पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

चितवन:     राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो । तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो ।  यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ ।  यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताउनुभयो ।  नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ । 

सर्लाही:    कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् ।  विद्यालयको १२ कक्षामा अध्ययनरत पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिनुभयो ।  उक्त ट्रयाक्टरबाट साना किसानले खेतीपातीमा राम्रो सुविधा लिन सक्ने विद्यालयका विज्ञान शिक्षक सविन चौधरीको भनाइ छ ।  उक्त इभी ट्रयाक्टरमा १२ भोल्टेज एक सय ५० एम्पिएरको चारवटा ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक पाटो सम्हालेका छात्र आशिष चौधरीले बताए । तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली र खेत जोत्न रोटाभेटर जडान गरिएको छ ।       ट्रयाक्टरमा ट्रलीको सामान हाइड्रोलिकको सहायताले खन्याउने सुविधा पनि छ । “रोडाभेटर समेत निकै उच्च गुणस्तरको रहेकाले खेत राम्रोसँग जोत्न मिल्छ”, छात्र पल्लव कौशिकले भने, “थोरै खेत भएका साना किसानका लागि जोत्न, गोडमेल गर्न तथा सामान्य बालीनाली खेतबाट बजारसम्म लैजान सुविधा हुन्छ ।”         विज्ञान तथा प्रविधिमा निकै चाख मानेर पढ्ने छात्रहरूको अन्तरनिहीत क्षमता बाहिर ल्याउने उद्देश्यसहित इभी निर्माणमा प्रोत्साहन गरिएको प्रधानाध्यापक पञ्जियारले बताउनुभयो ।  “सानो हौसलाले उनीहरूले ठूलो क्षमता प्रदर्शन गरेका छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले समेत छात्रलाई सामानसहित लगेर थप स्तरीय बनाउने र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।”           छात्रहरूले गत मङ्गलबार र बुधबार बलरा नगरपालिका–४ गडहिया डुमरियामा भएको दुईदिने जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त ट्रयाक्टर प्रदर्शन गरेका थिए ।  आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएकाले यसले व्यावसायिक सफलता पाउने छात्रहरूको दाबी छ । अहिलेलाई क्षमता प्रदर्शनको माध्यम भए पनि नयाँ कुराको आविष्कार रुचिको विषय भएको छात्र कौशिक बताउँछन् ।      कवाडीमा फालिएका मोटरसाइकलका पार्टस, विभिन्न साइजका फलामका टुक्रा र काठको प्रयोग गरेर निर्माण गरिएको यस विद्युतीय ट्रयाक्टर निर्माणमा रु एक लाख १५ हजार बढी खर्च भएको छ । आफूहरुको लागि यो निकै ठूलो सिकाइ भएको भन्दै आगामी दिनमा बन्ने ट्रयाक्टर अझै कम मूल्यमा निर्माण सम्पन्न हुने छात्र बस्नेत बताउँछन् ।       “हामीले नजानेर केही सामान नास भए, केही बिग्रिए, यसले गर्दा यसमा केही खर्च बढेको छ”, उनले भने, “अन्य सामानको परिमाणले समेत थप लागत कम हुने अपेक्षा गरेका छौँ ।”  यसले गर्दा सामान्यभन्दा सामान्य किसानका लागि यो उपयोगी बन्नेमा आफूहरू ढुक्क रहेको छात्र महतोले बताउनुभयो । छात्रहरूको मेहनत र क्षमतालाई उनीहरूको चाहनाअनुसार नै थप परिस्कृत गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।      निर्माण गरेको विद्युतीय ट्रयाक्टर गुडाएर देखाउँदा अभिभावक तथा शिक्षक शिक्षिकाले खुसी व्यक्त गर्नुभएको थियो ।  इन्धनको रूपमा ब्याट्रीको प्रयोग वातावरणीय हिसाबले उपयुक्त रहेको तथा एकपटक चार्ज गर्दा एक सय ९० किलोमिटरसम्म गुड्ने यसले डिजल, पेट्रोलको दाँजोमा खर्च कम हुने छात्रहरूको दाबी छ ।  यसमा एकपटकमा ६ क्विन्टलसम्म सामान बोकेर सहजै गुड्ने क्षमता रहेको उनीहरू बताउँछन् ।

