सङ्खुवासभा: जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत जनाउँदै उहाँले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताउनुभयो । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।
पोखरा: पर्वत र आयोजक एलिट भलिबल प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३, नदिपुरमा भएको उक्त प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल टोली च्याम्पियन बनेको हो । पर्वतले पिरामिड कन्ट्रक्सन हङकङलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वतले तेस्रो सेट १७–२५ ले पिरामिड कन्ट्रक्सनलाई सुम्पिएको थियो । चौथो सेटमा २५–२२ को पुनरागमन जित निकाल्दै पर्वतले उपाधि रक्षा ग¥यो । उपाधिसँगै पर्वतले ट्रफीसहित नगद एक लाख हात पा¥यो । फाइनलमा पराजित पिरामिड कन्ट्रक्सन हङकङले ५० हजारमा चित्त बुझाउनुप¥यो । महिलातर्फ आयोजक टोली एलिट भलिबलले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पा¥यो । एलिट भलिबलले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ को सहज जित निकाल्यो । एलिट भलिबलले ५० हजारसहित ट्रफी हात पा¥यो । उपविजेता बनेको बागलुङ नगरपालिकाले २५ हजार प्राप्त गरेको छ । पुरुषतर्फ सञ्जुविक्रम शाह र महिलातर्फ मिना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ वेष्ट सर्भर रेशम छन्त्याल, वेष्ट सेटर विवश आले, वेष्ट ब्लकर सुगम विक, वेष्ट स्पाइकर सन्तोष विक र वेष्ट डिफेन्डर जितबहादर सार्की घोषित भए । महिलातर्फ वेष्ट सर्भर रिक्जना बोटे, वेष्ट सेटर रेविना घर्ति, वेष्ट ब्लकर विष्णु क्षेत्री, वेष्ट स्पाइकर सोइङ थापा र वेष्ट डिफेन्डर काजल श्रेष्ठ बनिन् । विजेता, उपविजेतालाई एलिट भलिबलकी प्रशिक्षक अरुणा शाही, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य डा. मधुसुधन सुवेदी, भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङसहितले ट्रफी र मेडल प्रदान गरे । आयोजक एलिट भलिबल एकेडेमीकी प्रशिक्षक एवम् राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले यो प्रतियोगिता महिला खेलाडी उत्पादनका लागि कोशेढुंगा हुने विश्वास व्यक्त गरिन् ।
स्याङ्जा: जनसम्पर्क युवा क्लबको आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेलामा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित गत चैत्र पुर्णिमा (३० गते) देखि सुरु भएको मेलामा दुई दिन सांगीतिक कार्यक्रमको आयोजना भएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार नव वर्षको अवसरमा आइतरबार र सोमबार ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरु चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, शंकर पन्त, निश्चल थापा मगर, पारु गुरुङ र ममता तामाङले प्रस्तुती दिनेछिन् । भने, २ गते रेशम थापामगर, अर्चना चापागाँई र होम गुरुङले प्रस्तुती दिए । अब मंगलबारदेखि गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुनेछ । यस्तै नृत्य प्रतियोगिता पनि आयोजना हुने अध्यक्ष रानामगरले बताए । उनका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिनेछ । यसैगरी नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ८ हजार रुपैयाँ, द्वित्तिय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु २ हजारसहित पुरस्कृत गरिने प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए । उक्त कार्यक्रम यही पञ्चमीसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
पोखरा महानगरपालिका–३ नदीपुर (पद्म नर्सिङ होमको अगाडि) मा ५० लाखको लागतमा ‘कानुङ क्याफे एण्ड कफि सप’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–३ का वडा सदस्यसमेत रहेका युवा व्यवसायी नविन आले मगरले नव वर्ष २०८२ को अवसर पारेर आज (सोमबार) देखि क्याफे सञ्चालनमा ल्याएका हुन् । उक्त क्याफेको उद्घाटन माता तुलसीदेवी आले र पिता लालबहादुर आले मगरले संयुक्त रुपमा गरे । क्याफेमा नयाँवर्ष तथा उद्घाटन अफर अन्तरर्गत आगामी १५ गतेसम्म कफि तथा हरेक परिकारमा १० प्रतिशत छुट प्रदान गरिने सञ्चालक आले मगरले बताए । ‘कफि पारखीहरुका लागि मात्रै नभएर प्रचलित खाजाका परिकारहरु हाम्रो क्याफेमा उपलब्ध हुनेछन्, उनले भने, ‘नयाँवर्षदेखि २ हप्ताका लागि कफि तथा हरेर परिकारमा १० प्रतिशत छुट दिँदैंछौ ।’ स्वदेशमै स्वरोजगारको सिर्जना गर्न र पारिवारिकमैत्री सेवा दिने उद्देश्यले क्याफे सञ्चालनमा ल्याएको बताउदै हाल ७ जना कर्मचारी कार्यरत रहेको उनले बताए । ‘अहिले युवाहरु देश छाडेर विदेश पलायन हुने अवस्था छ । तर मैले यही केही गर्नुपर्छ भनेर क्याफे सञ्चालनमा ल्याएको हुँ, उनले भने, ‘कानुङ क्याफे नाफामुखी मात्र नभएर सेवामुखी क्याफे बनाउने प्रयत्न गरेको छु ।’ उनले मगर जातिको भाषा तथा संस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित मगर भाषामा क्याफेको नामाकरण गरिएको बताए । ‘मै सामाजिक क्षेत्रमा क्रियाशिल भएको हिसाबले पनि आफ्नो भाषाको संरक्षण गर्ने हेतुले क्याफेको नाम पनि ‘कानुङ क्याफे’ राखिएको हो, सञ्चालक आलेमगरले भने, ‘यसले मगर समुदायलाई मात्रै होइन अन्य समुदायलाई पनि अपनत्व गराउँछ भन्ने विश्वास छ ।’ मगर भाषामा ‘कानुङ’ भन्नाले नेपालीमा ‘हाम्रो’ भन्ने अर्थ लाग्छ । राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमासमेत क्रियाशिल आलेमगर विभिन्न संघ संस्थामा आबद्ध छन् ।
