पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:  नेपाली नयाँ वर्षको अवसरमा पोखरामा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव हुने भएको छ ।   होटल संघ पोखराको आयोजनामा हुने सो महोत्सवबारे पोखरामा आज पत्रकारसम्मेलन गर्दै जानकारी दिइएको हो ।   होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले उक्त महोत्सव यही चैत २९ देखि वैशाख १ गतेसम्म महोत्सव आयोजना  हुने बताए ।   उनले सो महोत्सवपश्चात आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्बिने विश्वास रहेको बताए ।    उनका अनुसार सो महोत्सव पोखराको खहरेचोकदेखि ड्यामसाइडचोकसम्म सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित मनाइनेछ । उनले उक्त सडकखण्डका विभिन्न चौतारीमा नेपालीपन झल्किने खालका बाजागाँजासहित साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने बताए ।       उनले विशेषगरी नेपाली समुदायमा प्रचलित मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्धेश्य रहेको उल्लेख गरे ।   सो महोत्सवमा करिव ३ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा लिएको छ ।   महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी ¥याली, पर्यटक दौड प्रतियोगिता लगायतको कार्यक्रम आयोजना गरिने छ ।   सो अवसरमा होटल संघ पोखरामा आवद्ध होटलहरुमा महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुटकोसमेत व्यवस्था गरिएको संघले जनाएको छ । 

लमजुङ:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटिको नवौँ जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरे । बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष थिए । यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । उपाध्यक्षसहित उपसचिवसमेतमा विष्ट पक्ष विजयी भएका छन् । यस कमिटिको उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित भए । गुरुङले दुई सय ४२ मत प्राप्त गरे भने पौडेलले दुई सय ३७ मत प्राप्त गरे । त्यस्तै, सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी भए । राजेन्द्रले तीन सय ५८ मत प्राप्त गरे भने मिश्रले एक सय १९ मत प्राप्त गरेका थिए । उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गरे भने अधिकारले एक सय २९ मत प्राप्त गरे ।   सहसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भइन् । आइतबार भएको मतदानमा पाँच सय ३२ जना सहभागी हुनुपर्नेमा पाँच सय छ जनाले गरेका थिए । निर्वाचित कमिटिको कार्यकाल तीन वर्षे रहने छ ।

काठमाडौं:     रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  उनले भने, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने १० पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

पोखरा:    क्षत्री समाजको चौथो केन्द्रीय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ ।  क्षत्री समाजले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै चौथो महाधिवेशन दमौलीमा चैत २५ र २६ गते गर्ने जानकारी दिएको हो ।  क्षत्री समाजका महासचिव केशबहादुर केसीले तनहुँको दमौलीमा चैत २५ र २६ गते हुने चौथो महाधिवेशनमा देशभरबाट ४ सय प्रतिनिधि आउने बताए ।  ‘क्षत्री समाजको जिल्ला र प्रदेश समितिहरको अधिवेशनलाई सम्पन्न गरिसकेका छौं’, महसचिव केसीले भने,‘जिल्ला र प्रदेशको अधिवेशनपछि केन्द्रको चौथो महाधिवेशन चैत २५ र २६गते तनहुँको दमौलीमा आयोजना गरेका छौं ।’ क्षत्री समाजले विगतमा भएका सरकार पक्षसँग भएको सम्झौतालाई पालना गर्दै खस जातिको पहिचान र इतिहासलाई कायम गराउन अस आयोगको गठन गर्नुपर्ने माग समेत गरेको छ ।   

काठमाडौं:    बागमती प्रदेशसभाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे प्रदेशसभा भवन हेटौँडामा बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।   प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । बाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।   सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेसले समर्थन फिर्ता लिएको चैत २२ गते एक महिना पूरा हुँदैछ । ११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जोगाइराख्न ५६ सांसदको आवश्यकता पर्दछ । बागमती प्रदेशमा सत्तापक्षमा रहेका नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् । यस्तै, प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सदस्य छन् ।

काठमाडौं:    एरिका गुरुङले अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा रजत पदक जितेकी छिन् ।    सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडी सँग ३–२ ले पराजित भएकी हुन्। त्यसअघि यू–२१ महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले स्वर्ण पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुला र यु २१ दुवैको फाइनलमा पुगेकी थिइन्। अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका  थिए। एरिका र विप्लभलालका साथ प्रशिक्षकद्वय दीपक श्रेष्ठ र कुशल श्रेष्ठ छन्।