काभ्रेपलाञ्चोक:      दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उहाँले १३ वर्षपछि आँखा देख्न पाएको बताउनुभयो । नजिकको मात्रै अलिअलि देख्ने उहाँको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए । उहाँले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले उहाँ दङ्ग हुनुभएको छ ।       “जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु”, उहाँले भन्नुभयो, “आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुुसी छँु ।”      प्रकाशमात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो । गाउँकै कक्षा ६ मा अध्ययनरत उहाँले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताउनुभयो ।  दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरुको सहारामा हिँड्नुपर्ने बाध्यता रहेको उहाँले शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको बताउनुभयो । जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो ।       “देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाउँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएनौँ”, सुस्मिताले भन्नुभयो, “गाउँमा आएको शिविरमा उपचारपछि बल्ल सबै चिज देख्न पाएका छु ।”      दुई जनामात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घरआँगनमा नै उपचार सेवा पाएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा नेपाल आँखा कार्यक्रम ख्वप तिलगङ्गा आँखा अस्पताल भक्तपुरको प्राविधिक सहयोग र अगचभ दष्लिमलभकक परियोजनाको आर्थिक सहयोगमा पालिकाका विभिन्न वडामा सञ्चालन गरेको शिविरबाट एक सय जनाको आँखाको शल्यक्रिया गरेको छ ।      तिलगङ्गा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा सुदीप राजभण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताउनुभयो । सो क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १३ वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो ।            महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा नै बसेर विशेषज्ञ डाक्टरबाट सेवा लिन निकै कठिन र खर्चिलो भएको, कतिपय रोग लुकाएर बस्ने भएको तथा जटिल प्रकारका रोग भएको अवस्थामा पनि प्रस्ट भन्न नसक्ने अवस्थाका नागरिकहरु भएका कारण वार्षिक रूपमा गाउँका बस्ती–बस्तीमा नै गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताउनुभयो ।  त्यसरी विभिन्न समस्यामा रहेको नागरिकलाई सेवा दिने क्रममा यसपटक मङ्सिर १७ देखि २१ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिएको उहाँले बताउनुभयो ।

बाँके:     दशौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्काले तथा महिलातर्फ सन्तोषी श्रेष्ठले जित्नुभएको छ ।  खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको दौड पूरा गर्दै उपाधि जित्नुभएको हो । उहाँ गत संस्करणको उपविजेता र आठौँ संस्करणको विजेता पनि हुनुहुन्छ ।        पुरुष म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो हुनुभएको छ । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो  भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा सो दूरी पूरा गर्नुभएको थियो । विजेताले क्रमशः रु दुई लाख, रु एक लाख र रु ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।      खड्का र रोकायाले नेपालगञ्ज म्याराथनको कोर्षको कीर्तिमान पनि तोड्नुभएको छ । म्याराथनमा चौथो हुनेमा सन्तोषविक्रम शाही, पाँचौँमा रुद्र बुढाथोकी, छैटौँमा मानकर्ण केसी, सातौँमा निर्मल कुँवर, आठौँमा खेमबहादुर शाही, नवौँमा भरतकुमार श्रेष्ठ र १०औँमा मङ्गले तामाङ रहनुभएको छ । उहाँहरुले क्रमशः रु २५ हजार, रु १५ हजार, रु १० हजार, रु आठ हजार, रु सात हजार, रु ६ हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।      