पोखराः बागलुङको ताराखोला गाउँपालिकामा आत्मदाहको प्रयास गरेका ८० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ताराखोला गाउँपालिका–१ भुस्कातका ८० वर्षीय हस्तबहादुर गुरुङ रहेका छन् । उनले आइतबार साँझ आफ्नै शरिरमा पेट्राल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका गुरुङको उपचारको क्रममा बागलुङको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । ‘आइतबार साँझ ५ बजे गुरुङले घर नजिकै रहेको चौरमा गएर आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लागेको अवस्थामा श्रीमती र छोराले देखेपछि आगो नियन्त्रणमा लिन प्रयास गरेका रहेछन्, उनले सुनगाभा न्यूजसँग भने, ‘त्यसपछि कम्मरभन्दा माथिको भाग जलेपछि उपचारका लागि धौलागिरी अस्पताल ल्याएका थिए । त्यसछि राती करिब १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।’ डिएसपी यादवका अनुसार गुरुङको शवलाई पोष्टमार्टमका लागि धौलागिरी अस्पतालमा राखिएको छ । गुरुङले आत्मदाह गर्नुको कारण नखुलेकाले अनुसन्धान जारी रहेको बागलुङ प्रहरीले जनाएको छ ।
हुम्ला: हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चङ्खेली गाउँपालिका–२का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताउनुभयो । चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २.०३.००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ । चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि स्काभेटर सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका दुबै जनाको उपचारका लागि श्रीमष्ठा प्रथामिक स्वास्थ्यचौकी पु¥याइएको थियो ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको ‘रिट्रिट’ कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो “नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन् ।” सो अवसरमा मन्त्री डा राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको पनि स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । इलाम क्षेत्रको महत्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडा र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गर्नुभयो । उहाँले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गर्नुभयो । साथै मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका “राजदूत” बन्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “मेरो आग्रह छ कि यहाँबाट फर्किंदा तपाईंहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस् ।” कार्यक्रममा मन्त्री डा राणाले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गर्नुभयो । परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको अद्वितीय सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई सुनेर भन्दा पनि आफैँले देखेर मनन् गर्न आग्रह गर्नुभयो । यस कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशका राजदूत एवं विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुनुहुन्छ । उहाँहरुले कन्यामको सुन्दरता र चियाबारीको आकर्षणलाई तस्बिरमा कैद गर्नुका साथै आज बिहान अन्तुबाट सूर्योदयको अवलोकन गर्नुभएको थियो । यस कार्यक्रमका सहआयोजकमा नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिका पनि रहेका छन् । नेपालको पर्यटन प्रवद्र्धनका लागि इलामको प्राकृतिक एवं सांस्कृतिक सौन्दर्य तथा स्थानीयताको परिचय दिई यहाँको पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले यसवर्ष इलाममा यो कार्यक्रमको आयोजना गरिएको हो ।
मुस्ताङ: प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र—३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको आठ सय ९४ केजी शालिग्राम शिला बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमिबाट जोमसोमतर्फ आउँदै गरेको ग ३ च ८१५२ नं को बोलेरो जीपलाई शङ्का लागि जाँच गर्दा अवैध शालिग्राम प्रहरीले फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । लोघेकर दामोदरकुण्ड–५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेञ्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर अवैध रुपमा लुकाइछिपाइ शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको प्रहरी निरीक्षण अधिकारीको भनाइ छ । अवैध रुपमा ल्याउँदै गरेको शालिग्रामसहित जीप , चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको प्रहरीले जनाएको छ । एक्याप जोमसोमले शालिग्राम शिलासहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका लागि पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । जिल्लाको दामोदरकुुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दू धर्मशास्त्रमा विष्णु भगवानको प्रतिकको रुपमा पुज्ने गरिन्छ । व्यावासायिक रुपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले कडान निगरानी गर्ने गरेको छ । व्यक्तिगत रुपमा फुटकर शालिग्राम शिला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन, प्रहरी र एक्यापले छुट दिएको छ । जिल्लामा सडक सञ्जालको विकाससँगै शालिग्राम दोहनको क्रम बढ्दो अवस्थामा छ । जिल्लामा आउने वार्षिक पाँच लाख भक्तजनले एक÷एक वटा शालिग्राम खरिद गरेर लैजाने हो भने पनि मुस्ताङबाट ठूलो परिमाणमा शालिग्राम जिल्लाबाट बाहिरिने गर्छ । यहाँको कागबेनी,मुक्तिनाथ, जोमसोम लगायतका स्थानमा फुटकर व्यवसायीले शालिग्राम बिक्रीका लागि राखेका हुन्छन् । जिल्लामा पर्यटक आगमन बढेसंगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ ।
काठमाडौं: कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारीसँग आग्रह गर्नुभएको छ । कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आज भएको भेटमा राजदूत पौडेलले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्न कतार सरकारले निभाएको भूमिकाको सराहना गर्दै बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गर्नुभएको हो । दोहास्थित नेपालको राजदूतावासका अनुसार उहाँहरूबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं समझदारीको कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे विचारविमर्श भएको थियो । महासचिव हमादीले जोशीको रिहाइका निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताउनुभएको थियो ।

