेम र देशभक्तिको भाव अत्यधिक छ”, उहाँले भन्नुभयो, “राजनीतिक पार्टी फरक भए पनि नागरिकलाई प्राथमिकतामा राखी मुलुकको विकासमा सबै दल केन्द्रित छौँ । हामी दुई ठूला मुलुक भारत र चीनको बीचमा छौ, यो सम्बन्ध प्रगाढ बनाउन सबै संवेदनशील हुनु जरुरी छ ।”
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको मिति निर्धारण गर्नाका साथै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्नेछ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा पार्टी सङ्गठन विस्तार र समसायिक राजनीतिक विषयमा विचारविमर्श हुने जानकारी उहाँले दिनुभयो ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पोखराका केही क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्रको आदेश हटाउन माग गरेको छ । रास्वपा कास्कीका सभापति यदुनाथ अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउँदै निषेधित क्षेत्रको आदेश हटाउन माग गरेका हुन् । दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरूको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सव सहितका कार्यक्रमहरूसमेत प्रभावित हुने अवस्था रहेको रास्वपाको भनाइ छ । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी ४ गते कास्की जिल्ला अदालतमा उपस्थित गराएसँगै शहीदचोक, जिल्ला अदालत आसपास र जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटन क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र घोषणा गरेको थियो । सभापति लामिछाने विरुद्ध लगाइएको अभियोगको हकमा अदालती प्रक्रियालाई पूर्ण रुपमा सघाउने पार्टी सचिवालयको पुस ८, २०८१ को निर्णय समेतका आधारमा निषेधित क्षेत्र हटाउनका लागि अनुरोध गरेको रास्वपाले जनाएको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताउनुभएको छ । संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उहाँले बताउनुभयो । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताउनुभयो । संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उहाँले जानकारी दिनुभयो । “पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौँ । त्यसपछि सबै राजनीतिक दलसँग चरणबद्धरुपमा वार्ता र संवाद गर्छौँ”, गृहमन्त्री लेखकले भन्नुभयो, “त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ । यसका लागि केही समय लाग्छ ।” समावेशितालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उहाँको भनाइ थियो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लामिछाने सांसदबाट निलम्बित भएको जनाएका छन्। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरी लामिछाने सांसदबाट निलम्बित भएको जानकारी दिएका हुन्।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई तोकिएको छ । रास्वपाको आज बसेको सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेद्वारा उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकिएको व्यहोरा आजको सचिवालयको बैठकमा जानकारी गराइएको थियो । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो, “सभापति लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न अपेक्षा सहित अर्याललाई शुभकामना दिनुभएको छ ।” पार्टी सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । आइतबार नै सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न कास्की प्रहरीले सङ्घीय संसद् सचिवालयलाई पत्र पठाइसकेको छ ।
नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका ७ वडा कमिटीको दोस्रो वडा अधिवेशनबाट विष्णु चापागाई अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न वडा कमिटीको अधिवेशनले चापागाईको नेतृत्वमा १५ सदस्सीय वडा कमिटी निर्वाचित गरेको हो । उक्त कमिटीको उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा कमल गुरुङ , उपसचिवमा खुशीमान आले र लिला थापा मगर चयन भए । यसअघि उद्घाटन सत्रमा प्रमुख अतिथिसमेत रहेका पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले सामाजिक न्याय , विकास र समृद्धिको लागि सबै जना एमालेको झण्डा मुनी गोलबन्द हुनुपर्ने बताएका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण इन्चार्ज भरत मान गुरुङ, जिल्ला कमिटी सदस्य नविन गिरी, जिल्ला सदस्य एवं वडा इन्चार्ज प्रदिप गुरुङ , अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, पार्टी अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष चुडामणी अधिकारी, एमाले नेता श्याम गुरुङ, पुर्व वडा अध्यक्ष घनश्याम चापागाईं, नेपाली कांग्रेस वडा समिति सचिव परित्याग गरि एमाले प्रवेश गरेका ओम बहादुर गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैबीच कार्यक्रममा नेकपा(एमाले) अन्नपूर्णका युवा नेता सन्तोष गुरुङको विशेष पहलमा नेपाली काँग्रेस क्षत्रीय समिति सदस्य केशवराज दुरा , अन्नपूर्ण –७ वडा इकाई सचिव ओम बहादुर गुरुङ र गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाट वडा सदस्य उम्मेदवार होम बहादुर थापाको नेतृत्वमा १३ जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए । कमिटीका कार्यबहाक अध्यक्ष महेश कुलुङ राइको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सदस्य राम गुरुङले गर्नुभएको थियो ।