यसैगरी नेपालगञ्ज महिला हाफ म्याराथनको उपाधि लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जित्नुभएको छ । सो स्पर्धामा पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो हुनुभएको छ ।  उहाँहरूले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नुभएको छ । सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्ष पूरा गर्नुभएको थियो भने दोस्रो हुनुभएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेण्डमा पूरा गर्नुभएको थियो ।  तेस्रो भएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेण्ड र चौथो भएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेण्डमा पूरा गर्नुभएको थियो ।      पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित पाँच किमी विद्यालयस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमी कर्पोरेट रन, पाँच किमी ट्राइसाइकल र पाँच किमी वाकाथनलगायत विधा समावेश गरिएको थियो ।  विद्यालय बाह्यतर्फ छात्रमा विकास विक प्रथम, अजय पाण्डे क्षेत्री दोस्रो र रमेश बुढा तेस्रो हुनुभयो । विद्यालय बाँके छात्रतर्फ अर्विन यादव पहिलो, अमृत शाही दोस्रो र विजय खड्का तेस्रो हुनुभयो ।      यसैगरी किड्स रन बोइजतर्फ पाँच सय मिटरमा राजन थारू, नारायण साउद र अरुण खटिक क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ । किड्स रन गल्र्स्तर्फ मीनाक्षी साउद, पुजन विराट र अञ्जली सेजुवाल क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । यसैगरी कर्पोरेट रनतर्फ योगेश मल्ल पहिलो, डा आरके लामिछाने दोस्रो र मधु सुनार तेस्रो हुनुभयो । ट्राइसाइकलतर्फ राजेश हरिजन प्रथम र मीनकुमारी नेपाली दोस्रो हुनुभएको छ ।        सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएको धारा नेपालगञ्ज म्याराथन यस वर्ष मङ्सिर २२ गते आयोजना गरिएको आयोजक संस्था ‘क्रियटीभ ह्याण्ड्स’का संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।       नेपालगञ्ज म्याराथनलाई सुरुआतदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थालाई ‘दशक रत्न’ सम्मानले सम्मानित गरिएको छ । म्याराथन दश वर्षमा पुगेको अवसरमा उक्त सम्मान दिइएको अध्यक्ष ठकुरीले बताउनुभयो ।

पर्वत:    मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ ।  गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गर्नुभयो ।  डिमुवा–राम्जा चित्रे सडकखण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिनाअगावै गत भदौमा सम्पन्न भएको थियो ।       पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रम अलपत्र परिरहेका बेला निर्धारित समयअगावै सम्पन्न गरेकामा निर्माण व्यावसायीको प्रशंसा गर्नुभएको छ ।  मुलुकको विकास र समृद्धिका लागि सञ्चालित योजना समयमा नै सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ । आफू मन्त्री भएपछि पहिलो समाचार सोही पुल निर्माण सम्पन्न भएको सुनेको बताउँदै दिगो र गुणस्तरीय विकास आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो ।       चालु आर्थिक वर्षमा पनि धेरै मोटरेबल पुल र सडक निर्माणका चरणमा रहेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । पुल निर्माणसँगै लामो समयदेखि नागरिकले पाउँदै आएको सास्ती हटेको उहाँको भनाइ छ ।       अठार महिनामा निर्माण सम्पन्न गर्नेगरी २०८० असोज २२ गते सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिङ्गल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । रु दुई करोड ५३ लाख लागतमा निर्मित  पुल कस्तुरी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । पुलको भारबहन क्षमता ७० टन रहेको छ ।       अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीबाट सहज वातावरण निर्माण भएकाले निर्धारित समयभन्दा छ महिनाअगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिनुभयो ।       यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नं ११ पकुवा र वडा नंं १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो ।       विगत वर्षहरूमा वर्षायाममा खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रूपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ ।  स्थानीय सडक पुल कार्यक्रम एलआरविपी र प्रादेशिक सडक पुल सहयोग एकाइ पिआरवी एसयुको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । पुल उद्घाटनका क्रममा जग्गादाता तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो । 

पोखरा: एन प्याव्सन कास्कीले आयोजना गरेको ५ किमि सडक दौडमा छात्र तर्फ सिद्धार्थ लवडेल वोर्डिङ स्कुलका दुतमान गुरुङ र छात्रा तर्फ त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलकी कविता घर्ती क्षेत्रीले उपाधि जितेका छन् ।  ५ किमिको सडक दौड गुरुङले २० मिनेट ५६.०८ र घर्तीले २८ मिनेट ५५.५५ सेकेण्डको समयमा पुरा गरेका थिए । यस्तै छात्र तर्फ अक्सोफोर्ड स्कुलका इश्वर ढकाल (२१ मिनेट ०३.०९ सेकेण्ड) दोस्रा, न्यू लेखनाथ पब्लिक स्कुलका अजय कार्की (२१ मिनेट ४५ सेकेण्ड) तेस्रा, ज्ञानज्योति विद्याकुञ्ज माविका सक्क्षम भुजेल (२२ मिनेट १८.०४ सकेण्ड) चौथो र फेवा वोर्डिङ स्कुलका जोगबहादुर गुरुङ (२२ मिनेट ५३.४३ सकेण्ड) पाँचौ भए । त्यस्तै छात्रा तर्फ कास्की मोडनाईज्ड एकेडेमीकी सितल भण्डारी (२९ मिनेट.०१.७८ सकेण्ड) दोस्रा, ज्ञानज्योति विद्याकुञ्ज माविकी ओम माया गुरुङ (३० मिनेट ०९.४९ सेकेण्ड) तेस्रा, लेभन रेसिडेन्सियलकी युकिना भारी (३० मिनेट १६.२० सेकेण्ड) चौथा र अल्फा एकेडेमीकी कृष्ण तिवारी (३२ मिनेट २७.०५ सकेण्ड) पाचौ भइन् । त्यसैगरी शिक्षक शिक्षिक तर्फ भएको ५ किमि सडक दौडमा शिक्षक तर्फ हेम्जा वोर्डिङ स्कुलका धिरन घर्तीमगर (२४ मिनेट ०४ सेकेण्ड) प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलका विवेक श्रेष्ठ (२४ मिनेट ३१ सेकेण्ड) दोस्रा, लिटिल फ्लावर एजुकेशन एकेडेमीका शंकरप्रसाद शाहा (२५ मिनेट ४०.३५ सकेण्ड) तेस्रा भए । त्यस्तै शिक्षिका तर्फ अल्फा एकेडेमीकी रेश्मा गुरुङ (३५ मिनेट ४८.०४ सेकेण्ड) प्रथम, हेम्जा वोर्डिङ स्कुलकी प्रतिक्षा सुवेदी (३६ सेकेण्ड २३.४६ सेकेण्ड) दोस्रा र कान्तिपुर एकेडेमीकी दिक्क्षा शाही (३६ मिनेट ३३.८० सेकेण्ड) तेस्रा भए । सडक दौड कार्यक्रममा पोखरा महानगर पालिका खेलकुद विकास समिति अध्यक्ष दिपक गोदार जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रमुख ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डे र एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सडक दौड पोखरा रंगशालाबाट शुरु भइ पृथ्वीचोक, सभागृह, न्यूरोड, चिप्लेढु·ा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदै रंगशालामा आएर समापन भएको कार्यक्रम संयोजक केशवशरण पौडेलले जानकारी दिनुभयो । विजेतालाई समापनका दिन पुरस्कार प्रदान गरिने छ । शनिबार नै भएको छात्र फुटबल तर्फ सनराइज प्रिप्याराटोरीले डायमण्ड मोडेल स्कुललाई १–० ले पराजित गर्दा सिद्धिविनायक वोर्डिङ स्कुलले अल्फा एकेडेमीलाई ३–० ले पराजित ग¥यो । युनिभर्स इंगलिस वोर्डिङ स्कुलले वागमारा एकेडेमी गार्डनलाई ३–० ले पराजित गर्दा नेशनल क्रियशन एकेडेमीले हिल साइड इंगलिस सकेण्डरी स्कुललाई ७–० ले पराजित ग¥यो । त्यस्तै फेवा वोर्डिङ स्कुल श्री रत्नज्योति माविलाई ३–० ले पराजित गर्दा साइनिङ स्टार वोर्डिङ स्कुलले अञ्जुली वोर्डिङ स्कुललाई ३–१ ले पराजित ग¥यो । मर्निङ ग्लोरी