काठमाडौं: महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष (आव) २०७९ र ८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा ७ दिन अगाडि नै निकासा भुक्तानी नहुने र प्रणाली बन्द गर्नुपर्छ । यसबीचमा नियमले निर्दिष्ट गरेको कामका लागि भने निकासा दिन सकिने प्रावधान छ । सो निकासाबाहेक नियमित निकासा र भुक्तानी सक्न महालेखाले मातहतका कार्यालयलाई निर्देशन दिएको हो । सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । मंगलबारसम्म संघीय सरकारले १२ खर्ब २१ अर्ब ३९ करोड रुपैयाँ खर्च गरिसकेको छ । जसमा ९ खर्ब १० अर्ब चालु, १ खर्ब ६० अर्ब पूँजीगत र १ खर्ब ४८ अर्ब रुपैयाँ वित्तीय व्यवस्थामा खर्च भइसकेको छ । यो क्रमशः ७६।९१ प्रतिशत, ४२।८७ प्रतिशत र ६४।४ प्रतिशत हो । राजस्व संकलन भने मंगलबारसम्म ८ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ मात्र भएको छ ।
रौतहट: प्रहरीले मंगलबार एकै दिनमा ६ जना फरारको सूचीमा रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत रौतहटको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय भई फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा कुटपिट अङ्गभङ्ग मुद्दाको फरार प्रतिवादीहरू गरुडा नगरपालिका २ गेडहिगुठिका वर्ष ६५ का बलिराम सहनी, सोही ठाउँका वर्ष ५५ को कृष्णनन्दन सहनी, वर्ष ३५ का सुनिल सहनी, वर्ष ३९ का प्रभुनन्दन भन्ने शशि सहनी रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । त्यसैगरी जुवा सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू गरुडा ६ पोथियाहिका ६५ वर्षीय जम्दार साह र ६० वषीय जुकिन्द्र साह पनि पक्राउ परेको एसपी बुढामगरले जानकारी दिए । पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराई प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मोरङ: मोरङको कानेपोखरी–७ बरगाछीमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको उपचार हुन सकेको छैन । उनीहरूले मङ्गलबार बेलुका खेतबाट खोजेर ल्याएको जङ्गली च्याउको तरकारीसँग खाएका थिए । खाना खाए लगत्तै ७६ वर्षीया देशमाया राई, ४६ वर्षीय मनकुमार राई, ४४ वर्षीया मङ्गला राई ,२४ वर्षीया सुस्मिता राई र १४ वर्षीया आइसिका राई बिरामीलाई नसा लागेको थियो । राति ९ बजेदेखि पाँचै जनाले बान्ता गर्दै बरबराउन थालेपछि राई परिवारका आफन्तलाई खबर गरिएको थियो । मङ्गला र सुस्मिताको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ भने अन्य तीनजना अझैसम्म उठ्न सकेका छैनन् । देशमाया राईले भन्नुभयो, ‘‘खुट्टा टेकिँदैन, उठ्ने आँट आउँदैन ।’’ अर्का बिरामी मनकुमार राईले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।
काठमाण्डौ: काठमाण्डौको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् । बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको र धम्क्याएको आरोपमा सुनसरीको दुहबी नगरपालिका–६ घर भइ काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार पक्राउ परेका प्रहरीले जनाएको छ । हिजो नक्सालको एक पार्टी प्यालेसमा विवाह समारोह भैरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएको पीडित परिवारको गुनासो छ । प्रहरी परिसर काठमाण्डौका एसपी सीताराम रिजालका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा बेहुला पक्षले दाइजोबापत २२ लाख रुपैयाँ लिइसकेको र थप ५० लाख रुपैयाँ मागेको खुलेको छ । दाइजो माग्ने बेहुलालाई विवाहसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रौनियारसँग अमेरिकाको ग्रिनकार्ड पनि छ ।
