चितवन: यतिबेला रुघाखोकी लागेका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा निको हुने गरेकामा यो वर्ष भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको हो । भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा प्रकाश खतिवडा हरेक तीन वर्षमा एन्फुञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने बताउनुहुन्छ । हरेक तीन तीन वर्षमा यस्तै हुने गरेको भन्दै उहाँले अहिले निको हुन दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन अरू बढी समय लाग्छ ।” खोकी, स्वास्वा हुनेजस्ता समस्या लिएर बिरामी आउने गरेको भन्दै उहाँले अझै एक महिना यस्तो समस्या रहने बताउनुभयो । दुई महिनायता यो समस्या बढी मात्रामा देखिएको हो । सरकारी अस्पताल, मेडिकल कलेजहरू र निजी अस्पताल एवं क्लिनिकमा समेत समेत यस्ता बिरामीको चाप रहेको डा खतिवडा बताउनुहुन्छ । उहाँले मास्कको प्रयोग गर्न, भीडभाडमा नजान सुझाव दिनुभयो । चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउनुहुन्छ । रुघाखोकीसँगै अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई प्रदूषण र रुघाखोकीले सामान्य अवस्थाभन्दा बढी जोखिममा पारेको छ ।” नियमित औषधि सेवन गर्नेहरूलाई समेत यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो । विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीहरूलाई जोगाउनुपर्नेमा उहाँको जोड छ । हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो र फोहर मिसिएकोजस्तो देखिने गरेको छ । रुघाखोकीसँगै देखिएको श्वासप्रश्वासको समस्या निको हुन समय लागेको उहाँ बताउनुहुन्छ । पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी आफूले मधुमेह, थाइराइड, उच्च रक्तचापका बिरामी धेरै हेर्ने गरेकोमा अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरू धेरै आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दैनिक कम्तीमा १० जना श्वासनली बज्यो, छाती घ्यारघ्यार भयो, रुघा निको भएन भनेर आउनुहुन्छ ।” कतिपय भर्खरै निको भएको तर पुनः समस्या आयो भन्दै अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो । यस्तो समस्या निको हुन धेरैलाई दुई हप्ता लागेको उहाँले बताउनुभयो । पहिले रुघाखोकी दुई तीन दिनमा निको हुने गरेको थियो । यसको कारण बदलिएको कोभिड पनि हुनसक्नेतर्फ उहाँले सङ्केत गर्नुभयो । इन्फुन्जा नेपालमा रहेको भन्दै उहाँले भन्नुभयो, “रोग के कारणले लागेको हो भन्ने हामीकहाँ अध्ययन भएको छैन ।” वायु प्रदूषण अर्को कारण हुनसक्ने डा अधिकारीको भनाइ छ । अहिलेको समयमा विवाह, व्रतबन्ध, भोजभतेरजस्ता मानिसको भीड हुने कार्यक्रम धेरै भएकाले पनि यो फैलिएको डा अधिकारी बताउनुहुन्छ । यससँगै राजनीतिक समर्थन र विरोधका कार्यक्रममार्फत पनि सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो । उहाँले कोभिडको समयमा अपनाईएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन सुझाव दिनुभयो ।
काठमाडौं: लामो अनुसन्धानपछि प्रहरीले काठमाडौँ उपत्यकाको ललितपुरबाट आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा कान्छो दाजु पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१२ मङ्गलबजार बस्ने भगवती बोहराकी ११ वर्षकी छोरी दुर्गा बोहरा बेपत्ता भएको घटनाको अनुसन्धानका क्रममा उक्त तथ्य पत्ता लागेपछि आफ्नै दाजुलाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले आज घटना विवरण सार्वजनिक गर्दै जानकारी दिएको छ । कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार चैत ४ गते राति हराएको भनी जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको निवेदनपश्चात् खोजतलास गर्ने क्रममा मिति चैत २९ गते खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्याङ्कीमा सडेगलेको अवस्थामा उनको शव फेला परेको थियो । उक्त घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटना मृतकका वर्ष १५ को कान्छो दाइले कर्तव्य गरी हत्या गरेको खुल्न आएको र उनलाई वैशाख १ गते मङ्गलबजार पक्राउ गरी आजै ललितपुर प्रहरीलाई बुझाइएको छ । खोजतलास तथा अनुसन्धानका क्रममा अवालेको पाँच तले घरको भुइँ तल्लामा रहेको प्रयोगविहीन सिमेन्टले बनाएको पानी ट्याङ्कीमा दुर्गा बोहराको शव फेला परेको थियो । बाबुराजा अवालेको उक्त घरमा मृतक र परिवार भाडामा बसेपछि अन्यत्र डेरा सरेका थिए । उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि अन्यत्र डेरा सरेपश्चात् सो घरमा कोही नबसी घर खाली रहेको थियो । चैत ४ गते मृतक र उनका दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । दाजु बहिनीसँगै गएको फुटेज भेटिएपश्चात् दाजुमाथि शङ्का लागि सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडा लिन भनी दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनीलाई पिटेर उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर भुइँमा लडाइँ छोडी भागेको अनुसन्धानका क्रममा बयान दिएको प्रहरीले जनाएको छ । चैत ४ गते दाजुबहिनीले नै लागुऔषधको ट्याब्लेट खाएका थिए र त्यसको नशामा आफू भएकाले त्यस्तो घटना हुन गएको कुरा बताएको र चैत ५ बिहान नशाले छाडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको देखेको र बहिनीको शव ट्याङ्कीमा हालेर हिँडेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । आरोपीको परिचय भने प्रहरीले खुलाएको छैन ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
