पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

ललितपुर:  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेकामा जोड दिनुभएको छ ।  ललितपुर उद्योग वाणिज्य सङ्घको आजा आयोजित ५८औँ स्थापना दिवसका अवसरमा उहाँले केन्द्रीय सरकारले सहकार्य र सहजीकरणका माध्यमबाट कानुनी समस्या समाधान गर्दै लगानीमैत्री वातावरण तयार गरेको बताउनुभयो । उहाँले सहकार्यका माध्यमबाट समृद्धि हासिलमा लाग्नुपर्नेमा जोड दिनुभयो ।  “रोजगारी सिर्जना, पूर्वाधार निर्माणको काम निजी क्षेत्रको हो, यसका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य अनिवार्य छ, ललितपुर महानगरले निजी क्षेत्रलाई गरेको प्रोत्साहन सराहनीय छ, प्रदेश सरकारसँग पनि सहकार्य गरेका छौँ”, अध्यक्ष ढकालले भन्नुभयो । उहाँले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्ने गरी कानुन आउने हल्लाले एक किसिमको त्रास सिर्जना गरेको थियोे भन्दै उद्योग वाणिज्य महासङ्घको प्रयासमा अहिले त्यो अवस्था समाधान भएको उल्लेख गर्नुभयो ।  “अहिले एउटा वातावरण तयार भएको छ, सरकारले कानुन परिवर्तन गरेर निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ, अब कार्यविधि र नियमावली सही रुपमा छिटो भयो भने धेरै परिवर्तन हुन्छ, हामीसँग धेरै सम्भावना छन्, सूचना प्रविधिको क्षेत्रमा सम्भावना छ, पैसाको कारणबाट काम गर्न नसक्ने अवस्था हुँदैन”, उहाँले भन्नुभयो । उहाँले सकरात्मक सोचका साथ काम गरेर पुँजी परिचालन गर्दै विकास र समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई प्रभावकारी बनाउन आफू तत्पर रहेको बताउनुभयो । “हामी उद्योग वाणिज्य महासङ्घ र उद्योगी व्यवसायीबीच सहकार्य गर्न तत्पर छौँ, उद्योग वाणिज्य महासङ्घबाट बजेट निर्माणका समयमा छफलमा सहभागी हुनुहोस्, सँगै मिलेर काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।  नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले ललितपुर उद्योग वाणिज्य सङ्घबाट नेपाल उद्योग वाणिज्य महासङ्घमा सबै कार्यकालमा सक्रिय प्रतिनिधित्व रहेको बताउँदै ललितपुरको आर्थिक सामाजिक विकासमा मिलेर काम गर्न तत्पर रहेको धारणा राख्नुभयो ।  ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरमा विदेशी लगानी भित्र्याउन अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले ललितपुर उद्योग वाणिज्य सङ्घको एप बनाउने तयारीमा रहेको जानकारी गराउँदै अर्थतन्त्रलाई चलायमान बनाउन ललितपुर महोत्सव गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।  कार्यक्रममा भाषा, साहित्य, कला, संस्कृति संरक्षण एवं सम्बद्र्धनमा योगदान पु¥याउनुहुने संस्कृतिविद् छत्रबहादुर कायस्थलाई रु २५ हजार र सम्मानपत्रसहित सम्मान गरिएको छ ।  विसं २०२३ चैत ४ गते स्थापना भएको ललितपुर उद्योग वाणिज्य सङ्घले ५८औँ स्थापना दिवसका अवसरमा पूर्वअध्यक्ष, पूर्वपदाधिकारीलगायतलाई सम्मान गरेको हो ।

काठमाडौं:  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उहाँकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताउनुभएको छ ।  कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाउनुभएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गर्नुभएको छ ।      उहाँले भन्नुभयो, “यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौँ । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट सङ्कलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ ।”      उहाँ कप्तान सुब्बाको धर्मपिताका रुपमा परिचित हुनुहुन्छ । गत फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन सुरु भएको चलचित्रले तीन दिनमा रु दुई करोड सात लाखको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।  “प्रदर्शनकै दिनदेखि हामी काठमाडौँ उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौँ । चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ । चलचित्र हेर्नुभएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, यसकारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौँ”, वितरक श्रेष्ठले भन्नुभयो ।      उहाँले चलचित्र प्रदर्शनको चौथो दिन आइतबार र पाँचौँ दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्याङ्क आउँदो केही दिनमा सार्वजनिक गर्ने बताउनुभयो । कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण दर्शक उहाँको सङ्घर्ष र सफलतासँग भावनात्मक रुपमा जोडिएको निर्देशक मिलन चाम्सले बताउनुभयो ।      “कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ । हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउनु भयो । यो सफलताले आगामी दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ”, निर्देशक चाम्सले भन्नुभयो ।      चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गर्नुभएको छ । 

मकवानपुर:  मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीमार्फत कृषक आकर्षित भएका छन् । सो पालिकाले आव २०८१/८२ मा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत रु ३५ लाख विनियोजन गरेको छ ।      दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नवालीको खेती गर्ने ४२४ कृषकलाई उत्पादनका आधारमा अधिकतम २७ हजार ८०० सम्म प्रोत्साहन रकम बाँडिएको पालिकाका कृषि शाखा प्रमुख उज्ज्वल राना मगरले जानकारी दिनुभयो ।  पालिकाका ४५१ जना कृषकले दुई हजार ५१० रोपनी जग्गामा कोदोखेती गर्न यस वर्ष निवदेन दिएका थिए । उक्त जग्गामा करिब २५५ मेट्रिक टन कोदो उत्पादन हुने पालिकाले जनाएको छ ।      समग्र गाउँपालिकाभरि पाँच हजार १३ रोपनी क्षेत्रफलमा कोदोखेती हुने र त्यसमा ५०९ मेट्रिक टनसम्म कोदो उत्पादन हुने अनुमान गरिएको कृषि शाखा प्रमुख राना मगरले जानकारी दिनुभयो । यसैगरी, भीमफेदी गाउँपालिकाले रैथाने बाली कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ५५ तोकेको छ ।      सो गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ देखि यो कार्यक्रम सुरु गरे पनि आर्थिक वर्ष २०८१/८२ बाट कृषि कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ बनाएर सञ्चालन गरेको हो ।   रैथाने खेतीबाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत चालु आवका लागि रु ३५ लाख विनियोजन गरेको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष हिदम लामाले यसबाट परम्परागत एवं रैथाने बालीका रुपमा परिचित कोदोखेतीको प्रवद्र्धन तथा व्यावसायिक उत्पादनमा सहयोग पुग्ने र स्थानीय किसानको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

भोजपुर:  बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताउनुभयो ।  मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको उहाँले बताउनुभयो । सविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको उहाँले बताउनुभयो । अर्चले गाउँका जम्मा ३५ घरमा अहिले दुई घर, भोर्लेनीका ३३ घरमध्ये तीन घर, दमाईछाँपमा ८० घरमध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई घरमात्र रहेको उहाँले बताउनुभयो । त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरियामा ८० घरपरिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीले बताउनुभयो । “स्थानीयले गाउँ छाड्दा मानेभञ्याङका धेरै बस्ती खण्डहर बनेको अवस्था छ”, शिक्षक पराजुलीले भन्नुभयो, “मुख्य रूपमा बाँदर र पिउने पानीको समस्याका कारण मानिस अन्यत्र गइरहेका छन् । बाक्लो मानव बस्ती रहेका धेरैवटा गाउँ खण्डहर बनेका छन् ।” विगतमा आफूले अध्यापन गराइरहेको भानुभक्त प्राथमिक विद्यालयमा तीन सयका हारहारीमा विद्यार्थी हुने गरेको भए पनि अहिले ५० जना मात्र रहेको उहाँले बताउनुभयो ।  “गाउँघरमा सडक बिजुलीलगायत विकासको क्षेत्रमा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “मानिस बस्ती छाडेर अन्यत्र गइरहेका छन् । तल्लो भेगका मानिसले बस्ती छाडिदिँदा माथिल्लो भेगमा बाँदरले दुःख दिन थालेको अवस्था छ । यसरी नै बाँदरको उप्रदो बढ्ने हो भने पूरै गाउँ खाली हुने अवस्था छ । राज्यले किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर नियन्त्रणमा ध्यान दिन आवश्यक छ ।” बाँदरको समस्याले किसानलाई हैरान बनाएको अर्चलेका स्थानीयवासी जगतकुमार तामाङले बताउनुभयो । खाली रहेको बस्तीको एक घरमा अहिले ठेक्कामा बस्दै आएको उहाँले बताउनुभयो । अर्चलेमा आफूसहित अहिले दुई घर मात्र रहेको उहाँको भनाइ छ । बाहिर गएकाहरूले घरजग्गा बिक्री नगरी त्यत्तिकै छाडिएकाले संरक्षण अभावमा ती घर पनि भत्किन थालेको उहाँको भनाइ छ । “म पनि यहाँ अर्काको घरमा ठेक्का बसेको छु”, उहाँले भन्नुभयो, “यहाँका सबै घर बिक्री नगरी त्यत्तिकै छाडिदिँदा भत्किएर खण्डहर बनेका छन् । मानिस बस्ती छाडेर हिँड्दा उर्वरभूमि बाँझिएको छ । यहाँका जम्मा ३५ घरमा अहिले दुई घरमात्र छौँ ।” सबैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको उहाँको भनाइ छ । बस्ती खाली भएको कारण बाँदरले झनै दुःख दिने गरेको उहाँले बताउनुभयो । सबैले बस्ती छाडेका कारण विद्युत् विस्तार हुने नसकेको उहाँको भनाइ छ । स्थायी रूपमा बसोबास गर्ने मानिस नै नहुँदा विद्युत् विस्तारमा पनि समस्या भएको छ । राज्यले बाँदर नियन्त्रणसँगै खाली रहेका बाँझो जमिनलाई प्रयोगमा ल्याउने खालका कार्यक्रम नल्याएको खण्डमा यस्ता धेरै बस्ती खण्डहर बन्ने अवस्था रहेको तामाङले बताउनुभयो । बाँदरका कारण नै धेरै किसानलाई समस्या रहेको उहाँ बताउनुहुन्छ । 

मनाङ:   यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ४६ जना सहभागी हुनेभएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ ।  परीक्षामा नियमिततर्फ ४१ र ग्रेडवृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय एकाइ मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।  चारवटा स्थानीय तह रहेको मनाङमा नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी छैनन् ।  उहाँका अनुसार नासोँ गाउँपालिकाको प्रकाशज्योति माविबाट २१, ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट चार, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १६ जना परीक्षामा सहभागी हुँदैछन् ।   प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेडवृद्धि परीक्षा दिन लागेका छन् । 

कञ्चनपुर: परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ ।  घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको सम्झना उहाँ गर्नुहुन्छ । त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, हसुला, सकरगरेला लगाउने गर्दथे ।  पाखुरामा लगौरा, नाडीमा पहुँची, औंँलामा कलात्मक औंँठी, कम्मरमा सिक्रीवाला कैँधनी, पैतलामाथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने गर्दथे । गर्धनमा कण्ठ, गरिया र घिच्ची लगाउने गर्दथे । “टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, करेहाओमा घँघरिया र खुट्टामा पैणा लगाएको महिलालाई त्यतिबेलाको समाजमा उच्च सम्मान गरिन्थ्यो”, उहाँले भन्नुभयो, “त्यस्तो पहिरन र गहना लगाउने महिलालाई सभ्य र संस्कारयुक्त भएको महिलाका रूपमा लिने गरिन्थ्यो ।” हाल ती गहना थोरै महिलासँग मात्र छन् । धेरैले आधुनिक बजारमा चलनचल्तीका गहना लगाउने कार्यले पुराना गहनाको महत्त्व घट्दै गएको उहाँको भनाइ छ ।  