काठमाण्डौ: सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो । सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका रूपमा वर्गीकरण गरेर पहिचान गरेको छ । वार्षिक प्रतिव्यक्ति २२ हजार ९ सय १९ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ । तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन गर्दा उनीहरूलाई सेवा तथा सुविधा उपलब्ध गराउँदा परिचयपत्रका आधारमा प्रदान गर्ने गरिब पहिचान तथा मापदण्ड शाखाका प्रमुख झविन्द्र पाण्डेले जानकारी दिनुभयो । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारले आफ्नो क्षमताअनुसार उनीहरूलाई सहुलियत प्रदान गर्नेछन् । सरकारले उनीहरूलाई शिक्षामा छात्रवृत्ति, निःशुल्क स्वास्थ्य बिमाका साथै गरिबी न्यूनीकरणका परियोजनामा प्राथमिकता दिएको छ । २०७० सालमा गरिब पहिचानको कार्यक्रम शुरु गरिएकोमा शुरुमा २६ जिल्ला र २३ जिल्लाका गरिब पहिचान गरिएको थियो । बाँकी २८ जिल्लामा पहिचानका कार्य सकिएकाले आगामी वर्षमा परिचयपत्र वितरण गरिने छ । पहिचान तथा परिचयपत्र वितरण कार्यका लागि सरकारले अहिलेसम्म झण्डै एक अर्ब ५३ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ ।
काठमाडौं: मनसुनी वायुको प्रभावले आज (बुधबार) देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । परीक्षा नियन्त्रण श्रेष्ठका अनुसार, तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीलाई तीव्र बनाइएको छ । कुनै प्राविधिक समस्या नआए आजै साँझसम्म नतिजा सार्वजनिक गरिने छ र कुनै प्राविधिक समस्या आएमा भने भोलि प्रकाशन गरिने छ । प्राविधिक काम आजै सकिएमा परीक्षा बोर्डको बैठक राख्ने तयारी पनि भइरहेको छ । एसईईको नतिजा प्रकाशनका लागि आजको गोरखापत्रमा सूचना प्रकाशन गर्दै कसरी परीक्षाफल हेर्न सकिन्छ भनेर सूचित गरिएको छ । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।
काठमाडौं: गायक नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङको निधन भएको छ । ६० वर्षीय तामाङको मंगलबार साँझ साँझ काठमाडौंको बुढानीलकण्ठस्थि निवासमा निधन भएको दिदी भगवती तामाङले पुष्टि गरिन् । तामाङको स्ट्रोकका कारण निधन भएको हुन सक्ने अनुमान छ ।
काठमाडौं: ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपीलाई पक्राउ गर्न नमिल्ने अन्तरिम आदेशविरुद्ध नेपाल प्रहरीले सर्वोच्च अदालतमा निवेदन दिएको छ । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले आज मङ्गलवार सर्वोच्च अदालतमा निवेदन दिएको हो । आफूहरूलाई पक्रन नमिल्ने भन्दै १७ जनाले यसअघि नै सर्वोच्चबाट अन्तरिम आदेश लिएका कारण प्रहरीलाई यो प्रकरणको अनुसन्धानमा समस्या भइरहेको छ । पक्राउ परेकामध्ये कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई अन्तरिम आदेश लिएकै कारण प्रहरीले तत्कालै छाड्नुपरेको थियो । आज महान्यायाधिवक्तामार्फत सर्वोच्चमा निवेदन दिएको र अन्तरिम आदेश खारेज भएमा ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धानलाई अघि बढाउन थप सहज हुने सीआईबीको भनाइ छ ।
काठमाडौं: नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व सङ्कलनको अवस्था हेर्दा देशको अर्थतन्त्र डरलाग्दो रहेको बताएका छन् । मङ्गलवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद चौधरीले असार १७ गतेसम्म नौ खर्बको हाराहारीमा मात्रै राजस्व सङ्कलन हुनु र सरकारको साधरण खर्च १० खर्ब रुपैयाँभन्दा बढी हुनु गम्भीर स्थिति भएको दाबी गरे । उनले सरकारले नै देशको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । उनले भने, ‘सरकारको राजस्व उठ्ने तस्बिर हेर्दा अत्यन्तै डरलाग्दो छ । असार १७ गतेसम्म नौ खर्बको हाराहारीमा मात्रै उठ्नु र साधारण खर्च नै १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति छ ।अहिले बैंकहरूसँग निक्षेप तथा कर्जाको रेसियो ८३ प्रतिशतमा छ, न्यूनतम ९० प्रतिशत हुनुपर्छ । किन बैंकहरूले ऋण दिन सकिरहेका छैनन् ? बैंकहरूसँग ठूलो तरलता हुँदा पनि ब्याजदर किन घट्न सकेको छैन ? के हो राष्ट्र बैंकको नीति रु यी विषयमा सरकारले सरोकारवाला निकायहरूलाई पनि बोलाएर छलफल गर्नुपर्छ ।’ सांसद चौधरीले राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम भए पनि आयात बढ्न नसक्दा समग्र अर्थतन्त्र चलायमान हुन नसकेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीका कारण देशभित्र लगानी बढ्न नसकेको उल्लेख गरे। चौधरीले वर्तमान सरकारले अर्थतन्त्र चलायमान बनाउने, लगानीमा वृद्धि गर्ने ‘कस्ट अफ डुइङ बिजनेस’ घटाउन विशेष ध्यान दिनुपर्ने बताए ।