पोखरा: गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले प्रदेश सरकारले लिएको अहिलेको कार्यक्रमले प्रदेशका नागरिकसँग प्रत्यक्ष जोडिएको बताएकी छिन् । गण्डकी प्रदेश सभामा आज देखि सुरु भएको उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालय र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको बजेट माथि छलफलको क्रममा उनले यस्तो बताएकी हुन् । ‘प्रदेश सरकारले घरेलु मदिरा ब्राण्डिङ गर्ने देखि सामुदायिक घरबाँस होमस्टेमा बजेट बिनियोजित गरेर नागरिकसँग जोडिएको छ’ गुरुङले भनिन्, ‘प्रदेश भित्र लिफटिङ खानेपानी र सिचाईमा लाग्ने विद्युत महशुल शतप्रतिशत छुट दिएर नागरिकसँग प्रदेश सरकार जोडिएको छ ।’ उनले लिफटिङ मार्फत खानेपानी प्रयोग नागरिक विद्युतको महशुल तिर्न नसक्दा आयोजना बन्द भएको छ, उनीहरुको लागि यो कार्यक्रम साच्चिकै फलदायी छ । सांसद गुरुङले गण्डकी प्रदेशको नयाँनयाँ ट्रेकिङ रुटको लागि खोजी गर्न आवश्यक रहेको समेत बताईन् ।
स्याङ्जा: करेन्ट लागेर स्याङ्जाको बिरुवा गाउँपालिकामा एक बालिकाको ज्यान गएको छ । करेन्ट लागेर मङ्गलवार दिउँसो बिरुवा–७ बलेवाका दलबहादुर गुरुङकी १० वर्षीया छोरी गीताको ज्यान गएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रबिन्द्र खनालले जानकारी दिनुभयो । आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा बिजुलीको प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारका क्रममा ज्यान गएको डीएसपी खनालले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डेले सत्तापक्षले प्रतिपक्षलाई मगन्ते बनाएको बताएका छन् । गण्डकी प्रदेश सभामा आज देखि सुरु भएको मन्त्रालयतर्फको बजेटको छलफलको क्रममा सांसद पाण्डेले प्रदेश सभाको कठघरामा बसेर सत्तापक्षले दिने र प्रतिपक्षले लिने गर्दा भिक्षा माग्ने मगन्ते भएको बताए । ‘सत्तापक्षका माननीय ज्यूहरुले आफुहरु मात्र चुनाव जितेर आएको जस्तो व्यवहार गर्नुभयो, हामी पनि चुनाव जितेर आएको हो’, सांसद पाण्डेले भने, ‘प्रदेश सभाको कठघरामा बसेर सत्तापक्षका मुख्यमन्त्री मन्त्रीहरुले योजना दिने र हामीले लिने मगन्तेको रुपमा प्रस्तुत गराइएको छ ।’ अहिले प्रदेश सरकारले ५/१० लाखको बजेट बनाएर कार्यकर्ता खुशी बनाउन यो बजेट ल्याएको उनले दावी गरे । सांसद पाण्डेले आफ्नो क्षेत्रमा योजना माग गर्न मन्त्रालयदेखि मन्त्री क्वाटरसम्म पुगेको बताए । ‘आफ्नो क्षेत्रमा योजना माग गर्न मन्त्रीको क्वाटर देखि मन्त्रालयसम्म गयौं, हामी भन्दा पहिला नै गाउँबाट योजना माग गर्न सयौंको संख्यामा जनताहरु आउनुभएको रहेछ, उनले भने, ‘योजना त माग्नुप¥यो, मन्त्रालयमा नाम टिपायौं केही मन्त्रालयले फोन गरेर भएपनि केही योजनामा बजेट दिए केहीले दिएन ।’ उनले प्रदेशको औचित्यको पुष्टि गर्न ७ प्रदेशमध्ये गण्डकीलाई उत्कृष्ठ बनाउन सत्तापक्ष र प्रतिपक्ष नभनेर योजनाबद्ध ढङ्गबाट कहाँ कुन योजना बनाएर अगाडि बढ्न सकिन्छ भनेर अगाडि बढ्न समेत सुझाव दिए । आज देखि गण्डकी प्रदेश सभामा उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालय र उद्योग, पर्यटन,वन वातावरण मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।
काठमाडौं: नेपाल सरकारले यही असार १४ गते इदको अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (मङ्गलबार) सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बिको पर्व बकर इद (ईद उल अजहा) भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
काठमाण्डौ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ र स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन परिसरमा भिड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जनामात्रै जान पाउने निर्णय गरेको हो । प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भिड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले त्यो निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भिड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको भिड लाग्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायु सेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