पुराना गहना बनाउने कारिगर पाउन मुस्किल छ । रानाथारू समुदायका पुरूषले झगिया, फेटा र हातमा बिल्ला लिएर होली खेल्ने गर्दथे । हाल पुराना पहिरन, गहना हराउँदै गएको रामदास रानाले बताउनुभयो । “पुरूषले लगाउने पुरानो पहिरन लगाउनै छाडेका छन्”, उहाँले भन्नुभयो, “जनचेतनामा  जोड दिन थालिएपछि विगतमा हराउँदै जान थालेको महिलाका पहिरन जोगाउन भने हालसम्म सकिएको छ, तर पहिरनमा आधुनिकताको छाप भने परेको छ ।” रानाथारू समुदायले माघ शुक्ल पूर्णिमाका दिनदेखि होलीको प्रतीक राखेर होली प्रारम्भ गर्ने गरिन्छ । यसबेला मथुराबाट होलीलाई बोलाउने ९आह्वान० गरिन्छ । प्रतीक स्थापना गरेको एक महिनासम्म रातिका बेला महिला पुरूषले भगवान्का कथालाई होली गीतमा ढाल्दै गाउने गरिन्छ । त्यो क्रम फागुन शुक्ल पक्षको पूर्णिमासम्म रहन्छ । गाउँको दक्षिणी पूर्वतर्फ स्थापना गरिएको होलिका पूर्णिमाको दिन दहन गरिन्छ । एक महिनासम्म रातिका बेला खेलिनेलाई जिउँदो होली भन्ने गरिन्छ । होलिका जलाएको भोलिपल्ट खरानीको टीका लगाउने गरिन्छ । त्योभन्दा अगाडि टीका नलाग्ने चलन रानाथारू समुदायमा रहेको थारू अगुवा जगता रानाले बताउनुभयो । त्यसै दिनदेखि आठ दिनसम्म मरेकी होली खेलिन्छ । आठौँ दिनको बेलुका खखडेहरा खेलिन्छ ।   “यस क्रममा होलीलाई बृन्दावन, मथुरामा पठाउने कार्य गरिन्छ”, उहाँले भन्नुभयो, “खप्टा, घल्ला, घोडाको माटोका प्रतिमालाई फोड्ने कार्य गरिन्छ ।” फोड्ने काममा गाउँका अगुवा भलमन्सा, गुरूवालगायत मात्र जाने चलन छ । यसो गरेपछि दुष्टआत्मा गाउँमा प्रवेश नगर्ने भनाइ थारू समुदायका बुढापाकाको छ । उहाँहरूका अनुसार प्रतिमा फोरेर घर फर्कँदा पछाडि फर्केर भने हेर्नु हँुदैन । हेरे दुष्टात्मा पुनः गाउँ फर्कने विश्वास छ । पुरूषको होली त्यसै बेलादेखि सकिन्छ भने महिलाको होली चैत चराईमा पठाइने गरिन्छ । होली प्रारम्भ गर्दा, होली जलाउने बेला, साँझ, राति, दिउँसो गरी फरकफरक समयमा फरकफरक होलीका गीत गाइने गरिन्छ । होलीमा गीतको सुरूआत गर्ने (अगुवाइ गर्ने) महिलालाई मोढी भनिन्छ । मोढीको सिको गर्दै गीत गाउनेलाई पिछडिया भन्ने गरिन्छ । होलीमा ढोलक बनाउनेलाई ढोलिया भनिन्छ । पुराना होलीका गीतलाई लिपिबद्ध गर्ने कार्य नहुँदा हराउँदै जान थालेकोप्रति रानाथारू समुदायका बुढापाकाले चिन्ता जाहेर गरेका छन् । होली प्रत्येकको घरमा परम्परागत चलनअनुसार खेल्ने गरिन्छ । होलीमा सगुनका रूपमा गुड भेली दिने चलन रानाथारू समुदायमा छ । फगुवाका रूपमा पैसा दिने चलन पनि छ ।

काभ्रेपलाञ्चोक:  जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ ।  आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुवेर ढकालले बताउनुभयो । उहाँका अनुसार आगलागी देव्रेतर्फ फैलियो भने मानव बस्ती जोखिममा पर्न सक्छ ।  रातको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले बिहानैदेखि प्रहरी, स्थानीय जनप्रनितिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको ढकालले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय एवं पशु क्षति भएको छैन । यसअघि गत माघ पहिलो साता सोही क्षेत्र महाभारत पर्वतशृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेखडाँडास्थित महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो ।  खानीखोलाको थामलेख डाँडाबाट सुरु भएको आगलागी बेथानचोक गाउँपालिका–५, ३, १ र २ को सीमाक्षेत्रमा समेत आइपुगेपछि हेलिकप्टर मगाइएको थियो ।  जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकारवाला निकायको जनशक्ति परिचालन गर्दा पनि नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाई नियन्त्रणको प्रयास थालेको थियो । 

