तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

पोखरा:  गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभाकाे अवसरमा  विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।   संघको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, उपाध्यक्ष टसबहादुर गुरुङ, महिला उपाध्यक्ष ईन्द्रा गुरुङ, महासचिव नेत्र गुरुङ, सचिव डबिन गुरुङ, महिला सचिव सुनिमा गुरुङ, सहसचिव रामप्रसाद गुरुङ र कोषाध्यक्ष टौंसुवा (सविना)गुरुङ, सहकोषाध्यक्ष दिलु गुरुङ निर्विरोध भएको कानुनी सल्लाहकार जुना गुरुङले जानकारी दिइन् ।   संघको विदेश विभाग, सांस्कृतिक विभाग, अतिरिक्त क्रियाकलाप,महिला विभाग प्रमुखमा क्रमश: गौरी गुरुङ, युवराज गुरुङ, ओम गुरुङ र रविना गुरुङ छन् ।   सचिवालय सदस्यमा पूजा गुरुङ, रोशन गुरुङ, उषा गुरुङ र रनु गुरुङ छन् । संघको कार्यसमिति सदस्यमा संगीता गुरुङ, ममता गुरुङ, प्रिया गुरुङ, धनप्रसाद गुरुङ, दीपसागर गुरुङ, अनुपम गुरुङ, सागर गुरुङ, एलिना गुरुङ चुनिएका छन् ।   नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित भएको सभामा मेनकाजी गुरुङ स्मृति श्रष्टा पुरस्कार २०८२ बाट अग्रज कलाकार धनबहादुर गुरुङलाई सम्मान गरिएको छ ।   कलाकार धनबहादुरलाई नगद ५ हजार ५ सय ५५ सहित भांग्रा, फेता र सम्मानपत्र प्रदान गरियो ।

पोखरा:   कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् ।   उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।    देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिए ।    देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ । उनले  कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् ।   त्यस्तै  शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् ।   हिजो पोखरा आइपुगेका उनले  देवी प्रतिभाको कथा वाचन समुद्घाटन कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

काठमाडौँ:  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।    महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।   बिहीबार भने तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । जन मूल्य हालसम्मकै उच्च हो ।    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही कायम भएको हो । 

पोखरा:   विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् ।    नेपाल सरकार, युरोपेली संघ, विश्व खाद्य कार्यक्रम र नागरिक उड्डयन प्राधिकरणको सहयोगमा यो घर निर्माण गरिएको हो ।   भवन निर्माणमा २ करोड लगानी भएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको छ ।   राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो ।    चौधरीको निवासमा  उनलाई नै  लक्षित गरेर गएराति गोली प्रहार भएको बताइएकाे छ ।   गोली भित्तामा लागेको प्रहरीले जनाएकाे छ ।   घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएकाे छ ।

नेपाल प्रहरीले प्राविधिक समस्याको कारण आफ्नो अनलाइन प्रणाली अवरुद्ध भएको जनाएको छ।    प्रहरीले सूचना जारी गर्दै वेवसाइट अवरुद्ध हुँदा अनलाइन जरिवाना भुक्तानी प्रणालीसहितका सेवा अवरुद्ध भएको जनाएको हो।    सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति प्रहरीले क्षमा याचना गरेको छ।   

एक साताअघि धरानस्थित पाँच कन्याको जङ्गलमा मृत फेला परेकी धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीय चुनकुमारी बुढाथोकीको हत्या श्रीमानले नै गराएको खुलेको छ ।   वैदेशिक रोजगारीका क्रममा कोरियामा रहेका चुनकुमारीका श्रीमान् प्रेम दाहालले एक भारतीय नागरिकलाई हत्याको सुपारी दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।    हत्यामा संलग्न रहेको आरोपमा ३ पुरुष र २ जना महिलालाई प्रहरीले पक्राउ गरेको  छ। पक्राउ परेकाहरू चुनकुमारीका देवार देवरानी र नन्द समेत छन् ।   उनीहरूलाई काठमाडौँलगायत विभिन्न स्थानबाट पक्राउ गरेर ल्याइएका विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बिहीबार म्याद थप गरिएको छ ।   धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर २ घर भई इटहरीमा डेरा लिएर बस्दै आएकी बुढाथोकी चैत २५ गते धरानको जङ्गलमा अर्धनग्न अवस्थामा भेटिएकी थिइन् ।   प्रहरीका अनुसार धन सम्पत्ति र जग्गा सम्बन्धी विवादका कारण श्रीमान् श्रीमतीका बिचमा विवाद रहेको थियो । उनी दुई वर्षदेखि इटहरीमा बस्दै आएकी थिइन् ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ।   व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ।   चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।   बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ। बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो। दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ।   पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो। अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ।   पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ।   यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ।

मकवानपुरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।   शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्ती लोकपथमा  काठमाडौंबाट हेटौडा जाँदै गरेको बा.प्र ०१-००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।   मृत्यु हुनेमा रौतहटको दुर्गाभवानी गाउँपालिका- ५ कि ५० वर्षीय निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका- ७ कि १३ वर्षीया मानुसी मगर छिन्।    मकवानपुर प्रहरीका अनुसार बिहान १ बजे उक्त गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो।   दुर्घटनामा ११ जना मध्यम र २ जना घाइते भएका छन्।   घाइतेहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित १६ जना सवार थिए।