काठमाडौं: गायिका एलिना चौहानले बुधबार विवाह गरेकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराइन् । बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरे । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए । विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए । अहिले उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ । भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल पनि चलिरहेको छ ।
पोखरा: गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । मन्त्रीपरिषद्को सिफारिस बमोजिम वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजे सभा भवनमा अधिवेशन आह्वानका गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षको बजेट सङ्घीय प्रणालीमा रहेको अभास हुनेगरी ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको प्रि–बजेट छलफलमा अर्थविद्हरुले सरकारलाई यस्तो सुझाव दिएका हुन् । उनीहरुले मुलुक सङ्घीय प्रणालीमा छ भन्ने आधारबाट बजेट ल्याउन जरुरी रहेको बताए । अर्थविद्हरुले केन्द्रीयतालाई मात्रै प्राथमिकता दिएर सरकारले बजेट ल्याउने गरेको आरोप लगाए । उनीहरुले सरकारले योजना आयोगले बनाएर दिएको योजनाका आधारमा प्रदेशले स्थानीय तरिकाले सिद्धान्त सेट गर्नेगरी आउन नहुने बताए । अर्थविद्हरुले आगामी आर्थिक वर्षको बजेट वातावरण संरक्षण, जलवायु परिवर्तन र राजस्व वृद्धिलाई प्राथमिकता दिन सुझाव दिए । उनीहरुले राजश्व सङ्कलनको सम्भावनाका क्षेत्र पहिचान गर्न नसके आगामी पाँच वर्षमा राजस्व शून्यउन्मुख हुने दाबी गरे । समिति बैठकमा बोल्नुहुँदै अर्थविद् डा। अच्युत वाग्लले सरकारले मुलुक सङ्घीय प्रणालीमा छौं भन्ने आधारमा बजेट बनाउन सुझाव दिनुभयो । उहाँले योजना आयोगले बनाएका योजना दिएर प्रदेशले स्थानीय तरिकाले सिद्धान्त सेट गर्न नसक्ने बताउनु भयो । सरकारले बनाउने घोषणापत्र, आवधिक योजना, सिद्धान्त तथा प्राथमिकता, बजेट र नीतिहरुको तादात्म वा एकले अर्कोलाई परिपुरण गर्ने काम नभएको दाबी गर्नुभयो । अर्थविद् डा. वाग्लेले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वातावरण संरक्षण र जलवायु परिवर्तनको सम्बोधन एक अर्काका विरोधाभास पूर्ण अवधारणाहरु जस्तो देखिएको बताउनुभयो । उहाँले आर्थिक वृद्धि र विकास भर्सेस वातावरण संरक्षण र जलवायु परिवर्तनको पहिलो सौद्धान्तिक अवधारणा वा राष्ट्रिय नीति बजेटभन्दा फराकिलो ढङ्गले आउनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक राजस्व सङ्कलनको ठूलो जोखिममा परिसकेको उल्लेख गर्नुभयो ।
काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। मुख्यमन्त्री अधिकारीले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। प्रदेशका विकासबारे छलफल भएको अधिकारीले बताएका छन्। तर, अधिकारीले गण्डकीको सत्ताको निकासबारे परामर्श गरेको उनी निकट स्रोतले बताएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालका अनुसार सरकारले विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरे पनि प्रदेश प्रमुख गृह जिल्ला भएकाले परामर्शमा संसद सचिवालयमा पठाउने तयारी छ। आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी छन्। सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो। सोही रिटउपर सर्वोच्च अदालतले सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो। नेकपा एमाले संसदीय दलका नेता अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। एमालेका २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसद पुर्याएर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
सोलुखुम्बुः विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो । बाह्र जना नेपाली सेना र एक जना शेर्पा सरदारसहित १३ जनाको टोलीमध्ये दुई जना भने आपतकालिन जनशक्तिका लागि नाम्चेमै रहने रणशूर गुल्म नाम्चेका प्रमुख सेनानी प्रचण्ड विक्रम भारतीले जानकारी दिनुभयो । “दुई जना आपतकालिन उद्धार तथा समस्याका लागि नाम्चे ब्यारेकमै तयारी अवस्थामा छन्, बाँकी ११ जनालाई नाम्चे ब्यारेकले आज एक कार्यक्रमका बिच बिदाइ गर्यो, यो टोली सगरमाथा आधार शिविरतर्फ अघि बढेको हो”, उहाँले भन्नुभयो । यही वैशाख २ गते सेनाको हेलिकप्टरमार्फत स्याङ्बोचे ओर्लिएको उक्त टोली दुई दिन नाम्चेको बसाइपछि आज त्यहाँबाट प्रस्थान गरेको हो । सेनानी आदित्य कार्कीको नेतृत्वमा रहेको उक्त टोलीले अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर संवाद गर्दै करिब सात दिनको पदयात्रा पश्चात् सगरमाथा आधार शिविर पुग्ने सेनानी भारतीले बताउनुभयो । पदयात्राको क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचारप्रसारका लागि पदमार्गको सरसफाइ समेत गरिनेछ । एन एन्डेवर टु सेभ द हिमालय भन्ने मूल विषयका साथ सञ्चालन हुन गइरहेको यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर सङ्कलनको लक्ष्य लिइएको नेपाली सेनाले जनाएको छ । यसअघि गत बिहीबार जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले अभियानका नेतृत्वकर्ता सेनानी आदित्य कार्कीलाई झन्डा हस्तान्तरण गरी अभियानको थालनी गर्नुभएको थियो । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने सफा हिमाल अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घलगायतका सङ्घ संस्थाहरूको प्राविधिक सहयोग रहेको छ । सङ्कलित फोहरमध्ये सड्ने फोहरहरू स्थानीय निकायहरूलाई र नसड्ने फोहरहरू रिसाई कल गर्ने संस्थालाई व्यवस्थापनको लागि हस्तान्तरण गरी समापन गर्ने योजना छ । अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्न नेपाली सेनाको विश्वास छ ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र बसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले सिंगारिएको छ । घोडेपानी क्षेत्रमा लालीगुराँस फुलेपछि मनमोहक बनेको छ । विशेषगरी चैत–बैशाखमा गुराँस फुल्ने भएकाले यतिबेला पर्यटकीय गतिविधिसमेत बढेको छ । पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धवलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । नेपालमा ३२ प्रजातिका लालीगुराँस पाइन्छन् भने स्थानीयका अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ । अहिले लालीगुराँससँग पिरती साट्न जाने पर्यटकको सँख्या ह्वाट्टै बढेको छ । घोडेपानी म्याग्दी र कास्कीको विरेठाटी हुँदै जान सकिन्छ । तस्बिर: राकेश थापामगर/सुनगाभा न्यूज
काठमाडौं: निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्च्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टीकाटिप्पणी गर्न, गराउने नहुने व्यवस्था रहेको स्मरण गराइएको छ । त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेण्ट वा प्रतिकमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउनपूर्ण रूपमा निषेध गरिएको छ । आचार संहिता उल्लङ्घनका घटनामा तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ । अवाञ्छित कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन एकाइ गठन गरी कार्य हुने भएको छ । आमसञ्चारमाध्यमबाट हुने गलत, भ्रामक, झुटा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने समाचारलाई निरुत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चारमाध्यमको अनुगमन तथा कानुनबमोजिम आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालसमक्ष पत्राचार गर्ने निर्णय आयोगले गरेको छ ।
भैरहवाः नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ । ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा आज उक्त कार्यको शुभारम्भ गर्नुभयो । रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले निगमले खरिद गरेको १३ दशमलव पाँच बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारण लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आएको छ । कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसादले परियोजना निर्माणमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै निगमले स्थानीयवासीको चासो सम्बोधन गरिदिनुपर्नेमा जोड दिनुभयो । ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमारले स्थानीय जनतालाई रोजगारी दिने तथा यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्नुभयो । करिब रु तीन अर्ब लागतमा भण्डारण गृह निर्माण गर्न लागिएको भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले जानकारी दिनुभयो । सो स्थानमा डिजेल भण्डारणका लागि दुई हजार एक सय किलोलिटर क्षमताका तीन, पेट्रोल भण्डारणका लागि एक हजार छ सय किलोलिटर क्षमताका दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका तीन वटा ट्याङ्क निर्माण गरिनेछ । भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो यहाँ सर्नेछ । भण्डारण डिपोलाई बाढीबाट जोगाउन दुई मिटर अग्लो बाँध निर्माण गरी जमिन पुरिने परियोजना संयोजक यादवले जानकारी दिनुभयो । आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिँदै उहाँले असोजभित्र परियोजनाको डिजाइन सम्पन्न गरिने बताउनुभयो । परियोजनाको डिजाइन काठमाडौं विश्वविद्यालयले गर्नेछ । आगामी मङ्सिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । काठमाडौं विश्वविद्यालयका प्राध्यापक विवेक बरालले विश्वविद्यालय र निगमबीच लामो समयदेखि सहकार्य रहँदै आएको उल्लेख गर्दै मुलुकको ऊर्जा सुरक्षाका लागि भण्डारण गृह निर्माण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
दाङ: दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । यो पनि पढ्नुहोस घोराहीबाट रुकुमकोट जादै गरेको बस सल्यानमा दुर्घटना रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताए । उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