सप्तरी: एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यथार्थ यही हो ।  सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेको छ । नेपालमै जन्मिए, यही हुर्किएँ तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको ६० वर्षीय मागैन सदाको गुनासो छ । घरकै मूली व्यक्ति मागैनको नागरिकता नबन्दा उहाँकी श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, उहाँका जेठो छोरा २२ वर्षीय गोविन्दा, कान्छो छोरा १९ वर्षीय दीपक नागरिकताविहीन छन् ।  नेपाली भएको प्रमुख पहिचान नै नागरिकता नपाएका ती परिवारका सदस्यहरूले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै सेवासुविधाबाट वञ्चित भएको दुखसो पोख्छन् ।  स्थानीय साहुमहाजनमा खेतीपातीको काम गर्दै आउनुभएका मागैनले नागरिकताका लागि सबै निकायमा धाउँदै आए पनि पहिचान पाउन नसकिएको बताउनुभयो । जन्मेपछि कानुनी रूपमा राज्यको नागरिकहरूको फेहरिस्तमा नाम जोडिनुपर्छ तर  बुबा फनि सदा र आमा चरी सदाको नागरिकता नहुँदा अहिले मागैन सदाको पूरै परिवार नै पहिचानबाट वञ्चित छन् ।  “बुबाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बन्न सकेन, अहिले मेरो नागरिकता नहुँदा श्रीमती र छोराहरूको पहिचान बन्न नसकेको हो”, उहाँ भन्नुहुन्छ, “जन्मदर्ता नबन्दा छोराहरूले विद्यालयमा पढ्न पाएनन् र उनीहरू सानै उमेरमा कमाउन भारत जानुपर्ने अवस्था आयो ।” आर्थिक विपन्नताका कारण केही समय रोजगारीका लागि भारतको पञ्जाबमा काम गरेर फर्केका मागैन अब स्वदेशमै मेहेनत गर्न चाहे पनि नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको सुनाउनुहुन्छ । उहाँका अनुसार नागरिकताका लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म नागरिकताको सिफारिसका लागि धाउँदै आएँ तर सकिएन ।  “नागरिकताको सिफारिसका लागि जन्मदर्ता खोज्छन्, श्रीमान्को नागरिकता र आमाबुबाको नागरिकता माग्छन्”, उर्मिला सदा भन्नुहुन्छ, “तर न आफ्नो जन्मदर्ता छ, न श्रीमान्को नागरिकता नै, नेपाली भएको कुनै प्रमाण नै छैन ।” त्यसैले त नेपाली भएर पनि आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको छ ।”  नागरिकता नहुँदा राज्यको मात्र होइन, समाज तथा समुदायबाट पनि अलग हुनुपरेको दुखेसो सुनाउँदै उर्मिला भन्नुहुन्छ, “नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेकी छुइनँ ।”  यस्तै समस्यासँग जुध्दैछन् सोही ठाउँका चन्दर सदाको परिवार पनि । उहाँका बुबा धोथर सदाको नागरिकता नहुँदा चन्दरको सिङ्गो परिवार नै नागरिकता पाउनबाट वञ्चित छन् ।  चन्दरको नागरिकता नहुँदा उहाँकी ३५ वर्षीया श्रीमती कदमीदेवी, जेठी छोरी १७ वर्षीया पूजा, १५ वर्षीया छोरी श्रद्धा, १० वर्षीय छोरा फुलेशरा, छ वर्षीया छोरी फुलेश्वरी सदा र चार वर्षीय छोरा आयुष सदा पनि जन्मदर्ता र नागरिकताबाट वञ्चित छन् । चन्दर सदाका बुबा धोथर सदाको नागरिकता नबन्दा अहिले पूरै परिवार पहिचानविहीन छन् ।     यो समस्या सप्तरीको शम्भुनाथ नगरपालिकामा मात्र होइन, सप्तरीको विभिन्न स्थानीय तहमा छ । सप्तरीका विभिन्न स्थानीय तहमा जन्मदर्ता, विवाह दर्ता र नागरिकताको ठूलो समस्या पाइएपछि व्यक्तिगत घटना दर्ताका लागि सचेतना कार्यक्रमसमेत सुरु गरिएको छ ।  द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सप्तरीमा हरवाचरवा दलित समुदाय लक्षित घटना दर्ता अभियान सञ्चालन गरेको हो ।  