पशुपतिनगर: इलाम कारागारबाट एक कैदी फरार भएका छन् । देशकै नमुना सुधारगृह बनाइएको इलाम कारागारबाट थुनुवाका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय मनराज राई फरार भएका हुन् । विहीबार साँझ कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको कारागार प्रशासनले जनाएको छ । गणनाका क्रममा उनी फेला नपरेपछि फरार थुनुवाको खोजतलास भइरहेको इलामका एसपी दिलिप घिमिरेले जानकारी दिनुभयो । उहाँले सिसि टिभी फुटेज हेर्दा बिहिबार नै कैदी भागेकोसमेत देखिएको बताउनुभयो । "हामी कारागारबाट कैदी फरार कसरी भयो भन्ने अनुसन्धान गर्दैछौ," एसपी घिमिरेले भन्नुभयो । डाँका मुद्दामा सजाय भोगीरहेका राई २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए । इलाम कारागारमा केहि दिनअघि कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो । जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा छानविन गरिए पनि उक्त भिडियो १० महिना अगाडीको रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो समय नमुना मानिएको इलाम कारागार विवादित बन्दै गएको छ ।
काठमाडौँ: आज (शुक्रवार) देश सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) को तथ्याङकनुसार देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले परीक्षामा सहभागिता जनाएका छन् । परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् ।
काठमाडौं: शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा तोकिएको छ। बिहीबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। बिहीबाररको तुलनामा आज युरो ३८ पैसा बढेको हो। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४७ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रूपैयाँ १२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४८ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २ पैसा र बिक्रीदर ३५ रूपैयाँ १८ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ७२ पैसा र बिक्रीमा २९ रूपैयाँ ८६ पैसा पाइन्छ। शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ४३० रूपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५० रूपैयाँ २० पैसा तोकिएको छ।
काठमाडौं : शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
दोधारा चाँदनी : भारतको विभिन्न ठाउँबाट हुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको हो । “भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, 'पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।' सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ । “अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ,' पन्तले भने,'यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।” कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए। प्राथमिकताका आधारमा खोप लगाइने उन ले बताए। 'अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ,' उनले भने, “आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।' नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन । त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । “खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ,' पन्तले भने।
झापा : झापाको मेचीनगरमा लागु औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१३ घर भई हाल मोरङ जिल्ला लेटाङ नगरपालिका-३ निवासी ४६ वर्षीय विशाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दा टोलमा इलाका प्रहरी कार्यालय नकलबन्दा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नकलबन्दाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको शर्मालाई शंकाका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ १० ग्राम र नगद २८ हजार ६१५ रुपैयाँ फेला परेको थियो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाइएको छ।
काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा वन विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएको बताएका छन्। चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री एवं कुलपति प्रचण्डले कृषि, वन तथा पशुपालनसम्बन्धी विज्ञको आवश्यकता बढिरहेको बेला विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्नु चिन्ताको विषय भएको बताए। 'देशको लागि कृषि, वन तथा पशुपालन सम्बन्धी विज्ञको आवश्यकता दिन प्रतिदिन बढ्दो छ तर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा यी विषयमा अध्ययनका लागि भर्ना हुने विद्यार्थीको संख्या क्रमिक रुपमा घट्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ,'प्रधानमन्त्री प्रचण्डले भने,' यो समस्या एक विश्वविद्यालयको मात्र नभई अन्य विश्वविद्यालयहरुमा समेत देखिएकोले यो विषयको मुल समस्या पहिचान गरी समस्या निर्मुल गर्न नेपालको शिक्षा नीतिमा नै परिमार्जन गर्नुपर्ने हो कि भन्ने मेरो बुझाइ छ।' प्रधानमन्त्री प्रचण्डले विद्यार्थीलाई स्वदेशमा उच्च शिक्षा अध्ययन, अनुसन्धान र उद्यमशिलता विकासमा प्रोत्साहन गर्न आजको विश्वव्यापिकरणको युगमा निकै चुनौतिपूर्ण रहेको बताए। उच्च शिक्षाको क्षेत्रमा देखिएका विभिन्न समस्या यथासमायमा नै समाधान गर्न सकियो भने उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेशिनुपर्ने बाध्यतालाई पक्कै कम गर्न सकिने उनको भनाइ । यसका लागि विद्यार्थीहरूले अध्ययन गर्न चाहेको विषयमा गुणस्तरीय शिक्षा प्रदान गरी नेपालको समग्र विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा विश्वविद्यालय प्रयासरत रहनुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रियस्तरको उच्चशिक्षा एवं प्रतिष्पर्धी विद्यार्थी उत्पादन गर्न सकेमात्रै दिगो विकासका लक्ष्य पूरा गर्न सकिने बताए। उनले विश्वविद्यालयले कृषि र वन विज्ञान शिक्षामा शैद्धान्तिकभन्दा पनि अनुसन्धानबाट आएका व्यावहारिक ज्ञानको पठन/पाठनमा ध्यान दिँदै त्यसलाई विद्यार्थीबाट कृषि र वनसँग सम्बन्धित जन समुदायमा पुर्याउन सकेमा फलदायी हुने बताए।