कास्की:   कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यानकी १५ वर्षीया सोनिसा सुनार पोखरा बसेर पढ्थिन् ।   उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन्। कक्षा ९ को वार्षिक परीक्षा सकिएपछि घर निस्किएकी थिइन् ।    उनीसँगै आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिम घर सल्यान जाँदै थिइन् । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन ।   घर जानका लागि चारैजना चढेको ग १ ज ५५४७ नम्बरको बोलेरो जीप आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा सडकबाट दुई सय ५० मिटर तल खसेर दुर्घटना भयो ।    दुर्घटनापछि घाइते चारै जनाको अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको  छ ।     यो पनि पढ्नुहोस   भदौरे जीप दुर्घटना: घाइतेको मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै पोखराको हरिचोक सल्यान रुटमा चल्ने जीप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । घटनामा १० जना घाइते भएका छन् ।    दुर्घटनामा घाइते सोनिसाको हात र खुट्टामा चोट छ भने परिवारका अन्य सदस्यको अवस्था मध्यम छ ।  सोनिसा जीपको अघिल्लो सिट थिइन् । ग्रामीण सडक भए पनि जीपको गति तीव्र थियो ।   ‘सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरीत दिशाबाट एउटा मोटरसाइकल आयो । मोटरसाइकल तीव्र गतिमा थियो । घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जीप भिरमा खस्यो’, सोनिसाले दुर्घटनाबारे बताइन् ।   उनका अनुसार घुम्तीमा दायाँ मोडिनुपर्ने जीप बायाँ मोडिएर भिरबाट तल खसेको थियो । दुर्घटनापछि स्थानीयले उद्धार गरी अस्पताल ल्याएको सोनिसाको भनाइ छ ।   ‘दुर्घटनापछि पनि म पूरै होसमा थिएँ । हामीलाई गाउँकै अन्यले उद्धार गरी अस्पतालमा ल्याएका हुन्’, उनले भनिन् ।   उक्त दुर्घटनामा परि पोखरा–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको छ ।   घाइते १० जनामध्ये ६ जनाको मणिपाल र अन्य ४ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।  

पोखरा:  प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ ।   परिषद्मा आइतबार खेल संघहरुसँग बैठक बस्दै १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरुलाई निर्देशन दिएको हो ।      परिषद्ले सबै खेल संघहरुलाई बैशाखभित्र सबै खेलहरु सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडीहरुको छनौट गर्न निर्देशन दिएको छ  ।   दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै घोषणा गरिसकेको छ ।    बैठकमा बोल्दै परिषद्का सदस्य सचिव श्रीधर शर्माले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखमा हुने पूर्व तयारीका लागि करिव १ करोड ७५ लाख खर्च हुने बताए  ।    उनले छनौट प्रतियोगिताहरु एक जिल्लामा मात्रै सिमित नगरी सम्भव भएसम्म प्रदेशका सबै जिल्लामा आयोजना गरी तयारी गर्नसमेत आग्रह गरेका थिए ।   सो बैठकमा प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, ३६ वटै खेल संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।  

पोखरा:  पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ ।   हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।    ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासोलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो । तर, कतिपय संस्थाहरूले महानगरपालिकाको आग्रह विपरीत सञ्चालन गरेको पाइएको थियो ।    एसइई पश्चात् विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज बनाउन विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको नाममा मोटो रकम असुल्ने गरेको गुनासो यस अघि नै आइसकेकाले परीक्षा समापन हुनु पूर्व नै महानगरपालिकाको शिक्षा समितिले यस्तो निर्णय गरेको हो ।    विद्यालय शिक्षा व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिँदै कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइएको शिक्षा महााशाखाले बताएको छ ।    विद्यार्थी भर्नाको कार्यक्रम आगामी वैशाख २ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।    विद्यार्थी भर्नाका नाममा लिइने प्रवेश परीक्षाहरू त्यसअघि सञ्चालन गरे पनि रिजल्ट भने सोही अवधिमा सार्वजनिक गर्न भनिएको छ ।    विद्यार्थीहरू छनौटका नाममा लिइने परीक्षामा जुन विद्यालयमा विद्यार्थी अध्ययन गरिरहेका छन्, सो विद्यालयको माथिल्लो कक्षामा पढ्न चाहे विद्यालयले अनिवार्य भर्ना लिनुपर्ने बताइएको छ ।    आगामी शैक्षिक सत्रको पढाइ १० वैशाखदेखि सुरु गर्ने निर्णय पनि महानगरले गरेको छ ।