पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सभा र गण्डकी सरकारले सँयुक्त रुपमा पोखरा आयोजना गरेको समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले सो अवसरमा नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानून, संघीयताको मर्म अनुसार नागरिकसामू जिम्मेवार भई काम गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘नागरिकसामू जिम्मेवार भई उहाँहरुका अपेक्षा तथा चाहना गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारले आ–आफ्ना कार्यक्षेत्रबाट पूर्ण प्रतिबद्ध रहि पूरा गर्न सक्नुपर्छ । त्यसका लागि यस अवसरमा शुभेच्छा प्रकट गर्दछु ।’ प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारबीच सामाजिक, सांस्कृतिक, आर्थिक, न्यायोचित तथा समतामूलक विकास एवं सम्बद्ध कानून निर्माण र कार्यान्वयनको विषयमा सहअस्तित्व र समन्वयका आधारमा सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशको स्थापनाकालबाट हालसम्म हाँसिल गरेका उपलब्धिहरू प्रशंसनीय रहेको बताउनुहुँदैं थप उपलब्धि हाँसिल गर्न अझ प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । ‘प्रदेशको स्थापनाकालबाट हालसम्म हाँसिल गरेका महत्वपूर्ण उपलब्धिहरू प्रशंसनीय छ यद्यपी थप उपलब्धिका लागि प्रतिबद्धता र अठोट गर्न आजको दिन (स्थापनका दिवस) महत्वपूर्ण र ऐतिहासिक रहेको छ’, उहाँले भन्नुभयो । प्रदेश प्रमुख भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न संवैधानिक अधिकार बमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा संघीय सरकार तथा स्थानीय तहसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । ‘प्रदेश सभा र प्रदेश सरकार आ–आफ्नो संस्थाको संस्थागत विकासका लागि कानुनी आचारसंहिताको पूर्ण पालना, हालसम्मका अनुभवहरुमध्ये असल अभ्यासको अनुशरण, वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरुलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको छ’, उहाँले भन्नुभयो । प्रदेशले बनाउनु पर्ने कानूनहरु, शान्ति सुरक्षामा सुधार, प्रदेशबाट राष्ट्रिय तहको कूल ग्राहस्थ उत्पादन, उद्यमशिलताको विकास, कृषियोग्य भूमिको चक्लाबन्दी, कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना, प्रदेशको राष्ट्रिय प्रति व्यक्ति आयमा वृद्धि, मानव विकास सूचकाङ्क, सरदर आयु, साक्षरता दर लगायतमा वृद्धि गर्नुपर्ने र युवाहरुको विदेश पलायन साथै प्रदेशको बहुआयामिक गरिबीको दर घटाउनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । प्रदेश सरकारका उक्त आवधिक योजनाहरुलाई प्राप्त गर्न कुशल कार्यान्वयन भएको खण्डमा मात्र दिगो विकासको लक्ष्य प्राप्त गर्ने राष्ट्रिय अभियानमा गण्डकी प्रदेश सरकारको योगदानको पुष्टि हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो । तीनवटै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छाडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ बर्षको पोथी गैँडालाई एवं सोमबार अन्दाजी १८ वर्षको भाले गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । उनका अनुसार सोमबार नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट भाले गैँडा ल्याइएको हो भने शनिबार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका हुन् । सोमबार डार्ट गरिएको गैँडालाई सोही दिन साँझ स्थानान्तरण गरेर छाडिएको हो । शनिबार डार्ट गरिएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइतबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको थियो । यस वर्ष चारवटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ स्थानान्तरणको काम गरिएको हो । निकुञ्जले गत वर्ष छवटा गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यस पटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट स्थानान्तरणको काम सुरु गरेको हो । थप एउटा भाले गैँडा पूर्वमा ल्याइँदै छ ।
जाजरकोट: जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । यो दुर्घटनामा दुईजना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका(११ मा मंगललबार बिहान भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा गम्भीर घाइते टिप्पर चालक र सहचालकको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार मृतक मध्यपहाडी राजमार्ग निर्माण गरिरहेको सुरुकृति कम्पनीका ट्याक्टर चालक हुन् । ‘टिप्पर ओरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, डीएसपी पाण्डेले भने ।