एकेडेमी स्कुलले चिल्ड्रेन्स एकेडेमीलाई २–१ ले पराजित गरेको फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिनुभयो । यसैगरी छात्र तर्फको क्रिकेटमा अल्फा एकेडेमीले श्रीरत्न ज्योति माविलाई ५ विकेटले, चिल्डे«न एकेडेमीले नेशनल क्रियशनलाई ९ विकटले, त्रिवेणी पब्लिक माविले लाभेन रेसिडियन्सल ४४ रनले, न्यू ग्यालेक्सीले वागमारा एकेडेमीलाई ३५ रनले पराजित ग¥यो । त्यसैगरी मर्निङ ग्लोरीले एकेडेमीले कान्तिपुरलाई ३ रन, कास्की मोडनाइज्ड एकेडेमीले अञ्जुली वोर्डिङ स्कुललाई ६ विकेट, हेम्जा वोर्डिङ ज्ञान ज्योति विद्याकुञ्ज ५ रनले पराजित ग¥यो । शनिबार भएको पहिलो क्वाटर फाइनल खेल त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलले अल्फा एकेडेमीलाई ४६ रनले जितेको छ । आइतबार चिल्ड्रेन एकेडेमी र न्यू ग्यालेक्सी, मर्निङ ग्लोरी एकेडेमी र लिटिर फ्लावर एकेडेमी, हेम्जा वोर्डिङ स्कुल र कास्की मोडनाइज्ड एकेडेमी बीच क्वाटर फाइनलका गेम हुने क्रिकेट संयोजक रमेशराज पौडेलले जानकारी दिनुभयो । त्यस्तै शनिबार भएको छात्र सेभेन ए साइड फुटबल प्रतियोगिता तर्फ कास्की मोडनाइज्ड एकेडेमीले सिद्धिविनायक वोर्डिङ स्कूललाई २–० ले पराजित ग¥यो । त्यस्तै युनिभर्स बोर्डिङ स्कुलले ज्ञानज्योति विद्याकुञ्जलाई टाइबेकर ३–२ ले पराजित गर्दा न्यून लेखनाथ पब्लिक एकेडेमीले वागमार एकेडेमीलाई टाइबेकरमा २–१ ले पराजित ग¥यो । नेशनल क्रियशन एकेडेमीले कान्तिपुर एकेडेमीलाई टाइबेकरमा २–१ ले  पराजित गरेको छात्रा सेभन ए साईड फुटबलका संयोजक हिमाल गुरुङले जानकारी दिनुभयो । १४ औ नेशल प्याव्सन खेलकुद महोत्सव मंसीर २५ गते औपचारिक उद्घाटन भएपनि अनौपचारिक रुपमा छात्र तर्फ इलाभेन ए साईड फुटबल र क्रिकेट तथा छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता र छात्र छात्र बास्केटल प्रतियोगिता भएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो । खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय  खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्ने छन् । जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् । त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । चार दिनसम्म सञ्चालनहुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७  कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ । शिक्षक, शिक्षिका, छात्र, छात्रा ५ कि.मि सडक दौड, पुरुष क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् । मंसीर २५ गते औपचारीक रुपमा पोखरा रङ्गशालामा समुद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं:   जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ ।  विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ ।       सो प्रणालीको प्रभावका कारण आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।       साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।      साथै उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ ।       जारी विशेष बुलेटिनमा भनिएको छ, ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’      मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको छ । यस महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ ।      विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।       आइतबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जनाइएको छ ।

