पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

चितवन:    गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहो¥याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताउनुभयो । सहकारी ठग्नेहरुउपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही उहाँले हुने बताउनुभयो ।  सहकारी ठगीमा कास्की प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जलामा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।  हिरासतको संवेदनशीलता तथा  सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।  फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताउनुभयो । वर्तमान समीकरण २०८४ सालसम्म रहने बताउनुभयो । 

काठमाडौं:    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट गर्नुभएको छ । सभापति खतिवडाले समिति स्वतन्त्र रूपमा आफ्नो  काममा क्रियाशील रहेको तथा यसका काममा ‘प्रधानमन्त्री ओलीको चासो’ भन्ने आधारहीन प्रचार भएकामा त्यसको प्रतिवाद गर्नुभयो । “कस्ले दुष्प्रचार गरेको हो जानकारी छैन”, उहाँले भन्नुभयो ।  उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि पनि आयोगले अनुसन्धान गर्न सक्ने गरी संशोधन गर्न सुझाव दिएको थियो ।

काठमाडौं:    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ ।  गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।      मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो ।      उहाँका समकक्षी मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरुद्वारा नेपालमा जलविद्युत्, अटोमोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको बताउनुभयो ।  उहाँले टिआइपीएफ सम्झौताले दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने बताउनुभयो । साथै विगतका सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देश एकअर्काका सहयात्री बन्नुपर्नेमा जोड दिनुभयो ।      नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको वातावरण र अवसरहरुबारे प्रस्तुतीकरण गर्नुभयो ।       यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख तथा प्रवक्ता बाबुराम अधिकारीले नेपालको व्यापारसम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधारका विषयमा प्रस्तुतीकरण गर्नुभयो ।      कोरिया नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्षबाट मन्त्रालय, लगानी बोर्ड, सोलस्थित नेपाली राजदूतावास र नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रढकालसहित करिब ३० जना उद्योगी व्यवसायीको सहभागिता रहेको मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले जानकारी दिनुभयो ।

सर्लाही:    सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ ।  एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उहाँको उपचारका क्रममा आज निधन भएको उहाँका भतिजा नरेश झाले जानकारी दिनुभयो ।      समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । विसं २०५६ मा बलरा गाविस अध्यक्ष पदमा निर्वाचित हुनुभएका उहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बलरा नगरपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । झाका श्रीमती, एक छोरा र चार छोरी छन् ।       झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बलरा–४ मा आज शोक बिदा दिएको वडाध्यक्ष मणिभूषण सिंहले जानकारी दिनुभयो ।  सिंहद्वारा जारी सार्वजनिक सूचनामा वडाभित्रका सम्पूर्ण सरकारी कार्यालय, संस्था तथा विद्यालय आज बन्द गर्ने निर्णय भएको उल्लेख छ । मृदुभाषी स्वभावका झाको निधनले कुशल राजनीतिज्ञ र समावसेवीे गुमाएको उहाँले बताउनुभयो ।      यसैबीच, सङ्घीय सांसद अमरेशकुमार सिंहले आज एक शोक सन्देश जारी गर्दै बलरा–४ का पूर्ववडाध्यक्ष, कुशल समाजसेवी एवं राजीतिज्ञ झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा धेर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

महोत्तरी:   विद्युत् सट भई आगलागी हुँदा यहाँको औरही नगरपालिका–१ स्थित औरहीबजारमा  १० लाख बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा बुधबार राति विद्युत् सट भई आगलागी भएको थियो ।  इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल घरमा आगलागी भएको हो ।  गत मङ्सिरमा बर्दिबास–१४ स्थित इलेक्ट्रिक पसलमा आगलागी हुँदा एक करोड बढीको धनमाल क्षति भएको थियो ।

काठमाडौं:   मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षा कारण रोकिएको छ ।       मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो । नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो ।       नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर–४ मा प्रवेश गरेको थियो ।       यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो । 

काठमाडौं:   नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ रोजेको छ ।     कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । योसँगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्नेछ ।       पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । यो खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।      पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्स विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको थियो ।      कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौं:   खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न  बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिनुभएको छ । स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । साथै उहाँले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको  र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न उहाँले निर्देशन दिनुभयो ।  मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी हुनुहुन्थ्यो ।

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको  सुन्तला बिक्री गर्नुभएको छ ।  तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गर्नुभएको थियो । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उहाँले बताउनुभयो ।  दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् । सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् ।  समूहका अध्यक्षसमेत रहनुभएका पाइजाले गत वर्ष गाउँबाट रु ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष रु एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिनुभयो ।  “यस वर्ष सुन्तलाको उत्पादन अति नै राम्रो छ, अधिकांश किसानको सुन्तला बोटबोटै बिक्री भएको छ, व्यवसायीले पेस्की रकम किसानलाई उपलब्ध गराइसकेका छन्”, पाइजाले भन्नुभयो ।  दोसल्ले गाउँमा करिब १० हजार सुन्तलाका बोट छन् । दोसल्ले गाउँमा मात्रै होइन, जिल्लाभरमै सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन् । सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरुको भनाइ छ ।  बेनी नगरपालिका–३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष रु एक करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष रु एक करोड ६० लाख बढी आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।  “सुन्तला टिप्न व्यवसायी बगैँचामा आइसकेका छन्, उत्पादन राम्रो छ, गत वर्षको तुलनामा दोब्बरजस्तै फल लागेको छ, उत्पादन भएको सुन्तलाको बजारको अभाव छैन”, उहाँले भन्नुभयो ।    उहाँका अनुसार ६२ घरधुरीको बसोबास रहेको राखुका सबैले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । यहाँका अगुवा किसान रामबहादुर घर्तीले रु सात लाख ५० हजार, जीतबहादुर आलेले रु सात लाखमा आफ्नो बगैँचाको सुन्तला ठेक्कामा बिक्री गरिसक्नुभएको छ ।   जिल्लाको राखु, मरेक, बास्कुना, सुर्केमेला, बरङ्गजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना, नारच्याङलगायतका क्षेत्रमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।    बेनी –४ बास्कुना गाउँमा मात्रै यस वर्ष सुन्तला बिक्रीबाट रु एक करोड भित्रिएको छ । यहाँका १६ घरधुरीले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । अगुवा किसान  रहनुभएका वडासदस्य सन्दीप खत्रीले गत वर्ष बास्कुनाबाट रु ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन बढेको कारण किसानको आम्दानी बढेको बताउनुभयो ।    जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढलगायतका बजारमा निकासी हुने थालेको छ । गत वर्षको तुलनामा डेढ गुणाले सुन्तलाको उत्पादन बढेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।   जिल्लामा यस वर्ष सुन्तला उत्पादन बढेको र क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरी विवरण सङ्कलन भइरहेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिनुभयो । म्याग्दीमा आठ सय १० हेक्टर जमिनमा  सुन्तलाखेती हुँदै आएकोमा चार सय २० हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । गत वर्ष जिल्लाबाट तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।