काठमाडौं: अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक बिरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको वाग्लेले उल्लेख गरेका छन् । ‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’ उनले भनेका छन् । कांग्रेसमा ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा रहेर आर्थिक नीति र योजना, वौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा काम गरेको वाग्लेले बताएका छन् । राष्ट्रिय योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवाले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गरेको उनले बताएका छन् । हेर्नुहोस् स्वर्णिमको फेसबुक स्टाटस
भक्तपुर: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (शुक्रबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौ ।” उहाँले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउनेलगायतका सबै काम सकिएको जानकारी दिनुभयो । एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरू, सातै प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशकहरू, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुखहरु, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताउनुभयो । उहाँले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताउनु भयो । त्यस्तै, प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पुर्याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुर्याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको उहाँको भनाइ छ । करिब पाँच लाख परीक्षार्थी एसइई परीक्षाका सहभागिता जनाउनका लागि यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवेदन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिनुभयो । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् । यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसइईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, बागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेश प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसइईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए । तस्बिर लिन निषेध परीक्षा नियन्त्रक श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गर्नु भएको छ । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि बस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुने गलत गतिविधि भएका प्रचलित कानुन अनुसार कारबाही हुने बताउनु भयो । परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ । परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्बिर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भावना र गुनासा आएकाले यसवर्ष परीक्षा हलभित्र तस्बिर दिन नपाइने व्यवस्था गरेका छौँ ।” विद्यार्थीका लागि एक मिनेट, एक सकेण्डको पनि महत्त्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बन्धित निकायको व्यक्ति बाहेक पसेर अन्यलाई अनुगमन तथा तस्बिर लिने नाममा जथाभाबी परीक्षा हलमा नपठाइने भएको हो । ७८ हजार जनशक्ति एसइई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो । परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पुर्याइसकिएको छ । यस वर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ । जापानमा पनि परीक्षा केन्द्र बोर्डले यसवर्ष जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसइई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो । त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ । परीक्षाको तालिका एसइई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ । परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो । त्यसैगरि चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ । चैत २३ गते बिहीबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड मार्केटिङ, इन्जिनियरिङ ड्रईङ्, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ । यसैगरी, चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, ईलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ, इन्जिनियरिङ सर्भेईङ्ग र म्युजिक अफ नेपालको परीक्षा हुनेछ । यस्तै, चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फ : ऐच्छिक प्रथमपत्रका सबै विषयहरू, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरू, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरू, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाईजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटाबेस म्यानेजमेण्ट सिस्टम, बिल्डिङ कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ । चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलेकट्रोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इन्जिनियरिङ र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ । चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इन्जिनियरिङ, म्युजिक बिजनेस एण्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ । परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फनै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ्, इष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, सङ्गीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ ।