पोखरा: मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका–२ सामाग्री छैरो चौरस्थित बेनी–जोमसोम सडक खण्डमा पानी निकाश गर्न बनाईएको कल्भर्टमा पहिचान नखुलेको मानव कंकाल परेको हो । मुस्ताङ प्रहरीका अनुसारका कल्भर्टमा फेला परेको मानव कंकालको लिङ्ग समेत पहिचान भएको छैन् । मृतकको पहिचानका लागि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
ललितपुर: ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम पुनः रोकिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको भनिएको फ्लाइओभर ठेकेदार कम्पनीले बीचमै काम छाडेका कारण माघ महिना लागेदेखि कुनैपनि प्रगति छैन । सडक विभागले भने ठेकेदारसँग सम्पर्क गर्न प्रयास गरिरहेकोले आउँदो चैत महिनाभित्र काम सक्नेगरी योजना बनाइरहेको जनाएको छ । अहिले ग्वार्को फ्लाइओभर बनाउने ठाउँमा कामदार देखिदैनन् । माघ महिना शुरु भएदेखि नै काम हुन नसकेको प्रत्यक्षदर्शी बताउँछन् । फ्लाइओभरको काम अन्तिम अन्तिम चरणमा पुगेको देख्न सकिन्छ भने त्यहाँसम्म जाने सडक पनि कालोपत्र गर्नको लागि तयारी गरिएको अवस्थामा देखिन्छ । छेउछाउमा रेलिङ राख्ने काम भने बाँकी नै छ । सडक विभागका अनुसार ग्वार्को फ्लाइओभरको काम करिब ८२ प्रतिशत सकिएको छ । बाँकी काम गरिरहेको आशिष(समानान्तर(रेलिगेर जेभीले एक्कासी काम छाड्दा निर्माण कार्य रोकिएको सडक विभागले जनाएको छ । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र फ्लाइओभर निर्माण सकिनुपर्ने हो । तर यो समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । यो समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । सो समयभित्र पनि काम नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो । निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजनाले जरिवाना लगाएर काम गराएको थियो । ठेकेदारले दैनिक रुपमा ८८ हजार रुपैयाँ हर्जाना तिर्नुपर्थ्यो । सडक विभागका अनुसार निर्माण कम्पनीले ठेक्का रकमको ० दशमलब ०५ प्रतिशतका दरले दैनिक ८८ हजार रुपैयाँ हर्जाना तिर्नुपर्ने भएको हो । निर्माण कम्पनीले जति छिटो काम सम्पन्न गर्यो त्यति कम हर्जाना लाग्थ्यो । तर ८२ प्रतिशत मात्रै काम सम्पन्न गरेर निर्माण कार्य रोकिंदा पनि ठेकेदार कम्पनिले तिर्नुपर्ने हर्जना भने तिर्नैपर्ने हुन्छ । एक्कासी निर्माण कम्पनीले काम छाड्दा सडक विभाग भने के गर्ने भन्ने छलफलमा जुटेको छ । सरोकारवालाहरुसँग छलफल गरी छिटै काम शुरु गरेर अबको तीन महिनामा सबै काम सक्ने विभागको दाबी छ । ठेक्का भएको करिब एक वर्षमा डिजाइनमा समस्या देखाएर काम रोकियो । नयाँ डिजाइन बनाएर काम गरिरहँदा बर्खाको समयमा चार महिनासम्म काम रोकियो । त्यसपछी निर्माणले गति लिएपनि फेरी अहिले ठेकेदार कम्पनीले काम बन्द गरेका हुन् । फ्लाइओभर निर्माण शुरु भएदेखि नै सवारी जामको सास्ती खेप्दै आएका यात्रु र स्थानीय अब झन् बढी चिन्तित बनेका छन् । निर्माण सम्पन्न हुँदा ग्वार्को फ्लाइओभरमा ५ सय मिटर एमएसई वाल भएको सडक बन्नेछ । जसमा कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८० मिटर एमएसई सडक निर्माण हुने सडक विभागले जनाएको छ । ग्वार्को फ्लाइओभर निर्माणका लागि करिब १७ करोड ६ लाख ८८ हजार रुपैयाँ कुल लागतमा आशिष–समानान्तर–रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएको छ ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन् । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका– ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभर एकै पटक सञ्चालन हुनेछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिइने छ ।
पोखरा: प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । पोखरामा सम्पन्न तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य विभु भुसालले जानकारी दिए । महासचिवमा गुणबहादुर रोका, सचिव (दलित) सानेबहादुर नेपाली, जनजाति सचिवमा दानबहादुर गुरुङ, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन भएका छन् । सदस्यहरूमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत भएका छन् ।
स्याङ्जा: स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान वालिङ नगरपालिका– १४ तमादीस्थित वालिङ–पर्वत कच्ची सडकमा ग१च ८९१३ नम्बरको स्कारपियो दुर्घटना भएको हो। दुर्घटनामा वालिङ नगरपालिका– १४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका– ६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ।