पोखरा:     पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको हो । टोलीले नेपालको मधेश प्रदेश तथा कोशी प्रदेशका मुख्य सहरहरुमा गण्डकी प्रदेशको पर्यटकिय गन्तव्यहरु प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रमहरु गर्ने छ । शनिबारबाट शुरु भएको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मंसिर २८ गते सम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले जानकारी दिए । पर्यटन व्यवसायीहरुको टोलीले मधेश प्रदेशको जनकपुरमा, कोशी प्रदेशको इलाम र विराटनगरमा कार्यक्रम गरी प्रवर्द्धन गरिने नाट्टा गण्डकी पुर्व अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।  उनले त्यहाँ स्थित सरकार, स्थानिय निकाय, पर्यटन व्यवसायी, उद्योग व्यवसायी र पत्रकार संग अन्तरक्रिया गरी पोखरा र गण्डकी प्रदेश भ्रमणको निम्तो दिनेछ । उताबाट मात्रै नभै पोखराबाट पनि पर्यटक पठाउनका लागि छलफल हुने अधिकारीले बताए । नाट्टाले गण्डकी प्रदेश र पोखराको पर्यटन प्रवर्द्धनका लागि बेला बेलामा स्वदेश र  विदेशमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।  छलफलम भारतका पर्यटन व्यवसायीहरु पनि छलफलमा सहभागी हुने नाट्टा गण्डकीका महासचिब चेतबहादुर कार्कीले बताए । उनीहरु विदाइ गर्दै गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिब कुमानसिंह गुरुङले नेपालको पर्यटनको राजधानी शहर पोखरा र गण्डकी प्रदेश सबै मौसममा भ्रमणको लागी उपयुक्त हुने बताए । उनले प्रवद्र्धनका कार्यक्रमले दुबै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सहयोगी हुने बताए । विगतमा संस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि प्रवर्द्धनात्मक अवलोकन भ्रमण लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको कार्यक्रम संयोजक संगिता पौडेलले बताइन् ।  प्रर्वद्धनका कार्यक्रमले देश भित्रै आर्थिक गतिविधि बढाउने, स्थानिय संस्कृति, परम्पराको पहिचान गर्न एवं आन्तरिक पर्यटनलाई टेवा पुग्ने विश्वास लिएको बताइन् । भ्रमण टोलीमा ३० जना सहभागी रहेका छन् ।  

पोखरा:     पोखरा रङ्गशालामा सञ्चालन भइरहेको आइटिएफ जे–३० टेनिस प्रतियोगिताअन्तर्गत आज सम्पन्न सर्किट–१ को खेलमा एकलमा पुरुषतर्फ चीनका हाइनुओ गुओ र महिलातर्फ भारतकी माहिका खन्नाले उपाधि जितेकी छन् ।  कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही मङ्सिर १७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा पुरुषतर्फ चीनका हाइनुओले भारतका आश्रव्य मेहेरालाई सोझो सेटमा पराजित गरे । हाइनुओले आश्रव्यलाई खेलमा ६–३ र  ६–४ मा पराजित गरेका हुन् । महिलातर्फ भारतकी माहिका खन्नाविरुद्ध नेपाली खेलाडी सुनिरा थापा ‘टाइब्रेकर’ खेलमा पराजित भइन् । पहिलो सेट ६–२ ले माहिकालाई सुम्पिएकी सुनिराले दोस्रो सेट ७–६ र ७–४ ले गुमाउन पुगिन् ।      ‘पुरुष डबल्स’ फाइनलमा भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतकै आदित्य मोर र प्रकाश सरनलाई ६–२ र ६–१ ले पराजित गरे  ।       ‘महिला डबल्स’ फाइनल खेलमा दिशा बेहरा र अर्जान खोरकिवाला (भारत) ले माहिका खन्ना र एन्जल पटेल ९भारत० लाई ६–३, २–६ र १०–५ ले पराजित गरेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिनुभयो ।      विजेता खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापालगायतले मेडल वितरण गर्नुभयो ।       प्रतियोगिताअन्तर्गत आजदेखि नै सर्किट–२ अन्तर्गतका ‘क्वालिफाइङ राउन्ड’का खेलहरू सुरु भएका छन् । सर्किट–२ मा विभिन्न देशका पुरुष २७ र महिला आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।  प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिस्टले पाँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् ।      त्यस्तै, डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३, सेमिफाइनालिष्टले छ र क्वाटर फाइनालिस्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरूको वरियता निर्धाण हुनेछ ।