काठमाडौं: प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको छ । उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई उक्त जिम्मेवारी तोकिएको हो । विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।
गोरखा: बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवद्र्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो । साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना रु तीन लाख कायम गरिएको छ । “चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना रु चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना रु एक लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ ।” उहाँका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ । उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन । गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने उहाँले पाठकले जानकारी दिनुभयो । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन् । विस्थापित हुनेहरुको पुनःस्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । “डुबानका कारण विस्थापित हुनेहरु कसैलाई फिलिममा, कसैलाई जगतमा पुनःस्थापित गर्ने विषयमा छलफल भइरहेको छ तर निर्णय भइसकेको छैन”, लामाले भन्नुभयो । गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं २ का अध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि, सल्लेरी, भालुवन, जगत, नाग्चेतका बासिन्दालगायतको मुआब्जा निर्धारण भेलामा उपस्थिति थियो । अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको उक्त परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो । साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्ने छभने त्यहाँबाट ६।८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ । उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । आयोजनाको कुल लागत रु ७० अर्ब रहेको छ ।
काठमाडौं: नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो ।” भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको बताउनुभएको छ । बौद्धिक पेशाकर्मी परिषद्ले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेतृत्वशैली बदल्नुपर्ने बताउनुभएको हो । “अहिले नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्, योग्यता र शुद्धता भएको नेतृत्वले अहिलेको समस्या समाधान गर्न सक्छ,” महामन्त्री थापाले भन्नुभयो । सरकारले सेवा प्रवाह गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले शिक्षक र सहकारी पीडितका समस्या समाधानमा जोड दिनुभयो । सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय समितिले सहकारी छानबिनसम्बन्धी प्रतिवेदन दिएको लामो समयसम्म पनि रु पाँच लाखभन्दा कम बचत गरेका सहकारी पीडितले बचत फिर्ता पाउन नसकेको बताउँदै उहाँले सेवाप्रवाह छिटो र चुस्त बनाउन पार्टीले सरकार एवं मन्त्रीहरुलाई अनुरोध गरिरहेको जानकारी दिनुभयो । “सरकारलाई सही निर्णय गर्नुस्, रक्षा गर्छौँ, गलत निर्णय गरे प्रतिरक्षा गर्न सक्दैनौँ भनेका छौँ, गभर्नर बिचौलियाले बनाउने होइन, प्रक्रियाबाटै बन्नुपर्छ, भन्ने धारणा राखेका छौँ,” उहाँले भन्नुभयो । परिषद्का अध्यक्ष धु्रवराज थापाले आर्थिक, सामाजिक र राजनीतिक हिसाबले देश अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै यस्तो अवस्थाको सुदृढीकरणमा नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कोशी प्रदेश, अर्थ समितिका विज्ञ ध्रुव घिमिरे, गैर आवासीय नेपाली सङ्घका राजेन्द्रकुमार राउत, खुला विश्वविद्यालयका डा चिरञ्जीवी भट्टराईलगायतले सरकारले सेवाप्रवाह समयमा गर्न नसक्दा सेवाग्राही प्रभावित भएर असन्तुष्टि बढेकामा सत्तारुढ दलका नेताको ध्यान जानुपर्ने बताएका थिए ।
चितवन: दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो । यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरीसिकार हुन नपाएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म २४ गैँडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् । सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बूढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । निकुञ्ज आसपास बसोबास गर्ने जनता सचेत हुँदा चोरीसिकारीले गैँडा मार्न नपाएका हुन् । गत आर्थिक वर्षमा गैँडा २१ वटा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले होभने दुईवटा चोरीसिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो । मगरका अनुसार आर्थिक वर्ष २०७९÷८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए । विगतमा एक हजार ७१ दिनसम्म चोरीसिकार शून्य भएपछि उत्सवका रूपमा मनाइएको थियो । यसपछिका वर्षहरूमा चोरीसिकार शून्य गर्ने तर यसलाई उत्सवका रूपमा नमनाउने नीतिअनुरुप काम गरिएको थियो । सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन गर्नुपरेको थियो । गणना गर्न नसके पनि अनुगमनलाई तीव्रता दिइएको छ ।

