पोखरा: विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागितामा बिन्ध्यवासिनी मन्दिर परिषरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । साथै, मोहरिया टोल क्षेत्र र विद्यालय परिसरमा पनि सरसफाई तथा फूलका विरुवाहरु रोपिएको प्राचार्य कृष्ण कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही सन्दर्भमा विद्यार्थीहरुले विभिन्न भनाईहरुसमेत प्रस्तुत गरेका थिए । सोही क्रममा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुबीच विश्व वातावरण दिवसको थिममा चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगितामा कक्षा ७ की सृष्टिका कोइराला प्रथम , कक्षा ८ का छात्रा उपासना रेग्मी द्वितीय र कक्षा ८ का छात्र नोआ ब्रमशा तृतीय भइन् । उक्त प्रतियोगिताको निर्णायकको भूमिकामा कला शिक्षिका अनिता थापा रहेकी थिइन् । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । भने, कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेका थिए ।
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखिएको छ। ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन’ मूल मन्त्रका साथ अघि बढ्ने प्रतिबद्धता गरिएको छ। पूर्णपाठसहित
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रविनकुमार शाह र रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–११ बस्ने ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउमध्ये प्रविनले अल्बानिया पठाइदिने भन्दै आठ लाख १८ हजार र प्रतिज्ञाले दक्षिण कोरिया पठाउने भन्दै पाँच लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” काठमाडौँका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
पोखरा: सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा लनर्स एकेडेमीले प्लाष्टिक प्रदूषण विरुद्ध ७ दिने अभियान सुरु गरेको छ । जेठ १८ देखि २३ गतेसम्म वातावरण सप्ताह मनाउने अभियान अन्तर्गत कक्षा ६, ७ र ८ कक्षामा अध्ययनरत विद्यार्थीले पोखरा ६ लेकसाइड केदारेश्वर मन्दिर परिसरमा सफाई गर्दैै निरन्तरता दिएको विद्यालयका प्राचार्य विधान गौतमले जानकारी दिए । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत पोखरा ७ स्थित पोखरा लनर्स एकेडेमीले सरसफाइ अभियानलाई तीव्रता दिएको हो । वातावरण सप्ताहको अवसरमा विद्यार्थीहरुले केदारेश्वर मन्दिर परिसरमा सफाइ कार्यक्रम सम्पन्न गर्दै यस वर्षको विश्व वातावरण दिवसलाई सफल बनाउने प्रतिववद्धता जनाएका छन् । प्लाष्टिक प्रदुषण विरुद्ध एकजुट होऔं’ भन्ने नारालाई मनन् गर्दै उनीहरूले प्लाष्टिक र अन्य फोहोर संकलन गरी वातावरण संरक्षणको सन्देश दिएका थिए । सहभागी विद्यार्थीले भने, ‘हामीले प्लाष्टिकले गर्दा हाम्रो ऐतिहासिक मन्दिर र प्राकृतिक सौन्दर्य बिग्रिरहेको महसुस गरेका छौं । त्यसैले हामीले सरसफाइको माध्यमबाट प्लास्टिक प्रदूर्षण विरुद्ध अभियान थालेका छौं ।’ विद्यालयका माध्यमिक तहका संयोजक कृष्णप्रसाद लम्सालले विद्यार्थीहरुको सक्रियता प्रति प्रशंसा गर्दै भने, ‘विद्यार्थीमा वातावरणीय चेतना जगाउनु र प्लास्टिक प्रदूर्षण विरुद्ध व्यवहारिक कदम चाल्न प्रेरित गर्नु हाम्रो मुख्य उद्देश्य हो।‘ यसैक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले पोस्टर बनाउने, निबन्ध लेख्ने, वादविवाद प्रतियोगिता जस्ता गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । प्लाष्टिक प्रदुषण न्यूनीकरणमा आफ्नो योगदान पु¥याउने लक्ष्य लिएको विद्यालयले आगामी दिनहरुमा प्लास्टिकलाई घटाउने, पुनः प्रयोग गर्ने र पुनःप्रशोधन गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । वातावरण सप्ताह अन्त्यमा सरसफाइ कार्यमा सक्रिय सहभागी विद्यार्थीहरुलाई सम्मान र पुरस्कार वितरण तथा आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका शिक्षक आदर्श घिमिरेले जानकारी दिए ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न निर्माणको ठेक्काको विज्ञापन प्रकाशनका सम्बन्धमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । सो गाउँपालिकको आर्थिक वर्ष २०७९/८० मा विभिन्न चार वटा बोलपत्रको आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो । बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका साथ सार्वजनिक रुपमा प्रकाशन नगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एकप्रति मात्रै प्रकाशित गरेको पाइएको आयोगको आरोप छ । आयोगले सो गाउँपालिकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सहलेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल, प्रभाव दैनिकका कृष्णबहादुर कार्कीविरुद्ध रु तीन लाख १६ हजार चार सय बराबरको बिगो माग दाबी गरेको छ । आयोगका अनुसार प्रेस काउन्सिल नेपालले २०७९ चैत २३ गतेको पत्र अनुसार उक्त बोलपत्रको सूचना प्रकाशित नभएको पाइएको छ । खरिद आशयको सूचना सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नभएको देखिएको छ । पत्रिका व्यवस्थापन प्रणालीको पिडिएफ अभिलेखमा समेत कुनै सूचना प्रकाशित भएको नदेखिएको आयोगको ठहर छ । बोलपत्र आह्वानको सूचना सौर्य दैनिकमा एक–एक प्रति मात्रै प्रकाशन गरे गराएको, प्रेस काउन्सिलमा बुझाइएको विवरणमा समेत उल्लेख नभएको, पिडिएफमा समेत नभेटिएको आयोगको आरोप छ । सार्वजनिक तवरमा वितरण नगर्ने गरी एक–एक प्रति प्रकाशित गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पाँच जनाविरुद्ध कैद र बिगो असुल उपरको माग दाबीका साथ मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले आफ्नो पेशामा निपूर्ण बन्न मदत गर्ने बताए । उनले पत्रकारको कर्मलाई समाजले निगरानी गरिरहेको हुने बताउदै आफ्नो कर्ममा निश्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पर्ने बताए । सहभागीको तर्फबाट बोल्दै संचारकर्मी रोजी श्रेष्ठ र राजन उपाध्यायले तालिम छोटो समयको भएता पनि प्रभावकारी भएको बताए । आगामी दिनमा अभ्यास सहितको तालिम प्रदान गर्न आयोजकलाई आग्रह गरे । प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवं मोवाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियोका लागि मोवाइलको उच्चतम प्रयोग गर्न सकिने बारे प्रशिक्षित गरे । वरिष्ठ फोटो पत्रकार राम गुरुङ र कृष्णमणि बरालले पत्रकारितामा फोटो पत्रकारिताको महत्व सहित आफ्नो अनुभव सहित सहजिकरण गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव मधु अधिकारीले गरेका थिए । तीन दिन सम्म संचालन भएको तालिममा विभिन्न संचारमाध्यममा आवद्ध ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। संविधान अनुसार प्रदेश प्रमुखले प्रदेश सरकारको सिफारिसमा नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने प्रावधान छ । नीति तथा कार्यक्रममा आगामी वर्षका लागि प्रदेश सरकारको प्राथमिकता, नीति निर्देशिका, विकास योजनाहरू र कार्यक्रमहरू समावेश गरिनेछ। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि प्रदेश सभामा छलफल भइसकेको छ । प्रदेशले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ । यो गण्डकीको आठौं नीति तथा कार्यक्रम हो । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल भएर पारित हुनेछ। त्यसपछि असार १ गते आगामी आर्थिक वर्षको बजेट निर्माण कार्य अगाडि बढ्नेछ।
काठमाडौं: सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ । राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
पोखरा: कक्षाकोठालाई सिकाई मैत्री तथा शैक्षिक वातावरणमय बनाउन कक्षागत रुपमा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न गरिएको छ । पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा पाठ्यपुस्तकमा भएका सिकाई क्रियाकलापहरुको विभिन्न सामाग्री निमार्ण गरी कक्षा सजावट प्रतियोगिताको आयोजना गरिएको हो । कक्षा १ देखि कक्षा १० सम्म गरी ३ तहमा वर्गीकरण प्रतियोगिता आयोजना गरिएको प्राचार्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कक्षा १ देखि कक्षा ३ सम्मको पहिलो तहतर्फ कक्षा २ प्रथम भबन्यो। यस्तै कक्षा ४ देखि कक्षा ७ सम्मको दोस्रो तहमा कक्षा ६ प्रथम भयो । भने, कक्षा ८ देखि कक्षा १० सम्मको तेस्रो तहमा कक्षा ८ पहिलो बन्यो । उक्त प्रतियोगिताको विजयी कक्षाका विद्यार्थीलाई निर्णायक समितिका सदस्य द्वय होमराज अधिकारी र शान्ति रानाले पुरस्कार वितरण गरेकी थिइन् ।