अभियानका क्रममा शम्भुनाथ नगरपालिकाका विभिन्न वडा तथा जिल्लाका विभिन्न स्थानीय तहमा नागरिकताबाट वञ्चित भएकाहरूको तथ्याङ्क सङ्कलन गरी जन्मदर्ता र नागरिकता बनाउनसमेत पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली राम बताउनुहुन्छ । उहाँका अनुसार सप्तरीको शम्भुनाथ, बोदेबर्साइन, डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा तथ्याङ्क सङ्कलनसँगै नागरिकता जन्मदर्ता बनाउने अभियान सञ्चालन गर्दै आएको छ । यसरी जन्मदर्ताबाट वञ्चित रहेका तीमध्ये अधिकांशले जन्मदर्ताकै कारण पढ्न नसकेको समेत नपाइएको तथ्य पाइएको छ । चेतना आभावमा नागरिकता र जन्मदर्ताको महत्त्व नबुझेर पूर्वजहरूले समयमै जन्म, विवाह र मृत्युदर्ता बनाउन होस नपु¥याउँदा अहिलेको सन्ततिले नराम्ररी दुःख पाइरहेको शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरीको भनाइ छ ।  “त्यतिखेर पूर्वजहरूले नागरिकताको खासै महत्त्व बुझेन र बनाउने प्रयास पनि गरेन”, कार्यवाहक नगरप्रमुख चौधरीले भन्नुभयो, “अहिले त्यहीँ भएर सन्ततिले दुःख पाइरहेका छन्, अब कानुनी जटिलता छ, हामीले चाहेर पनि नागरिकताका लागि सिफारिस गर्न सक्ने अवस्था छैन”, उहाँको कथन छ । प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको सुनाउँदै शम्भुनाथ नगरपालिका–३ का वडाध्यक्ष नवीनकुमार चौधरी ती परिवारको नागरिकता समस्या समाधानका लागि पहल गरिरहेको बताउनुहुन्छ । ७२ वर्षमा पनि भत्ता पाउनु भएन सतोदेवीले शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका सतोदेवी सदा उमेरले ७२ वर्ष पूरा गरिसक्नुभएको छ तर अझै नागरिकता पाउन सक्नुभएको छैन । पच्चीस वर्षकै उमेरमा पति धोतर सदालाई गुमाएकी सतोदेवीले नागरिकता नभएकै कारण अझै राज्यबाट प्राप्त हुने हरेक सुविधाबाट वञ्चित हुनुपरेको दुखेसो सुनाउनुभयो ।  दलित मुसहर बस्तीमा एउटा फुसको छाप्रोमा कष्टकर जीवन बिताउँदै आउनुभएकी सतोदेवीले नागरिकताका लागि थुप्रै ठाउँमा गुहारे पनि सफलता पाउनुभएन ।  “छोराहरु सानै थिए, त्यत्तिबेलै पतिको मृत्यु भयो, पतिको नागरिकता थिएन”, सतोदेवी भन्नुहुन्छ, “पतिको नागरिकता नहुँदा मेरो नागरिकता पनि बन्नेन, अहिले सबै सुविधाबाट वञ्चित छु ।” बुढेसकालमा पेट पाल्न न त कुनै काम गर्न सकिरहेकी छु, न सरकारले कुनै सुविधा नै दिन्छ, त्यसैले त अहिले गाउँ बस्तीमै भिक्षाटन गरेर भए पनि दुई छाक पेट पाल्दैछु, सतोदेवीले आँखाबाट आँशु झाँर्दै भन्नुभयो ।  “श्रीमान्को मृत्यु भएको करिब ४५ वर्ष भन्दा बढी भइसक्यो, तर म अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेकी छुइन्”, सतोदेवी भन्नुहुन्छ, “सामाजिक सुरक्षा भत्ताका लागि नागरिकता खोज्छ, तर नागरिकता नै छैन ।” श्रीमान्को मृत्युपश्चात हरेक एकल महिलाले राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । तर नागरिकता नहुँदा आफू ती सुविधाबाट वञ्चित हुनुपरेको सतोदेवीको भनाइ छ ।  नागरिकता बनाइदिन वडाध्यक्षदेखि सिडिओसम्म गुहारे तर, अझै नागरिकता बन्न सकेन उहाँ दुखेसो पोख्नुहुन्छ । “वडाध्यक्षकहाँ पुग्दाँ पतिको नागरिकता ल्याउनु, सनाखत गर्ने मान्छे बोलाउनु भन्छन्”, सतोदेवी भन्नुहुन्छ, “तर न पतिको नागरिकता छ, न सनाखत गर्ने भाइभतिजा नै छन् ।” एउटा भाइको मृत्यु भइसक्यो, अर्को भाइबुहारी रोजगारीका लागि भारत गएका उतै हराए, त्यसैले सनाखत गर्ने व्यक्ति नै पाइनँ । जीवनको अन्तिम क्षणसम्म पनि नागरिकता पाउने सपना पूरा हुनसकेको छैन”, उहाँले थप्नुभयो ।  नागरिकताविहीन हुँदा राज्यबाट पाउनुपर्ने हरेका सेवा सुविधाबाट वञ्चित हुनुमात्र परेको छैन, आफ्नै देशभित्र गैरनागरिकका रूपमा बस्नुपर्ने अवस्था रहेको उहाँको दुखेसो छ । 

दमौली (तनहुँ):  जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् ।   रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।   निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।   उहॉले भन्नुभयो, “यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”