काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा रू एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ । त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ । सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म रू ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको देखिएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख बराबरको खर्च भएको छ । चालु शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात रू पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७ दशमलव ०७ प्रतिशत अर्थात रू एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाख बराबर खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५० दशमलव दुई प्रतिशत अर्थात रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर असुली भएको छ । जसमध्ये, कर राजस्वतर्फ रू १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९ दशमलव ७४ प्रतिशत अर्थात रू छ खर्व ३८ अर्ब ७९ करोड ९० लाख सङ्कलन भएको छ । त्यस्तै, गैरकर राजस्वतर्फ रू एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६० दशमलव ३६ प्रतिशत अर्थात रू ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ । सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर छ । चालु आर्थिक वर्षका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात रू नौ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ ।
काठमाडौं: समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा शनिबार नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको १२ औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तरक्र्रिया गर्ने भएको छ । संसदवादी दल र संसद् बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने मोर्चाको निर्णय छ । “राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत् राजनीतिक पहल लिने निर्णय गरेको छ”, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले भन्नुभयो । बैठकले यही चैत १५ गतेका लागि तय भएको विरोधसभा र जनप्रदर्शनलाई सफल बनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा देशको राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको जानकारी दिँदै उहाँले राजतन्त्र पक्षधरको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको बताउनुभयो । उहाँले प्रतिगामी कदमलाई असफल बनाउने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर रू एक लाख ७४ हजार पाँच सय कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार पाँच सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ५० कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताउनुभयो । “अमेरिकी डलरको मूल्यवृद्धि, अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो”, उहाँले रासससँग भन्नुभयो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
म्याग्दी: खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह (ए)ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेकोे छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ । जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले भन्नुभयो, “आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो । खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।” आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् । मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।
पोखरा महानगरपालिका २९ भण्डारढिकमा जारी दोस्रो नेकोस कप फुटबल प्रतियोगिताको फाइनल शनिबार हुने भएको छ । शनिबार हुने फाइनल खेलमा उपाधिका लागि आयोजक सूर्य तारा क्लब र गन्नी फुटबल क्लब भिड्ने भएका हुन् । उक्त खेल शनिबार दिउँसो १ बजे सञ्चालन हुने महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिए । उनका अनुसार गन्नी एफसीले डिफेन्डिङ च्याम्पियन एलसी ब्रदर्शलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै आयोजक सुर्य ताराले विष्णु पादुका क्लब हेमजालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको च्याम्पियन बन्ने टिमले नगद रु ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ । भने, उपविजेता टिमले नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले नगद रु १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँसहित पुरस्कृत बन्नेछ । खेल महोत्सवमा फुटबलसँगै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको आयोजकले जनाएको छ ।
पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको `होलिल्याण्ड´ कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहान ११ बजेदेखि साँझसम्म देखिन्थ्यो । करिब १५ हजार दर्शकले कार्यक्रममा भाग लिएको आयोजना संस्था प्रचार नेपालका संचालक आशिष पुरीले दाबी गरे । डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति कार्यक्रमको आकर्षण थियो । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक (विवेक गुरुङ) थिए । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् । कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहेका थिए । होलीमा गरिएको कार्यक्रममा दर्शकले दिएको साथले आफूहरुलाई आगामी कार्यक्रम गर्न निकै हौसला थपेको स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले बताए । अन्तिम समयमा कार्यक्रम हुने स्थान बाराही घाटबाट कोमागाने पार्क सार्नु परेपनि दर्शकको साथले कार्यक्रम सोचेभन्दा धेरै सफल भएको उनको भनाइ थियो । करिब सात घण्टा चलेको कार्यक्रमको होस्ट यकिन गुरुङ थिए । यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेका थिए । प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा द एज ब्यान्ड र स्वरको कन्सर्ट गरेको थियो जहाँ करिब ५ हजार दर्शक उपस्थित थिए । त्यसअघि गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्टको व्यवस्थापन प्रचार नेपालले नै गरेको थियो । अंग्रजी नयाँ वर्षको अवसरमा यो वर्ष आयोजित २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए
म्याग्दी: मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गर्नुभएको छ । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्नुहुने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुख्र्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गर्नुभएको हो । मङ्गला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गर्नुभएको छ । “हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए”, खड्काले भन्नुभयो, “जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ ।” अमेरिकाको भेण्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौँमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गर्नुभएको छ । खड्काको सातबिसेमा एक सय रोपनी पुख्र्यौली जग्गा छ । सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए । सातवटा २० रूपैयाँमा किनेको जग्गा भएकाले यो ठाउँको नाम सातबिसे नामकरण भएको किंवदन्ती छ । खेतमा पाक्दा र भान्छामा पकाउँदा मगमग बास्ना आउने गौरिया धानखेती हुने र सिँचाइ सुविधा भएकाले खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए । पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुर नपाउने र लागत बढ्न थालेपछि सातबिसेको खेतीयोग्य जमिन पनि बाँझिएर झाडीमा परिणत हुन थालेको छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका जानुभएका सुशील सन् २०१५ मा नेपाल आउनुभएको थियो । कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उहाँलाई पुख्र्यौली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो । तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गर्नुभएका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गर्नुभएको छ । केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थाल्नुभएको हो । केरा बगैँचा रेखदेखको काममा सुशीललाई आमा मनकुमारीले सघाउनुभएको छ । केरा बेचेर पछिल्लो एक वर्षयता रू एक लाख आम्दानी गर्नुभएका खड्का केराखेतीसँगै ड्रागन फ्रुटको खेती गर्ने तयारीमा हुनुहुन्छ । आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उहाँको योजना छ । “देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो”, खड्काले भन्नुभयो, “जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो ।”
काठमाडौं: साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले राससलाई बताउनुभयो । ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उहाँ जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो । भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उहाँलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।
सोलखुम्बु: हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो । उहाँका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् । “अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै हुन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ । अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ”, शेर्पाले भन्नुभयो । ओपिडीका बिरामीलाई पनि अक्सिजन अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थाका छन् । डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । “अस्पतालका सबै बेड भरिएका छन् । सुत्केरी कक्षका बेडमा समेत अन्य बिरामी राखेर उपचार गराइरहेका छौँ । यदि बिरामीको सङ्ख्या अझै बढे, हामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ”, डा रामबाबु जोशीले भन्नुभयो । भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा जोशीले बताउनुभयो । स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ । दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्, तर बिरामीको चाप अत्यधिक हुँदा उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका डा श्रेया पङ्गेनीका अनुसार भाइरल ज्वरो एकअर्काबाट सजिलै फैलिने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता छ । भवन सुविधासम्पन्न, जनशक्ति अभाव साना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएको छ । विविध कारणले वर्षौँदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रूपमा उद्घाटन गरेपछि लिफ्टसहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकीकृत स्वास्थ्य सेवा सुरू हुने भएको छ । तर जनशक्ति भने अत्यन्त कम हुँदा उपचारमा समस्या भएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् । कोशी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याको मात्र स्वीकृति दिँदा सोहीअनुसार जनशक्ति रहेको अस्पतालका निमित्त प्रमुख शेर्पाले बताउनुभयो । जसका कारण अस्पताल विकास समितिले आधा दर्शनभन्दा बढी कर्मचारी करारमा राखेर सेवा सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ । हिमाली जिल्लाको अस्पताल भएकाले जनशक्ति कम रहे पनि बिरामीको चाप धेरै हुने भएकाले उपचारमा स्वास्थ्य उपकरण, औषधि तथा जनशक्तिको पनि अभाव झेल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसार जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताउनुभयो । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल रहेकाले सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्ने बताउनुभयो । सोलुदूधकुण्ड नगरपालिका–४ मा रहेको यस अस्पतालमा जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता छ । जिल्ला अस्पतालको सुविधासम्पन्न भवन सहरी विकास मन्त्रालयको रु २१ करोड २१ लाखको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन विसं २०७६ पुस २७ गतेदेखि निर्माण सुरु भई गत असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिलारीले ५४ वर्षअघि स्थापना गर्नुभएको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हालै नवनिर्मित भवन सात रोपनीमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