काठमाडौं: आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनायो । नेपालका गुलशन झा ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा नटआउट रहे । सन्दीप लामिछाने ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भए । आठौं विकेटका सन्दीप र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरे । यो नेपालबाट ओडिआईमा आठौं नम्बरको लागि भएको उच्च साझेदारी हो । यअअघि आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए । नेपाललाई ओपनर कुशल भुर्तेल र अर्जुन साउदले पहिलो विकेटका लागि ८।१ ओभरमा २७ रन बनाउँदै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर क्रेग योंगको बलमा कुशल भुर्तेल ८ रनमा समातिन पुगे । कुशलले १९ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा आउट भए । उनी क्रेग योंगको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाटनै क्याच आउट हुन पुगे । स्पिनर ग्यारेथ डेलानीको २६ औं ओभरको अन्तिम बलमा अर्जुन एलबीडब्लू आउट भएपछि अर्धशतकबाट चुकेका हुन् । अर्जुनले ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन बनाए । अर्जुनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरेका थिए । रोहित कर्टिस क्याम्फरको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाट सहज क्याच आउट भए । रोहितले ३५ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाए । कुशल मल्ल ३८ बलमा ५ चौका र २ छक्कासहित ४४ रनमा क्याच आउट भए । उनी तीव्र गतिका बलर ब्यारी म्याकार्थीको बलमा मिडअफमा ह्यारी टेक्टरबाट समातिन पुगे । म्याकार्थीकै बलमा भीम सार्की २० रनमा समातिन पुगे । युएईलाई हराउन उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र आयरल्यान्डविरुद्ध भने खाता खोल्न नसकी आउट भए । दीपेन्द्र स्पिनर एन्डी म्याकर्बीको बल रिड गर्न नसक्दा दीपेन्द्र एलबीडब्लू आउटको शिकार बनेका थिए । करण केसी ४ रनमा आउट भए । आयरल्यान्डका ब्यारी म्याकार्थीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले ९ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर २ विकेट लिए । क्रेग योंगले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी म्याकबर्नीले समान एक विकेट लिए ।
काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । हिजो सोमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । निगमले इन्धनको भाउ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुको इन्धन शुल्क पनि घटाएको हो । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर–नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला–फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ । यस्तै काठमाडौं–पोखराको २ सय २५ रुपैयाँ,काठमाडौं–धनगढीको भाडा छ सय ५० रुपैयाँ, काठमाडौं–नेपालगञ्जको चार सय ५५, विराटनगर–भैरहवाको चार सय ५०, पोखरा–धनगढीको चार सय ७५ र काठमाडौं–सुर्खेतको भाडा चार सय ८५ रुपैयाँले घटेको छ । यस्तै काठमाडौं–भद्रपुरको भाडा चार सय २० रुपैयाँ, पोखरा–नेपालगञ्जको तीन सय ३०, काठमाडौं–जनकपुरको एक सय ८० र काठमाडौं–भैरहवाको भाडा दुई सय ८५ रुपैयाँले घटेको छ । घटेको शुल्क भोलि बुधवारदेखि लागू हुनेछ । प्राधिकरणले यसअघि असार ६ गते पनि इन्धन शुल्क घटाएको थियो ।
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका (८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनका अनुसार असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्रदेश ०२ (०२६ प। ०६५३ नम्बरको मोटरसाइकलले घिमिरेलाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उपचारको क्रममा सोमबार साँझ न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको डिएसपी पाठकले बताए। प्रहरीका अनुसार मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका (५का २० वर्षीय राजन थापा र मोटरसाइकल पछाडि बस्ने २४ वर्षीय साजन कार्की सामान्य घाइते भएका थिए।

